कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रा भाषा

विमर्श
भित्र्याइएका शब्द र चलनचल्तीमा अशुद्ध शब्द

काठमाडौँ — भारतमा मुसलमानी शासन आएपछि अरबी, फारसी र तुर्की भाषाका शब्द नव्य भारतीय भाषाहरूमा चल्न थाले । त्यसैले क्रमश: विदेशी भाषाका शब्द नव्य भारतीय भाषाका अभिन्न अङ्ग बन्न गए ।

हाम्रा भाषा

परिणामस्वरूप ‘काजी’, ‘सरदार’, ‘सूबेदार’, ‘अदालत’, ‘दीवानी’, ‘फौजदारी’ जस्ता शब्द हाम्रा भाषामा भिजे । त्यति मात्र होइन, लोकभाषा नभए पनि विद्वद्भाषाको रूपमा प्रतिष्ठित संस्कृतमा सुद्धा त्यस्ता विदेशी शब्दलाई संस्कृतको रङ्ग दिई भित्र्याएको दृष्टान्तको रूपमा ‘सुल्तान’लाई ‘सुरत्राण’ र ‘तुर्क’लाई ‘तुरुष्क’ बनाएकोतर्फ औँल्याउन सकिन्छ । अझ अगाडि जाने हो भने, ग्रीक भाषाका शब्द हाम्रो ज्यौतिषशास्त्रमा चलेका देखिन्छन् । उदाहरणको लागि, संस्कृतको ‘हेलि’ शब्द ग्रीक भाषाको तत्सम र ‘केन्द्र’चाँहि तद्भव शब्द हो ।

भारतमा मुसलमानी शासन हुँदा मुसलमानी भाषाका शब्द त्यहाँका आधुनिक भाषामा चले जस्तै, यूरोपियनहरूको प्रवेश भएपछि यूरोपियन भाषाका शब्द कहिले तत्सम र कहिले तद्भवको रूपमा ती भाषामा चल्न थाले । उदाहरणको लागि, ‘साबुन’, ‘आल्मारी’, ‘इस्त्री’, ‘अजिटन’, ‘कर्नेल’, ‘जर्नेल’, ‘कम्पनी’, ‘मास्टर’ जस्ता शब्द ती भाषामा भित्रिए । कहिले कहिले त्यही भाषाको शब्द चलाउँदा चलाउँदै पनि अर्थ स्पष्ट पार्न पोर्चुगीज भाषामा ‘रोटी’ बुझाउने ‘पाउ’ शब्दमा त्यसको पर्याय ‘रोटी’ पनि जोडी ‘पाउरोटी’ जस्ता शब्द चलनचल्तीमा आए । यसै गरी अङ्ग्रेजी शासनकालमा थुप्रै अङ्ग्रेजी शब्द नव्य भारतीय भाषाहरूमा भित्रिए ।

नेपालमा मुसलमानले र अङ्ग्रेजले शासन नगरे पनि छिमेकी भारतसँगको सम्पर्कले त्यस्ता शब्द हाम्रा भाषामा प्रशस्त भित्रिएका छन् । भारतको मुटुमा मुसलमानी शासन चल्दा नेपालको मुटुमा नेवारराज्य चलिरहेको थियो । मुसलमानी भेषभूषा जस्तै, मुसलमानी भाषाका शब्द पनि क्रमश: नेवारी भाषाका अविभाज्य अङ्ग भएर यहाँ घुस्न थाले (गौतमवज्र वज्राचार्य, ‘नेवारी भाषामा फारसी अरबी आदि मुसलमानी भाषाको प्रभाव’, ‘पूर्णिमा’ १ पूर्णाङ्क, २०२१, ३३–४६ पृ.) । गोरखा राज्यको विस्तार हुँदै गएपछि मुसलमानी शब्द नेपाली भाषामा भित्रिने क्रम झन् बढ्दै गयो (टङ्कमणि नेपाल आदि, ‘नेपाली भाषामा प्रयुक्त अरवेली र फारसेली आगन्तुक शब्दहरूको अध्ययन’, अप्रकाशित प्रतिवेदन,

