कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिज्ञासा 

संस्मरण

काठमाडौँ — बालकृष्ण समसित एक दिन मैले ठाडो प्रश्न सोधें, ‘चक्रपाणि चालिसेको छोराले परीक्षा कापीमा लेखेको राणाविरोधी कुरालाई शासकसमक्ष पुर्‍याएर तपाईंले एउटा बालकलाई जेलको सजाय गराउनुभयो... ?’

जिज्ञासा 

ज्योति’ पत्रिकाद्वारा २०१६ सालमा आयोजित अन्तरकलेज साहित्य प्रतियोगितामा मेरो ‘मायाको प्रदेश’ कविता पुरस्कृत भएपछि साहित्यकारहरूसित मेरो हेमखेम एकाएक बढेर गयो । काठमाडौंका धेरै लेखक कविहरूसित म नजिक हुँदै गएँ । म त्यस बेला सोह्र वर्षको अल्लारे ठिटो थिएँ । मैले धेरै किसिमका टीकाटिप्पणी र हल्लाहरू सुनेको थिएँ । मेरो मनभित्र त्यस सम्बन्धमा जान्ने उत्सुकता र कौतूहल थियो । तिनै कौतूहल मेट्ने क्रममा मैले धेरै जनासित सोध्न हुने सोध्न नहुने सबै प्रकारका प्रश्न ठाडठाडै सोध्न पुगें । अहिले सम्झँदा आफैंलाई संकोच लागेर आउँछ ।

भवानी भिक्ष्ुा विशेषत: आफू तराईवासी भएका कारण मान्छेहरूले आफूसित फरक व्यवहार गरेको गुनासो गर्नुहुन्थ्यो । तर मैले बुझेअनुसार अरू जे भए पनि कथाको क्षेत्रमा भिक्षुजीलाई सबैले बेजोड भनेर प्रशंसा गर्थे । एक दिन मैले उहाँको निजी जीवन कोट्याउने हिसाबले प्रश्न गरें, ‘आप ने सादी क्यौं नही किया ?’ प्रत्युत्तरमा विनोदप्रद ढंगले उहाँले भन्नुभयो, ‘क्यौं ? सादी करना जरुरी है क्या ? नही किया सो नही किया ।’ अझ स्पष्ट रूपमा कुरालाई अघि बढाउँदै मैले सोधें, ‘तपाईंका कथाहरूमा तपाईंको आफ्नै असफल प्रेमको प्रतिच्छाया नै बारम्बार प्रतिध्वनित हुने गरेको धेरैले भन्छन् । वास्तविकताचाहिं के हो ?’ पहिले त उहाँले ‘क्या अनापसनाप बक्ते हो’ भनेर पन्छाउन खोज्नुभयो । तर पछि ‘अरू कुनै दृष्टिले होइन एउटा आत्मीय भाइ र शुभचिन्तकको नाताले मात्र जान्न खोजेको’ भनेर मैले आग्रह गरेपछि उहाँले भन्नुभयो, ‘यह भी कोइ पुछने की बात है क्या ? देख तो रहे हो किस पीडा को अन्दर दबाकर मै जी रहा हूँ ।’ भन्दाभन्दै उहाँको गला अवरुद्ध भयो । रुमालले आँखा पुछ्नुभयो । मैले कुनै पुरानो घाउमा छोएर दुखाइदिएजस्तो भयो । त्यसपछि मैले कहिले पनि यस विषयमा उहाँसित कुरा गरिनँ । तर कतिपय कथा सुनाउँदा उहाँका आँखा भरिएर आउँथे ।

