खाऔं स्याउ

दिनहुँ एउटा स्याउ खाए डाक्टरकहाँ जानै पर्दैन
विमल खतिवडा

काठमाडौँ — यो चर्चित भनाइ सबैका लागि उत्तिकै महत्त्वपूर्ण छ । किनभने स्याउ खाँदाका फाइदा धेरै छन् । स्याउमा पर्याप्त पौष्टिक तत्त्वहरू छन् । यसमा भिटामिन ‘ए’ र ‘सी’ तथा क्याल्सियम पाइन्छ । विज्ञहरूका अनुसार स्याउ पेट तथा पाचनशक्तिका लागि लाभदायक छ । स्याउ खानाले मधुमेहको सम्भावना कम हुन्छ ।

यसले हड्डीलाई स्वस्थ्य राख्छ । तौल घटाउन मद्दत गर्छ । मुटु रोगीका लागि पनि फाइदाजनक छ । स्याउमा हुने तत्त्वहरूले क्यान्सर लाग्नबाट जोगाउन सक्छ । दमसँग लड्न सक्ने क्षमता बढाउँछ । यसमा भएको एन्टिअक्सिडेन्टले वृद्धावस्थामा मस्तिष्क बलियो राख्नसमेत मद्दत गर्छ ।

यति लाभदायक स्याउ पाउन पनि खासै गाह्रो छैन । किनभने हाम्रै मुलुममा पनि स्याउको पर्याप्त उत्पादन हुन्छ । विदेशबाट पनि आउँछ । नेपालमा खासगरी रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड र फुजी जातका स्याउ फल्छन् । जातअनुसार स्याउको रंग फरक–फरक हुन्छ । धेरैजसो स्याउ गाढा रातो, रातो, सुनौलो पहेंलो र हरियो हुन्छन् ।

स्याउ भदौ अन्तिमदेखि कात्तिक अन्तिमसम्म टिप्ने गरिन्छ । यो सिजनमा स्याउका बोट राताम्ये हुन्छन् । नेपालका ३३ जिल्लामा स्याउ फल्छ । जुम्ला, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, कालिकोट र हुम्लामा यसको व्यावसायिक खेती हुने गरेको छ । सबैभन्दा बढी स्याउ जुम्लामा पाइन्छ । यसलाई ७ डिग्री सेल्सियसभन्दा कम तापक्रम चाहिन्छ । एउटा दानाको तौल औसतमा १ सय ८५ ग्राम हुन्छ । एउटा बोटमा १ सय केजीसम्म फल्छ । नेपालमा श्री ३ चन्द्रशमशेरका पालामा जापान र इटालीबाट स्याउका केही बोट ल्याएर काठमाडौंको छाउनी, बालाजु र गोदावरीमा लगाइएको इतिहास छ ।

स्याउका बिरुवा पुस, माघमा रोपिन्छ । रोप्दा बिरुवा १० फिटको हुन्छ । रोपेको ५ वर्षमा फल्न थाल्छ । नेपालमा समुद्री सतहदेखि ३ हजार मिटर उचाइमा स्याउ खेती गर्न सकिन्छ । स्याउ फुल्ने समयमा कम तापक्रम, वर्षा, हिमपात र मौसम बदली भइरहे परागसेचन प्रक्रियामा बाधा पुग्छ ।

भदौ र असोजमा नेपालमै फलेको स्याउले बजार धान्छ । अरू बेला बाहिरबाट ल्याउनुपर्छ । चीन र भारतबाट धेरै स्याउ आयात हुन्छ । केही मात्रमा न्युजिल्यान्ड र अस्ट्रेलियाबाट पनि आउँछ । स्याउबाट रक्सी (ब्रान्डी), जुस, जाम, सुकुटी पनि बनाइन्छ । यसलाई दानै र काटेर चाना बनाएर खाना सकिन्छ ।

नेपालमा १२ हजार हेक्टर क्षेत्रफलमा स्याउ लगाइएको छ । वार्षिक २० हजार मेट्रिक टन स्याउ उत्पादन हुन्छ । ५ वर्षमा फल्ने स्याउ एक रोपनीमा २५ बोट लगाइन्छ । ‘नेपालमा फलेको स्याउ स्वादिलो र रसिलो हुन्छ,’ वरिष्ठ फलफूल विकास अधिकृत दीपक भट्टराई भन्छन्, ‘त्यही भएर बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेरकाले यसको स्वाद मन पराउँछन् ।’ उनका अनुसार स्याउबाट राम्रो आम्दानी पनि हुने हुँदा खेती गर्ने किसान बर्सेनि बढ्दै गएका छन् । पछिल्लो समय एक वर्षमै फल्ने उच्च घनत्व स्याउ खेती प्रविधि नेपालमा भित्रिएको छ । यो प्रविधिमार्फत सर्भिया र इटालीबाट बिरुवा ल्याएर सन् २०१५ देखि खेती गर्न थालिएको हो ।