२०३८) ।

‘विजेताको चाल–चलनको विजितहरू वा विजित मनोवृत्ति भएकाहरू नक्कल गर्छन्’ (भोलानाथ पौडेल र धनवज्र वज्राचार्यद्वारा सम्पादित ‘गल्लीमा फ्याँकिएका कसिंगर’, जगदम्बा–प्रकाशन, ललितपुर, २०१८ मा ‘उपोद्घात’, १२१ पृ.) भनी नयराज पन्त (वि.सं. १९७०–२०५९) ले भने जस्तै, राजाका उत्तराधिकारीलाई बुझाउन ‘युवराज’ शब्द प्राचीन कालदेखि चलेर आएको भए पनि त्यही अर्थ बुझाउने, अरबी भाषाको ‘वलीअहद’ शब्द हाम्रो भाषामा चल्न लाग्यो । विदेशी भाषाको शब्द नेपाली भाषामा ठीकसँग उच्चारण गर्न नसक्दा ‘पति परलोक भएकी राजमाता’लाई बुझाउने अङ्ग्रेजी शब्द ‘डाउअजर् क्वीन्’को ‘टावर महारानी’ भए जस्तै ‘वलीअहद’को ‘वलेट महाराज’ हुन पुग्यो ।

भारतमा अङ्ग्रेजी शासन चल्दै गएपछि भने खोला फर्कन लाग्यो । खुलाएर भन्दा, पहिले लोकभाषामा विदेशी शब्द भित्रिन्थे भने अब विदेशी शब्दलाई आधुनिक भाषाहरूको उपजीव्य भाषा संस्कृतबाट शब्दनिर्माण गर्ने परम्परा चल्यो । यसैले, भारत स्वतन्त्र भएपछि अङ्ग्रेजी शासनसँगै आएको अङ्ग्रेजी भाषाको ठाउँमा भारतीय भाषालाई राजकीय भाषा बनाउने लहर चल्यो र त्यसको नजीकको उम्मेदवार संस्कृतबहुल हिन्दीले अङ्ग्रेजीको ठाउँ लिने सम्भावना बढयो । अनि शासनमा चलेका अङ्ग्रेजी शब्दको ठाउँमा हिन्दी र अरू भारतीय भाषामा पनि त्यस्ता शब्दको उपयोग गर्ने उद्देश्यले अङ्ग्रेजी ढङ्गले संस्कृत पढेका रघुवीर (वि.सं. १९५९–२०२०) को मातहतमा संस्कृतभाषामा शब्द रच्ने प्रक्रिया चल्यो । यसको परिणाम डेढ लाख शब्द भएको अङ्ग्रेजी–हिन्दी कोष निस्कियो (रघुवीर, ‘अ कम्प्रिहेन्सिभ् इङ्ग्लिश्–हिन्डी डिक्शन्अरि अफ् गभ्अर्न्मेन्टल् यान्ड् एड्युकेशनल् वर्डज् यान्ड् प्रेmज्इज्’, इन्टर्न्याश्अन्अल अक्याड्इम्इ अफ इन्डिअन कल्चर, नयाँ दिल्ली, ई.सं. १९७३) । तर संस्कृतभाषाको व्याकरणमा रघुवीरको र उनका सहयोगीहरूको पैठ नभएकोले होला, त्यस कोषमा संस्कृतव्याकरणबाट सिद्ध नहुने शब्द परेकाले संस्कृतव्याकरणमा पैठ भएकालाई त्यस कोषले सन्तुष्ट पार्न सकेन (महेशराज पन्त, ‘अन् स्यान्स्क्रिट् एडयुकेशन्’, काठमाडौँ, ई.सं. १९७९, १०७–१०८ पृ.) । संस्कृतको अधकल्चो ज्ञानले गर्दा ‘पञ्चवर्षीय’ योजना जस्ता अशुद्ध शब्द भारतमा चले र त्यस्ता शब्द हाम्रो भाषामा पनि चल्न थाले । व्याकरणका सूत्र उद्धृत गरी ‘पूरा भइसकेको योजनालाई ‘पञ्चवर्षीण’ ‘पञ्चवार्षिक’ वा ‘पञ्चवर्ष’ योजना भनी लेख्नुपर्दछ । पूरा हुन बाँकी योजनालाई ‘पाञ्चवर्षिक’, ‘पञ्चवर्षीण’, ‘पञ्चवर्ष’ योजना भनी लेख्नुपर्दछ’

