हातैले लेखौं– धन्यवाद !

कान्तिपुर संवाददाता

काठमाडौँ — हालसालै तिमीले कसैलाई हातैले केही लेखेर पठाएका छौ ? छौ भने, त्यसमा ‘धन्यवाद’ लेखेका थियौ कि थिएनौं ? थिएनौ भने, जानिराख हस्तलिखित धन्यवादका कुरा । यी कुरा साइकोलजिकल साइन्स जर्नलमा प्रकाशित लेखमा आधारित हुन् ।इन्टरनेटको विकास हुनुपूर्व पत्र प्राय: हातैले लेखिन्थ्यो ।

इमेलको चलन चलेपछि हस्तलिखित पत्रको प्रयोगमा ज्यादै कमी आयो ।

अमेरिकाको टेक्सासस्थित म्याक कोम्बस स्कुल अफ बिजनेसका बजारशास्त्र विषयका उपप्राध्यापक अमित कुमारले हस्तलिखित धन्यवाद पत्रको फाइदासम्बन्धी अनुसन्धानको नेतृत्व गरेका थिए । उनीसँगै सिकागो विश्वविद्यालयको स्कुल अफ बिजनेसका व्यावहारिक विज्ञान विषयका प्रोफेसर निकोलस एप्ले पनि अध्ययनमा संलग्न थिए । हालै कुमार र एप्लेले यससम्बन्धी अनुसन्धानका क्रममा तीन प्रयोग गरे । ती प्रयोगअनुसार अध्ययनमा सहभागीले विभिन्न पत्रहरू लेखे । आफ्नो पत्र प्राप्त गर्ने व्यक्तिले कस्तो आश्चर्य, खुसी वा सम्भावना व्यक्त गर्लान् भनेर अनुमान पनि गरे ।

नतिजा के निस्कियो भने, प्रशंसाका लागि हस्तलिखित पत्रमार्फत व्यक्त हुने कृतज्ञता (धन्यवाद) पाउने व्यक्ति त खुसी देखियो नै त्यस्तो पत्र पठाउने व्यक्तिमा पनि सकारात्मक भावना बढेको पाइयो । अध्ययनको निष्कर्ष थियो– दैनिक रूपमा व्यक्त गरिने धन्यवाद नोटले मानिसलाई जीवनको बाटोमा थप प्रेरणा दिन्छ ।

‘हामीले के देख्यौं भने, विचारशील व्यक्ति र इमानदारलाई केही शब्दको धन्यवाद नोट लेख्न खासै समय लाग्दैन,’ कुमार भन्छन्, ‘यसको लागत कम हुन्छ, तर लाभ भने अपेक्षा गरिएभन्दा ठूला छन् ।’ लस एन्जलस टाइम्समा प्रकाशित यससम्बन्धी लेखमा ‘सही धन्यवाद नोट लेख्नका लागि दिइएका केही सुझाव यस्ता छन्– सुरुमा शिष्टाचार जनाउने । जस्तो कि तिमीलाई यस वर्ष धन्यवाद दिन पाउँदा निकै खुसी लागेको छ । आफूलाई गरिएको मद्दत वा दिइएको वस्तुका लागि धन्यबाद दिने । जस्तै : निकै राम्रो कचौराका लागि धन्यवाद । वास्तवमा यो मेरो डाइनिङ टेबलको रंगमा निकै राम्रो देखिएको छ । म जुनसुकै मौसममा पनि यसलाई प्रयोग गर्छु । धन्यवाद नोटमा आफ्नो रुचि र चाहना पनि समावेश गर्नु राम्रो हुन्छ । तर अनिवार्य भने छैन । जस्तै, म नयाँ वर्षमा भ्रमण गर्न उत्सुक छु । आशा गर्छु, तिमी पनि बिदाको आनन्द लिन्छौ ।

के अब यति बुझिसकेपछि पनि तिमी कसैलाई धन्यवाद भन्न वा लेख्न कन्जुस्याइँ गर्छौ ? कुमार र एप्लेको अध्ययनबारे थाहा पाइसकेपछि धेरैले हस्तलिखित पत्रको मनोवैज्ञानिक र सामाजिक फाइदा बुझ्नेछन् । अनि पक्कै पनि यस्ता धन्यवाद नोट लेख्नेछन् । साथै यस्तो बानी साथीहरूमाझ पनि छिट्टै फैलाउनेछन् ।

(क्रिस्टोफर बर्गल्यान्डको साइकोलजी टुडेमा प्रकाशित लेखको भावानुवाद)

Yamaha

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पाका साथी

शान्तदास अहिले ८५ वर्षका भए तर थुप्रै बालबालिकाका साथीजस्तै छन् । बाल साहित्यमा योगदान पुर्‍याएकामा उनले जगदम्बाश्री पुरस्कार पाउने भएका छन् ।
हिमेश बज्राचार्य

काठमाडौँ — शान्तदास मानन्धर बालसाहित्यका हुन् । उनी अहिले ८५ वर्षका भए । यो उमेरमा पनि उनी बालसाहित्य लेखन र सम्पादनमा एकदमै सक्रिय छन् । उनले बालसाहित्यमा कलम चलाउन थालेकै ६० वर्ष भइसक्यो । उनका दुई दर्जन जति बालसाहित्यका किताब प्रकाशित छन् । दुई सयभन्दा बढी बालसाहित्यकै पुस्तक सम्पादन गरेका छन् ।

अहिले पनि स–साना बालबालिकाले पढ्ने साहित्य कस्तो हुनुपर्छ भनेर अध्ययन र चिन्तन मनन गरिरहेका छन् । बालसाहित्यमा निरन्तर कलम लचाएर स्तरीय रचनाहरू दिएबापत् उनलाई जगदम्बाश्री पुरस्कार दिने घोषणा हालै मात्र भएको छ ।

