कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अचम्मको चरा

मनोज पौडेल

काठमाडौँ — तस्बिरका चरा हेर । यिनको नाम हो– घाउँके हावासिल । विश्वमै संकटमा पर्न लागेका यी चरा हालै रुपन्देहीमा देखामा परेका छन् । गैडहवा ताल र आसपासका क्षेत्रमा एक महिनाअघि यी देखिएका हुन् । घाउँके हावासिल चराको आहारा माछा र भ्यागुता हुन् । यसको वाण जस्तो ठोंडले आहारलाई मज्जाले सिकार बनाउँछ ।

अचम्मको चरा

यी चरा समुद्रमाथि उड्न निकै मन पराउँछन् । ‘समुद्रमाथि उड्ने बेला शरीर र खुट्टालाई धनुष बनाई ठाेंडलाई तीरका रूपमा प्रयोग गर्छन्,’ चराविद् हेमसागर बरालले भने, ‘त्यसो गर्दा सजिलै माछा सिकार बन्छन् । मुखमा परेका माछालाई यिनले लामो समयसम्म गाँडमा राखेर खाइरहन्छन् ।’

बरालका अनुसार यी चरा डेढ सय वर्षअघि काठमाडौंमा देखिएका थिए । त्यसपछि सन् १९९६ मा कोसीमा करिब १२० वटा देखिए । सन् १९८० को दशकमा १२ वटा मात्र देखिए । त्यसपछि चितवनमा सन् २००५ मा देखिए । गत वर्ष वैशाख पहिलो साता चितवनकै वरण्डारभार जंगलमा ३ वटा ‘ठूलो घाउँके हावासिल’ फेला परेका थिए । त्यसयता एक महिनाअघि पहिलो पटक रुपन्देहीमा देखिएको बरालले बताए । चितवनमा र रुपन्देहीमा फेला परेका चरा एउटै परिवारको भए पनि फरक–फरक प्रजातिका हुन् ।






उति बेला धेरै संख्यामा देखिने यी चरा अचेल २/३ वटा मात्र छन् । त्यो पनि केही वर्षको अन्तरमा मात्रै । चराको स्वर्ग मानिने कोसी टप्पुमा पनि यी चरा देखिनै छाडेका छन् । ‘यहाँ देखिएका चरा बाटो भुलेर वा घुम्न आएका पनि हुन सक्छन्,’ चराविद् सोम जीसीले भने, ‘तर जे भए पनि दुर्लभ सूचीमा पर्न लागेको चरा नेपालमा देखिनु राम्रो हो ।’

पानीमा बस्ने यी चरा भारतको केरला र गुजराततिर बढी पाइन्छन् । त्यहाँ यिनले बच्चा कोरल्छन् । नेपालमा त्यतैबाट आएका हुन सक्ने चराविद् बताउँछन् । तर यी फिरन्ते चरा भएकाले यहाँ धेरै समय बस्दैनन् । जताबाट आएको हो त्यतै फर्किन्छन् । नेपालमा यिनको संख्या २ देखि १० वटा जति मात्रै रहेको अनुमान छ । चराविद् सोम जीसीका अनुसार यी चरा नेपालमा आक्कल झुक्कल मात्र देखिन्छन् । ‘घुम्दैफिर्दै आउँदा यतातिर आइपुग्छन्,’ उनले भने । पेलिकन जातको यो चरा विश्वमा ८ प्रजातिका छन् ।

अनुसन्धानकर्ता प्रशान्त घिमिरेले यस्तो चरा आफूले पहिलो पटक देखेको बताए । महिना दिन अघिदेखि रुपन्देहीमा देखिएका यी ३ चरा यसै सातासम्म यतै छन् । लुम्बिनी विकास कोष उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले यी चराबारे बताएपछि निकै मिहिनेतका साथ यी तस्बिर खिचिएको हो । देख्नासाथ उड्ने भएकाले लुकेर तस्बिर खिच्नुपरेको थियो । रुपन्देहीमा यी चरा ताल र आसपासका सालका रूखमा देखिन्छन् ।

यहाँ देखिएका चरा अल्पवयस्क हुन् । अरू चराहरूभन्दा ठूलो हुनुका साथै लामो ठुँड र घाँटीको गलगाँडका कारण यी चरा फरक र आकर्षक देखिन्छन् । ‘मनमोहक र अनौठो लाग्ने चरा हेर्न साताको दुई पटक जान्छु,’ भिक्षु मेत्तेय शाक्यपुत्रले भने, ‘निक्कै रोमाञ्चित बन्छु ।’





प्रकाशित : श्रावण २७, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?