कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुकुर र काग

कथा

काठमाडौँ — काग काँकाँ गरेर कराउँदै थियो । ढुकुर आफ्ना अण्डा छोपेर बसेको थियो । कागको आवाज सुनेर ढुकुरलाई दिक्क लाग्यो । उसलाई भोक लागे पनि उडेर अन्त जान सकेको थिएन । ऊ कोइलीको आवाज सुन्दा आनन्द मान्ने गथ्र्यो । आज कागको आवाजले चाहिँ उसलाई ज्वरो आएजस्तो भयो ।

ढुकुर र काग

ढुकुरले मनमनै भन्यो, ‘अस्ति भर्खर मेरा दुइटै अण्डा त्यो कागले खाइदियो । अब त त्यो पल्किसकेको छ । मैले अण्डा छोडेर हिँडेँ भने त्यसले खाइदिन्छ । अब यी अण्डालाई कसरी बचाउने होला ?’

आकाश कालोनीलो भएको थियो । ठूलो हावाहुरी आउने सम्भावना देखिएको थियो । ढुकुरले यसो आकाशतिर आँखा लगायो । त्यहाँ पनि उसले खतरा नै देख्यो । तर, ऊ निराश भएन । उसले धैर्य गर्दै भन्यो, ‘हे भगवान्, मलाई बचाऊ । मलाई बाँच्ने र बचाउने शक्ति देऊ ।’
अचानक त्यही समयमा काग उड्दै आयो । त्यो कागलाई देखेर ढुकुर झन् आत्तियो । काग उड्दै आएर ढुकुर भएको हाँगामा बस्यो । कागले भन्यो, ‘साथी हामीलाई त हावाहुरीले उडाउँछ जस्तो छ । के गर्ने होला ? तिमीलाई म कसरी सहयोग गरूँ ? तिम्रो गुँड र अण्डाको सुरक्षा गर्नुपर्ने होइन त ?’

कागका कुरा सुनेर ढुकुरलाई अचम्म लाग्यो । उसले भन्यो, ‘तिमी मेरा अण्डा खान आएका त होइनौ ? तिमी जाऊ, मेरो सुरक्षा म आफैं गर्छु ।’ढुकुरको कुरा सुनेर कागलाई अचम्म लाग्यो । सहयोग गर्न खोज्दा पनि स्वीकार गर्दैन । कागले मनमनै सोच्यो, ‘जमाना नै खराब छ । राम्रो कुरा गर्दा पनि त्यसैलाई नराम्रो रूपमा लिन्छन् ।’ आकाश थर्किन थाल्यो । जोडसँग हावा पनि चल्न थाल्यो । रूखका हाँगा मज्जाले हल्लिन थाले । कागले ढुकुरको गुँडलाई चुच्चाले समायो । उसले आफ्ना खुट्टाले जोडसँग हाँगालाई समाएको थियो । अर्कोतिर ढुकुरले गुँडलाई समायो । ढुकुरलाई हाँगामा अडिन नै समस्या परेको थियो ।

असिनाका दाना बर्सन थाले । ढुकुरले गुँडलाई छोपेर बस्यो । असिनाका दानाले उसको शरीर दुख्न थाल्यो । तर पनि उसले गुँड छोडेन । एकछिनमा हावा र असिना दुवै रोकियो ।ढुकुरले कागलाई ठुँग्न खोज्यो । उसले भन्यो, ‘काग दाइ, अब तिमी यहाँबाट जाऊ । तिमीले मेरा अण्डामा आँखा गाड्छौ । यसपालि मैले जसरी पनि बच्चा निकाल्नुपर्छ ।’ कागले ढुकुरका कुरा चुप लागेर सुनिरहेको थियो । तर ऊ त्यहाँबाट गएको चाहिँ थिएन । यत्तिकैमा कागले रूखको हाँगातर्फ एउटा सर्प आउँदै गरेको देख्यो । उसले ढुकुरलाई केही पनि भनेन । उसले आफ्नो चुच्चाले सर्पलाई समाएर तल पोखरीमा फयाँकिदियो । बल्ल ढुकुरले कागको सहयोग राम्रोसँग देख्यो । सर्प पोखरीमा पौडेर भाग्दै थियो । यो दृश्य ढुकुरले देखिरहेको थियो ।

ढुकुरको गुँड र अण्डा सुरक्षित नै रहे । ढुकुरले कागतिर हेर्दै भन्यो, ‘जीवनमा समस्या धेरै आउँदा रहेछन् । तर समस्यासँग भाग्नु हुँदैन रहेछ । संघर्ष गरेकै जीवन सफल हुने रहेछ ।’ कागले टाउको मात्र हल्लायो, तर केही बोलेन । ढुकुरले कागलाई धेरै धन्यवाद दियो । कागलाई आफ्नो सच्चा मित्रका रूपमा पाउँदा ऊ खुसी भयो ।

प्रकाशित : भाद्र ३, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?