बालकृष्ण समको सम्बन्धमा त्यसबेला धेरै किसिमका हल्लाहरू चलेका थिए । तिनै हल्ला र आरोपबाट आफूलाई मुक्त गराउनका लागि हो या के कारणले हो समज्यू त्यसबेला सबैसित अलि बढी नै मिलनसार र सहृदयीका रूपमा आफूलाई प्रस्तुत गर्न खोज्नुहुन्थ्यो । आफूलाई पनि अरू दुनियाँदारसरह देखाउने या बनाउने क्रममा त्यसको सुरुआत उहाँले आफ्नो क्याम्पाको अग्लो पर्खाल भत्काएर गर्नुभएको थियो । उहाँ त्यसबेला स्वयम् आफ्नो र आफ्नो विषयमा अन्य मानिसहरूको मानसिक पर्खाल पनि सायद भत्काउन चाहनुहुन्थ्यो । कौतूहल मेटाउने क्रममा उहाँसित पनि एक दिन मैले ठाडो प्रश्न सोधें, ‘चक्रपाणि चालिसेको छोराले परीक्षा कापीमा लेखेको राणाविरोधी कुरालाई शासक राणाहरूसमक्ष पुर्‍याएर तपाईंले एउटा भर्खरको बालकलाई जेलको सजाय गराउनुभयो भन्ने आरोप तपाईंमाथि लागिरहेको छ । सत्यता के हो ?’ मेरो अप्रत्याशित प्रश्न सुनेर एक छिन त उहाँ अक्कमक्क हुनुभयो । पछि दीर्घश्वासका साथ स्पष्टीकरणको भाषामा भन्नुभयो, ‘यो सरासर झूटो आरोप हो । निरंकुश राणा शासनको त्यो समय हरेक मान्छेले हरेक मान्छेसित डराउनुपर्ने स्थिति थियो । म स्वयम् पनि आफ्नो उदार दृष्टिकोण र विचारको कारण शासक राणाहरूको आँखाको तारो बन्न पुगेको थिएँ । मेरापछाडि पनि गुप्तचर लगाइएका थिए । के निहुँ पाऊँ र सिध्याऊँ भन्ने उनीहरूको दाउ थियो । म स्वयम् लेखक कवि भएको मान्छे कसरी एउटा साहित्यकारको छोराप्रति त्यस्तो व्यवहार गर्न सक्छु ? मैले त उल्टै केटाकेटी बुद्धिले गरेको त्यस्तो कुरालाई गम्भीर रूपमा लिनु हुँदैन भनेको थिएँ । त्यस्तो केटाकेटीको कुरालाई आधार बनाएर कारबाही गर्नु हुँदैन भनेर उनीहरूलाई सम्झाउने प्रयास गरेको थिएँ । हजुरहरू पालनकर्ता, धर्मावतार हो । दया, क्षमा, करुणाभन्दा ठूलो कुरा केही छैन । क्षमा बक्सन पर्छ भनेर बिन्ती चढाएको थिएँ ।’

यसपछि केही समयका लागि शून्यता छायो । मैले सुनेको हल्लाबारे यथार्थ कुरो जान्न खोजेको मात्र हो भनेपछि समज्यूले ‘सोध्नुस् न नराम्रो मान्दिनँ, अरू केही छ भने त्यो पनि सोध्न सक्नुहुन्छ’ भन्नुभयो । मैले बिस्तारै अर्को प्रश्न अघि सारें– ‘देवकोटालाई तपाईंले पटकपटक मानमर्दन गरेको, दु:ख दिएको चर्चा पनि छ... ।’

उत्तरमा उहाँले भन्नुभयो, ‘हेर्नुस् देवकोटाजस्तो असाधारण प्रतिभा भएको मान्छे नेपालमा त के संसारमै पाउन दुर्लभ छ । देवकोटा र मेराबीच अत्यन्त आत्मीय सम्बन्ध रहँदै आएको छ । देवकोटा मेरा अन्तरंग मित्र हुनुहुन्छ । हामी साहित्यिक मात्र होइन आपसमा व्यक्तिगत, पारिवारिक कुरा पनि गर्ने गर्छौं । उहाँको स्वास्थ्य बिग्रेर बिरामी पर्न थालेपछि म बारम्बार उहाँलाई आफ्नो खानपिन र स्वास्थ्यप्रति सचेत गराइरहन्थें । तर उहाँ अलि एकोहोरो आफ्नै सुरको मान्छे । एकपल्ट पेटको समस्याले आक्रान्त भएको मान्छे † बजारमा लिच्ची देखेपछि मन थाम्न सक्नुभएनछ । अमिलो लिच्ची किनेर खानुभएछ । त्यसपछि फेरि ओछ्यान पर्नुभयो । हो, एउटा कुराचाहिँ हो, हामीबीच साहित्यिक प्रतिस्पर्धा भने थियो । रचनात्मक, सिर्जनात्मक, साहित्यिक प्रतिस्पर्धा । उहाँलाई मेरो पछिल्लो महाकाव्य ‘चिसो चुल्हो’ उपहारस्वरूप राखिदिएपछि उहाँले अलि खिन्न भएर आफ्नो बिग्रँदो स्वास्थ्यका कारण आफूले अब कुनै महाकाव्य लेख्न नसक्ने विवशता प्रकट गर्नुभएको थियो । तर उहाँले पनि आफ्नो महाकाव्य ‘महाराणा प्रताप’ प्रकाशित गर्नुभयो । हामी एक अर्कालाई कृति आदानप्रदान गरेर उत्प्रेरित गर्ने गथ्र्यौं ।’

