छट्टु भालु

कथा
रेजिना पाण्डे चित्र : कृष्णगोपाल श्रेष्ठ, रेजिना पाण्डे चित्र : कृष्णगोपाल श्रेष्ठ

काठमाडौँ — एउटा घना जंगल थियो । जंगलमा थुप्रै पशुपन्छी थिए । सुँगा, मैना चरा, सिंह, मृग, स्याल, भालु, वाघ, चितुवा, जरायो हात्ती जस्ता जनावरहरू बस्थे । सबै पशुपन्छी आन्नदको जीवन निर्वाह गरेर बसेका थिए ।

त्यसै जंगलको एउटा कुनामा हिम्बु नाम गरेको जरायोको परिवार पनि थियो । हिम्बु जरायोको हजुरबुबा, बुबा र बहिनी चञ्चली । हिम्बुको आमालाई सिकारीले गोली हानेर मारेका थिए ।

सिकारीहरूले उनका बुबालाई लखट्दा बुबाको पनि दाहिने खुट्टा भाँचिएको थियो । हजुरबुबा बूढो र बहिनी चञ्चली सानी भएकीले हिम्बुको काँधामा नै उनको परिवारको जिम्मेवारी थियो ।

Yamaha


तर पनि हिम्बुले सिंगो परिवारको दु:खसुखमा साथ दिएको थियो । सबै परिवारलाई खुसी बनाएको थियो ।

एक पटक हिम्बुको परिवार जंगलमा रमाइलो गरिरहेको थियो । परिवारका सबै जंगलका मीठामीठा खानेकुरा खुला ठाउँमा बसेर खाँदै रमाइलो गरिरहेका थिए ।


त्यही बेला एउटा चतुर धूर्त भालु घुमीफिरी त्यहाँ आइपुग्यो । जरायोको परिवारले मीठामीठा खाने कुराहरू खान लागेको देखेर भालुको जिब्रो लोभले रसाउन थाल्यो । अनि उसले जरायो परिवारको खाना कसरी खाने भनेर जुक्ति लगाउन थाल्यो ।

भालु जरायोहरूको नजिक गयो । उसले मीठा कुरा गर्दै भन्न थाल्यो, ‘हेर जरायो साथीहरू हो † तिमीहरूलाई सधैं एकै नासको खाना खाँदा दिक्क लाग्दैन ? मलाई ता साह्रै दिक्क लाग्छ । म त सधैं नयाँ नयाँ खाना स्वाद फेरीफरी खाना खान्छु । हिजो मैले पाउरोटी खाएको ।

अघि मात्र मासु भात खाएको । मेरो ओडारमा त कति मीठामीठा खानेकुराहरू छन् । म त एउटै खाना कहिल्यै दोहोर्‍याएर खान्नँ । योभन्दा कति मीठो खाना त मेरो ओडारभरि नै छ । यस्तो सधैं खान पाउने खाना त जंगलभरि सधैं पाइहाल्छ नि । नयाँ टेस्ट पो गर्नुपर्छ । जाउँm मेरो ओडारमा गएर मीठामीठा खाएर आउँm ।’

भालुको कुरा सुनेर जरायोहरू चकित परे । उनीहरू मुखामुख गर्न थाले । भालुले भन्यो, ‘किन आनाकानी गर्दै छौ ? धेरै नसोच । यस्तो मौका फेरि आउँदैन । मेरो कुरामा विश्वास गर । म कहिल्य झुटो बोल्दिनँ । झन् तिमीहरू त मेरो छिमेकी र असल साथी पनि हो । बरु छिट्टै हिँड । नत्र अरूले खाइदेलान् ।’

छट्टु भालुको कुरामा सोझो जरायोको परिवारले विश्वास गर्‍यो । मीठो खाने रहरमा आफूले मिहिनेत गरेर ल्याएको खाना छोडेर उनीहरू भालुको पछि लागे ।

