कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिडीको रमझम

संस्मरण

काठमाडौँ — रिडी जाने पाउने वा नपाउने कुरा हाम्रा लागि वर्षभरिकै सरोकारको विषय बन्थ्यो । 
माघे संक्रान्ति भनेकै रिडी नुहाउन जाने दिन हो भन्ने बुझाइ बाल्यकालभर भएकाले मकर संक्रान्ति वा माघी भन्ने त्यो बेला थाहै थिएन ।

रिडीको रमझम

सरकारी बिदा के हुन्थ्यो कुन्नि, स्कुल भने छुट्टी हुन्थ्यो । ज्योतिषशास्त्रअनुसार सौरमासको हिसाबले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन हो भन्ने पनि धेरैपछि मात्रै थाहा भएको हो । तर माघे संक्रान्तिमा गण्डकीमा नुहाउँदा धेरै ठूलो पुण्य मिल्छ भन्ने विश्वास थियो । स्कुले जीवनमा घरभन्दा टाढा मेलापर्व हेर्न जानु र घुम्न पाउनु सजिलो कहाँ हुन्थ्यो र ? अहिले सम्झँदा पनि आफैंलाई अचम्म लाग्छ, स्कुल पढ्दा माघे संक्रान्तिका दिन गुल्मीको हुँगाबाट हिँडेर पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल कालिगण्डकीमा नुहाउन रिडी अर्थात् रुरुधाम पुग्न झन्डै २० किलोमिटर हिँड्नुपथ्र्यो । जाँदा र फर्किंदा गरेर एक दिनमा ४० किलोमिटरभन्दा लामो यात्रा अहिले असम्भवजस्तै लाग्छ ।

रिडी जाने पाउने वा नपाउने कुरा हाम्रा लागि वर्षभरिकै सरोकारको विषय बन्थ्यो । घाँस, दाउरादेखि गोरु र बाख्रा चराउने होस् वा घरमा सघाउने कुरा, सधैंजसो माघे संक्रान्तिसँग जोडिन्थ्यो । बुबाआमा खुसी भए ल, जालास् भन्नुहुन्थ्यो, रिसाए परेको छैन जान भनेर निषेध गर्नुहुन्थ्यो । अनि हामी पनि सकी–नसकी अरू बेला काम गरेर माघे संक्रान्तिमा रिडी जान पाउनुपर्ने सर्त तेस्र्याउँथ्यौं । रिडी नुहाउन मान्छेहरू एक–दुई रात बास बसेरसम्म जान्थे भने टाढाटाढाबाट व्यापार गर्न आउनेहरूको त पुस र माघ त्यसैमा बित्दोरहेछ ।

भगीरथले माघे संक्रान्तिकै दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएकाले गङ्गासागरमा महास्नान गर्न संसारै उल्टिन्छ भन्नुहुन्थ्यो ठूला बा । माघे संक्रान्ति अर्थात् जेठी संक्रान्तिमा रिडीमा गएर नुहाएर ऋषिकेश मन्दिरमा पूजा गरे चारधाम जानै पर्दैन भन्ने मैले उहाँबाटै सुनेको हुँ । माघ १ रिडी जाने भनेपछि गाउँटोलमा एक साताअघि नै सल्लाह गरेर पुस मसान्तका दिन अन्तिम तयारी हुन्थ्यो ।

२०४७ सालको कुरा, रिडी जाने हुटहुटीले मलाई छोपेको थियो । अहिलेजस्तो गाडी नचल्ने र आक्कलझुक्कल ट्याक्टर–ट्रक चले पनि पैसा नहुने भएकाले गाडी चढ्ने रहर सितिमिति पूरा हुन्नथ्यो । त्यसैले अघिल्ला वर्षजस्तै पुस मसान्तका दिन साँझदेखि नै रिडी जाने तयारी सुरु भयो । खान राति नै उसिनेको तरुल, आलुको अचार र ढकनी पाक्यो । लाइट र लौरो पनि तयार । राति २ देखि ३ बजेभित्र अधिकांशले यात्रा सुरु गर्थे । पुस–माघको चिसोलाई वास्ता नगरी अभिभावकसहित हाम्रो टोलबाट १३ जनाको टोली गण्डकी नुहाउन हिँड्यो । वारिपारि पनि मान्छेहरू गाइँगुुइँ गरेको र लाइट टल्केको देखिन्थ्यो ।

