कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुइँयाबाट पीडित विजय मल्ल

टिप्पणी
लीला लुइटेल

काठमाडौँ — उपन्यासकार विजय मल्लले ‘गोठाले’ द्वारा प्रवर्तन गरिएको मनोविश्लेषणात्मक प्रवृत्तिलाई अनुसरण गरीे नेपाली उपन्यासको मनोविश्लेषणात्मक धारालाई निरन्तरता दिने र गतिशील तुल्याउने कार्य गरेका छन् । मनोविश्लेषणात्मक सिद्धान्तमा आधारित यिनका सबै उपन्यासको शीर्षक नारीका नामबाट राखिएका छन् र उपन्यास नारी चरित्रप्रधान छन् । 

हुइँयाबाट पीडित विजय मल्ल

क्षीण कथानकमा सीमित घटनालाई प्रस्तुत गरिएको यिनको ‘अनुराधा’ उपन्यासमा पितृरति ग्रन्थिले अनुरक्त नारी अनुराधा तथा ‘मातृरति ग्रन्थि’ ले अनुरक्त पुरुष कोमलमानका माध्यमबाट नारी र पुरुषको मनोविश्लेषण गरिएको छ । जीवनलाई निस्सार र निरर्थक ठानी नारीप्रति पूरै विरक्तिएको पुरुष कोमलमानमा अनुराधाको रूपसौन्दर्यबाट मोहित भई नारीप्रतिको वितृष्णा परिवर्तन भएको छ । अनुराधालाई पत्तै नदिई षड्यन्त्रपूर्ण ढङ्गले बिहे गराउने कार्य गरिएको यस उपन्यासमा उसले विवाह मण्डपमै वरमाला छिनाएर विद्रोह गरेकी छे । लोग्ने रत्नमानसँग बदला लिन देवर समुद्रमानसँग लहसिएको अभिनय गर्दागर्दै मानसिक सन्तुलन गुमाएर विक्षिप्त हुन पुगेकी अनुराधाका यी सब क्रियाकलाप लोग्नेसँग बदला लिने अभीष्टका साथ अचेतनमा रहेको यौनेच्छाको परितृप्तिको लागि गरिएका हुन् भनेर व्याख्या गर्ने प्रचलन छ ।

प्रस्तुत उपन्यासमा अनुराधाको विवाहका प्रसङ्गमा वर्णित घटनावली, रत्नमानका विभिन्न क्रियाकलाप र अन्य कतिपय सहभागीका बानी–व्यवहार पनि अस्वाभाविक र अपत्यारिला खालकै छन् । त्रिदेशीय व्यापार भएको र समाजमा प्रतिष्ठित लोग्ने तथा उत्तराधिकारीका रूपमा रहेको जेठो छोरालाई समेत पत्तै नदिई उसको सबभन्दा प्रिय छोरीको बिहेका लागि एक्लै निर्णय गर्न सक्ने स्थिति नेपाली महिलाको पटक्कै हुँदैन । अझ व्यावहारिक रूपमा हेर्ने हो भने हुनेखाने कतिपय नेपाली परिवारमा आफ्नो प्रतिष्ठाको हवाला दिएर छोरीको बिहेका निर्णयका लागि बाबु केही हदसम्म कठोर हुन सक्छन् भने आमा कहिल्यै कुनै हालतमा पनि यतिबिघ्न कठोर हुनै सक्दैनन् । अर्काे कुरा, घरमा खासखुस गरेर आफ्नो बिहेको कुरा चलाइएको बारेमा सोझी नेपाली केटीले त पत्तो पाउँछे भने एउटी स्मार्ट शिक्षित युवतीले आफ्नै बिहेका लागि घरमा गरिएको त्यत्रो तयारी थाहा नपाउनु नै अत्यन्त अस्वाभाविक देखिन्छ । अझ त्यत्रो तामझामका साथ गरिएको स्वयंवरकै घडीमा पुगेर हातमा वरमाला लिइसक्दासमेत पत्तो नपाएको देखाउनुले यो उपन्यास यथार्थको धरातलबाट चिप्लिएको स्पष्टै हुन्छ ।