(‘हाम्रो उद्देश्य र कार्यप्रणाली’, खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठान, काठमाडौँ, २०५९, ५८ पृ.) भनी नयराज पन्तले लेखेको कुराको सम्झना हुन्छ ।

पाश्चात्त्य भाषाका शब्दलाई संस्कृतमा भाषान्तर गर्न संस्कृतको जुन तहको ज्ञान चाहिन्थ्यो, त्यो तहको ज्ञान भएका मानिसको हातबाट शब्द बनाउने काम नभएकोले शब्दको निकै बिजोग भएको छ । उदाहरणको लागि, हाम्रा भाषामा अत्यन्त प्रयोगमा आउने ‘नागरिक’ वा ‘नागरिकता’ शब्द नै लिऊँ । ग्रीसमा नगरराज्य भएकाले ‘शहर’ बुझाउने ‘पोलिस्’ शब्दले ‘मुलुकको बासिन्दा’ पनि बुझाउँथ्यो । ‘पोलिस्’को ल्याटिन उल्था ‘सिभिस्’ र ‘सिभिस्’को

अङ्ग्रेजी उल्था ‘सिटिजन्’ भएकोले ती शब्दले ‘मुलुकको बासिन्दा’ बुझाउँछ । ‘सिटिजन्’ शब्दको शाब्दिक अर्थ गर्ने हो भने, यसको अर्थ ‘शहरको बासिन्दा’ हुन्छ भन्ने माथि लेखिएका कुराबाट स्पष्ट भइसकेको छ । यसो भए पनि, ‘सिटिजन्’को संस्कृत बनाउँदा हाम्रा संस्कृतज्ञहरूले संस्कृतवाङ्मयमा चल्दै आएको ‘पौर’ र ‘जानपद’ शब्द नसम्झी ‘सिटिजन्’को ठयाक्क अर्थ गर्ने कोशिश गरी ‘नागरिक’ शब्द चलाइदिए । तर ‘नागरिक’ शब्द चलाउँदा संस्कृतव्याकरणबाट त्यो शब्द बन्दै बन्दैन, ‘नागर’ वा ‘नागरक’ मात्र बन्छ भन्ने हेक्कासम्म पनि राख्न तिनीहरूले सकेनन् । त्यसमाथि, ‘नागर’ले बढीमा ‘शहरको बासिन्दा’ मात्र बुझाउने हुनाले ‘मुलुकभरको बासिन्दा’ बुझाउन त्यसले सक्दैन । त्यसैले, ‘जानपद’ शब्द मात्र

‘सिटिजन्’को पर्याय हुन सक्छ ।

मध्यकालको यूरोपको शासनपद्धति बुझाउन ‘फ्यूडलिज्म्’ शब्द अङ्ग्रेजीमा चलेको छ । त्यो शब्द ल्याटिनमा ‘बिर्ता’को अर्थमा चलेको ‘फेओदम्’को

तद्भव हो । ‘फ्यूडल्’ शब्दले मूलत: ‘राजाबाट पाएको बिर्ता भोग गरी राजाको काममा खटिने मानिस’ र ‘फ्यूडलिज्म्’ शब्दले त्यससम्बन्धी व्यवस्था बुझाउँछ । यसैले, वि.सं. १९०८ मा छापिएको, मोनियर मोनियर–विलियम्ज (वि.सं. १८७६–१९५५)को अङ्ग्रेजी—संस्कृतकोषमा ‘पूव्र्वकाले क्षेत्राधिकारविषये यो नियमस् तत्सम्बन्धी –न्धिनी –न्धि(न्) अर् क्षेत्रस्वामिक्षेत्राधिकारि–णोर् मध्ये य: स समयस् तद्विषयक: –का–कं’ अर्थात् ‘प्राचीन कालमा खेतको अधिकारको विषयमा जुन नियम थियो त्यससम्बन्धी, अथवा खेतका मालिक र खेतका अधिकारीको बीचमा जुन सम्झौता हुन्छ, त्यससम्बन्धी’ भनी ‘फ्यूडल्’ शब्दको अर्थ लामो गरी दिइएको छ (‘अ डिक्शन्अरि अफ् इङ्ग्लिश् यान्ड् स्यान्स्क्रिट्’, अक्स्फोर्ड यूनिभर्सिटि प्रेस, लन्डन, ई.सं. १८५१ मा ‘फ्डल्’ शब्द) ।