झन्डै एक घण्टाको उकालो निस्केपछि गाउँकै देउरालीमा पुग्दा मान्छेहरू बाक्लै भेटिए । हाम्रो टोली फेरि ओरालो लाग्यो । अनि उल्लीखोला झरेर फेरि ठाडो उकालो त्वागाँ हुँदै साढे चार बजे बलेटक्सार पुग्दा झिसमिसे उज्यालो हुँदै थियो । मान्छेहरू चिनिन थाले । धेरैतिरका तिर्थालुहरू जम्मा हुने ठाउँ भएकाले रिडी जानेहरूको लर्को नै देखिन थाल्यो । जूनकीरीजस्तै लाइटहरूको उज्यालो जताततै बाटैभरि । बूढापाकाहरू बिस्तारै हिँड्थे भने छिटो हिँडन् सक्नेहरू अरूलाई उछिन्दै अघि बढ्ने क्रम चलिरहन्थ्यो । धेरैजसोसँग झोला र हातमा लौरो हुन्थ्यो । जाडोले हातका खाली औंलाहरू झर्लान्जस्तै भए पनि स्वाँस्वाँ गर्दै हिँड्दा जस्तै चिसो पनि बिर्सिइने । गाडी चल्ने बाटो आयो । बजार देखियो । म मनमनै गदगद भएँ, रिडीमा झन् कस्तो रमाइलो होला भनेर । सडकमा जम्मा भएको धूलोको थुप्रोमा खुट्टा गाड्दै हिँड्दा मज्जा लाग्ने । तर आमाले आदेश दिँदै भन्नुभयो, ‘दायाँबायाँ नलाग् है, यता आइज, फेरि हराउलास् नि ।’ अरू लम्किदै गर्दा म भने बेलाबेला दौडेर आमा, बा र आफन्तहरूलाई भेट्टाउँथें ।

मान्छेहरूको लर्को बढ्दै गयो । त्यति मान्छे सितिमिति देख्न पाइन्थेन् । उज्यालो बढ्दै थियो । हामीहरू पानीट्याङ्की हुँदै थोर्खा पुग्दा घाम उदाइसकेको थियो । फेरि ओरालो यात्रा सुरु भयो । मेरा खुट्टा दुख्न थाले । अनि म पछि परें । अलि छिटो आइज— आमाको आदेशसँगै अलि लम्के पनि दुखाइ कम भएन । अन्तत: बलेटक्सारको टुप्पोबाट मान्छे नै गुल्टिने ठाडो ओरालो झरेर बिहान ८ बजे रिडी पुग्यौं । जताततै छिचमिराझैं मान्छेहरू । कालिगण्डकीको किनारैभरि मान्छेहरूको भीड । ओहो, त्यति धेरै मान्छे त मैले कहिल्यै देखेको थिइनँ । मधुरो घाम लागेकाले जाडो मौसम भए पनि महिला र पुरुषहरू छेउका ढुंगामा फेर्ने कपडा राखेर हिँउजस्तो चिसो पानीमा नुहाइरहेका थिए । कालिगण्डकी शान्त र स्थिर भएर बगिरहेको थियो । टाढाबाट सानो देखिने नदीको किनारैमा पुग्दा वारपार पूरै आँखैभरि देखिँदो रहेछ । हाम्रो टोलीले पनि कालिगण्डकीमा नुहायो ।

गण्डकी नुहाएर पुण्य कमाउने रहर पूरा भयो । पालो ऋषिकेश मन्दिरमा पूजा गर्ने थियो । त्यसका लागि पाल्पा जिल्ला प्रवेश गर्न फड्के तरेर रिडीपारि जानुपथ्र्यो । आमाको हातमा समाएर बाँसबाट बनेको साँघुरो फड्के पार गरेर मन्दिरतिर जाँदै थियौं । बाटोभरि चुरापाते र अबीर मालाका पसलहरू थिए । अलिपर सर्कस सजिलै देख्न सकिन्थ्यो । सर्कस हेर्ने रहर भए पनि भन्ने आँट नभएपछि म टोलीसँगै चुपचाप मन्दिरतर्फ अघि बढें ।

पूजा सकिएपछि टपरीमा ल्याएको ढकनी र अचार खायौं । अनि अलिपर मावलीहरू पनि भेटिए । दर्जाअनुसार ढोग नमस्कार चल्यो । सन्चो विसन्चोका कुरा भए । मैले पनि केही पैसा पाएँ । अब पालो काम्ला बजारको थियो । वागलुङ, रूकुम, रोल्पातिरबाट नम्बरी काम्ला, सुपा, डालाडाली, बाँसका काइँया, मकै भुट्ने हाँडी, खाने ओखर बेच्न ल्याउनेहरू शिविरै बसाउने गर्छन् । बाक्ला कम्मल ओढेका, कछाड बाँधेका र लट्टा परेको कपाल भएका मान्छेहरू मैले पहिलोपटक त्यहीं देखें । गण्डकी नुहाउनेहरूको अर्को मुख्य उद्देश्य वर्षभरिलाई पुग्ने काम्ला, कम्मल, हाँडी, घैंटा र डालाडाली किन्नु पनि हुन्थ्यो । केही त माइली र कान्छी संक्रान्तिमा अलि सस्तो पाइन्छ भनेर ३ गतेतिर मात्रै आउँथे । त्यही मेसोमा भोटे कुकुर पनि किनबेच चल्थ्यो । रिडी जाँदा कालिगण्डकीमा पाइने शालिग्रामको धार्मिक र पुरातात्त्विक महत्त्व त कति हो कति ।