आफ्नो ओडार नजिकै पुगेपछि भालुले भन्यो, ‘जरायो साथीहरू हो म अरू पनि मीठो खाना ल्याउँछु । तिमीहरू मेरो ओडारमा गएर खाँदै गर । म केही बेरमा आउँछु ।’ यति भनेर भालु उल्टो बाटो लम्कियो ।

जरायोहरू मीठो खान पाइने आसमा भालुको ओडारभित्र पसे । तर उनीहरूले त्यहाँ कुनै खानेकुरा देखेनन् । नचाहिने घाँसदाउरा बाहेक भालुको ओडारमा केही पनि थिएन । ओडार सडेगलेका सिनोहरूले गनाएको थियो ।

जरायोहरू जिल्ल परे र फर्के ।जरायोहरू आफ्नो खाना छोडेको ठाउँमा आइपुग्दा त्यहाँ एउटै खानेकुरा थिएन । जरायो परिवारले बल्ल थाहा पायो, धूर्त भालुले हामीलाई झुक्कायो र हाम्रो सबै खानेकुरा खाइदियो । उनीहरूले भालुको लहैलहैमा लागेर आफू उल्लु भएको पत्तो पाए ।

‘हामी सोझो भएकाले भालुले हामीलाई झुक्कायो । त्यसलाई खोजेर जसरी भए पनि कडा सजाय दिनुपर्छ,’ हिम्बु जरायोको बुबाले भने । जरायोहरू मिलेर भालुलाई जताततै खोज्न थाले । भालु आफ्नै ओडारमा आएर मस्त निदाइरहेको थियो । उनीहरूले भालुलाई घिसार्दै ल्याएर बरको रूखमा बाँधिदिए ।

चञ्चलीले भालुलाई गाली गर्दै भनी, ‘दादाले कति दु:ख गरेर खोजेर ल्याएको खाना हाम्रो खाइदिइस् । तँ बदमासलाई अब सधैंभरि यही बाँधिदिन्छु बुझिस् ।’ उसले भालुको गालामा एक थप्पड पनि लगाई ।

हिम्बुको बुबाले पनि सही थाप्दै भने, ‘यस्तो ठगलाई त राम्रै सजाय दिनुपर्छ । अर्काले दु:ख गरेर खोजेको खानेकुरा खाने ? जब हामी दु:ख गरेर आहारा जुटाउन सक्छौं भने तँ चै किन अरूको खानामा आँखा लगाउँछस् ? तँ जस्ताले गर्दा नै हामी जस्ताको आहार लुटिएको छ । तँलाई ठुलै सजाय दिनुपर्छ ।’ यति भनेर उनले दुई झापड लगाए ।

त्यसपछि भालुले रुँदै भन्यो, ‘मलाई माफ गर । म अबदेखि कहिल्यै झूटो बोल्दिनँ । कसैलाई झुक्याउने पनि छैन । म पनि आफ्नै मिहिनेतले खान्छु ।’

यति भन्दै भालु ठुलो आवाज निकालेर रुँनकराउन थाल्यो । उसको लामो विलाप सुनेर हिम्बु जरायोको हजुरबालाई भालुप्रति दया पलायो । उनले भने, ‘आज तँलाई माफ दिन्छौं । फेरि पनि यस्तै बदमासी गरिस् भने हामीबाट ठूलो सजाय पाउँछस् ।’

यति भन्दै उनीहरूले भालुको डोरी फुकालिदिए । त्यसपछि भालु लाजले शिर झुकाउँदै आफ्नो ओडारतिर लम्कियो । त्यस दिनदेखि त्यो भालु कहिल्यै जंगलमा देखिएन ।

प्रकाशित : भाद्र १०, २०७५ १२:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रहौं सजग

अतुल मिश्र

काठमाडौँ — वर्षाका बेला चारैतिर प्राकृतिक सुन्दरता र हरियाली छाउँछ । साथै यो मौमसमा हावा र पानीले थुप्रै संक्रामक रोगलाई समेत निम्त्याउँछ । वर्षा याममा विभिन्न ब्याक्टेरिया पैदा हुन सहज हुन्छ । यो मौसममा बालबालिकालाई कीटजन्य र पेटसम्बन्धी रोग सबैभन्दा बढी देखिन्छ । लामखुट्टे, मुसा, झिँगा, टिक्स आदिको प्रकोप वर्षा याममै बढी हुन्छ । त्यसैले यो मौसममा हामीले उचित सावधानी अपनाउनुपर्छ ।

