कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैंकक घुम्दा...

कान्तिपुर संवाददाता

काठमाडौँ — संसारमा घुम्नका लागि राम्रा ठाउँ धेरै छन् । यस्ता मनोरम ठाउँ घुम्ने धेरैको धोको हुन्छ । तर सबैले सबै धोको पूरा गर्न पाएका हुँदैनन् । नयाँ–नयाँ ठाउँ घुम्न पाउँदा मन रमाउँछ ।

बैंकक घुम्दा...

नयाँ ज्ञान पनि हुन्छ । विभिन्न ठाउँको भ्रमणले हामी संसारलाई नजिकैबाट चिन्ने र बुझ्ने अवसर पाउँछौं । मलाई पनि नयाँ–नयाँ ठाउँ घुम्न निकै मन पर्छ । घुमफिरका क्रममा नयाँ–नयाँ दृश्यावलोकन गर्न र तिनीहरूबारे ज्ञान लिन पाउँदा मन औधि खुसी हुन्छ ।

केही समयअघि मैले बैंकक घुम्ने मौका पाएकी थिए । बैंकक थाइल्यान्डको राजधानी हो । भ्रमणमा म, मेरी हजुरआमा, मामा, माइजू, काकी र मेरा २ बहिनीसँगै थिए । पहिला हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई गयौं । त्यो हाम्रो ट्रान्जिट थियो । मुम्बईबाट अर्को विमानमा थाइल्यान्डको सुवर्णभूमि विमानस्थलमा उत्रियौं । त्यो बैंककको प्रसिद्ध विमानस्थल हो ।

बैंकक पुगेको दिन हामी हजुरआमाकी साथीको छोरीकहाँ बस्यौं । उहाँको नाम ‘सा’ थियो । सालाई मैले दिदी भनी भनेँ । उहाँलाई गाइड बनाएर हामी थुप्रै ठाउँमा घुम्न गयौं । जति घुमे पनि अझै घुमूँ घुमँँ लाग्ने । सबै बिर्सिएर त्यतै रमाइरहूँझैं लाग्ने सुन्दर ठाउँहरू थिए– थ्री हेडेड एलिफेन्ट म्युजियम, सायम पार्क, सफारी वल्र्ड र पटाया बिच आदि ।

बैंककमा मलाई सबैभन्दा रमाइलो लागेको ठाउँ सायम थियो । सायम पार्कमा मनोरञ्जनका लागि थुप्रै स्थान थिए । त्यहाँभित्र हामीले थुप्रै राम्रा ठाउँहरूको फोटो खिच्यौं । धेरै ठाउँमा रमाइलो पनि गर्‍यौं । त्यसपछि घुम्न गएका अरू ठाउँहरू पनि रमाइला थिए । संसारका विभिन्न मुलुकका मानिस त्यहाँ आएर रमाइलो गर्दा रहेछन् । विभिन्न भाषा बोल्ने मानिसका पहिरन पनि फरक–फरक किसिमका थिए । त्यहाँ घुम्दा पूरै संसारलाई एकै ठाउँमा भेटिएजस्तो महसुस भयो ।

पटाया बिचमा पनि हामीले खुबै रमाइलो गर्‍यौं । त्यो विशाल समुद्रको किनारा थियो । त्यहाँ मानिस छालसँग खेलिरहेका वा बालुवामा सुतिरहेका देखिन्थे । हामीले पनि बालुवामा खेल्यौं । बालुबामा विभिन्न आकृति बनायौं र फोटो खिच्यौं । पटाया बिचमा हामीले समुद्रको छालसँगै पौडी पनि खेल्यौं । जति टाढासम्म आँखा पुर्‍याए पनि फैलिएको समुद्र नै समुद्र देखिन्थ्यो । हामीले बालुवामा कोरेका चित्रहरूलाई समुद्रको छाल आएर मेटाएर जान्थ्यो । यस्तो गर्न हामीलाई निकै रमाइलो लाग्यो । हामीले निकै बेरसम्म आकृतिहरू बनाइरहयौं । त्यो छालले हामीलाई पनि तानेर लैजान्छ कि भनेर घरिघरि मनमा डर पनि लागिरहयो । पानीभित्र हुने जनावरलाई सम्झिँदा त झनै मन तर्सिन्थ्यो । तर पनि अरू धेरै जना भएकाले आत्तिइहाल्नऽपर्ला जस्तो चाहिँ लाग्दैनथ्यो ।

त्यो रात हामीले थुप्रै ल्याटर्नहरू बालेर उडायौं । त्यति बेला आकाश निकै उज्यालो र झिलीमिली देखिएको थियो । ल्याटर्नहरू आकाशमा पुगेर पड्किँदा झनै रमाइलो लाग्थ्यो ।

केही दिनको भ्रमणपछि हामी नयाँ ज्ञान र अनुभव बटुलेर प्रफुल्ल हुँदै फर्कियौं । त्यहा मेरी साथीजस्तै बनेकी सा दिदीलाई म कहिल्यै बिर्सन सक्दिनँ । त्यहाँ बस्दा भेटेका अरू मानिस र गरेको रमाइलो पनि याद आइरहन्छ । बैंकक भ्रमण मेरा लागि निकै रमाइलो र स्मरणीय रहयो ।

-लक्षता त्वनाबासु, कक्षा–८
संस्कृति इन्टरनेसनल स्कुल, काठमाडौं

प्रकाशित : श्रावण २७, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?