समजीले आफ्नो दुखेसो प्रकट गर्दै अगाडि भन्नुभयो, ‘त्यो समय बौद्धिक चेतना भएका सबैका लागि त्रास र सास्तीको समय थियो । ज्ञान र चेतनासित राणा शासकहरू डराउँथे । केही घटीबढी हुन सक्छ । तर मैले पनि कम पीडा, सास्ती र प्रताडना खेपेको छैन । केवल मेरा नामको पछाडि राणा भएको आधारमा कपोलकल्पित आक्षेप र आरोप लगाउनु कतिसम्म उपयुक्त होला ? तपाईं नै भन्नुस् । मलाई भार भइरहेको थियो । त्यसैले पनि प्रजातन्त्रको उदय हुनेबित्तिकै आफ्नो नामबाट ‘शेर जंगबहादुर राणा’ थर मैले परित्याग गरेको । नत्र भने आफ्नो पुख्र्यौली थर कसैले परित्याग गर्छ ?’

समज्यूको महाकाव्य ‘चिसो चुल्हो’ को विषयमा पनि त्यसबेला धेरै किसिमका टीकाटिप्पणी र प्रतिक्रिया निस्किएका थिए । डा. तारानाथ शर्माले समज्यूको ‘चिसो चुल्हो’ महाकाव्यलाई ‘बूढो साँढेको झुसिलो डकार’ भनेर व्यंग्य गरेका थिए । कुनै अर्को भेटमा मैले समज्यूसित त्यसबारे पनि सोधेको थिएँ । त्यसबेला समज्यूले प्रतिप्रश्न गरेर भन्नुभएको थियो, ‘तपाईंलाई तारानाथजीको भनाइ कस्तो लाग्यो ?’ मैले ‘मलाई त ठीक लागेन उहाँको भनाइ’ भनेर जवाफ दिएको थिएँ । त्यसपछि समज्यूले राणाकालीन समयको प्रसंग सुनाउँदै भन्नुभयो, ‘हेर्नुस्, यस्तो पनि समय थियो नेपालमा । मेरो गीतिनाटक ‘मुकुन्द इन्दिरा’ प्रकाशित भएपछि आफ्नै हातले समर्पण लेखेर मैले राणा प्रधानमन्त्रीको बाहुलीमा टक्र्याएको थिएँ । राणा प्रधानमन्त्रीले मेरो त्यो किताब पल्टाएर पनि हेरेनन् । यो बालकृष्ण पनि निकै लेख्छ भनेर किताब आठपहरियालाई दिएका थिए । राणा प्रधानमन्त्रीले पछि फुर्सदमा त्यो पढ्नुहोला भनेर मैले पछिसम्म आस गरेको थिएँ । तर त्यो पुस्तकबारे मैले कुनै प्रतिक्रिया सुन्न पाइनँ । कस्तो उपेक्षा ? कस्तो होला ? मैले त्यत्रो मिहिनेत गरेर लेखेको कृति उहाँहरूका लागि पढेर प्रतिक्रिया दिन योग्य पनि भएन । त्यस्तो मानसिक आहत पनि मैले बेहोरेको थिएँ । नकारात्मक नै सही कम से कम तारानाथजीले पुस्तक पढेर प्रतिक्रिया त व्यक्त गर्नुभयो । त्यसकै कारण पुस्तक चर्चामा आयो । धेरैले किनेर पढे । उहाँको प्रतिक्रिया र टिप्पणी ठीक हो कि बेठीक हो त्यो पाठकवर्गले गर्नेछन् । अरू साहित्यकारले गर्नेछन् । त्यस्तो चरम उपेक्षा र अवहेलनाभन्दा त केही प्रतिक्रिया व्यक्त गर्नु र पुस्तक चर्चामा आउनु राम्रोजस्तो लाग्छ मलाई ।’

