कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाल्यकालको वातावरण 

काठमाडौँ — हामी सबैका आ–आफ्ना साथी छन् । सँगै पढ्छौँ, सँगै खेल्छौँ । तर सबै फरक–फरक परिवेशका छौँ । कसैको घर गाउँमा छ, कसैको सहरमा । कोही धनी परिवारका छौँ, कोही विपन्न । कतिका अभिभावक शिक्षित छन्, कतिका अक्षरसमेत चिन्दैनन् । संस्कृति र परम्परा पनि फरक–फरक छ । परिवारैपिच्छेका संस्कार र चालचलन छन् ।

बाल्यकालको वातावरण 

कसैको घरमा दिनहुँ झगडा हुन्छ त कसैकोमा सद्भाव र ज्ञानगुनका कुरा । यी सबैले हाम्रो व्यक्तित्व विकासमा कस्तो असर पार्छन् भन्नेबारे हालै एक अनुसन्धान गरिएको छ । अनुसन्धानको निष्कर्ष छ– हाम्रो जीवन कस्तो हुन्छ भन्ने कुरालाई प्रारम्भिक वातावरणले धेरै हदसम्म प्रभावित पार्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार हामी को हौँ भन्ने कुरा हामी कहाँ, कहिले कसरी जन्मियौँ र हुर्कियौँ भन्ने कुरामा निर्भर गर्छ । मानव विकास र न्युरोबायोलजीका क्षेत्रमा विभिन्न मुलुकमा गरिएका अनुसन्धानले प्रारम्भिक वातावरणको महत्त्वलाई जोड दिएको छ । जसले बच्चैदेखि खेलकुदको राम्रो अवसर पाएको छ उसको पछिसम्मको स्वास्थ्य राम्रो हुने सम्भावना हुन्छ । सानैदेखि बौद्धिक परिवेशमा हुर्कनेहरूको विश्लेषणात्मक क्षमता ज्यादा पाइएको छ । राम्रो संस्कारमा हुर्केका बालबालिका पछि गएर असभ्य बनेको उदाहरण विरलै छ । कतिपय आनीबानी बसाउन सुरुमा गाह्रो भए पनि पछि तिनले पेसागत र व्यावसायिक जीवनमा ठूलो मद्दत पुर्‍याएको देखिन्छ । यी र यस्तै तथ्यहरूका आधारमा जीवनभरको भलाइका लागि बाल्यकालको वातावरण जिम्मेवार रहेको निष्कर्ष निकालिएको हो । व्यक्तिको मानसिक र शारीरिक भलाइमा उसको विगत वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रारम्भिक वातावरणले नै शारीरिक, मानसिक र सामाजिक विकासलाई निर्धारण गर्छ ।

स्नायु विकाससम्बन्धी अध्ययनले हाम्रो प्रारम्भिक वातावरणले पछिको जीवनमा हामीले प्राप्त गर्न सक्ने क्षमतामा पनि प्रभाव पार्ने देखाएको छ । स्वास्थ्यसम्बन्धी जोखिमहरू पनि यसमै आधारित हुन्छन् । उदाहरणका लागि शारीरिक दुव्र्यवहार वा उपेक्षामा हुर्किएका बालबालिका वयस्क भएपछि तनाव र चिन्तामा पर्ने सम्भावना बढी हुन्छ किनभने जोखिमपूर्ण परिस्थितिबाट उत्पन्न हुने तनाव नियन्त्रणमा राख्न बच्चाको विकासशील शारीरिक स्नायु प्रणालीले सहयोग पुर्‍याउँछन् ।


जुन व्यक्तिको बाल्यकालको जैविक प्रणालीमा तनाव वा शारीरिक आलोचना ज्यादा हुन्छ, त्यसको प्रभाव भविष्यसम्मै रहिरहन्छ । स्नायु शरीर विज्ञानका हानिकारक प्रभावहरूको असर दीर्घकालीन हुन्छन् । प्रारम्भिक जीवनमा हुने तनावले हाम्रो खुसी र स्वास्थ्य अनुकूल राख्ने तत्त्वहरूको विकास गर्ने क्षमतामै कमी ल्याउन सक्छ । प्रतिकूल वातावरणमा हुर्केका बालबालिकामा प्राय: आफैं निर्णय लिन सक्ने क्षमता कमी हुन्छ । उसका लागि अवसर पहिचान गर्न कठिन पर्छ । स्रोतसाधन जुटाउने तरिका पत्ता लगाउन पनि गाह्रो पर्छ ।

जीवनमा सफल हुन राम्रो सामाजिक क्रियाकलाप आवश्यक हुन्छ तर अभाव र तनावमा हुर्केका बच्चाहरूले आफूलाई सामाजिक सम्बन्धमा सफलतापूर्वक प्रस्तुत गर्न सक्दैनन् । सामाजिक सहयोग दिन वा दिन असहज मसुस गर्छन् । भावनात्मक र पारस्परिक परिस्थितिलाई उचित रूपमा सम्हाल्न सक्दैनन् ।

स्नायु विकासमा हुने अवरोध वा हानिकारक प्रभावले व्यक्तिको सिर्जनात्मक क्षमता र आत्म–नियन्त्रणलाई हानि पुर्‍याउँछ । त्यसैले हाम्रो बाल्यकाल सकेसम्म तनावरहित हुनुपर्छ । प्राकृतिक वातावरणमा हुर्कन पाउनु बालबालिकाका लागि ठूलो अवसर हो । सुरुदेखि नै शारीरिक र बौद्धिक कसरतको पर्याप्त अवसर भयो भने भविष्य पनि सहज बन्दै जान्छ ।

(साइकोलजी टुडेमा प्रकाशित आलेखमा आधारित)

प्रकाशित : मंसिर १६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?