धेरै हिँड्दा खुट्टाको दुखाइ बढ्दै थियो । ठेलमठेल मान्छेको भीडमा छुटियो भने हराइने निश्चित थियो । अझ साना केटाकेटीलाई त भारतबाट मेला भर्न आएकाहरूले एक्लै भेटे छोपेर लैजान्छन् भनिन्थ्यो । त्यसैले टोलीसँग जोडिएरै हिँड्नुपथ्र्यो । तर जे नहुनुपर्ने त्यही भयो । म एक झिमिकमै छुटें, छुट्नु भनेकै हराउनु हो, म हराएँ । मेरो होस हवास हरायो । डरले आँखाबाट आँसु झरे, मुटु फुलेजस्तै भयो । आजजस्तो भए त मोबाइलबाट एक कल गरेर यहाँ छु भन्नुहुन्थ्यो । तर फोन भन्ने सुन्ने जमानासमेत थिएन । छोडिएकोमा गाली खानु त छँदै थियो, त्यसमाथि अब कहाँ जानु, कसरी भेट्नु म खङ्रङ्गै भएँ ।

छिचमिराझैं मान्छेहरू सबै आफ्नै सुरमा ओहोरदोहोर गरिरहेका थिए । म भीडमा पनि एक्लै थिएँ । डरले थरथर काम्दा पनि शरीरमा भने पसिना छुटिरहेको थियो । जाऊँ कहाँ जाने ? बसौं कहाँ बस्ने ? भैरहे पनि म जहाँबाट छुटेको थिएँ, त्यही फट्केको नजिकै अलि अग्लो थुम्कोमा उभिएर चिनेका मान्छेहरू भेटिने बाटो हेरिरहें । झन्डै आधा घण्टापछि गाउँकै काका र दाइहरू आउँदै गरेको देखें । मन फुरुङ्ग भयो । म छोडिएको भन्दै सँगै हिंडें । उहाँहरूसँग हिँड्नु पनि आमा पनि आइपुग्नुभयो । कहाँ हराएको भनेर गाली गर्नुभयो तर म केही बोलिनँ । अरू काम्ला र हाँडी किन्ने ठाउँमा जाँदै गर्दा आमा मलाई खोज्न फर्कनुभएको रहेछ ।

खुट्टा दुख्नु, हराउनु र गाली खानुसँगै मेरो रिडीमा थप घुम्ने रहर हराएको थियो । अनि म आएको टोलीभन्दा हिँड्न लागेको टोलीसँग घर फर्कन तयार भएँ । आमाले दसका दुईवटा नोट दिनुभयो । हिँडेर अलि अघि पुग्दा बालुवा बोकेर आउँदै गरेको एउटा ट्रकमा १५ रुपैयाँ तिरेर जाने कुरा भयो । बालुवामाथि खचाखच मान्छे थिए । मलाई पनि हरि दाइले तानेर चढाउनुभयो । तर चढ्नासाथ अघि बढ्नुपर्नेमा म त पछि सरेछु, एउटा खुट्टा त ढालाबाट बाहिर पो गयो । धन्न अर्का एक जनाको खुट्टा समातेर अडिएँ । नत्र भुइँमा पछारिने रहेछु । फेरि डर लाग्यो र आफैंसँग रिस उठ्यो । भन्छन् नि दु:ख पाइस् मंगले, आफ्नै ढंगले । त्यस्तै भयो । टक्सार आएर चार रुपैयाँमा दुइवटा समोसा खाएपछि राति नौ बजे दु:ख र थकाइले लखतरान परेर घर आइपुगियो । आमा–बा झन् राति आउनुभयो । चारपाटे नम्बर काम्लो, डालाडाली र हाँडी पनि ल्याउनुभएछ । त्यस रात म त्यही नयाँ काम्लो ओढेर सुतें ।

त्यसपछि भने हिँडेर माघे संक्रान्ति नुहाउन जाने रहर जागेन । केही वर्षपछि सहजै गाडी चल्न थाले । म एक्लै हिँड्न र हराए पनि आउन–जान सक्ने भएँ । अनि रिडी जाने र मेला हेर्ने क्रम भने चलिरह्यो ।

[email protected]

प्रकाशित : पुस २९, २०७४ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?