तर अहिलेका, अङ्ग्रेजी भाषाका शब्दका अर्थ हाम्रा भाषामा दिइएका कोषमा भने ‘फ्यूडल्’ शब्दको अर्थ ‘सामन्त’ र ‘फ्यूडलिज्म्’ शब्दको अर्थ ‘सामन्तवाद’ गरिएको छ । तर यस अर्थमा मूलत: एउटा तात्त्विक भेद छ । कुरा के भने, ‘सामन्त’ शब्दको मूल अर्थ ‘कुनै राजाले अर्को राज्य जित्दा जितिएको राज्यका राजालाई थमौती गरी

आफ्नो अधीनमा राखिएको, जित्ने राजालाई सिर्तो अर्थात् तिरो तिरी आफ्नो राज्यको भोग गरिआएको रजौटा’ भन्ने हुन्छ । जस्तो कि, नेपालका शाह राजाहरूका रजौटा मुस्ताङ, बझाङ, जाजरकोट आदिका राजा नेपालका राजाका सामन्त कहिन्थे । ‘फ्यूडल्’ पनि हुन त ठूला राजाको अधीनकै हुन्, तर तिनी कुलक्रमागत होइनन्, तिनी त राजाद्वारा नियुक्त अधिकारी हुन् । यस कारण

‘फ्यूडल्’को अर्थमा आजभोलि चलेको ‘सामन्त’ शब्दले ठीक अर्थ बुझाउन सक्दैन अर्थात् ‘सामन्त’मा

‘फ्यूडल्’को अभिधा छैन । यस्तो अवस्थामा कि हामीले विदेशी शब्द नै हाम्रो भाषामा भित्र्याउनुपथ्र्यो, कि संस्कृतवाङ्मयको आलोडन गरेर ठीक शब्दको चयन गर्न सक्नुपथ्र्यो, तर आफ्नो भाषाको शब्द भनी ठीक अर्थ नबुझाउने शब्द चलाउन हुँदैनथ्यो ।

पाश्चात्त्य शासनप्रणाली आएपछि ‘कन्स्टिटयुशन्’ शब्द पनि हाम्रा भाषामा भित्रियो । अनि त्यही ‘कन्स्टिटयुशन्’ शब्दलाई संस्कृतको चोगा पहिर्‍याई ‘संविधान’ भन्ने शब्द चलाइयो । ‘संविधान’ शब्द अङ्ग्रेजी कन्स्टिटयुशन्’को शब्दश: जस्तो उल्था भएकोले ‘कन्स्टिटयुशन्’ शब्दको तात्पर्य बुझाउने शब्दको खोजी गर्दै जाँदा ‘वैनयिक शास्त्र’ हुनुपर्ने ठहर नयराज पन्तले गरे (महेशराज पन्त, ‘भारतीय संविधानको नयराज पन्तले संस्कृत गद्यमा गरेको उल्था’, ‘पूर्णिमा’ १२८ पूर्णाङ्क, २०६५, ३४८ पृ.) ।

वि.सं. १८२८ देखि पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)को प्रशस्तिमा जोडिएर आएको ‘बहादुर शमशेर जङ्ग’ भन्ने पदवी दिल्लीका बादशाह द्वितीय शाह आलम (वि.सं. १७८५–१८६३, राज्यकाल वि.सं. १८१७–१८६३)ले उनलाई ‘गोरखाको जमीनदार’ भनी दिइएको प्रमाण फेला परेपछि देशाभिमानी राजा महेन्द्र (वि.सं. १९७७–२०२८, राज्यकाल वि.सं. २०११–२०२८)ले झण्डै २०० वर्षअघि १० पुस्तादेखि प्रशस्तिमा रहँदै आएको खिताब आफ्नो प्रशस्तिबाट वि.सं. २०१९ मा हटाए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ दोस्रो आवृत्ति, साझा प्रकाशन, ललितपुर, २०६१, ४८६–४९१ पृ.) । त्यसै क्रममा आफ्ना बाबु श्री ५ त्रिभुवन (वि.सं. १९६३–२०११, राज्यकाल वि.सं. १९६८–२०११)को प्रशस्तिमा भन्दा केही फरक पारी उनले ‘अतिरथी’ जस्ता शब्द जोडे । ‘रथीभन्दा ठूला’ भन्ने अर्थमा व्याकरणअनुसार ‘अतिरथ’ हुनुपर्नेमा अज्ञानवश ‘अतिरथी’ लेखिन गयो । त्यसै गरी, महेन्द्रले आफ्नो प्रशस्तिमा ‘विविधविरुदावलीविराजमानमानोन्नत’पछि,