घटनावलीको विकास हुँदै जाँदा आमाले अनुराधाप्रति सहानुभूतिसम्म प्रकट नगर्नु अनि नातागोता, निम्तालुजति सबै आमाकै निर्देशनमा बाँधिएर आमाले चाहेअनुसार नै हल्ला फिँजाइदिनु समाज मनोविज्ञानका दृष्टिले पनि यथार्थ देखिँदैन । डाइरेक्टरसम्म भएको तत्कालीन नेपाली पुरुषले विवाह मण्डपमा भएको त्यत्रो अपमानपूर्ण बेइज्जतीलाई सहेर पनि अनुराधातिर त्यतिबिघ्न अनुरक्त हुनु पनि पुरुषोचित अहंका दृष्टिले कुनै हालतमा पनि स्वाभाविक देखिँदैन । यहाँनेर बिर्सनै नहुने कुरा के छ भने रत्नमानलाई खलनायकका रूपमा चित्रण गरिए पनि उसका क्रियाकलाप असत् प्रवृत्तिका नभई सत् प्रवृत्तिका देखिन्छन् किनकि स्वास्नी बनेर आफ्नो कोठामा आएकी अनुराधालाई उसले कुनै जबर्जस्ती गर्ने प्रयाससम्म गरेको पाइँदैन । ऊ हर दृष्टिबाट अनुराधाको मन जित्न चाहन्छ । यति छर्लङ्ग हुँदाहुँदै उसलाई खलनायकका रूपमा चित्रण गर्ने असफल प्रयास नेपाली समालोचनामा जबर्जस्ती गर्ने गराउने गरिएको छ । अर्काेतिर, लोग्नेलाई मार्न भनी उसको घरमा पुगेकी अनुराधा देवरतिर लहसिनुजस्ता अविश्वसनीय र अपत्यारिला घटना प्रस्तुतिका कारण यो उपन्यास फितलो बन्नपुगेको छ ।

‘अनुराधा’ को मूल अभीष्ट सिग्मन्ड फ्रायडद्वारा प्रतिपादित वैचारिकताको प्रस्तुति हो । फ्रायडका कतिपय सैद्धान्तिक मान्यताहरू मानवीय एवं व्यावहारिक दृष्टिले मात्र नभई मनोविज्ञानकै दृष्टिले पनि त्रुटिपूर्ण एवं भ्रमपूर्ण रहेको अनुभव हामी सबैले गरेको हुनुपर्छ । त्यसका लागि बहस गर्ने प्रशस्त ठाउँ छ । यति हुँदाहुँदै पनि फ्रायडकै वैचारिकताको पुष्टि गर्नाका लागि गरिएको यो औपन्यासिक प्रयास पूर्ण रूपमा असफल नै देखिन्छ । घटनावली र प्रमुख सहभागीको चरित्रचित्रणभन्दा बढी मनोविज्ञानको प्रस्तुति गर्ने मोहका कारण यो उपन्यास निकै शुष्क मात्र नभई यसको औपन्यासिकता पनि पूरै खस्किएको छ ।

