कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं ‘रिभिजिटेड’

समीक्षा
‘अविजित’ ले हाम्रो साहित्यको स्वादमा कति फरक पर्छ त ? अनावश्यक आत्मविश्वास नराख्ने हो भने यसले मध्यम स्तरको कद मात्र भेट्टाएको छ । 

काठमाडौँ — खुलस्त भन्ने हो भने उपन्यास आतंककै अर्को नाम भइसक्यो । सहिदको कोटा थप्ने र उपन्यास छाप्ने क्रम उस्तैउस्तै छ । साहित्यिक समृद्धिको मानक उपन्यास होइन र हुन सक्दैन पनि । त्यसैले थुप्रै उपन्यास पाठककहाँ नपुगी ‘सहिद’ को श्रेणीमा पुगेका छन् । मानौं, उपन्यास भनेका खबरकागज हुन् ।

काठमाडौं ‘रिभिजिटेड’

यसो वल्टाइपल्टाइ गर्‍यो, हेडलाइन पढेर छाडिदियो । लेखक–प्रकाशकको बुझाइमै उपन्यास साहित्यमा स्थापित हुने र पैसा छाप्ने कारखानाजस्तो भइसकेको छ । कतिपयलाई अन्य विधा साहित्य नै होइनन् भन्ने भान परिसकेको छ । यस्तो विरक्तलाग्दो घडीमा कवि विप्लव प्रतीक पहिलो उपन्यास ‘अविजित’ लिएर आएका छन् ।

‘अविजित’ झन्डै आधा शताब्दी लामो नेपाली इतिहासको झझल्को हो । १९९७ सालको सहिद काण्डदेखि ०४६ को जनआन्दोलनसम्मको कथा यसले बोकेको छ । उपन्यासले ‘नोबडी’ लाई प्रमुख पात्रको हैसियत दिएको छ । इतिहासले ‘बिग बोसहरू’ लाई मात्रै चिनेको हुन्छ । बोसहरूका नाममा आँसु, रगत र पसिना चढाउने तर कुनै पनि पृष्ठमा नाम नअटाउने यस्ता पात्र प्रशस्तै हुन्छन् । तिनको प्रतिनिधिका रूपमा उपन्यासकारले अविजितलाई उभ्याएका छन् । र, त्यही गुमनाम पात्रको जीवनका उतारचढावलाई सिलसिलेवार रूपमा औपन्यासिक कलेवर दिएका छन् ।

कम्युनिस्ट दर्शनबाट निर्देशित छ, अविजित । मथिंगलमा साहु–साम्यवाद होइन, सर्वहारा–साम्यवाद छ । उसको दृष्टिमा कम्युनिस्ट भनेको ‘गुड हयुमन बिइङ’ हुनु हो । सात–आठ वर्षको उमेरमै बाबु भीमप्रसादको असामयिक निधन, लगत्तै आमा पार्वतीको छिमेकीसँगको भागीविवाह, बडाहाकिम भिनाजु कुलभक्तसँग तराईका जिल्ला प्रवेश र त्यहाँबाट पैसा चोरेर भागेको बाल्यकालीन सम्झना छ यसमा । उसको जीवनको टर्निङ प्वाइन्ट भने मोहनशमशेरका पुरतेका छोरा मदनसँग प्लेटफर्मको जम्काभेट नै हो । ‘बनारस रिर्टन’ मदनबाट पाएको शैक्षिक र राजनीतिक दीक्षाले नै उसको जीवनमा इन्क्लाब जिन्दावादको चस्को पस्छ । नवविद्रोही जेल पर्छ, मदन मारिन्छ ।

त्यो मोडपछि नै उपन्यासले खास गति लिएको छ । कस्मेटिक कम्युनिस्टप्रति नजानिँदो कटाक्ष छ यसमा । सर्वहाराको शासनसत्ता ल्याउने सपनाका पुलिन्दा बाँड्नेहरू ०१७ सालको शाही कदमलाई कसरी खुला मनले स्वागत गर्छन् ? महान् लेनिनको शिक्षा बिर्सेर किन शाही कम्युनिस्ट बन्छन् ? नेताको व्यक्तिगत स्वार्थमा पार्टी कसरी फुट्छन् ? पार्टी महासचिव कुन दूतावासको एजेन्ट हो ? कसका निम्ति जासुसी गर्छ ? र, राजाका दलाली किन गर्छ ? शब्दजाल र भुलभुलैयामा सारालाई मूर्ख बनाउने राजनीतिक घोचपेच पनि छ, उपन्यासमा ।