‘परमनेपालप्रतापभास्कर’को अगाडि थपेको ‘महेन्द्रमाला’को सम्बन्ध अगाडि र पछाडिका शब्दसँग मिलाउन सकिँदैन ।

महेन्द्रको प्रशस्तिको संशोधन र सेनामा चलेका

अङ्ग्रेजी शब्दको संस्कृतीकरण चूडानाथ भट्टराय (वि.सं. १९७५–२०५३)ले गरेका हुन् भन्ने प्रचार छ । ‘हामीले अमरसिंह र बलभद्रलाई विदा दिएपछि सेनामा अंग्रेजी भाषा प्रवेश गरायौं तर धेरै पछि परम सेनाधिपति श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम शाहदेवबाट सेनामा सबै नेपाली र संस्कृत शब्दकै व्यवहार गराइ बक्सेर देशको सार्वभौमिक स्वतन्त्रतालाई चाहिने आफ्नोपन निगाहा भएर व्यक्तित्वको परिचय बक्स्यो’ (चूडानाथ भट्टराय, ‘हाम्रो परीक्षा—एक परिशीलन’, ‘हिमानी’ ३ वर्ष १ अङ्क, २०२३, ४१–४२ पृ.) भनी महेन्द्रले गरेको यस कामको तारीफ उनले गरेकाले पनि संस्कृतीकरण उनकै हातबाट भएको अनुमान हुन्छ । संस्कृतका विद्वान् भनी कहलिएका भए पनि संस्कृतमा उनको त्यति अधिकार नभएको भन्ने कुरा उनकै लेखाइबाट सिद्ध गर्न सकिने हुनाले त्यस संस्कृतीकरणमा यस्तो गल्ती भएको हुनुपर्छ ।

हाम्रा लेखाइमा चलेका अशुद्ध शब्दको विषयमा पहिले पहिले पनि धेरैले लेखिसकेका छन् । भाववाचक ‘सौहार्द’ शब्दमा फेरि भाववाचक ‘ता’ प्रत्यय जोडी ‘सौहार्दता’ जस्ता शब्दको प्रयोग गरेको अशुद्ध भयो भनी चूडानाथ भट्टरायले लेखेको कुराको सम्झना यस प्रसङ्गमा हुन्छ । तर त्यो लेख कहाँ छापिएको थियो भन्नेचाहिँ अहिले सम्झन सकिएन । २२ वर्षभन्दा अगाडि यस्तै विषयमा फणीन्द्र नेपाल (वि.सं. २०१५ मा जन्म)ले लेखेको लेखमा यही ‘कान्तिपुर’ दैनिकका कटिङको सूचीकरणको प्रसङ्गमा हालै आँखा पर्‍यो (‘चलनचल्तीका केही अशुद्ध शब्दहरू’, २०५२।६।२१।७, ख पृ.) । यस्तै विषयमा शरच्चन्द्र वस्ती (वि.सं. २०१३ मा जन्म)ले लेखेको ‘नेपाली कसरी लेख्ने ?’ पुस्तक यसै साल प्रकाशित भयो (ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्था लि., ललितपुर) । हाम्रो लेखाइमा चलेका अशुद्ध शब्दको वर्णक्रमले फेहरिस्त नै तयार गरी त्यसको शुद्ध रूप दिने प्रशंसनीय काम त्यस पुस्तकमा भएको छ ।

तर शरच्चन्द्र वस्तीले मिहिनेत गरी तयार गरेको त्यस शब्दसूचीमा सबै शब्द नसमेटिएका मात्र होइनन्, उनले शुद्ध ठानेका, वास्तवमा अशुद्ध शब्द पनि त्यहाँ बाँकी छन् । ती सबै कुरा यस सानो लेखमा समेट्न सम्भव नभएकोले यस लेखको अन्त्यमा यस विषयमा केही कुरा मात्र लेखी चित्त बुझाउनुपरेको छ ।

‘अधेग्रो जाने’ अर्थमा प्रयोग हुने ‘गर्भपतन’ शब्द भ्रूणहत्या किंवा ‘गर्भपात’को अर्थमा हाम्रा लेखाइमा चलिरहेका छन्—

‘अझै पनि परिवारको दबाबमा गर्भपतन’ (‘अन्नपूर्ण पोस्ट्’, २०७४।७।९।५, ८ पृ.), ‘गर्भपतनको औषधि जथाभाबी बिक्री’ (‘कान्तिपुर’, २०७४।९।२४।२, ४ पृ.), ‘गर्भपतन गराउनेमा किशोरी अधिक’ (‘नेपाल समाचारपत्र’, २०७४।९।२४।२, ६ पृ.) ।

‘विस्तारो विग्रहो व्यास: स च शब्दस्य विस्तर:’ (‘अमरकोष’ ३।२।२२) अर्थात् ‘अरू किसिमका ‘फैलावट’को अर्थमा ‘विस्तार, विग्रह र व्यास’ शब्द हुन्छन्, ‘शब्दको फैलावट’ भन्ने अर्थमा चाहिँ ‘विस्तर’ शब्द हुन्छ’ भन्ने नियम छ । तर ‘शब्दको फैलावट’मा पनि हाम्रा लेखकहरूले त्यस्तो अर्थ नबुझाउने ‘विस्तार’ शब्दको प्रयोग गरिरहेका छन्—

‘करोडौँ जनताको चाहना दबाएर लाखौँ जनताको लासमाथि उभ्याइएको भारतको राष्ट्रिय एकता र अखण्डता आजै पनि धरापमै छ भनेर भारतीय लेखक राजीव मल्होत्राले ‘ब्रेकिङ इन्डिया’ पुस्तकमा सविस्तार वर्णन गरेका छन्’ (युवराज गौतम, ‘पृथ्वीनारायणको गल्ती के ?’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.) ।

‘गर्नु’ अर्थ भएको भाववाचक ‘करण’ शब्द लेख्दा लेख्दै पनि क्रियापदमा पनि ‘गर्’ नै लेख्ने अशुद्ध चलन हाम्रा लेखाइमा जहीँ तहीँ देखिन्छ—

‘यस्तै उपाय अवलम्बन गरेर उनले नेपाल देशको एकीकरण गरे’ (ज्ञानमणि नेपाल, ‘पृथ्वीनारायणलाई सम्मान किन ?’, ‘कान्तिपुर’, २०७४।९।२७।५, ७ पृ.), ‘पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपालको अस्तित्व रहने थिएन’ (युवराज गौतम, ‘पृथ्वीनारायणको गल्ती के’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.), ‘राज्य विस्तारीकरण गरिएको भए विजित राज्य भाइ–छोराहरूलाई बाँडेर उनीहरू नै राजा हुन्थे होलान्, तर यस्तो गरिएन’ र ‘गोरखा राज्य विस्तारीकरण गर्न खोजिएको हो’ (बुद्धिनारायण श्रेष्ठ, ‘कसरी हेर्ने पृथ्वीनारायण शाहलाई ?’, ‘नागरिक’, २०७४।९।२७।५, ७ पृ.)

पहिलो वाक्यमा ‘... उनले नेपाल देशलाई एक पारे’, दोस्रो वाक्यमा ‘पृथ्वीनारायणले एक नपारेको भए नेपालको अस्तित्व रहने थिएन’, तेस्रो वाक्यमा ‘राज्यको विस्तार गरिएको भए ...’ र चौथो वाक्यमा ‘गोरखा राज्य विस्तार गर्न खोजिएको हो’ भनी लेखिएको भए वाक्य बढी राम्रो हुन्थ्यो ।

‘भूतपूर्व’ अर्थात् ‘पहिले भएको, अहिले वहालवाला नभएको’ भन्ने अर्थमा आजभोलि ‘पूर्व’ शब्द चलनचल्तीमा आएको छ—

‘उक्त पर्व मनाउन एक पूर्वसुब्बा र एक पूर्वलप्टन हुन् कि के हुन्, एउटा साथी लिएर त्यहीं बस्न आइपुगे’ (जगमान गुरुङ, ‘नेपाली राष्ट्रियताको विकास’, ‘अन्नपूर्ण पोस्ट्’, २०७४।९।२७।५, ७ पृ.) । यसै गरी, ‘भूतपूर्व राजा’लाई ‘पूर्वराजा’ शब्द पनि प्रयोगमा खूब आउँछ । तर यस शब्दले विवक्षित अर्थ बुझाउन सक्दैन भनी भनिरहनु नपर्ला ।

