नेपाली सिक्दै अमेरिकाका साथी

शिव शर्मा

काठमाडौँ — टेक्सास - हरेक वर्ष गर्मी लागेपछि अमेरिकामा दुई महिना स्कुल बिदा हुन्छ । बिदाका बेला यहाँ रहेका नेपाली बालबालिका विभिन्न गतिविधिमा भाग लिन्छन् । घुमघाम गर्छन् । प्रतिभा प्रस्फुटन गराउने क्रियाकलापमा सहभागी हुन्छन् । प्रतिस्पर्धामा भाग लिन्छन् । कति बालबालिका यतैको अर्को सहरमा घुम्न जान्छन् ।

कति चाहिँ अभिभावकसित नेपाल पुग्छन् । यही रहनेमध्येका अधिकांश बालबालिका यो लामो बिदामा केही नयाँ गर्न वा सिक्न चाहन्छन् ।

अमेरिकाको टेक्सास राज्यमा धेरै नेपालीको बसोबास छ । टेक्सासको डयालस सहरमा लचिरहेको समर क्याम्प×मा नेपाली बालबालिका नृत्य, गायन र विभिन्न रमाइला ठाउँ अवलोकनमा व्यस्त छन् । कोही यहाँका पर्यटकीय स्थलको घुमफिरमा रमाइरहेका छन् ।

टेक्सासको युलेस बस्दै आएका ७ वर्षीय प्रवास पनेरूले भने, ‘भाषण कला, अध्ययन र अवलोकन भ्रमण गरेर बिदाको समय बिताइरहेको छु ।’ नर्थ युलेस इलिमेन्ट्री स्कुलमा अध्ययनरत पनेरूले लामो बिदामा नेपाली संस्कृति बुझ्ने अवसर पाएको बताए ।

पुख्र्याैली घर काठमाडांै भएका ९ वर्षीय आर्यन पन्त अमेरिकामै जन्मे । मुस्किलले नेपाली बोल्ने उनी अहिलेको बिदामा नेपाली भाषा, नेपालसम्बन्धी डकुमेन्ट्री र संस्कृति सिकिरहेका छन् । नेपाली समाज टेक्सासले सञ्चालन गरेको यो क्याम्पमा झन्डै सय नेपाली बालबालिका छन् । उनीहरू केजीदेखि ८ कक्षासम्मका हुन् । यतै जन्मेर नेपाली जान्दै नजान्नेलाई नेपाली समाजले नेपाली भाषा सिकाउने पहल गर्दै आएको छ । १० वर्षीया निशा लोहनी ५ कक्षामा पढ्छिन् । उनलाई गर्मीको बिदा रमाइलो लाग्छ । ‘नयाँ ठाउँ घुम्न र धेरै कुरा सिक्न पाइन्छ,’ उनले भनिन् ।

टेक्सासकै अर्बिङ बस्दै आएकी निहारिका पौडेल बिदाको मौकामै तेक्वान्दो स्कुल भर्ना भएकी छन् । ‘यो खेल सिकेर आफ्नो रक्षा पनि गर्न सकिन्छ,’ उनले भनिन्, ‘तेक्वान्दो मेरो असाध्यै मन पर्ने खेल हो ।’ उनीजस्तै नेपाली बालबालिका यसरी नै विभिन्न सिकाइमा सहभागी हुँदै आएका छन् । अभिभावकले खेल, अध्ययन, भम्रण र कुकिङदेखि अन्य घरायसी कामकाज र सिकाइमा जोड दिएका छन् । अमेरिकामा गर्मी बिदा खासगरी माध्यमिक र उच्च माध्यमिक तहका लागी जून २० देखि अगस्ट ३१ सम्म हुन्छ । प्राथमिक र किन्डर गार्डेनका लागि जून ३० देखि अगस्ट ३१ सम्म हुन्छ । लामो बिदामा केही सिक्न र आपसमा मित्रता बढाउन ‘समर क्याम्प’ ले बालबालिकालाई सघाउने नेपाली समाज टेक्सासका सचिव डा. परशुराम दाहालले बताए । ‘यो लामो छुट्टी आफ्ना पुर्खाको संस्कृति र भाषा सिक्ने राम्रो अवसर हो । यसलाई हामीले सक्दो सदुपयोग गरेका छौं ।’

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

साउन पन्ध्र

कान्तिपुर संवाददाता

काठमाडौँ — ए नानी ! शारदा, एकछिन भित्र आऊ त’ भित्र भान्साबाट हजुरआमाले बोलाउनुभयो । शारदा बाहिर सिकुवामा खेल्दै थिइन् । ‘किन हजुरआमा ? किन बोलाउनुभएको ?’ भन्दै शारदा पनि भित्र गइन् ।

