कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कराते क्रेज 

काठमाडौँ — उचाइ चार फिट नौ इन्च । तौल ३५ केजी । उमेरले १२ वर्ष । हेर्दा बालकै देखिन्छन् खोटाङ्का सूर्यचन्द्र राई । तर उनी अब्बल कराते खेलाडी हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का सूर्यचन्द्रको कराते खेलले खोटाङको कराते टिमलाई अब्बल सावित गर्दै आएको छ ।

कराते क्रेज 

गत जेठ १० र ११ गते ललितपुरमा भएको प्रथम उपराष्ट्रपति कप प्रतियोगितामा खेलकै प्रथम भएका छन् । यति मात्र होइन प्रदेश, जिल्ला तथा अन्य खेलहरूमा धेरै स्वर्ण पुरस्कार हात पारेका छन् । प्रदेशस्तरीय खेलमा काता तथा कुमितेमा स्वर्ण पुरस्कार हात पारेका छन् । त्यस्तै जिल्ला स्तरीय खेलामा समेत स्वर्ण पुरस्कार चुमेका छन् । अन्तर्राष्ट्रिय आमन्त्रित खेलमा पनि अब्बल प्रस्तुति गरेका छन् । आमा मौलीशोभा र बाबु लाखधन राईका कान्छा छोरा हुन् सूर्यचन्द्र ।

खोटाङ्कै दिक्तेल अंग्रेजी आवासीय विद्यालयमा कक्षा ७ मा अध्ययनरत उनी खेलका साथसाथै पढाइलाई पनि चासो दिन्छन् । सात वर्षअघिदेखि कराते खेल्न सुरु गरेका उनले सन २०१५ मा ब्ल्याक बेल्ट (सोदान) र २०१७ मा सेकेन्ड डान (निदान) गरेका छन् । उनको पारिवारिक वातावरण पनि खेल जगत्मै भएकाले खेलप्रति चासो बढेको हो । उनका दाजु मोतीचन्द्र राई (माइला) पनि करातेका आशलाग्दा खेलाडी हुन् ।

आगामी हुने विभिन्न कराते प्रतियोगिताहरूमा उनीबाट ठूलो आशा राखेको सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राई बताउँछन् । ‘सूर्य सानो भए पनि खेलमा निक्कै परिपक्व छन्,’ राईले भने, ‘उनको भविष्य खेल क्षेत्रमा राम्रो देखिन्छ ।’ राईले थपे, ‘यस्ता खेलाडीलाई उपेक्षा गरिएको छ ।’ राई थप्छन्, ‘स्थानीय, प्रदेश तथा संघीय सरकारको खेलप्रतिको दृष्टिकोण सकारात्मक हुन जरुरी छ ।’

त्यसो त सरकारको तलब खाएर बसेका जिल्ला स्थित कराते प्रशिक्षकहरूसमेत कराते खेलप्रति उदासिन बनेको राईले आरोप लगाए । तलब खाएर प्रशिक्षण गर्नुपर्नेमा उल्टै कराते प्रशिक्षार्थीलाई निरुत्साहित गर्ने खेलमा लागेको राईको आरोप छ । ‘कम्तीमा प्रशिक्षण नगरे पनि असहयोग नगरे हुन्थ्यो,’ राईले भने ।


डम्बरसिं राई

प्रकाशित : मंसिर २, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?