कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिजनको क्रेज

कान्तिपुर संवाददाता

काठमाडौँ — उमेर ६ वर्ष । कक्षा ३ । तर बुटवलका क्रिजन गौतमको प्रतिभा भने निकै लोभ लाग्दो छ । बुटवल आसपासमा आयोजना हुने हरेकजसो कार्यक्रममा उनी कार्यक्रम सञ्चालकका रूपमा देखा पर्छन् । जब उनी स्टेजमा उक्लिन्छन्, उनको प्रस्तुतिले हरेकको मन छुन्छ । कुनै परिपक्व व्यक्तिजस्तै कार्यक्रम सञ्चालन गर्छन् । हसाउँछन्, नचाउँछन् । उद्घोषणकै क्रममा नृत्य गर्छन् । र, दर्शकहरूलाई लठ्ठै बनाउँछन् । उनको प्रस्तुतिले चारैतिर वाहवाही बटुल्छ ।

क्रिजनको क्रेज

बुटवल, तिलोत्तमा नगरपालिकास्थित एक विद्यालयमा अध्ययनरत क्रिजन गौतमले चलचित्रमा पनि अभिनय गरेका छन् । उनको प्रतिभा देखेर सन्तोष सेनले बुटवल पुगेर चलचित्र ‘मेरी मामु’ मा अभिनय गर्ने मौका दिए । जुन चलचित्र भदौ १५ गते रिलिज हुने क्रममा छ । सेनले निर्माण गर्न लागेको अर्को चलचित्रमा पनि उनले हस्ताक्षर गरिसकेका छन् । अरू केही चलचित्रमा पनि काम गर्ने पक्का भएको क्रिजन बताउँछन् । ‘‘मेरी मामु’ चलचित्रबाट काम थालेको छु । यो वर्ष अरू ३ वटा चलचित्रमा काम गर्छुहोला ।’ उनले पढाइ प्रभावित नहुने गरी चलचित्रको काम अघि बढाउने बताए ।

‘मैले धेरै बाल कलाकार देखें । तर एकदमै क्षमतावान् यस्तो कलाकार सायद देखेको थिइनँ,’ चलचित्र निर्देशक आकाश अधिकारी भन्छन्, ‘क्रिजनले निकै राम्रो अभिनय गर्न सक्छ भन्ने थाहा पाएपछि मेरो आगामी प्रोजेक्टमा पनि काम गराउने सोच राखेको छु ।’ क्यामेराम्यान पुरुषोत्तम प्रधानले पनि क्रिजन निकै प्रतिभावान् कलाकार भएको बताए ।

सानैदेखि नृत्यमा रुचि राख्ने क्रिजनले केही वर्षअघि बागेश्वरी संगीतालयले आयोजना गरेको एकल नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्पियनसिप’ को फाइनल कार्यक्रममा उद्घोषण गरेका थिए । त्यहाँ उनले धेरैलाई चकित पारे । उनको उद्घोषण कला देखेर भारतको मुम्बईबाट निर्णायकका रूपमा आएका नृत्य प्रशिक्षक टेरेन्स लुइससमेत प्रभावित भए । क्रिजनको प्रतिभाबाट प्रभावित लुइसले उनलाई एक महिना नि:शुल्क प्रशिक्षणका लागि मुम्बई लगिसकेका छन् । अल नेपाल डान्स च्याम्पियनसिप कार्यक्रममा अवसरमा अभिनेत्री निशा अधिकारीले क्रिजनको अपोजिटमा कार्यक्रम सञ्चालन गरेकी थिइन् । ‘क्रिजनले भविष्यमा चलचित्रमा हात हाल्यो भने यो क्षेत्रमा राम्रो स्टार बन्ने लक्षण देखेकी छु,’ निशाले भनिन् । क्रिजनले बागेश्वरी संगीतालयमा नृत्य प्रशिक्षण लिएका छन् ।

रुपन्देहीका सानाठूला कार्यक्रममा नृत्य प्रस्तुत गरेर तारिफ बटुलिरहेका उनले त्यहाँका दर्जनौं कार्यक्रममा उद्घोषण गरिसकेका छन् । उद्घोषणबापत् उनी पारिश्रमिक लिन्छन् । विभिन्न कार्यक्रममा भाग लिएर उनले टन्नै पुरस्कार पनि पाएका छन् । क्रिजनकी आमा निशाका अनुसार उनी टेबलटेनिस, फुटबल र घुमफिरमा पनि रुचि राख्छन् । अनि प्रदर्शनमा आउने कुनै पनि हिन्दी चलचित्र हेर्न छुटाउँदैनन् ।

प्रकाशित : श्रावण २७, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?