हजुरआमा अँगेनाका डिलमा बसेर कुँडेभरि दूध उमाल्दै हुनुहुन्थ्यो । ‘नातिनी! आज तिम्रो र मेरो खाजा पकाउने पालो छ । मलाई सहयोग गर्दिनौ ?’ ठूला डाडुले कुँडेको दूध ध्वार्रध्वार्र पार्दै हजुरआमाले भन्नुभयो ।

‘गर्छु नि आमा, किन नगर्नु ? बरु भन्नु न मैले के सहयोग गर्नुपर्छ ?’ शारदाले फूर्तिली भएर भनिन् ।
‘यी आलु ताछिदेऊ न छोरी,’ हजुरआमाले उसिनेका आलु राखेको तपेस शारदातिर सार्दै भन्नुभयो । ‘किन आमा ? किन दिउँसो दूध उमाल्नुभएको ? हिजोअस्ति त बिहानबेलुका मात्र दूध उमाल्नुहुन्थ्यो । मैले त केही बुझिनँ नि,’ हजुरआमाको काम अनौठो मान्दै शारदाले सोधिन् ।

‘आज साउन पन्ध्र हो । खीर खाने दिन । खीर पकाउन लागेको नि । आज हामी खीरकै खाजा खाने है,’ हजुरआमाले नातिनीलाई सम्झाउँदै भन्नुभयो । दूध निकै बेर उम्लिसकेको थियो । हजुरआमा आगो ओझाएर उठ्नुभयो । उहाँ भर्सेलीतिर जानुभयो । भर्सेलीमाथि सराङबाट एउटा नाङ्लो निकै जतन गरी झिक्नुभयो । काकीले केलाएर त्यस नाङ्लामा पोखरेली धानको चामल राख्नुभएको रहेछ । एक अँजुली तिनै चामल झिकेर हजुरआमाले दूध उम्लादै गरेका कुँडेमा हाल्नुभयो । अनि पुन्यूले चलाउन थाल्नुभयो । शारदा हजुरआमाका छेउमा बसेर आलु ताछिरहेकी थिइन् ।

‘आमा † साउन पन्ध्रमा किन खीर खाने ? अघिपछि खानु हुँदैन र ?’ मनकी सफा शारदाले नबुझेको कुरा सोधिन् ।‘किन नहुनु, जत्ति हुन्छ । तर साउन पन्ध्रमा खीर खाने परम्परा छ । हामी किसानहरू समयअनुसारका खानेकुरा खान्छौँ । अस्ति असार पन्ध्रमा दहीचिउरा खायौँ । त्यतिखेर हामीलाई कामको हतारो थियो । झटपट दहीचिउरा छिटो, मीठो र शीतल पनि । अहिले त्यस्तो हतारो छैन । त्यसैले सुरैसँग खीर पकाएर खाने नि,’ हजुरआमाले बुझाउनुभयो ।

लामो लेग्रो तानेर शारदाले बुझेझैं गरी भनिन्, ‘ए !’
‘नानी † अर्को पनि कुरा छ,’ एकैछिन यताउता हेरेर हजुरआमाले भन्नुभयो, ‘पहिले उ: त्यो खोपामा भएका हर्पे, गुप्ते र त्यहाँ देखिएका ससाना पोका ल्याऊ त ।’
कुँडेमा खीर छड्कँदै थियो । नडढोस् भनेर हजुरआमा त्यसलाई चलाइरहनुभएको थियो । हर्पेको घ्यू कर्केलीले झिकी हजुरआमाले खीरमा हाल्नुभयो । गुप्तेमा मिस्री रहेछ । मिस्रीका डल्ला सिलौटोमा राखी लोहोराले फुटाएर छड्कँदै गरेका खीरमा थप्नुभयो । ससाना पोकाबाट झिकी अलैँची, ल्वाङ, सुकमेल, मरिच, दालचिनी पनि खीरमा मिस्नुभयो । सबै मसला
हालिसकेर हजुरआमाले खीर राम्ररी चलाउनुभयो । एकछिनमा खीर पाक्न लागेको देखियो । हजुरआमाले आगाको आँत अलिक कम पार्नुभयो ।

‘आमा! अर्को पनि के कुरा छ भन्नुभएको ?’ शारदाले कुरा कोटयाइन् ।‘ए, अघिको कुरा ? के भने नि, हामी किसानले बर्खामा घामपानी नभनी काम गर्नुपर्छ । दिनभरि हिलामा डुबिन्छ । कहिले झरीमा भिजिन्छ, कहिले घाममा सुकिन्छ । जीउ गलेर हैरान हुन्छ । बर्खाभरिको सर्दी मेट्न र शरीरमा तागत ल्याउन पनि साउन पन्ध्रमा खीर खाने गरिन्छ,’ हजुरआमाले भन्नुभयो ।
‘उसो भए यो त गाउँमा बसेर खेती गर्ने किसानले मात्र खानेकुरा रहेछ । सहरमा बस्ने, मेरा बाबाजस्तै जागिरे, मजस्तै विद्यार्थीले खीर खानु पर्दैन होला हैन र आमा ?’ हजुरआमासँग ठट्टा गर्दै शारदाले भनिन् । शारदाको कुरा सुनेर एकछिन त हजुरआमा जिल्ल पर्नुभयो ।