समज्यू कहिलेकाहीं सीधै उत्तर नदिएर कूटनीतिक पाराले कुनै उदाहरण प्रस्तुत गरेर परोक्ष रूपमा आफ्नो विचार व्यक्त गर्ने गर्नुहुन्थ्यो । त्यसबेला प्रज्ञा प्रतिष्ठानको अफिस कमलादीमा सरिसकेको थियो । समज्यू तिनताका राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुनुहुन्थ्यो । जनताको छोराले प्रज्ञा प्रतिष्ठानमा पाउन सक्ने सबैभन्दा ठूलो पद उपकुलपति नै थियो । राजा महेन्द्र स्वयम् कुलपति थिए । तर पछि गएर राजा महेन्द्रले कुलपतिको पद पनि साहित्यकारलाई नै प्रदान गर्ने परम्परा बसाले । बालकृष्ण सम उपकुलपति छँदाछँदै राजाले सीधै कुलपति पदमा केदारमान व्यथितलाई मनोनीत गरे । अब समज्यूले दोस्रो मर्यादाक्रममा रहेका केदारमान व्यथितअन्तर्गत काम गर्नुपर्ने भयो । मेरो मनमा कौतूहल जागिहाल्यो । यो प्रकरणलाई समज्यूले कुन रूपमा लिनुभएको होला भन्ने जिज्ञासा मनमा लिएर म कमलादीस्थित समज्यूको कक्षमा पुगें । ‘प्रज्ञा प्रतिष्ठानमा त ठूलो पुनर्गठन भएछ, तपाईंलाई कस्तो लागेको छ ?’ भनेर मैले प्रश्न तेस्र्याइहालें ।

मेरो प्रश्नको सीधा उत्तर नदिएर समज्यूले हिटलरसम्बन्धी जर्मनीको एउटा प्रसंग सुनाउनुभयो । त्यसबेला भर्खरै हिटलरको उदय भएको थियो । म सर्वोच्च हुँ, सर्वेसर्वा हुँ भन्ने हिटलरको उद्घोष थियो । एक दिन हिट्लरले जनताको नाममा सम्बोधन गर्ने भएछ । चारैतिर हिटलरले सम्बोधन गर्ने कुराको प्रचार गरियो । जनतामा भर्खरै सत्तामा आएको हिटलरबारे उत्सुकता हुने नै भयो । सबैले उत्सुकतासाथ कान थापेर हिटलरको सम्बोधन सुने । सम्बोधनको सार यस्तो थियो, ‘जनता हो † तिमीहरू निरीह छौ, असहाय छौ । तिमीहरू आफ्नो संरक्षण गर्न सक्दैनौ । कसैले तिमीहरूको संरक्षण गरिदिनुपर्छ । तिमीहरू अबला आइमाईजस्तै हौ । तिमीहरूलाई एउटा दरो लोग्नेमान्छे चाहिन्छ र त्यो पोइ म हुँ... ।’

समज्यूको मुखबाट हिटलरको त्यो प्रसंग सुनेपछि मैले फेरि केही सोधिरहनुपरेन । मैले आफ्नो खुल्दुलीको उत्तर पाइसकेको थिएँ । एकछिन बसेर म उहाँबाट बिदा भएँ । समज्यूसँग मेरो निकै राम्रो सम्बन्ध थियो । म बराबर उहाँकहाँ गइरहन्थें । क्रम अन्तिम समयसम्म जारी रह्यो । मेरो दोस्रो कवितासंग्रह ‘रिजालका केही कविता’ को भूमिका समज्यूले नै लेखिदिनुभएको थियो ।

समज्यूको अनुहार मलाई अमूर्तकलाजस्तो लाग्थ्यो । कुनै पनि व्यवस्थाले उहाँलाई पूरा विश्वास गरेन । पूरा अविश्वास र उपेक्षा पनि गर्न सकेन । पञ्चायती व्यवस्थाको विरोधमा विद्रोह गर्ने क्रममा उहाँका ज्वाइँ सैनिक कारबाहीमा मारिए । छोरी रश्मिले आत्महत्या गरिन् । आफूभन्दा कनिष्ठलाई कुलपति बनाइयो । यी सबै उहाँले सहनुभयो । सहेर बाँच्नुभयो । समज्यूको फाबा लगाएको अनुहारको पत्रैपत्रमा कताकता विषाद र पीडा लुकेको पाउँथें म । वास्तविक जीवनमा पनि अभिनय गरेर कुनै पात्रको भूमिका निर्वाह गरिरहेको जस्तो लाग्थ्यो मलाई । वीर अस्पतालमा उहाँको निधन भएपछि थाहा नपाएर हो या के कारणले हो उहाँको शवयात्रामा धेरै कम मान्छे सामेल भएका थिए । राणा खलकले त एक किसिमको उपेक्षा नै गरेका थिए । शवयात्रामा उनीहरू देखिएनन् । साहित्यकारहरूमा पनि धेरै कम लेखक कविहरू सम्मिलित थिए । कमलमणि दीक्षित, भूपी शेरचन र म सँगसँगै हिँडेर शवयात्रामा सामेल भएका थियौं । पशुपतिघाटमा पनि धेरै कम मान्छेको उपस्थिति थियो । एकप्रकारले भन्ने हो भने उहाँ एक्लै बाँच्नुभयो । एक्लै जानुभयो ।

अर्को उत्सुकता पनि थियो कुनै बेला मेरो मनमा । एकताका मन्त्री भएर जिल्ला भ्रमणमा जाँदा केदारमान व्यथितले घोडाको टाउकोमाथि राष्ट्रिय झन्डा राख्न लगाएको हल्ला पनि खुब चलेको थियो । उहाँ पटकपटक मन्त्री बन्नुभयो तर पछि गएर उहाँ आफैंले राजनीतिलाई दुर्गन्धपूर्ण ‘शौचालय र साहित्यलाई मीठो पकवानको सुवास आउने पाकशाला’ को संज्ञा दिनुभएको थियो । उहाँ अलि कडा मिजासको हुनुहुन्थ्यो । त्यसैले फेरि रिसाउनुहोला भनेर यसबारे उहाँसित प्रत्यक्ष सोध्ने साहस मैले गर्न सकेको थिइनँ । धेरै पछि लोकसेवा आयोगको सहसचिव पदको खुला प्रतियोगितामा परीक्षा दिएर प्रथम स्थानमा उत्तीर्ण भएपछि श्रम तथा समाज कल्याण मन्त्रालयको सहसचिवमा मेरो पदस्थापना भएको थियो । संयोगवश त्यसबेला व्यथितजीको घोडामा सवारी चलाउने तत्कालीन बडाहाकिम माधवलाल तबदार नै श्रम तथा समाज कल्याण मन्त्रालयको सचिव हुनुहुन्थ्यो । माधवलाल तबदार पनि विराटनगरवासी भएकाले उहाँसित मेरो राम्रो चिनजान थियो । तबदारजीले मेरो जिज्ञासा शान्त गरिदिनुभयो । भएको के रेहछ भने माधवलाल तबदारले ठूलो घोडा अलि बढी नै पानीदार तेजिलो र बदमास किसिमको भएकाले मन्त्रीज्यूका लागि एउटा सोझो शान्त किसिमको घोडा तयार पार्नुभएछ । मन्त्रीज्यूको इच्छाअनुसार घोडाको टाउकोमाथि सानो राष्ट्रिय झन्डा पनि राख्न लगाउनुभएछ । त्यो बदमास किसिमको ठूलो घोडाचाहिँ आफ्ना लागि राख्नुभएछ । तर ठूलो घोडा बडाहाकिमले आफ्ना लागि राखेर आफूलाई सानो च्याखुरे घोडा ठीक पारेको मन्त्री व्यथितज्यूलाई चित्त बुझेनछ । बारबार स्पष्टीकरण दिएर सम्झाउँदा पनि मन्त्रीज्यू रिसाएपछि केही नलागेर फेरि त्यही ठूलो घोडामा झन्डासमेत राखेर मन्त्रीज्यूका लागि तयार पारिएछ । जाँदासम्म त ठीकै थियो । घोडामा सवार भएर मन्त्रीज्यू अघिअघि राम्रैसित सभास्थलमा पुग्नुभएको थियो । राम्रैसित स्वागत सत्कार पनि भएको थियो । तर कार्यक्रम सकेर फर्किंदा सायद मन्त्रीज्यूले घोडा दौडाउन खोजेर हो या के कारणले हो घोडाले टाप कसेछ । एकाएक उफारेर घोडाले मन्त्रीज्यूलाई बाटैमा फालिदिएछ । धन्न समथल ठाउँमा परेकाले बाँच्नुभयो । मन्त्रीज्यू लडेर गम्भीर किसिमले घाइते भएपछि तत्काल काठमाडौंबाट हेलिकप्टर मगाएर मन्त्रीज्यूलाई सोझै अस्पताल पुर्‍याउनुपरेछ । यो कुरा मैले स्वयम् माधवलाल तबदारको मुखबाट सुनेको हुँ ।

तर अरू कुरा जे जस्तो भए पनि केदारमान व्यथितजस्तो सक्रिय साहित्यकार मैले आजसम्म देखेको छैन । उहाँको पालामा जस्तो साहित्यिक गतिविधि फेरि कसैले गर्न सकेन । व्यथितजी राम्रो कवि मात्र होइन कुशल वक्ता पनि हुनुहुन्थ्यो । ओजस्वी काव्यपाठको शैलीमा धाराप्रवाह भाषण गरेको मैले धेरैपल्ट सुनेको छु । समय परिस्थितिअनुसार आफूलाई गतिशील बनाउन सक्ने राजनीतिज्ञ पनि हुनुहुन्थ्यो । राजा महेन्द्रसित उहाँको निकै राम्रो सम्बन्ध थियो ।

प्रकाशित : पुस २९, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?