‘तत्कालीन’, ‘समकालीन’ जस्ता शब्द अशुद्ध र ‘तात्कालिक’, ‘सामानकालिक’ जस्ता शब्द शुद्ध भए पनि प्राचीन कालदेखि नै त्यस्ता अशुद्ध रूप व्यवहारमा चलिरहेछन् । त्यसैले ‘अपभ्रंशा एवैत इति प्रामाणिका:’ अर्थात् ‘यी रूप अपभ्रंश नै हुन् भनी प्रमाणको आधारमा बोल्नेहरू भन्छन्’ भनी ‘सिद्धान्तकौमुदी’का कर्ता भट्टोजि दीक्षित भन्छन् (भोलानाथ पौडेल र धनवज्र वज्राचार्य, ‘व्याकरण–संशोधन’ ५ संख्या, २०१६, १३–१६ पृ.) । त्यही ‘तत्कालीन’ शब्दलाई ‘नेपाली कसरी लेख्ने ?’का कर्ताले पनि शुद्ध मानेकाले (११६ पृ.) जगमान गुरुङ (वि.सं. २००३ मा जन्म)ले ‘तत्कालीन’ लेखेकोमा आश्चर्य छैन—

‘तत्कालीन संस्कृति मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्मा उक्त राष्ट्रिय गान प्रस्तुत गरेका थिए’ (जगमान गुरुङ, ‘नेपाली राष्ट्रियताको विकास’, ‘अन्नपूर्ण पोस्ट्’, २०७४।९।२७।५, ७ पृ.) ।

यस प्रसङ्गमा २७ वर्षभन्दा पनि अगाडि उठेको एउटा विवादको सम्झना आयो । कुरा के भने, नेपाल राजकीय

प्रज्ञा–प्रतिष्ठानले ‘समकालीन साहित्य’ नामले पत्रिका प्रकाश गर्ने निधो गरेछ । यस विषयमा सभा बस्दा ‘समकालीन’ शब्द व्याकरणबाट बन्दैन, यस कारण यसको सट्टा अर्को शब्द राखौँ भनी प्राज्ञ नयराज पन्तले भन्दा हिन्दीमा पनि यो शब्द चलेको छ भनी अरू प्राज्ञहरूले विरोध गरेपछि उनी त्यो सभा छोडी फर्केका थिए ।

‘संसत्सम्बन्धी’ भन्दा ‘सांसद’ र ‘विद्युत्सम्बन्धी’ भन्दा ‘वैद्युत’ हुनुपर्नेमा ‘संसदीय’ र ‘विद्युतीय’ शब्द चलेका छन्—

‘माओवादीको एजेन्डा स्वीकार गर्दै संसदीय पद्धतिमा विश्वास गर्ने दलहरूले समेत राष्ट्रियता कमजोर बनाउने खेलमा साथ दिए’ (युवराज गौतम, ‘पृथ्वीनारायणको गल्ती के ?’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.) । ‘विद्युतीय’ शब्दको प्रयोग त ‘नेपाली कसरी लेख्ने ?’का कर्ताले नै गरेकाले (१३८ पृ.) अरूलाई के भन्नु ।

‘आधार लिइएको’, ‘शासन गरिएको’, ‘उल्था गरिएको’, ‘सम्बन्ध भएको’ र ‘वितरण गरिएको’ भन्ने अर्थमा क्रमश: ‘आधृत’, ‘शिष्ट’, ‘अनूदित’, ‘सम्बद्ध’ र ‘वितीर्ण’ हुनुपर्नेमा ‘आधारित’, ‘शासित’, ‘अनुवादित’, ‘सम्बन्धित’ र ‘वितरित’ चलेका छन्—