विजय मल्लको अर्काे उपन्यास ‘कुमारी शोभा’ मा द्योमैजुका रूपमा रहेकी युवतीको मनोविश्लेषण सामाजिक–सांस्कृतिक सन्दर्भबाट गरिएको छ । कुमारीको दैवीय बाल्यावस्था र मानवीय युवावस्थाको मनोविश्लेषण गरिएको यस उपन्यासमा कुमारीले बिहे गर्न नहुने र बिहे गरिहाले लोग्ने मर्ने भन्ने अन्धविश्वासले जकडिएको मानसिकता प्रस्तुत गरिएको छ । कुमारी बसेर फर्किएकी शोभा मानसिक रूपमा रुग्ण बनेको घटनालाई मनोविश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिएको यस उपन्यासमा दाजुको साथी उपेन्द्रसँग प्रेम भए पनि आफूसँग बिहे भएमा उसको मृत्यु हुने भन्ने अन्धविश्वासका कारण बिहे गर्न मान्दिन । व्यक्तिगत सन्दर्भबाट सामाजिक समस्या प्रस्तुत गरिएको यस उपन्यासका अन्य सहभागी पनि अन्धविश्वासमै रुमलिएका छन् । शोभाले पटक्कै मन नपराएको व्यक्ति बाबुकाजी पनि उसलाई बिहे गर्न चाहन्छ । आफूले बाबुकाजीसँग बिहे गरेपछि ऊ मर्ने हुँदा त्यसपछि उपेन्द्रसँग बिहे गर्न पाउने भन्ने अन्धविश्वासी सोचाइ शोभामा विकास हुनेबित्तिकै संयोगवश दुर्घटनामा परी बाबुकाजीको मृत्यु भएपछि आफूले विवाहको प्रस्ताव स्वीकार गर्नेबित्तिकै उसको मृत्यु भएको भन्ने अन्धविश्वासी संस्कारले उसमा झन् बलियो गरी जरा गाड्न पुग्छ । अन्धविश्वासका कारण बिहे गर्न नसके पनि ऊ उपेन्द्रलाई अत्यन्त माया गर्छे । ‘म बिहे गरेर तिम्रो घरमा आउँदिनँ, सक्छौ भने तिमी मलाई उठाएर, बोकेर घिसारेर लैजाऊ’ भन्ने उसको अभिव्यक्तिले पनि यही कुरालाई पुष्टि गर्छ । अन्धविश्वासको विरोधी उपेन्द्रको प्रेम भावुक र वासनायुक्त नभई बलिदानी प्रकारको छ । मनोविश्लेषणात्मक ढङ्गले सामाजिक विकृतिका रूपमा रहेका अन्धविश्वासप्रति सूक्ष्म विद्रोह प्रस्तुत गर्दै मानवीय संवेगात्मक असन्तुलनका कारण उत्पन्न अन्तद्र्वन्द्वबाट उसका जीवनमा पार्नसक्ने दुष्प्रभाव र त्यसको निराकरणको उपाय पनि मनोविज्ञानकै सन्दर्भबाट खोज्ने प्रयत्न गरिएको छ । मनोवैज्ञानिक सन्दर्भबाट अस्तित्ववादी–विसङ्गतिवादी दृष्टिकोणसमेत प्रस्तुत गर्ने उपन्यासकार विजय मल्लले यस उपन्यासमा पनि विभिन्न सहभागीका माध्यमबाट मनोविज्ञानका साथै सांस्कृतिक सन्दर्भलाई समेत अगि सारेका छन् ।

सामाजिक, सांस्कृतिक सन्दर्भबाट मान्छेका यौनजन्य कुण्ठाको जीवन्त प्रस्तुति पाइने ‘कुमारी शोभा’ उपन्यासमा असामान्य, उत्साहहीन र उदास नारी सहभागीका माध्यमबाट अतृप्त यौनेच्छा र सामाजिकताका बीचमा सघन द्वन्द्व पाइन्छ । स्वपीडक शोभा मानसिक अन्तद्र्वन्द्वबाट पीडित भए पनि उसको मनमा जरो गाडेर बसेको अन्धविश्वासलाई उखेल्न सक्दिन साथै उपेन्द्रका बौद्धिक तर्कबाट पनि ऊ आश्वस्त हुन्न । परम्परागत रूढिवादी समाज र आधुनिक समाजका बीचमा द्वन्द्व प्रस्तुत गर्दै समाज क्रमश: अगि बढेको देखाउन खोजिए पनि वंशाणुगत रूपमा जरो गाडेर बसेको रूढिलाई सजिलै हटाउन नसकिने भाव यस उपन्यासमा अभिव्यञ्जित छ । अन्धविश्वासप्रतिको आस्था र अनास्थाका बीच द्वन्द्व पाइने यस उपन्यासमा अन्धविश्वासकै कारण मानव जीवन विकृत हुनपुगेको सन्दर्भ पनि पाइन्छ ।