त्यसो त यसमा राजनीतिक विषयवस्तु मात्र छैन । अविजित पार्टीको केन्द्रीय सदस्य त हो तर भूगोलको राजनीति गर्दैन । सदैव लेखापढीको काममै व्यस्त रहन्छ । पारिवारिक जिम्मेवारी र बनिबुतोको समस्याले उसलाई लखेटिरहन्छ । यसले उसको राजनीतिक बाटो क्रमश: बदलिँदै गएको छ । महासचिवका कारण कम्युनिस्ट पार्टीमा ऊ टिक्न सक्दैन । तर, व्यक्तिगत रूपमा भए समाजको निम्ति काम गर्ने उसको हुटहुटी जीवनपर्यन्त रहन्छ । पत्रिकाको सम्पादन गर्छ, आफ्नो किताब लेख्छ, अर्काको किताब पनि लेखिदिन्छ ।

उसको कर्मयोग निष्काम छ । परिवर्तनबाहेक उसको अन्य महत्त्वाकांक्षा छैन । जीवन आफ्ना निम्ति होइन, अर्काका निम्ति बिताउने आदर्श छ उसको । अविजितलाई स्थापित गर्न उपन्यासकारले थुप्र ठाउँ डुलाएका छन् । कहिले राजविराज, कहिले खोपासी, कहिले धादिङ । यात्रा नै असल गुरु हो सायद । देशाटनले उसलाई आन्तरिक रूपमा ज्ञानी, बलियो र कठोर बनाएको छ । यो उपन्यासको कमजोरी र विशेषता भनेकै कथावाचक अविजितभन्दा दायाँबायाँ कतै लाग्दैन । एकपाखे बयानबाजीमा लाग्दा अरू पात्रले पटक्कै महत्त्व पाउँदैनन् । अविजित त महाकाव्योचित पात्रजस्तो लाग्छ । एउटा मात्रै कथावाचकले काम चलाउँदा पनि सानातिना घटना थुप्रै समेटिएकाले उपन्यास मोटोघाटो हुन गएको छ ।

उपन्यासमा कुनै पात्रको थर छैन । अन्तर्जातीय विवाह सुलभ छ । पारपाचुके पनि सामान्य छ । अविजित आफैँमा साम्यवादको अभ्यासी हो । उसले आफ्नो थर सर्वहारा बताउँछ अञ्चलाधीशको बयानका क्रममा । उसको वैवाहिक जीवन सफल छैन । पहिली पत्नी सरिता काखेछोरा लिएर अन्यत्र लाग्छिन्, कहानीले बिट मार्न लागेका बेला फेरि जानकीसँग विवाह त हुन्छ तर त्यो पनि विफल नै हुन्छ । बूढो हुँदै गएको अविजित आन्दोलनकै एक कुनामा जिन्दगीबाटै छुट्टी लिन्छ ।

उसको जीवन विघटनको शृंखलाजस्तो छ । आमाबाबु, पत्नी र छोरासँगको क्रमश: वियोग । तर, कथावाचकले उसलाई कहिल्यै दु:खी देखाउन चाहेको छैन । जीवनमा कसैसँग पनि अपेक्षा वा गुनासो छैन उसको । परिस्थितिबाट भाग्ने, लत्तो छाड्ने, विचलित या दु:खी हुने उसको स्वभावै होइन । दु:ख, दर्द र कष्टमै पनि उत्सव मनाउने उसको जीवनदर्शन छ । हरेक सुख र दु:खलाई उत्तिकै हार्दिक रूपमा लिएको छ । कथावाचकले यसरी प्रस्तुत गरेका छन् कि दुखेसो गर्नेबित्तिकै अविजित कसरी भयो त ? उसका निम्ति उतारचढाव नै जीवन हो ।

उपन्यासको इपिसेन्टर नै अविजित हो । अरू पात्र आउँछन्, एक छिनमै कता जान्छन् कता । सबभन्दा उदेकलाग्दो पक्ष के भने यसमा नारी पात्रहरू एकदमै कमजोर र भूमिकाविहीन छन् । ती पात्रका दृष्टिबाट हेर्दा के अविजित नायक नभएर खलनायक पनि हुन सक्छ । उसको जीवनमा नारीहरू स्थायी हुन सकेका छैनन् । र, उपन्यासमा तिनको भूमिका पनि गौण छ ।

हुनलाई अविजित ‘फिक्सन–सेक्सन’ हो । तर, यो पूरापूर ननफिक्सनको ताकतले उभिएको छ । उपन्यासकारले आफ्ना बाबु र आफ्नो कथा भनेर अन्तरंग कुरा पोखेकाले पनि ‘फिक्सन’ मा ‘फ्याक्ट’ खोज्ने सम्भावना हुन्छ । कथाहरू थोरबहुत मिल्लान् पनि । अघिल्लो समयमा बाबु नायक बनेका होलान्, पछिल्लो समयमा छोरा । तर, आख्यान भनिसकेपछि यसको आधार मात्र हुन सक्छ बाबुछोराको कथा । यो फिक्सनल अटोबायोग्राफी होइन । यसमा यथार्थ र स्वैरकल्पना दुवै छ । अझ कथावाचक नै अर्कै भएकाले यसलाई बायोग्राफी मात्र भन्न मिल्छ । यत्ति हो— लेखकको जीवन दृष्टिकोण थाहा हुन्छ उपन्यासमा । ‘बुद्ध हुनेछन् सबै तर प्रत्येक बुद्धका ज्ञान अर्को बुद्धका लागि बेकाम साबित हुनेछन्,’ यस्ता सूक्तिमय वाक्यले पनि उपन्यासको ओज र तेज बढाएका छन् ।

यथार्थ या सत्यका एकै आयाम छैनन् । विप्लवको उपन्यासमा आआफ्ना किसिमका विविध दृश्य देख्ने अधिकार सबै पाठकलाई छ । लेखकले देखेको दृश्य सबैले देख्नुपर्छ भन्ने छैन । विचारका हिसाबले यो मुक्त उपन्यास हो । यसले बहुप्रचलित कुनै फम्र्याट समाएको छैन । बरु यो उपन्यास हेरेर कुनै वाद आविष्कार हुन सक्छ । पाठक नै पाउन हम्मे पर्ने अवस्थामा सिद्धान्तकार जन्मने विश्वास पनि छैन । एकल समालोचना सिद्धान्तले सबै कृतिलाई हेर्नुभन्दा एकल कृतिलाई बहुल सिद्धान्तले पर्गेल्नुु श्रेयष्कर हुन्छ ।

लेखनको एक मात्र रोडम्याप जिकिर गर्न सकिँदैन । कुरा छनोटको हो । इन्द्रबहादुर राईलाई ‘कोट’ गर्दा विभिन्न सिद्धान्तका बनिबनाउ सडकहरूले पहिल्यै तोकिएका स्थानमा पुर्‍याउँछन् र पहिल्यै चुनिएका दृश्य देखाउन मात्र सक्छन् । आफूले भोगेको विशेष अनुभवलाई बुझ्न्, आफूले खोजेको विशेष ज्ञान पाउन सकिँदैन । आफ्नै पथको खोजी सहज छैन तर सम्भव छ । आआफ्नो पथ खोजिन्छ, पाइन्छ, खोज्ने र मिल्नेहरूको साझा नयाँ मार्ग बन्छ ।

अब रहयो, ‘अविजित’ ले हाम्रो साहित्यको स्वादमा कति फरक पर्छ त ? अनावश्यक आत्मविश्वास नराख्ने हो भने यसले मध्यम स्तरको कद मात्र भेट्टाएको छ । उपन्यासको ‘थ्रेसहोल्ड’ यसले पार गरेको मात्रै छ । अविजितजस्ता पात्र मान्छे थिए र छन् । विप्लवले प्रतिनिधिको कथा औपन्यासिक कला मिसाएर लेख्न सकेका छन् । कतिलाई मन पर्छ, कतिलाई मन पर्दैन, कतिको माया पाउलान्, कतिको नपाउलान् । यो एउटा नभनिएको कथा हो । साहित्यिक सौन्दर्यको कसीमा विप्लव प्रतीकको अधिकतम कोसिस छ— रोबर्ट एम पिरसिगको ‘जेन एन्ड द मोटरसाइकल मेन्टिनेन्ट्स’ र इभान तुर्गेनेभको ‘फादर्स एन्ड सन्स’ पढ्दाजस्तै क्लासिक दृश्य देखाउने ।

यो उपन्यासको मायालु पक्ष हो, काठमाडौं । राजनीतिलाई माफ गरिदिने हो भने पुरानो काठमाडौं रिभिजिट गर्न कामलाग्दो छ उपन्यास । अविजितलाई कथावाचकले काठमाडौंका गल्लीगल्ली, चोक, डबली र भट्टी मात्र डुलाएका छैनन्, नेवारी परिकारबारे पनि प्रशस्त उजागर गराउन लगाएका छन् । उपन्यास पढ्दा ‘कल्चरल हेरिटेज’ का रूपमा देखिन्छ काठमाडौं । अलौकिक काठमाडौंको अपूर्व दर्शन मिल्छ ।

उपन्यासको पिँधमा कविता छ, आफ्नै जीवनको आँगन छ । उनको कवित्वको टलक स्वप्नसहर काठमाडौँको झलकमा छ । लाग्छ, काठमाडौं भावपूर्ण संगीत हो, एउटा प्रेमिल पेन्टिङ । हुन त काठमाडौंलाई सबैभन्दा धेरै गाली पनि कविहरूले नै गरेका छन् । कहिलेकाहीँ लाग्छ, आफूलाई सेल्टर दिने, एक छाक भए पनि खाना खुवाउने अनि लेख्ने साहस, आँट र आइडिया दिने सहरलाई कविहरू किन कोर्रा हान्ने कुरा गर्छन् ?

उपन्यासलाई रमणीय बनाउन विप्लवले विभिन्न भाषा, संगीत र परिकारले सजाएका छन् । यस्तो कला सोखिन लेखकहरूमा मात्रै हुन्छ । नेवारीदेखि मैथिलीसम्मका गीत–संगीत अनि उर्दू, फारसी र अरबी शब्दले पनि सम्पन्न छ उपन्यास । त्यसले पुस्तकको संवादधर्मिता बढाएको छ । काठमाडौंको एक्सपोजर देखाउने क्रममा हिप्पीकालको पनि जीवन्त चित्रण गरिएको छ । इस्तानबुल हुँदै छिरेका हिप्पीहरूका कारण काठमाडौंले केही अपवाद पनि झेलेको होला तथापि हिप्पीको आगमन क्रान्तिकारी घटना लाग्छ । सन् ७० को दशकका पाश्चात्य संगीतसँगको सम्पर्क, एप्पल पाई, भक्सवागन गाडी, कन्टिनेन्टल खाना, हर्मन हेसदेखि जर्ज अरबेलसम्मका सेकेन्ड हयान्ड पुस्तक एकैचोटि आए काठमाडौंमा ।

योभन्दा पनि महत्त्वपूर्ण तत्त्वमीमांसा छ, होटलको रात्रिकालीन प्लेजर रुममा एउटी हिप्पीवालीको संवादमा । अविजितलाई छाडेर अर्को व्यक्तिसँग जाने क्रममा युवती भन्छे, ‘आई डन्ट एक्जिस्ट एज अ बडी । आई एक्जिस्ट इन थट्स् इन नथिङनेस । इभेन माई बडी डज ट बिलङ टू मी । इट विल सिज टू एक्जिस्ट वन डे । बट माई थट्स विल लिभ फरएभर । डन्ट मेस इट अप विथ योर फिलिङ्स डियर ।’

आध्यात्मिक सुगन्ध छ यसमा । भलै यस्ता लाइन महाभारत, गीता या

बुद्धवचनमा पनि होलान् । तर, उपन्यासमा भनिनु अझ अर्थपूर्ण हुन्छ । अविजितलाई यत्ति सुनाउनकै लागि कवि विप्लव प्रतीक उपन्यास लेखनमा आएका त होइनन् ? होइन भने ‘अविजित’ उनको पहिलो र अन्तिम उपन्यास नबनोस् ।

प्रकाशित : माघ २०, २०७४ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?