‘विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता महत्वपूर्ण संस्थाको अध्ययन र तथ्यांकमा आधारित छ विश्लेषण’ (युवराज गौतम, ‘पृथ्वीनारायणको गल्ती के ?’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.) । यो तर्क पनि तथ्यमा आधारित छैन (आहुति, ‘पृथ्वीनारायण कसरी राष्ट्रनिर्माता ?’ ‘नागरिक’, २०७४।९।२९।७, ख पृ.) । ‘देश हुनका निम्ति राज्यसत्ता र शासित जनता भूभाग भए पुग्छ’ (उही) । ‘संग्रौलाद्वारा अनुवादित भारतीय लेखक सत्यजित राय (रे)को पुस्तक ‘सत्यजित रायका कथा’को लोकार्पण समारोहमा वाग्लेले यस्तो तुलना गरेका थिए’ (‘राय र पाण्डेका कृति एकसाथ’, ‘कान्तिपुर’, २०७४।९।२९।७, ९ पृ.) । ‘उनीहरूले धर्मप्रचारको निहुँमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित गुप्त सूचना संग्रह गरिरहेको चाल पाएपछि नेपालबाट धपाइएको इतिहासकार सूर्यविक्रम ज्ञवाली र बाबुराम आचार्यको तर्क छ’ (‘पृथ्वीनारायणको गल्ती के ?’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.) । ‘नेपाली कसरी लेख्ने ?’का रचयिताले ‘आधारित’ (६९ पृ.), ‘अनुशासित’ (१०४ पृ.) र ‘वितरित’ (१३८ पृ.) सही शब्द मानेको देख्दा अचम्म लाग्छ ।

‘समर्थ’को अर्थमा ‘क्षम’ शब्द र ‘असमर्थ’को अर्थमा ‘अक्षम’ शब्द हुनुपर्नेमा आजभोलि ‘सक्षम’ र ‘असक्षम’ शब्द चलेका छन्—

‘समग्रतामा पृथ्वीनारायण शाह त्यति बेलाका एक सक्षम हिन्दू पहाडिया खस–आर्य अहंकारवादी राजा थिए’ (आहुति, ‘पृथ्वीनारायण कसरी राष्ट्रनिर्माता ?’, ‘नागरिक’, २०७४।९।२९।७, ख पृ.) । अरूको त के कुरा गर्नु, दरबारबाट छापिएको मेरो आफ्नै लेखमा ‘क्षम’ शब्द ‘सक्षम’ भई छापिएको सम्झना यस प्रसङ्गमा हुन्छ (‘रमझम’, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहमा इतिहासको चेतना’, २०४१, २४ पृ.) ।

परसवर्ण गर्नैपर्नेमा परसवर्ण नगर्ने, विकल्पले परसवर्ण हुने शब्दमा चाहिँ परसवर्ण गर्ने चलन अहिले चलेको छ । त्यही चलनको समर्थन शरच्चन्द्र वस्तीको यस पुस्तकमा पनि भएको छ । खुलाएर भन्दा, ‘अङ्कुश’, ‘आशङ्का’, ‘निष्कलङ्क’ र ‘शङ्ख’ नलेखी ‘अंकुश’ (१०३ पृ.), ‘आशंका’ (१०६ पृ.), ‘निष्कलंक’ (१२१ पृ.) र ‘शंख’ (१४१ पृ.) सही रूप मानी त्यहाँ राखिएका छन् । त्यसै गरी, खुट्टा काटेर लेखिने ‘उपनिषद्’, ‘ऋत्विक्’, ‘नाशवान्’ र ‘मन्त्रिपरिषद्’को सट्टा ‘उपनिषद’ (१०८ पृ.), ‘ऋत्विक’ (१०८ पृ.), ‘नाशवान’ (१२० पृ.) र ‘मन्त्रिपरिषद’ (१३२ पृ.) सही ठानिएका छन् । ‘त’मा द्वित्व हुने ‘पाश्चात्त्य’ र ‘बोधिसत्त्व’को ठाउँमा ‘पाश्चात्य’ (१२४ पृ.) र ‘बोधिसत्व’ (१३० पृ.) शुद्ध मानिएका छन् । व्याकरणबाट सिद्ध नहुने ‘पूर्वीय’ शब्द (१२५ पृ.) सही ठहर्‍याइएको छ । ‘जागर्ति’ र ‘जाग्रत्’ हुनुपर्नेमा ‘जागृति’ र ‘जाग्रत’ शुद्ध ठानिएको छ (११४ पृ.) ।

प्रकाशित : माघ ६, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?