नेपाली उपन्यासको इतिहासमा

आफ्ना उपन्यासमा मनोविश्लेषणसम्बन्धी विविध प्रकारका सिद्धान्तलाई प्रयोग गर्न रुचि राख्ने विजय मल्लको ‘अनुराधा’ विशुद्ध मनोविश्लेषणात्क उपन्यास हो र मनोविश्लेषणका सिद्धान्तलाई प्रयोग गर्ने ध्याउन्नमा यो उपन्यास नैतिक मूल्य एवं स्वाभाविकताका दृष्टिबाट दुर्घटित पनि हुन पुगेको छ । मनोविश्लेषण नै मूल उद्देश्य भए पनि ‘कुमारी शोभा’ उपन्यासमाचाहिं विशेष सावधानीका साथ स्वाभाविकतामा आँच आउन नदिई मनोवैज्ञानिक एवं नैतिक मूल्यहरूलाई स्थापना गरिएको छ । यस उपन्यासले जीवित देवी मानिने द्योमैजु अर्थात् कुमारीको मनोग्रन्थि केलाउँदै उसैका केन्द्रीयतामा नेवारी संस्कृतिको विस्तृत सेरोफेरो चाहारेको छ । मनोविश्लेषणलाई साध्य बनाउने क्रममा वस्तुको आवश्यकता र प्रसङ्गअनुसार साधनका रूपमा संस्कृतिको प्रस्तुति भएको यो उपन्यास मनोविज्ञान र संस्कृतिको उत्कृष्ट सङ्गम बन्न पुगेको छ । विजय मल्लको अगिल्लो उपन्यास ‘अनुराधा’ मनोविज्ञानको सैद्धान्तिक पक्षकै प्रस्तुतिमा बढी केन्द्रित रहेकाले त्यसमा औपन्यासिकता शिथिल हुन पुगी अविश्वसनीय बन्न पुगेको छ भने सामाजिक सांस्कृतिक सन्दर्भका साथ यौनजन्य मनोविश्लेषण गरिएको ‘कुमारी शोभा’ उपन्यास निकै विश्वसनीय छ । दुवैमा असामान्य मनोदशा भएका सहभागीको प्रयोग पाइए पनि मानवीय इच्छामाथि दमन गर्दा अनुराधा विद्रोही बन्न पुगेकी छ भने सामाजिक–सांस्कृतिक सन्दर्भले शोभा विद्रोही बन्न सकेकी छैन । अचेतनमा रहेको कामवासना दमित हुँदा अनुराधा परपीडक बन्छे भने शोभाचाहिँ स्वपीडक बन्छे । शिक्षित युवती अनुराधा आफ्नो इच्छाविपरीत भएका क्रियाकलापप्रति विद्रोह गर्न अगि बढ्छे भने शोभा आफूले मन पराएको शिक्षित एवं उदार प्रेमीले अनेक ढङ्गले सम्झाउँदा पनि परिवर्तन हुन्न । अनुराधाका क्रियाकलाप जति कृत्रिम र अविश्वसनीय छन् शोभाका क्रियाकलाप त्यति नै सहज र विश्वसनीय छन् । दुवै उपन्यासको उद्देश्य मनोविश्लेषण नै भए पनि ‘अनुराधा’ का तुलनामा ‘कुमारी शोभा’ विशिष्ट छ ।

अनुराधाको आलोचना र ‘कुमारी शोभा’ को प्रशंसा गर्नु यस लेखको अभीष्ट होइन । यस लेखको अभीष्ट नेपाली समालोचनामा देखापरेको बिनाअध्ययन हुइँयाका भरमा लेख्न रहर गर्ने स्थितिलाई देखाउनु हो । अस्वाभाविक धरातलमा टेकेको शुष्क एवं फितलो उपन्यास अनुराधाको चर्चा व्यापक रूपमा गरिनु, यसका बारेमा अगणनीय लेख लेखिनु अनि योभन्दा निकै स्तरीय, परिपक्व तथा यथार्थवादी उपन्यास ‘कुमारी शोभा’ का बारेमा कतै कसैले नामसम्म उल्लेख नगर्नुले नेपाली समालोचना हुइँया एवं कपी–पेस्टकै पछि दौडेको स्थिति छर्लङ्गै देखिन्छ । अझ

‘मनोविश्लेषणको यति व्यापक र सुन्दर प्रयोग भएको अर्काे नेपाली उपन्यास छैन’ भन्ने भनाइ अतिशयोक्तिपूर्ण मात्र नभएर त्रुटिपूर्णसमेत देखिन्छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा कसैलाई कुनै बेला परेको प्रभावका कारण कुनै सर्जकलाई भिराइदिएको ट्यागलाई बिनाअध्ययन हुइँयाकै भरमा अरूले पछ्याउँदै जानु नै नेपाली समालोचनामा देखापरेको चरमवाद हो । यस्तैयस्तै हुइँयाका कारण थुप्रै साहित्यकारलाई ट्याग भिराइदिएर अन्यायमा पार्ने गरिएको छ । यसैअनुरूप उपन्यासकार विजय मल्ल पनि ठूलो अन्यायमा परेका छन् ।


प्रकाशित : माघ ६, २०७४ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?