जण्डिस : दूषित खाना, दूषित पानी वा यो रोगले ग्रस्त व्यक्तिसितको सम्पर्कले जन्डिस हुन्छ । यो रोगमा थकाइ, भोक नलाग्ने, वाकवाकी हुने, हल्का ज्वरो आउने, पहलो पिसाब हुने र शरीर चिलाउने जस्ता लक्षण देखिन सक्छन् । यसबाट बच्न खाना र पानीको स्वच्छतामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

टाइफाइड : यो ब्याक्टेरियाबाट हुने रोग हो । यो पनि वर्षा याममा बढी मात्रामा फैलिने गर्छ । संक्रमित पानी र आहारले गर्दा यो रोग सर्छ । टाइफाइड भए तीव्र ज्वरो आउँछ । ज्वरो धेरै दिनसम्म रहिरहन सक्छ । यो ज्वरो कम वा बढी भए पनि सामान्य हुँदैन । यो धेरै संक्रामक हुन्छ ।

रुघाखोकी : वर्षाका बेला रुघाखोकी सबैभन्दा बढी देखिने समस्या हो । ज्वरो आउने, घाँटीमा खसखस हुने, खोकी र हाच्छिउँ लाग्ने यसका सामान्य लक्षण हुन् । यसबाट बच्न रोग प्रभावितको सम्पर्कबाट टाढै रहनुपर्छ । यो नै रुघाखोकीबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो । बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने र हात नधोउन्जेल नाक, आँखा आदि नकोट्टयाउने बानी बसाल्नुपर्छ ।

औलो र डेंगु : यी दुवै रोग लामखुट्टेको टोकाइले गर्दा हुन्छ । लामखुट्टेको टोकाइबाट बाँच्न झुलमा सुत्ने गर्नुपर्छ । डेंगु दिउँसो टोक्ने लामखुट्टेबाट सर्ने गर्छ । त्यसैले घरमा वा बाहिर चौरमा खेल्दा लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

लेप्टोस्पोरोसिस : यो पनि वर्षा याममै ज्यादा देखा पर्ने रोग हो । यो ब्याक्टेरियावाट फैलिन्छ । मुसालगायत जीवजन्तुका पिसाब पानीमा मिसिए यो रोग सर्न सक्छ । यो रोगले मृगौलासँगै शरीरको अन्य अंगलाई समेत नोक्सान पुर्‍याउँछ । समयमै उपचार नभए घातक हुन सक्छ ।

हैजा र झाडा–पखाला : हैजा वा झाडा–पखाला दूषित खाना र पानीले गर्दा हुन्छ । यो वर्षायाममा फैलिने गर्छ । पेट दुख्ने, पखाला लाग्ने, वान्ता हुने आदि यसका लक्षण हुन् । धेरै पखाला चलेपछि शरीरमा भएको पानीको मात्रा कम हुन्छ । त्यस्तो बेला जीवनजल वा अन्य पर्याप्त झोलिलो पदार्थ खानुपर्छ ।


कसरी बच्ने ?
१ उमालेर चिसो पारेको वा शुद्घीकरण गरेको पानी मात्र पिऔं
२ खाना खानुअघि सधैं साबुनपानीले हात धुने बानी बसालौं
३ पानीमा भिजेपछि तुरुन्तै कपडा फेर्ने र शरीर सुक्खा राखौं
४ लामखुट्टे, उपियाँ, उडुस, सुलसुले आदिको टोकाइबाट बचौं
५ बासी, झिँगा भन्केको, नछोपिएको खाना नखाऔं
६ सडक छेउमा बनाइएका चटपटे लगायतका खानेकुरा नखाऔं

प्रकाशित : भाद्र ३, २०७५ ०८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT