जोगीझैँ मूर्तिकार जोडी

व्यक्ति
तारालाल श्रेष्ठ

काठमाडौँ — नेपाली लिखित इतिहास प्राचीनतम ढुंगाका मूर्तिकलाबाट सुरु भएको देखिन्छ । चाँगुनारायण मन्दिरमा अवस्थित पत्थरका पिलरहरूमा लेखिएका अक्षरहरूलाई नेपाली लिखित इतिहासको सुरुआत मानिन्छ ।

मदन चित्रकारका शब्दमा, इसापूर्व पाँचांै शताब्दीतिरै चाँगुनारायणमा प्रतिस्थापित विराट मूर्तिकला एउटै जीवित इतिहासले नेपाली संस्कृति र सभ्यताको विशालता झल्काइरहेको छ । विशिष्ट नेपाली विहार तथा स्तूपका इतिहास उत्तिकै विराट छन् । विशाल दरबारहरू ढुंगाकै बन्थे । हजारौं वर्षदेखि यस्तो गरिममयी इतिहास र सभ्यता बोकेको नेपाली मूर्तिकला अहिले कतातिर अघि बढ्दै छ भन्ने गम्भीर विषयमा भने खासै बहस भएको भेटिन्न ।
त्रिभुवन विश्वविद्यालयको ललितकला केन्द्रीय विभागबाहिर एक समूह कलाकार एउटा मूर्तिकलालाई अन्तिम स्वरूप दिँदै गरेको देख्यौं, चिसो चौरमा बत्ती बालेर । करिब ३ टनका दुई पिस ढुङ्गा थिए, एउटा कमलको पात र अर्को कमलको कोपिला । दुइटा पिस ढुंगाका मूर्तिकलालाई ‘टुचिन’ ले उचालेर ‘भालेपोथी सेट’ जोड्दै थिए, आठ जना कलाकार । धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयको रजत जयन्तीलाई स्मरणीय बनाउन त्रिभुवन विश्वविद्यालय प्राङ्गणमा ढुंगाको मूर्तिकला कुँदिँदै रहेछ । त्रिवि र काविका एक जोडी प्राध्यापकको अगुवाइमा उक्त मूर्तिकलालाई अन्तिम स्वरूप दिइँदै थियो । नवीन तिवारी र म नियमित ‘इभिनिङ वाक’ हापेर त्रिवि र काविका जोगीजस्ता जोडी मूतिकारसँग चौरमै बसेर गफियौं ।

Yamaha


हामीले इतिहास खोतल्यौं । गुल्मी जिल्लाको ठूलो लुम्पेकका भुवन थापा ललितकला विषयमा अध्ययन सकेपछि काठमाडौँ विश्वविद्यालयमा जागिरे भएछन्, कला विभागमा । तेह्र वर्षदेखि उनी काविमा प्राध्यापनरत रहेछन् । दालभात जोहो गर्ने खर्च काविको प्राध्यापनबाट जुटाउँदा रहेछन् । अनि अन्य समय मूर्तिकलामा तल्लीन । उनले दुई दर्जन अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय मूर्तिकला कार्यशाला तथा प्रदर्शनीमा भाग लिइसकेछन् । एकल मूर्तिकला प्रदर्शनी पनि सम्पन्न गरिसकेछन्, सत्तरी सालको भूकम्पपछि, ‘आत्मानुभूति’ शीर्षकमा । भुवनले सुदूरपश्चिम डोटीका मित्र ताराप्रसाद ओझा भेटेछन्, ललितकलामा स्नातकोत्तर अध्ययनका क्रममा । हाल त्रिवि ललितकला केन्द्रीय विभागमा प्राध्यापनरत तारा पनि सधैँभरि मूर्तिकलामै तल्लीन भेटिन्छन् । त्रिवि ललितकला केन्द्रीय विभागछेउ एउटा कुनामा तारा अनेक स्वरूपका विशाल ढुङ्गाका मूर्तिहरू कुँदिरहेका भेटिन्थे, सधैँ धुस्रेफुस्रे भेषमा । कहिले मूर्ति बनाउँदा निस्केका ढुङ्गाका चोइटाहरू टिपनटापन गरी खाल्टाखुल्टी पुरपार पार्दै पनि गर्थे । काविका भुवन पनि त्रिविमा तारासँगै देखिन्थे, बेलाबखत । तारा र भुवन भन्छन्, ‘मूर्तिकारहरू काठमाडौँमा निकै त्रासमा बाँच्नुपर्छ ।’ मूर्तिकारले डेरामा काम गर्न पाउन्नन् । कसैको घरछेउ काम गर्न पनि पाउन्नन् । बाँझो जमिन लिजमा लिएर ट्याङ्लाफाँटमा दर्जनौँ विशाल ढुङ्गा लोडर र डोजरको सहारामा झारेछन्, लाखौँ खर्चेर । तर, स्थानीयले विरोध गरेपछि उनीहरू तर्सिएछन् । स्थानीय कलाकार कमलेश महर्जनले पनि सम्झाउन सकेनन्, स्नाथीयवासीलाई । उनी पनि यो जोडीसँग निकट रहेछन् । ‘ढुङ्गा ट्रिपरबाट झार्दा घरै हल्लियो, यत्रा ठूल्ठूला ढुङ्गामा ठोक्दै मूर्ति बनाउँदा घरै थर्कन्छ, भित्ता चर्कन्छ’ भनेर छिमेकी आइलागेछन् । जाइलाग्न नसकेर ललितकला विभाग छेउमा मूर्ति कुँदन बाध्य बनेछन्, तारा । विभागले मौन सहमतिबाट सहयोग गरेकै छ । तैपनि कति बेला कसले केही भन्लान् कि भन्ने त्रासैत्रासबीच उनी मूर्ति कुँदिरहेका भेटिन्छन् । तीनवटा एकल मूर्तिकला प्रदर्शनी गरिसकेका तारा उत्तिकै फुर्तिला देखिन्छन् । दुई दर्जन जति अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय कार्यशालामा भाग लिइसकेका उनी स्थायी स्टुडियोको खोजीमा छन् ।
त्रिवि ललितकला केन्द्रीय विभागका प्रथम ब्याच सहपाठी जोडी त्रिवि र काविमा काम सकिनेबित्तिकै भेटिहाल्छन् । प्राय: काविबाट भुवन तारा भेट्न त्रिवि आउँछन् । काविमा भन्दा त्रिविमा बढी खुला मैदानमा मूर्तिको काम गर्न मन पर्छ, भुवनलाई पनि । तिनको मित्रता नमुनाझैँ देखिन्छ । भुवन भन्छन्, ‘हाम्रो धेरै कुरा मिल्छ । स्वभाव समान किसिमको छ ।’ मैले कसरी भनी सोधें । भुवनले तारातिर औल्याउँदै भने, ‘जातले उहाँ बाहुन, मचाहिँ मगर, तर स्वभाव दुवैको चिसो । चिप्लो घस्न नसक्ने, जे छ त्यो गोलीझँै सोझै ठोक्ने स्वभाव । कुनै कुरा नलुकाउने र अरूलाई नपिरोल्ने पनि । खानपिनमा पनि हामी दुवै शुद्ध साकाहारी ।’ आजसम्म जाँड–रक्सी, खैनी–चुरोट केही अम्मलपानीले नछोएको जोडीको सोच मिल्दो रहेछ । कुनै लप्पनछप्पन नगर्ने स्वभावका उनीहरूको देशभर ठाउँअनुसार मूर्तिकलाका काम गर्ने विचार रहेछ । जहाँ पुग्यो त्यहीँको हावापानी मिल्दो मूर्तिकला सिर्जने परिकल्पना, काठमाडौँमा मात्रै केन्द्रित नभएर विकट बस्तीलाई कलात्मक किसिमले सजाउने साझा सपना यद्यपि सीमितताका पर्खालभित्रै सीमित रहेछ । मेचीदेखि महाकालीसम्मको माटो, ढुङ्गा, पानी सङ्कलन गर्दै कला भर्ने तिनले अभियानको थालनी त गरेछन् तर निरन्तरता दिन भने सकेनछन् । नेपाल झल्काउने कविता र कला त्यहीँको माटोमा पाइला टेकेर सिर्जना गर्न खोजेका रहेछन् । काठमाडौँमा कला बेचेर जेनतेन बाँच्ने मात्रै होइन राम्रो पैसा कमाएर हाँस्नेहरू पनि छन् । कला व्यापारी उत्तिकै छन् । सालिक बनाउनेहरू उस्तै चम्किरहेका छन् । बिचौलिया पनि थुप्रै छन् । कहिलेकाहीँ उनीहरू त्यसको सिकार पनि हुँदारहेछन् । तिनकै शब्दमा, उनीहरू पैसाप्रेमी कला संसारभन्दा पर छन् । जीवन जेनतेन चलाउनका लागि मात्रै कहिलेकाहीँ ‘कमिसन वर्क’ गर्दा रहेछन् । अन्यथा, सिर्जनात्मक काममै बढी रुचि रहेछ ।
तारालाई बढी हात चलाउन मन लाग्ने रहेछ । भुवनको भने खुट्टा बढी चल्दो रहेछ । जहाँतहीँ सकेसम्म हिँडेरै पुग्ने बाँनी रहेछ, भुवनको । तारालाई एक्लै पनि खुरुखुरु छिनो र घनले ढुङ्गा खोपिरहन मन पर्छ । २०६९ सालमा सगरमाथातिर फालिएका सिलिन्डर काठमाडौँ ल्याइयो जसबाट विभिन्न कला निर्माण गर्ने कार्यशालामा सहभागी थिए, उनीहरू । अक्सिजन सिलिन्डर काट्ने क्रममा घट्ना भयो । हात बढी चल्ने ताराको हातै भाँचियो । खुट्टा बढी चल्ने भुवनको खुट्टै भाँचियो । सिलिन्डरको भित्र किलाले प्वाल पार्दै ग्यास पहिले फालेर सिलिन्डर ग्राइन्डरले काट्ने काम हुन्थ्यो । रातको दस बजे भुवनले सिलिन्डर काट्दा ग्यास बाँकी नै रहेछ, झिल्का भित्र पसेर सिलिन्डर विस्फोट भयो । भुवनको खुट्टा र ताराको हात भाँचेर फित्ताभरि घुम्दै, पिलर पनि भाच्दै १२ फिट अग्लो पर्खाल नाघी खेतमा पुग्यो, झिलिली पुच्छ्ेरतार खसेझैँ सिलिन्डर । कलाकार देवेन्द्र थुम्के र नरबहादुर बीके पनि त्यहीं थिए, संयोगले बाँचे । शाकाहारी भएकाले उनीहरू काममा, अन्य दुई दर्जन सहभागी खानपिनमा व्यस्त रहेछन्, अलि पर बाहिर । नत्र सबै सोत्तर हुन्थे । भुवन र तारा दुवैको अपरेसन भयो । रड बोकेर बसे, हात र खुट्टामा । हर्नामाडी हेटौँडामा विशाल अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजनाका क्रममा उनीहरू दुवैले भाग लिन सकेनन् । घाइते अवस्थामै अवलोकन गर्न भने दुवै पुगेका थिए । जुन बेला उनीहरू दुवै ललितकला प्रज्ञाप्रतिष्ठान सभा सदस्य थिए । दुईमध्ये एउटालाई मात्रै देख्दा अर्को साथीको सोधीखोजी भइहाल्थ्यो । यस्ता अब्बल मित्र एकैपटक घाइते भए । एकैपटक तङ्ग्रिए । अहिले विद्यावारिधि शोधार्थीका रूपमा पनि सँगसँगै छन् ।
नेपाली मूर्तिकलाको इतिहास लामै छ । परम्परागत नेपाली मूर्तिकला ओरालो र समसामयिक मूर्तिकला उकालो लागिरहेको अवस्थामा सन् २००५ मा आरम्भले पहिलो राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको थियो, हार्मोनी शीर्षकमा । सन् २००६ मा पनि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो, जापानसँगको सहकार्यमा । त्यसपछि बुटवलमा सन् २००९ मा अर्को कार्यशाला भयो । हर्नामाडी हेटौँडामा २०१२, पोखरामा २०१३ र तालतलैया इटहरीमा सन् २०१४ मा आयोजित सबै कार्यशालाबारे यो जोडी जानकार छ । हर्नामाडीमा आयोजित कार्यशालामा उनीहरू बैसाखी टेकेर र हातमा प्लास्टर बोकेर अवलोकन गर्न पुगेका थिए । अर्का घाइते रामकृष्ण भण्डारीको हातमा गहिरो चोट भए पनि हर्नामाडीमा विशाल ढुङ्गाका मूर्ति कुँद्न तम्सँदै थिए । कलाकार साथीहरू सबैले हकारेर सहभागी हुन दिएनन् । त्यसरी तङ्ग्रिएका जोडीले त्रिवि प्राङ्गण कीर्तिपुरमा कावि धुलिखेलको रजत जयन्ती स्मारिका मूर्तिकला मज्जाले कुँद्दै थिए । भुवनका शब्दमा, गत वर्ष रजत जयन्ती मनाउने क्रममा पदाधिकारीहरूले काविलाई कुनै कलात्मक चीजले सजाउने सोच अघि सारेका रहेछन् । हवाइजहाजबाट हेर्दा पनि काविको लोगो देखिने हिसाबको पहिले सिल्वर जुब्ली मनुमेन्ट २५ फिट अग्लो ग्रिनाइटमा निर्माण गर्ने कुरा रहेछ । विविध डिजाइन पनि बनेछन् तर प्राविधिक कारणले विशाल मनुमेन्ट बन्न सम्भव भएन । अनि ढुंगाकै कुनै आकृति कुँद्न भनियो, भुवनलाई । भुवन भन्छन्, ‘भोटेकोसीबाट ल्याइएको ढुङ्गा हेरियो, धुलखेलमा कुनै मिल्दो ढुङ्गा भेटिएन, चित्तै बुझेन । ललितपुर, पाटनतिर कुनै ढुङ्गा काट्ने कारखानामा काम गर्न खोजियो । त्यहाँ पनि सुहाउँदो ढुङ्गा भेटिएन । खर्चले धान्न पनि नसक्ने देखियो । अन्तत: काविका प्राध्यापक भुवनले त्रिविका प्राध्यापक मित्र तारालाई गुहारेछन् । काविमा बनाइएको माटोको डमी बोकेर भुवन त्रिवि ललितकला केन्द्रीय विभाग कीर्तिपुर आएछन् । फुल्न खोजेको कमलको कोपिला बनाउने परिकल्पना थियो । मच्छेगाउँ गएछन्, ढुङ्गा हेर्न । अनि एकपछि अर्को गाउँ । खानी बन्द गरिएपछि काठमाडौँमा ढुङ्गाको हारालुछ–हाहाकार छ । बल्लतल्ल प्लटिङमा निस्किएका ढुङ्गा मिल्दो भेटिएछ, मच्छेगाउँमा । ढुङ्गा ढुवानी गर्दा नै ६० हजार खर्चेर बाटो खन्दै, जग्गावालालाई क्षतिपूर्ति तिर्दै ढुङ्गा ल्याएछन्, त्रिवि कीर्तिपुर । कावि प्रशासनले सोचिरहेको थियो, पाटनतिर कतै मूर्तिकला कुँदिँदै छ । कावि धुलिखेलको रजत जयन्ती स्मारिका मूर्तिकला त्रिवि कीर्तिपुरमा कुँदिँदै थियो । कावि प्रशासनलाई यसबारे थाहा थिएन । न त्रिवि प्रशासनलाई थाहा थियो । त्रिवि र कावि ललितकला विभागकै विद्यार्थी सहयोगी थिए : विशाल सारु, चन्द्र मुन, रञ्जित थापा, झलक पुलामी, कुमार थापा सहकर्मी कमलेश महर्जनसहित । ऐतिहासिक निर्वाचनमा भोटै हाल्न पनि गएनन्, उनीहरू । अन्तत: नौ फिट अग्लो जगमा उनीहरूले कमलको कोपिला धुलिखेल काविमा प्रतिस्थापन गरिछाडे, दीक्षान्त समारोहको संघारमा ।
विश्वविद्यालयले विशेष समारोहको स्मृतिमा कलालाई प्राथमिकतामा राख्नु कलाकारका लागि गौरवको कुरा मान्छन्, यी मूर्तिकार जोडी । त्रिविमा असरल्ल जमिन छन्, जसलाई धेरै राम्ररी कलात्मक बनाउन सकिन्छ । त्रिवि कीर्तिपुरमा राजा वीरेन्द्रको राज्याभिषेकका बेला ठाकुरप्रसाद मैनाली र प्रमिला गिरीले सिर्जेका विशाल मूर्तिकला नै राम्ररी सजाउन सकेको छैन । उनीहरू भन्छन्, ‘त्रिविले बेकारमा बसेको जमिन मूर्तिकारहरूलाई काम गर्न लिजमा दिए विशाल मूर्तिकला बगैंचा सहजै बन्ने थियो । जहाँ देशभरका मूर्तिकार एकै स्थानमा काम गर्थे । जहाँतहीँ बेवारिसे बनेर बसेका मूर्तिकला एकै स्थानमा थुप्रिन्थे ।’ आफ्नो घर भएका मूर्तिकारले समेत निजी ग्यालरी निर्माण गरेर मूर्तिकला सजाउन सकेका छैनन् । जोगीझैँ डेरावाल मूर्तिकार जोडीले कहाँ राख्नु, कहाँ फाल्नु तिनले सिर्जेका मूर्तिकलाहरू ? पहिलो राष्ट्रिय र दोस्रो अन्तर्राष्ट्रिय कार्यशालाबाट सिर्जित मूर्तिहरू काठमाडाँैमा अझसम्म बेवारिसे बनेर बसेका छन् । केन्द्रीय पुस्तकालयझैँ साझा चौतारी ‘केन्द्रीय मूर्तिकला वर्कसप’ को आवश्यकता टड्कारो देखिन्छ ।
नेपाली मूर्तिकारहरूमाझ लघुताभास जब्बर बनेर बसेको देख्छु । डोजर, लोडर, ट्रिपर र अत्याधुनिक औजारसहित काम गर्ने साझा स्पेस (मूर्तिकला बगैंचा) निर्माणमा जीवित मूर्तिकारहरूले हातेमालो गरे राम्रै हुन्थ्यो । भुवन र तारा भन्छन्, ‘कलाका लागि केवल बाँच्न मात्रै माग्ने जोगीजस्तै हौँ हामी... निर्धक्क मूर्तिकला सिर्जने साझा चौतारीको खोजीमा भौतारिरहेको दशकौँ भइसक्यो ।’ जोगीझैँ मूर्तिकार जोडीको साझा सपनालाई सरोकारवालाले विपना बनाउन सघाए सबैको हितै हुने थियो । प्राचीनतम विराट नेपाली मूर्तिकला सभ्यताको निरन्तरताका लागि पनि स्रोतसाधनले सम्पन्न साझा मूर्तिकला बगैंचा स्थापना अपरिहार्य देखिन्छ ।

Esewa Pasal

प्रकाशित : पुस २२, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बौद्धिक सभ्यताको तेजोवध

तारालाल श्रेष्ठ

काठमाडौँ — बौद्धिकतालाई सदियौंदेखि शक्तिको स्रोत मानिआएको देखिन्छ । विश्व दृष्टिकोणले सुसज्जित विद्वानसँग तानाशाहहरू पनि डराउँथे । द्रव्यमोही समयमा शासकका सुगा बन्नबाट बचेखुचेका सार्वजनिक बुद्धिजीवीको तेजोवध तीव्र गतिमा भइरहेको छ ।

अहिले बुद्धिजीवी शब्दसँग जोडिएर अनेक दलीय तथा पेसागत संघ–संस्था अस्तित्वमा आएका छन्, ट्रेड युनियनी शैलीमा। बुद्धिजीवी शब्द नै बदनाम बन्दैछ।

सबैभन्दा बढी बुद्धिजीवी वर्गलाई दुरुपयोग राजनीतिक दलले गरेको देखिन्छ। नेकपा एमालेमा बुद्धिजीवी परिषद छ। नेपाली काङ्ग्रेसमा बुद्धिजीवी एवं पेसागत विभाग र नेकपा माओवादी केन्द्रभित्र बुद्धिजीवी सङ्गठन नामधारी ट्रेड युनियनी छातामुनि थुप्रै बुद्धिजीवी थुप्रिएका देखिन्छन्। अन्य दलभित्र पनि अनेक नामका बुद्धिजीवी जोड्ने यस्ता भ्रातृ युनिट छन्। तिनको भूमिका बुद्धिविलासी वर्गलाई ‘बँधुवा बुद्धिजीवी’का रूपमा सङ्गठित गर्नुमै सीमित छ। सार्वजनिक विमर्शविहीन बुद्धिजीवीका यस्ता झुन्डभित्र स्वाधीन बौद्धिकताका कुराले कहिल्यै स्थान पाएको देखिन्न।

विश्वविद्यालयमा पनि ट्रेड युनियनी प्रभाव नराम्ररी परेको छ। हुँदाहुँदा शिक्षक, कर्मचारी, प्राध्यापक, वकिल, पत्रकारका लागि सबैतिर ‘बुद्धिजीवी ब्रान्ड’मा अनेक प्रकारका ट्रेड युनियन खुलेका छन्। दलगत छातामुनि बुद्धिजीवी ओत खोज्दै बसेका छन्। सङ्गठित कुन उद्देश्य पूर्तिका लागि हुने भन्ने विषयमा बुद्धिजीवी स्पष्ट छैनन्। डा. गोविन्द केसीको अनशनलाई पनि यो वा त्यो ट्रेड युनियनी लोगो लगाउन खोजिएको देखिन्छ। अन्तत: ६४ दिने रिले अनशनपछि ‘त्रिविका आंशिक प्राध्यापक’ले पनि आमरण अनशन थालेका छन्, दसंैको फूलपातीको दिनदेखि।

‘आंशिक प्राध्यापक’ डा. महेशकुमार गजुरेल आमरण अनशनबाट थलिएका छन्। यो स्वतन्त्र बौद्धिक विद्रोह हो कि आत्मकेन्द्रित स्वार्थपूर्ण विलौना? नेपाली उच्च शिक्षाको विकासमा यो सत्याग्रह शौभाग्य कि दुर्भाग्य हो? प्रश्नहरू उब्जिएका छन्, आलोचनात्मक बहस उब्जनु पनि पर्छ। किनकि नेपालमा स्वतन्त्र बुद्धिजीवी सिला खोज्नुपर्ने अवस्थामा छ। ट्रेड युनियनी बुद्धिजीवी भने छ्यापछ्याप्ती भेटिन्छन्, विश्वविद्यालयभित्रै, पाइलैपिच्छे। प्राज्ञिक अनुहारहरू ट्रेड युनियनी मुखुन्डोभित्र छिपिँदैछन्। विद्यार्थीहरू भिसी कांग्रेस, रेक्टर माओवादी र रजिस्ट्रार एमाले भन्दै गफिइरहेका भेटिन्छन्। अन्य निकाय उस्तै छन्। विभागीय प्रमुखहरूको अनुहारमा दलकै झण्डा फरफराइरहेको स्पष्ट देखिन्छ। प्रत्येकजसो प्राध्यापकको निधारमा ट्रेड युनियनी लोगोकै टिको टल्किरहेको देखिन्छ। कर्मचारीहरूको कुरै नगरौं। कुनै तह र तप्का ट्रेड युनियनी टिकेहरूको कब्जाभन्दा बाहिर छैन।

ट्रेड युनियन स्कुलिङ अति अबौद्धिक हो। जसको ‘सिता’ खायो, उसकै ‘गीता’ गाउनेहरू सार्वजनिक बुद्धिजीवी होइनन्, ‘हनुमान’हरू हुन्। ट्रेड युनियनी प्राध्यापकहरूले कोरेकै ‘लम्पसारवादी’ मार्गमा आन्दोलित ‘आंशिक प्राध्यापक’हरू पनि उभिएका देखिन्छन्। आन्दोलनरत ‘आंशिक प्राध्यापक संघ’का पदाधिकारी पनि दलीय भागबन्डाबाट बनेको देखिन्छ। तिनका मुख्य माग आत्मकेन्द्रित देखिन्छ। आफूहरूलाई ‘बिनासर्त करार’ गरिनुपर्ने मागसहित आन्दोलित ‘आंशिक प्राध्यापक’ आमवृत्तमा आलोचित छन्। तिनले विश्वविद्यालयमा विद्यमान दलीय ट्रेड युनियनी दलालीको विरुद्ध विद्रोह गरेका भए इतिहास अर्कै हुने थियो। बौद्धिक संस्कृतिका पक्षमा आमरण अनशन बसेका भए आम मानिस आकर्षित हुन्थे होलान्। सबैभन्दा स्वाधीन सोचिने प्राध्यापकहरू नै जसको ‘सिता’ खायो, उसैको ‘गीता’ गायो गर्दै गए। सार्वजनिक बुद्धिजीवीको भूमिका कमजोर बन्दै गएपछि प्राज्ञिक क्षेत्र पनि भ्रष्ट भए। ट्रेड युनियनी आडमा भ्रष्टहरू चोखिइरहेका छन्। लडाइँ लड्नुपर्ने भ्रष्ट ट्रेड युनियनी संस्कृति विरुद्ध हो।

आजसम्मका पदाधिकारी ट्रेड युनियनकै ट्रेडमार्कले डामिएका देखिन्छन्। आन्दोलनरत आंशिक प्राध्यापक पनि ट्रेड युनियनी ब्रान्डबाटै डामिएका देखिन्छन्। एउटा ट्रेडयुनियनीले अर्कोलाई आक्रमण गर्दैछन्। आफैले खनेकाट्रेड युनियनी खाडलमा आम नेतृत्व आफै जाकिँदैछन्।

अलि अघि जनप्रशासन कार्यालयमा त्रिविका आंशिक प्राध्यापकले पदाधिकारीलाई थुनिदिए। मुक्त गर्न प्रहरीले बल प्रयोग गर्‍यो।

नजिकबाट नियाल्दा आंशिक प्राध्यापकको अनुहारमा ट्रेड युनियनकै लोगो टल्किरहेको देखिन्छ। तिनको आन्दोलनभित्र सार्वजनिक बृहत मुद्दा केन्द्रित बौद्धिक विद्रोहका झिल्का कमै देखिन्छन्। विलौनाका सुस्केरा बढी सुनिन्छन्। असली उत्पीडित (सवाल्टर्न) खासै देखिन्नन्। त्रिविको निकम्मा पद्धतिबाट आंशिक प्राध्यापक जन्मदै बढ्दैछन्। २०६९ सालदेखि त्रिविको कार्यकारीबाट आंशिक शिक्षक नियुक्तिलाई निषेध गरिएको थियो। अझ २०६५ सालमै आंशिक प्रथालाई सदाका लागि अन्त्य गर्ने भन्दै १३ सय ८० करार दरबन्दी कायम गरियो। पहिले सात सय आंशिकलाई मात्रै करार गर्ने कुरो तय भएको थियो अरे। गिरिजाप्रसाद कोइरालाले नौ सय दरबन्दी दिने कुरा कतै बोलिदिएछन्। प्रधानमन्त्री कोइरालाले बोलेपछि पुगिगयो। रातारात १३ सय ८० आंशिकलाई करार गराइयो। जसको शक्ति उसैको भक्ति शैलीमा ट्रेड युनियन निकटतम कतिपय क्याम्पस प्रमुखले फर्जी हाजिरी गराएर शिक्षक नियुक्ति गरेका तथ्य बाहिर आएका छन्।

जुन नजिर ‘जुस करार’का नामले इतिहासमा दर्ज भएको छ। जसका कारण समर्पित ‘प्राध्यापक’ पनि बदनाम बन्न पुगे। भद्रगोलमाझ होलसेलमै गोल गराइँदा अब्बल र अवसरवादी दुबै स्तरका प्राध्यापक उही स्थानमा उभिन बाध्य बनेका छन्। अब त्यसको उपचार भनेको पदोन्नतिमा कडाइका साथ ‘क्रसचेक’ गर्नेभन्दा अर्को विकल्प देखिन्न। यद्यपि अहिले विद्यमान सेवा आयोगबाट ‘होलसेलवाला’लाई पदोन्नतिमा कडाइ गर्ने विश्वास कमैमा देखिन्छ। यसर्थ समग्र विश्वविद्यालको साझा उच्च शिक्षा सेवा आयोगको वकालत गर्नेहरूको सङ्ख्या बढ्दो छ। अहिले अविछिन्न आंशिक रूपमा ५ वर्ष काम गर्नेलाई उमेरको हक नलाग्ने सेवा आयोग कार्यविधि पास गरिएको छ। आंशिक प्राध्यापकले अब ६३ वर्षसम्म सेवा आयोग लडिरहन पाउने भयो, उसो भए? विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको पनि हद हुन्छ। अनि मुलुकबाट ‘बेस्ट युवा माइन्ड’ बाहिरिने नै भए। विश्वविद्यालयभित्र बढ्दो ट्रेड युनियनी प्रथा हेर्दा पनि लाग्छ, नेपाललाई सक्षम युवा लखेटेर असक्षमले राज गर्ने मुलुकको नमुना बनाइँदैछ। दलैपिच्छे ट्रेड युनियनी ब्रान्डवाला पदाधिकारी बन्ने दौडमा दमदार रूपले समर्पित समूहमा भव्य व्यक्तित्व छैनन्, बौद्धिकताका भाइरस छन्।

त्रिविमा हिजोका जस्ता ‘बेस्ट माइन्ड’ घट्दो छ। जसको सिता खायो, उसकै गीता गाउने भजनमण्डलीहरू विश्वविद्यालयमा पञ्चायतकालमा भन्दा पनि बढी हावी बन्दै गइरहेको देखिन्छ। विश्वविद्यालय सुधार्न सीमित प्राध्यापक सुध्रिएर मात्रै हुन्न। पहिले सिंहदरबार सङ्लिनुपर्छ। देशभर दलगत ट्रेड युनियन खारेजी घोषणा गर्ने हुत्ती भएको नेतृत्व मुलुकले खोजिरहेको छ। संयन्त्रका नाममा मुठ्ठीभर दलका दलालहरूले सबै निकाय नियन्त्रण गरिरहेका छन्। सिंहदरबारभित्रै ट्रेड युनियनको लर्को छ। देश बचाउने हो, दलाल बचाउने होइन। दलालभन्दा मुलुक ठूलो हो। अदालतभित्र समेत दलीय ट्रेड युनियनका दलालहरू छाती फुलाएर हिँडिरहेका छन्। न्यायालय स्वतन्त्र छैन, विश्वविद्यालयका प्राज्ञ स्वाधीन छैनन्। आंशिक प्राध्यापक पनि स्वाधीन छैनन्। स्वाधीन बुद्धिजीवी कहाँ खोज्ने?