शारदाले आलु ताछिसकेकी थिइन् । चुलेसीले काटेर हजुरआमाले आलुलाई ससाना टुक्रा बनाउनुभयो । अकबरे खोर्सानी, नुन र तीनचार दाना टिम्मुर पिसेर हाल्नुभयो । सम्पटमा राखेको तिलको छोप र चौंठोमा राखेको कागतीको अमिलो पनि हाल्नुभयो । गरियोमा राखेको तोरीको तेल डाडुमा तताउनुभयो । त्यसमा अलिकति जिराका दाना र बेसार फुराएर आलुको अचार झान्नुभयो । तिलको छोप हालेर हातले मोल्दा आलुको अचार खाऊँखाऊँ लाग्ने भयो । उसमाथि पोखरेली चामलको खीर † हरर्र बासना आइरहेको थियो । शारदालाई भने सहरका मानिसले साउन १५ मा खीर खानुपर्छ कि पर्दैन होला त भन्ने लागि नै रहेको थियो । उनले सोधिन्, ‘साँच्चै भनेकी आमा सहरमा बस्नेले त नखाए पनि हुन्छ होला नि । झरीमा भिजिँदैन, हिलामा काम गरिँदैन अनि किन खानुपर्‍यो त खीर ?’

हजुरआमाले कुराको सिलसिला मिलाउँदै भन्नुभयो, ‘त्यसो होइन नातिनी । बर्खामा जहाँ बसे पनि पानीझरीले सताउँछ । दिन लामा हुन्छन् । आराम पुग्दैन । जीउ थाक्छ । गर्मीमा आफ्नै शरीरका पसिनाले पनि सर्दी हुन्छ । फेरि हेर न यत्रो दूध, घ्यू, मरमसला हालेर बनाएको खीरमा औषधि र तागत दुवै कुरा हुन्छन् । गाउँसहर जहाँसुकै बस्ने मानिसले पनि यस समयमा तात्तातो खीर खानु राम्रो हुन्छ । त्यसैले होला उहिल्यै बाजेबराजुका पालादेखि साउन पन्ध्रमा खीर खाने चलन चलेको ।’

‘उफ्! के बिघ्न गर्मी !’ बाहिर सिकुवाको खाटमा बस्दै हजुरबाले भन्नुभयो । ‘छोरी! शारदा पानी ल्याऊ न बा! साह्रै तिर्खा लाग्यो,’ अनुहारको पसिना पुस्दै काकाले भन्नुभयो । काका र हजुरबा बाघे खेतमा जानुभएको थियो । त्यहाँबाट एकएक भारी घाँस ल्याउनुभयो । उकालो बाटो, तरतरी पसिना काढ्दै बोकेका घाँसका भारी मतानमा देखिन्थे । अम्खोराभरिको चिसो पानी खाँदा आँतै शीतल भयो ।

‘के गर्दै छौ हँ, यतिखेर ? पेटमा मुसा दौडन थाले ।’ हजुरबा बोल्दै भित्र पस्नुभयो । काकीले वस्तुभाउलाई घाँसपानी र बेलुकाको खोलेको व्यवस्था मिलाएर आउनुभयो । हातखुट्टा धोएर सबै जना भान्साकोठामा भेला भए । हजुरआमाले सबैलाई खीरको भाग लाउनुभयो । भागका छेउमा आलुको अमिलो अचार राखिदिनुभयो । खीरमा कर्केलीले थपीथपी घ्यू हालिदिनुभयो । सबै जनाले मीठो मानीमानी खाए । शारदालाई त्यस दिन खीर साह्रै मीठो लाग्यो । उनले भनिन्, ‘आमा! अब सधैं म मामुलाई साउन पन्ध्रमा खीर पकाउन लाउँछु ।’

हजुरबाले भन्नुभो, ‘नानी! तिमीलाई खीर साह्रै मीठो लाग्यो ?’ ‘हो हजुरबा, अघिपछिको भन्दा साउन पन्ध्रको खीर निकै मीठो हुँदो हरेछ,’ शारदाले हाँसेर उत्तर दिइन् । हजुरआमाले शारदालाई खीर थपिदिनुभयो । शारदाले चाटिचुटी पारेर खाइन् ।

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्