Yamaha

प्रकाशित : भाद्र १०, २०७५ १२:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दानाको कच्चा पदार्थमा परनिर्भरता बढ्यो

विमल खतिवडा

काठमाडौँ — कुखुराका लागि दाना (आहारा) बनाउन वार्षिक १६ अर्ब रुपैयाँको कच्चा पदार्थ आयात हुने गरेको छ । दाना बनाउन सबैभन्दा बढी प्रयोग हुने मकै र भटमासको पिना हो । यो दुवै भारतबाट आयात हुने गरेको छ ।

दाना बनाउन ६० प्रतिशत मकै र २५ प्रतिशत भटमासको पिना प्रयोग हुने गरेको छ । भटमास शत प्रतिशत र मकै भने ७५ प्रतिशत आयात हुँदै आएको नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रविन पुरीले बताए । ‘भुटेर खानसमेत भटमास नेपालमा पाउन छाडिसक्यो,’ उनले भने, ‘झन् दाना बनाउन कहाँ पाउनु ? त्यसैले दानालाई चाहिने मुख्य कच्चा पदार्थ नै बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ ।’ सरकारले आयात रोकेर मुलुकमै कच्चा पदार्थ तयार गर्न सहयोग गर्नुपर्ने माग व्यवसायीको छ ।

‘खेतबारी बाँझो बस्ने क्रम बढेको छ,’ उनले भने, ‘बाँझो बस्न नदिन सरकारले मकै र भटमास लगाउन किसानलाई सहयोग गर्नुपर्छ, कच्चा पदार्थ यहीँ तयार भए ठूलो रकम बाहिरिने थिएन ।’ मकै र भटमासबाहेक दानाका लागि आवश्यक पर्ने ढुटो पनि आयात हुने गरेको छ । मुलुकभित्रै भने तोरीको पिना, तिलको पिना तयार हुने गरेको छ ।

त्यस्तै कच्चा पदार्थ आयातमा पहिले ५ प्रतिशतमध्ये १ दशमलव ६ प्रतिशत भन्सार शुल्क तिर्नुपथ्र्यो । अहिले पूरै तिर्नुपर्ने अवस्था रहेको अध्यक्ष पुरीले बताए । ‘नेपालमै उत्पादन भए बाहिरबाट कच्चा पदार्थ ल्याउनुपर्ने थिएन,’ उनले भने, ‘यो वर्षबाट भन्सार छुटको व्यवस्था हटाइएको छ, जसले गर्दा ढुवानी महँगो परेको छ ।’ उनका अनुसार यसबारे अर्थमन्त्रीलाई जानकारी गराए पनि कुनै सुनुवाइ भएको छैन । पुरीले भन्सार छुट नभएपछि भारतबाट तयारी दाना आयात हुने सम्भावना बढ्ने बताए ।

‘भन्सार छुट नहुँदा कच्चा पदार्थ आयात महँगो पर्छ, उत्पादन लागत बढ्छ,’ उनले भने, ‘भारतबाट तयारी दाना ल्याउँदा सस्तो पर्छ, दाना भन्सार तिरेर ल्याउँदासमेत सस्तो हुने हुँदा गुणस्तरहीन दाना भित्रिने खतरा बढ्छ ।’ कुखुराको आहारा महँगो हुँदा साना किसान पलायन हुने खतरा बढी छ । पछिल्लो समय साना किसानले कुखुरापालनको समेत विकल्प खोज्न थालेका छन् ।

पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराईका अनुसार अघिल्लो वर्षको तथ्यांकअनुसार साढे ८ अर्बको भटमासको पिना र साढे ७ अर्बको मकै आयात भएको थियो । ‘सरकारले ५ वर्षमा मकैमा र १० वर्षमा भटमासमा आत्मनिर्भर हुने कार्यक्रम ल्याउनुपर्छ,’ उनले भने, ‘त्यसपछि कच्चा पदार्थ आयात गर्नु पर्दैन, होइन भने भारतबाट कच्चा पदार्थ ल्याएर दाना उद्योग चलाउनुको विकल्प छैन ।’ कच्चा पदार्थ आयात महँगो हुँदा साना किसान मारमा परेका छन् ।

प्रकाशित : भाद्र १०, २०७५ ०८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT