कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तोरण तार्दा 

काठमाडौँ — मेरो स्कुल तनहुँको शुक्लागण्डकी नगरपालिकामा छ । स्कुलको उत्तरतिर हरियो पहाड छ । त्यो पहाड पारिबाट अन्नपूर्ण र माछापुच्छे हिमालले आफ्नो टाउको देखाएर मुसुक्क हाँस्छन् । मेरो विद्यालयले विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई खोज्छ । ती प्रतिभा प्रस्फुरण गराउन अतिरिक्त क्रियाकलापका कार्यक्रमहरू आयोजना गर्छ । त्यसका लागि शुक्रबार नै पर्खनुपर्छ भन्ने छैन । 

हरेक वर्षको कात्तिक शुक्लपूर्णिमाका दिन हरिबोधनी एकादशी पर्छ । यस दिन तुलसीको विवाह विष्णु भगवान्सँग हुन्छ । शालीग्रामलाई विष्णुको प्रतीक मानिन्छ । नदी वा घाटमा शालीग्राम पाइने हुनाले तुलसीको विवाह गर्न खोलामा गइन्छ र तोरण तारिन्छ ।


हरिबोधनी एकादशीमा तोरण तार्ने परियोजना कार्य थियो । त्यसमा हामी कक्षा ५ का मर्करी र भेनसका साथी सहभागी थियौँ । यसका निम्ति हामीले शिक्षकको निर्देशन र सहयोगमा स्कुल प्रांगणमा तुलसीको सुन्दर मोठ बनायौं । माटो ल्याएर हिलो बनायौं र लिपेर चिटिक्क पर्‍यांै । कहिल्यै पनि लिपेको अनुभव नगरेका हामीलाई मोठ लिप्न निकै गाह्रो भयो । पहिला पहिला माटोले सिंगै घर नै कसरी लिपिन्थ्यो होला ? लिपेको सुकेपछि गेरु रङ लगायांै । तुलसीको मोठ दुलहीजस्तै सुन्दर बन्यो ।


हामीले किताबका कुरा धेरै जानेका छौं । तर व्यावहारिक कुरा जान्न सकेका रहेनछौं । बाबियोबाट डोरी बाट्न हामी कसैले पनि नजानेपछि मलाई यस्तो महसुस भयो । शिक्षक, शिक्षिका र अभिभावकको सहयोगमा स्कुलको पछाडि हामी सबै साथी मिलेर डोरी बाट्यौं । डोरी बाट्न पूरै एक दिन लाग्यो । सुरुमा गाह्रो भए पनि पछि त हामी सिपालु नै भयौं ।


अर्को दिन सबै साथीले घरबाट फूलपाती लिएर आए अनि त्यो डोरीमा फूल उन्यौं । जुवा, नाङ्लो, कुचो आदिका आकृतिको व्यवस्था स्कुलले नै गरेको रहेछ । तिनलाई पनि डोरीमा बाध्यौं । तोरण तयार भयो । सबै साथीको मुहारमा खुसी छायो ।

भजन त हामीले बनाएका थियौं । एक महिना अगाडिबाट नै हप्ताको दुई तिन दिन एक घण्टी अभ्यास गर्दै पनि आएका थियांै । केही साथीहरूले ताल मिलाएर मादल बजाउन सक्ने भएका थिए । केही साथीहरू स्वरमा स्वर थपेर गाउन जान्ने भइसकेका थिए । केही साथी गीतको भावअनुसार छम्मछम्म नाच्ने अभ्यासमा पोख्त भएका थिए । एकादशीको दिन स्कुल बिदा थियो ।

एकादशी मेलाको भीडमा तोरण टाग्दा गाह्रो हुने हँुदा हामीले त्यो दिन तोरण तारेनौं । एकादशीको भोलिपल्ट हामी तोरण तार्नेे कार्यमा संलग्न भयौं । तुलसीको मोठलाई कपडा, फूलपातीले सिँगारेर चिरिच्याट्ट पार्‍यांै । चार कुनामा दियो बालेर पूजा गर्‍यौं । स्कुलमा साँच्चिकै कसैको विवाह भएको हो कि जस्तो रमाइलो वातावरण सिर्जना भएको थियो । हामीमध्ये कसैले तोरण समायौं । कसैंले डमरु, मादल र छ्याइँछ्याइँ बजायौं । कसैले खैंचडी बजायौं । सबैले भजन गायौं । कोही नाचे । हाम्रो समूह विस्तारै स्कुलको गेटबाट बाहिर निस्कियौं ।


नाच्ने गाउने बजाउने र तोरण बोक्ने गरेकाले बाटोमा मान्छेहरूले रमाइलो मानी मानी हेरिरहेका थिए । कतिले त हाम्रो समूहमा आएर फूल पैसा पनि दिए । कसैले घरको छतबाट भिडियो खिचे । केहीले हाम्रो नाच्ने साथीहरूलाई कानमा पैसा लगाइदिए ।

हामी रमाइलो गर्दै सेतीनदी घाटमा पुग्यांै । नदी ठूलो भएकाले सरहरूले तोरण तार्नेे काम आपैंm गर्नुभयो । हामीले खोली किनारमा बसेर पूजा गर्‍यौं । फूल, अक्षतालगायतका हामीले लगेका वस्तुहरू नदीमा बगायौं । खुसीका साथ फेरि स्कुल फर्कियौं । तोरण तार्ने काम आफैंमा एउटा अवसर थियो । यो अवसरबाट हामीले लिप्ने, पोत्ने, डोरी बाट्ने लगायतका धेरै जीवनोपयोगी ज्ञान व्यावहारिक रूपमै सिक्यौं ।

-गरिमा उपाध्याय, श्रीषा पौडेल, राधा शाह,

कक्षा– ५ (मर्करी)

ज्ञान बगैँचा इंग्लिस बोर्डिङ स्कुल, तनहुँ

प्रकाशित : पुस १, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?