आन्दोलनरत आंशिक प्राध्यापकका आंँकडा अनुसार देशभर १४ सय हाराहारी आंशिक प्राध्यापक कार्यरत छन्। आंशिक शिक्षकबारे त्रिविको आधिकारिक अवधारणा भेटिन्न। कति समयसम्म काम गर्नेलाई आंशिक प्राध्यापक भन्ने अन्योल छ। ‘आंशिक प्रथा’ सदाका लागि अन्त्य अपरिहार्य भनिकन भाषण गर्ने पदाधिकारीहरू थुप्रै ‘परमधाम’ गइसके। आंशिक (कु)प्रथा वर्णीय व्यवस्थाझैं विद्यमान देखिन्छ। त्रिविको झन्डै ७० प्रतिशत कक्षाभार आंशिकहरूले वहन गरिरहेको आन्दोलनरतहरूको दाबी छ। तर विज्ञहरू भन्छन्, आंशिकले बढीमा २५ प्रतिशतमात्रै कक्षाभार धानिरहेका होलान्।

२०६२ सालसम्मका आंशिकलाई करार बनाउने २०६५ सालको निर्णयले बाँकी बसेका केही सय ‘आंशिक’ अलपत्रमा परेकै हुन्। ट्रेड युनियनी प्रमुखहरूले जथाभावी आंशिक शिक्षक भर्ती गरेकै हुन्। असुरक्षित अनुभूति गरेर इमानदार आंशिकहरू दलीय ट्रेड युनियनी छातामुनि ओत लाग्न पुगेकै हुन्। २०७४ वैसाख १९ गते बसेको कार्यकारी परिषदको बैठकले एक वर्षदेखि कार्यरतलाई करार गर्न १४ सय २० दरबन्दीको मागपत्र अनुदान आयोग तथा शिक्षा मन्त्रालय पठाइएको देखिन्छ। होलसेलमा एकैपटक त्यत्रो दरबन्दी दिन खोजेको देखेर अर्थ मन्त्रालय झस्कियो रे। प्रचण्ड सरकारको मन्त्रिपरिषदमा उक्त प्रस्ताव पेस भएन। त्रिविले टेकनाथ ढकालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्‍यो। आंशिकहरूको देशभरबाट वास्तविक सङ्ख्या सङ्कलन गर्दागर्दै तथ्याङ्क मिथ्याङ्क बन्यो। समितिले रिपोर्ट सार्वजनिक गर्न सकेन। एक दर्जन बुँदामा कार्य पूरा गर्न नसकेको रिपोर्ट बुझाएको अनौपचारिक खबर छ। चुरो कुरो, जति आंशिकको सङ्ख्या दाबी गरियो, त्यसको औचित्य पटक्कै प्रमाणित गर्न सकिएन भन्ने सुनिन्छ। साताको १२ देखि १५ कक्षाभार बोकेका ‘असली उत्पीडित आंशिक’ निकै न्यून सङ्ख्यामा रहेको अनुमान छ। उही अपूर्ण रिपोर्टको आधारमै सरकारले दरबन्दी दिए उक्त निर्णय सरकारको नालायकीपनको नमुना बन्ने समितिकै कतिपय सदस्य बताउँछन्।

आवश्यक कक्षाभार वहन नगर्ने स्थायी प्राध्यापकको इतिहासदेखि वर्तमानसम्म छानबिन गरौं। ‘काम र दाम चोर’ स्थायी प्राध्यापकले श्रमजीवी ‘आंशिक प्राध्यापक’लाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आउन सक्छ। मुख्य खलपात्रहरू अन्धाधुन्द आंशिक नियुक्ति गर्ने निकाय प्रमुख र ट्रेड युनियनी प्राध्यापकहरू देखिन सक्छन्।

‘बेस्ट माइन्ड’लाई सम्मानका साथ नियमित प्रवेश गराउने सिस्टम विश्वविद्यालयले खोजिरहेको छ। त्यसमा कहिल्यै कोही तगारो बनेर नतेर्सियोस्। विश्वविद्यालयपिच्छे सेवा आयोग समस्या हो भने उच्च शिक्षा सेवा आयोगको व्यवस्था गर्न पनि असम्भव भएन। ट्रेड युनियनी संस्कारमार्फत बौद्धिक सभ्यताको तेजोवध गरेर कसैको भलो हुनेवाला छैन।

प्रकाशित : आश्विन २१, २०७४ ०८:२१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT