कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पक्कु र दर

काठमाडौँ — प्रभा तिमीले होमवर्क सक्यौ ?’‘तिमीले ?’‘तिमीले के गर्‍यौ, पैले तिमी भन न ।’ ‘मैले त छैन । ममी मामाघर गइस्यो । बाबाले जानिसिन्न । कसरी सक्नु नि होमवर्क ?’‘त्यसो होइन क्या, बाबालाई सोधन, जानिसिन्छ होला । मैले त सकें नि, बाबामामु दुवैले सिकाइस्या ।’ भदौको एक बिहान प्रभा र आभाले यसरी गफ गरे ।

पक्कु र दर

गफ सकेपछि दुवै बालिका आ–आफ्ना घरभित्र गए । उनीहरू दुवै ओल्लोपल्लो घरका छिमेकी थिए । त्यसो त उनीहरू दुवैको पुख्र्यौली घर काठमाडांै होइन । फरकफरक ठाउँका उनीहरूका बुबाआमा काठमाडौं आएपछि छिमेकी बने । तर यी दुई बालिका भने काठमाडौंमै जन्मिएकाले जन्मँदादेखि नै छिमेकी बने । उनीहरूको उमेर मिल्दो थियो । स्कुल र पढ्ने कक्षा पनि एउटै थियो । अहिले उनीहरू पाँचमा पढ्थे । दुवै खुब मिल्थे पनि ।

उनीहरूको स्कुलमा नेपाली विषय गुरुआमाले पढाउनुहुन्थ्यो । उहाँ पुस्तकका पाठ पढाउनुका अतिरिक्त समय र सन्दर्भअनुसार चाड, पर्व, संस्कृति र संस्कारका बारेमा पनि कुरा गर्नुहुन्थ्यो । यति बेला पनि तीजले सहरलाई छोइसकेको थियो । हिजो गुरुआमाले उनीहरूको कक्षामा भन्नुभयो, ‘भोलि म तिमीहरूलाई तीजका बारेमा भन्छु । त्यो भन्दा पहिले यसपालि तिम्रो घरमा तीज कसरी मनाउने योजना छ भन्ने बारेमा आमाबुबालाई सोधेर लेखेर ल्याऊ है ।’ प्रभा र आभालाई आज यही काम सक्नु थियो ।

‘मैले हिजो दिएको काम सबैले पूरा गरेको छ है,’ भोलिपल्ट आफ्नो घण्टीमा गुरुआमा आएपछि भन्नुभयो । ‘गरेका छौँ गुरुआमा,’ यो विद्यार्थीेहरूको सामूूहिक आवाज थियो ।
‘ल, आफ्नो पालोमा आफूले लेखेर ल्याएको योजना सुनाउँदै जाने है,’ गुरुआमाले पालो लगाउनुभयो । विद्यार्थीले स्वीकार गरे ।

सुरुमा आभाको पालो पर्‍यो । उनले आफ्नो परिवारको तीजको योजना सुनाइन् । यसपालिको तीज उनको घरमै मनाउने रे । टोलका सबैसँग पालो मिलाउँदा उनीहरूको पालो छिट्टै परेको रहेछ । पोहोरपरारका कार्यक्रममा भेज खानेकुरा मात्र हुँदा धेरैले खल्लो मान्नुभयो रे । त्यसैले यो वर्ष खसी पनि काट्ने रे । आमाले त नयाँ गहना र लुगा किनिसक्नुभयो रे र उनका लागि पनि नयाँ लुगा ल्यादिइसक्नुभएको छ रे ।

आभापछि करिस्माको पालो आयो । उनले पनि आफ्नो घरको तीजको कार्यक्रमको योजना सुनाइन् । यस वर्ष उनीहरूको घरबाट ‘ग्रान्ड पार्टी’ दिने पालो रहेछ । टोल छिमेकका सबैले आफ्नो पालोमा पार्टी दिँदा रहेछन् । पालोको अन्तिममा अलि विशेष कार्यक्रमसहित पार्टी प्यालेसमा ककटेल डिनरको आयोजना गरिँदो रहेछ । यसलाई उनीहरू ‘ग्रान्ड पार्टी’ भन्दा रहेछन् र यस वर्ष यसको पालो करिस्माको परिवारको रहेछ । उनीहरूको पालो तीजको व्रतभन्दा केही पछाडि परेको भए तापनि उनीहरूले पैसाको बन्दोबस्त र पार्टी प्यालेस फिक्स गरिसकेका रहेछन् ।

यसैगरी सबैले आआफ्नो घरको योजना सुनाए । प्रभाको पालो आएपछि गुरुआमाले उनलाई सोध्नुभयो । उनले होमवर्क गरेकी थिइनन् । उनले भनिन्, ‘मामु घरमा आइसेन । उहाँ आइसेपछि सोधेर भोलि हेमवर्क बुझाउँछु ।’

हरिमायाको पालो अन्तिममा आयो । उनले सबै साथीका भव्य र महँगा तीज कार्यक्रमका योजना सुनिसकेकी थिइन् । त्यसैले होमवर्क भन्न गाह्रो मानिन् । महँगो स्कुल पढ्ने भए तापनि उनी सम्पन्न परिवारकी थिइनन् । उनका बाआमा सहरमा मजदुरी काम गर्नुहुन्थ्यो । पढाइ राम्रो भएको र बुबाले धेरैपल्ट अनुरोध गरेपछि उनले त्यहाँ छात्रवृत्तिमा पढ्न पाएकी थिइन् । गुरुआमाले कर गरेपछि रातोपिरो मुख पार्दै उनले होमवर्क पढिन् । ‘यसपालि हाम्रो घरको तीजको कार्यक्रम करिब सधैंजस्तै हुने छ । दुई दिन बाबा काममा जानुहुन्न । दर खाने अघिल्लो दिन बुबा फुपूलाई लिन जानुहुन्छ । आमालाई त्यति सन्चो छैन । यसपालि उहाँ मावल जानुहुन्न । व्रत बस्ने अघिल्लो रात आमाले दर पकाउनु हुन्छ । करेलाको पक्कुसँग दर खान खुब मीठो हुन्छ । राति उठेर सबै जना दर खान्छौँ । कमजोर स्वास्थ्यको कुरालाई ख्याल गरेर बुबाले आमालाई यस वर्ष खाली पेट नबस्न भन्नुभएको छ । तर आमाले दिनभर व्रत बस्न सकिनँ भने पनि सकेजति समयचाहिँ बस्छु भन्नुभएको छ । पूजाका लागि गुरुलाई पनि छिट्टै डाक्नुभएको छ । पूजा सकिएपछि आमा र फुपूले फलफूल, दूध खानुहुन्छ होला ।’

यसपछि तीजबारे गुरुआमाले बोल्नुभयो । उहाँले हरिमाया र उनको परिवारलाई स्याबासी दिनुभयो । कक्षाका साथीहरू ‘पक्कु’ र ‘दर’ कस्तो हुने रहेछ भनेर छक्क परिरहेका थिए । गुुरुआमाले तीजको परम्परा, महत्त्व र संस्कृतिका बारेमा भन्नुभयो । हाम्रा चाडपर्वलाई देखासिकीको तथा भड्किलो बनाउनु नहुने र हरिमायाको परिवारले जस्तै साधारण बनाएर मान्नुपर्ने कुरा गर्नुभयो । कक्षाको समय सकिन लाग्दा आभा, प्रभा र करिस्मा घरैमा ‘पक्कु’ र ‘दर’ पकाइमागेर खाने सल्लाह गर्दै थिए ।

प्रकाशित : भाद्र २४, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?