काठमाडौंको झोछेँमा जन्मेका शान्तदासले सुरुवाती शिक्षा आफ्नै घर र टोल छिमेकमा पाएका थिए । किनभने उनी आफू सानोछँदा विद्यालय जाने चलन थिएन । पछि एकैपल्ट ५ कक्षामा जेपी स्कुलमा भर्ना भए । त्यहाँबाटै एसएलसी दिए ।

झोछेँमा जन्मे पनि उनी नजिकैको मरुटोलमा हुर्किए । त्यहाँ उनको बुबाको साबुन पसल थियो । पढ्दै जाँदा उनले स्नातकसम्मको शिक्षा हासिल गरे । शान्तदासले शिक्षकका रूपमा धेरै वर्ष पढाए । त्यसताका पढाउनुलाई पेसाभन्दा पनि समाजसेवाका रूपमा लिइन्थ्यो । उनले एक होइन, धेरै विद्यालयमा पढाए । २००९ सालतिर युवामाझ समाजसेवा गर्ने लहर नै सुरु भएको थियो । यसमध्ये पढाउनुलाई नै सबैभन्दा राम्रो काम मानिन्थ्यो ।

शान्तदासले सबैभन्दा लामो समय शिक्षकका रूपमा झोछेँकै बालसेवा विद्यालयमा बिताए । त्यहाँ १० वर्ष प्रधानाध्यापक रहे । त्यसअघि काठमाडौंकै लैनचौरस्थित शान्ति विद्यागृहमा पनि केही समय पढाए । यसरी शिक्षकका रूपमा विद्यालयमा समय बिताउँदा उनी स–साना बालबालिकासँग नजिक हुन पुगे ।

यस क्रममा उनलाई थाहा भयो– कलिलो उमेरका बालबालिकालाई के मन पर्छ, के मन पर्दैन ? के गर्दा खुसी हुन्छन्, के गर्दा बेखुसी ? शान्तदास राम्रा चित्रकारसमेत थिए । त्यसैले पढाउने क्रममा उनी जहिल्यै सकेसम्म चित्रको बढी प्रयोग गर्थे । घोडाबारे पढाउनु छ भने उनी ब्ल्याकबोर्डमा त्यसको चित्र बनाउँथे । चित्रमै घोडा देखेपछि यो कस्तो जनावर हो भनेर धेरै बताइरहनै पर्दैनथ्यो ।

त्यसैले पनि होला शान्तदास स–साना विद्यार्थीबीच निकै लोकप्रिय भए । यो लोकप्रियतासँगै उनी बालसाहित्यमा आकर्षित भए । अनि स–साना बालबालिकाका लागि कलम चलाउन थाले । २०१५ सालतिर शान्तदासका दुई पुस्तक अंग्रेजीमा प्रकाशित भए । पछि नेपाली र नेपाल भाषामा पनि कलम चलाए । त्यति बेला नेपालीमा बालसाहित्य लेख्न थालिएको थियो । तर प्रकाशित पुस्तक बालबालिकाको हातमा पर्न मुस्किल थियो । ‘मैले बालसाहित्य सिर्जना गर्न थाल्नुको पहिलो उद्देश्य भनेकै किताबहरू बालबालिकासम्म पुगोस् भन्ने थियो,’ अहिले उनी सम्झिन्छन् ।

शान्तदास युवाछँदै चीन र त्यति बेलाको सोभियत संघसँग नेपालको दौत्य सम्बन्ध सुरु भएको थियो । त्यस क्रममा त्यहाँका बालसाहित्य पनि नेपाल आइपुगे । त्यसमध्ये केही नेपालीमा अनुवाद भए । यसरी चीन र सोभियत संघका बालसाहित्यबारे पनि जानकारी भएपछि उनलाई यस क्षेत्रमा कलम चलाउन अझै मद्दत पुग्यो ।

बालसाहित्य कस्तो हुनुपर्छ भन्नेबारे शान्तदास भन्छन्–
बालसाहित्य लेख्दा निकै सचेत भएर लेख्नुपर्छ । यसका लागि धेरैभन्दा धेरै मिहिनेत चाहिन्छ । एकैपल्ट लेखेर टुंग्याउनुपर्छ भन्ने छैन । दोहराएर– तेहराएर लेख्नुपर्छ । लेखकले आफ्ना रचना सफा होस् भनेर निरन्तर र सक्दो प्रयास गर्नुपर्छ । बालसाहित्यको लेखकले सबैभन्दा पहिले ध्यान दिनुपर्छ– कतै यसले बालबालिकालाई कुनै प्रकारले हानि पुर्‍याउने काम त गर्दैन ? यस्तो हानि चेतनाका रूपमा पनि हुन सक्छ, शारीरिक पनि हुन सक्छ । अथवा दुवै । बालसाहित्यको रचना आमा भएर गर्नुपर्छ । यसका लागि आमाको जस्तै माया र धैर्य हुनुपर्छ । आमाको जस्तैमुटु, त्याग र समर्पण चाहिन्छ ।

आफ्नो बच्चालाई लिएर आमाको आफ्नै धारणा हुन्छ । ठूलो भएर यो यस्तो बन्छ, उस्तो बन्छ भन्ने आशा र भरोसा हुन्छ । त्यसरी नै लेखकले पनि बालबालिकाप्रति आशा र भरोसा राख्नुपर्छ । अहिलेको बालसाहित्यमा धेरै सुधार चाहिन्छ ।

प्रकाशित : भाद्र १७, २०७५ १०:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT