कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘म उनको लोग्ने’

काठमाडौँ — म यो समाजको अपराधी होइन, न मेरी श्रीमती दोषी हो । तर, यत्तिका वर्षदेखि बस्दै आएको आफ्नै समाज आज पूरै ‘बिरानो’ झैं भएको छ, चिनेकाहरू नचिनेझैं गर्न थालेका छन् । मास्क लगाएर, फेटा बाँधेर र हुलिया फेरेर हिंड्नुपर्ने अवस्था मैले बेहोर्ने कि दोषीले ? अपराधी को— म या यो समाज ? 

‘म उनको लोग्ने’

‘म संसार जित्ने आस गर्दै छु

मात्र तिमी मेरो साथ बसिदेऊ...’


फुर्सदमा वा बेफुर्सदमा पनि म यस्तै गीत सुनिरहन्थें । अथवा कम्तीमा मनमनै गुन्गुनाइरहन्थें । यो क्रम बढीजसो मेरो बिहाभन्दा अघि चलिरहयो । अघिल्लो वर्षको दसैंमा उनीसँग बिहा भएपछि भने बरु मेरो गीतको, लयको, आनीबानीको भाका अलिक फेरिएको हो कि ? अहिले म ‘लोग्ने’ भएको छु । उनका कति मन पर्ने अथवा मन नपर्ने कुराहरू पनि जोडेर म लोग्ने बनेको छु । झन्डै १०/१२ वर्षदेखि चिनेकी, नजिकबाट मन खाएकी उनलाई जीवनसाथी बनाएर ल्याएपछिको लोग्ने, म उनको लोग्ने !

म एकदमै निम्नवर्गीय परिवारको केटो हुँ । बाबाले एकदमै दु:ख गरेर हामी छोराछोरीलाई हुर्काउनुभएको हो । गोर्खाको पुरानो गाउँ छाडेर नवलपरासी हुँदै छोराछोरीलाई राम्रो स्कुलमा पढाउने भनेरै बाबाआमा ललितपुर आउनुभएको हो ।


अर्काको जायजेथा र जमिनमा ओत लाग्दै कहिले सोलार मेन्टिनेन्स, कहिले गार्डेनिङ काम गरेर मुस्किलले हुने १२/१५ हजार रुपैयाँको कमाइबाट हामी छोराछोरीलाई बोर्डिङ पढाउनुभयो । मेरो पूरा बाहुला भएको सर्टको कुइनो फाट्दा आमाले त्यसलाई हाफ–सर्ट बनाएर सिइदिनुहुन्थ्यो, एकपछि अर्को कक्षाको पढाइ यसैगरी टालटुल गरेरै टरिहाल्थ्यो । त्यो टालाटुलीमाझ मलाई गरिबी थाहा पत्तै भएन । बरु अहिले पो धेरै कुरा बुझ्दै छु ।


मसँग सपना हुँदै नभएको होइन, तर निम्छरो खालको थियो । गीत गाउने सोख थियो, स्कुल–कलेजका सोहरूमा गाएको पनि हुँ । बाजा बजाउने सोख पनि थियो । तर, एउटा गितार किन्नै पनि पैसो थिएन । अर्काको बगैंचामा गार्डेनर काम गर्ने बाआमाको कमाइसँग जोडिएर महँगा सपना देख्नै जानिएन । बरु चित्रकलामा रुचि बढ्यो । बुझाइमा यो अलिक सस्तो खालको सपना थियो । एउटा पेन्सिल र सादा कपी भए भैहाल्थ्यो । स्कुलका शिक्षकले पनि मेरा चित्रहरू मन पराएर कक्षाकोठाका भित्तोमा अझै टाँगिएको छ ।


एक पटक आमाले शिव भगवान्को चित्र कोर्न लगाउनुभयो । कोरें पनि । अनुहार भने अलिक केटी–केटीजस्तो भएछ । तैपनि आमाले आफ्नो कोठाको भित्तामा राखेर त्यहीं चित्रमा पूजा गर्नुहुन्छ । सुरुमा अरूका चित्र हेरेरै कपी गर्ने अथवा रंगमा खेल्ने बानी थियो । कुनै दिन आफूलाई मन पर्ने गायक/गायिकाको पोट्रेट बनाउनुपर्ला भन्ने सोचेको थिएँ ।


नवीन भट्टराई, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान वा सविन राईको अनुहार उतार्नुपर्ला भन्ने थियो । नारायणगोपाल वा दीप श्रेष्ठलाई पोट्रेटमा सम्झेको हुँ । अस्ति मंसिरको पहिलो साता मात्रै ठमेलको एउटा कलाकारकहाँ गएर चित्रमा आइपर्ने छाया, उज्यालोबारे सिक्दै–बुझ्दै थिएँ । तर, त्यही बेला जीवनमा नसोचेको घटना ममाथि आइपर्‍यो । म यसबारेमा बिस्तारमा भन्नेछु ।


सम्झनाहरूलाई अँगाल्दै...

ललितपुरको एक कलेजबाट होटल म्यानेजमेन्ट विषयमा १२ कक्षा पढेपछि मलाई पनि बिदेसिएर कमाइ गर्ने धुन चल्यो । कति बाबाआमाको कमाइमा खाइखेली गर्नु भनेर म आफैं इच्छामा बिदेसिन लागेको थिएँ । मेरो नाताका एक जना मामा दुबईमा थिए, उनैले ‘हुन्छ नि भान्जा’ भनेसि मैले भने कतारका लागि ट्राई गरें । झन्डै एक लाख रुपैयाँ खर्चेर म तीन वर्षअघि कतार पुगेको थिएँ । ‘स्टोन एन्ड डेकोरेसन’ को डिजाइनिङ काममा लाग्नुपर्ने भनेर दलाल दाइले मलाई अथ्र्याएका थिए । भरेभन्दा काम भने ‘स्टोन’ मात्रै रहेछ । सहानियाँको मरुभूमिमा ठूल्ठूला ढुंगा बोक्दै क्रसरमा हाल्ने काम ! तलब १ हजार रियाल सुक्खा थियो । तर, काम साह्रै मुस्किलको भएर एक वर्षमै घर फिरें । जे होस्, कतार गएर हल्कासँग स्काभेटर (जेसीबी) चलाउन सिकेको थिएँ । त्यो उपलब्धि थियो ।


कतारबाट फर्केर एक जना आफन्त पोर्चुगल/बेल्जियमतिर भएकाले त्यता पो जाने कि भनेर ट्राई थालें । तर, एजेन्टले पोर्चुगल जाने भनेर जर्जियाको भिसा लगाइदियो । ‘स्कर्टिङ’ गरेर जर्जियाबाट पोर्चुगल लगिने भनेको भनिएको थियो । तर, यसो बुझ्दा सामुद्रिक बाटोबाट ६ हजार किलोमिटर दूरीमा रहेको दुई देशबीच ‘स्कर्टिङ’ मा जाने खतरा जाने बुझेरै मैले बेहोर्न चाहिनँ । अनि म विदेश गइनँ ।


कतारबाट घर फिरेपछि पनि त्यत्तिकै किन बस्ने भनेर सामान्य लेबर काम पनि गरें, ज्यालादारी रूपमा । ललितघुम्ती, नखिपोट, टीकाभैरवका सडक बनिने ठाउँमा बेल्चा चलाउने काम खुबै गरें । ज्यालादारीमा इँटा, बालुवा बोक्ने काम पनि गरियो । भित्र मनमा गढेको कुरा त छँदै थियो । फुर्सदमा अथवा यसो मुडमा चित्र कोर्ने काम गरिरहन्थें । ललितपुर भित्री बस्तीको एउटा हबेली घरमा ढुंगा–बालुवा बोकिरहेका बेला एक जना ठेकेदारले एक दिन उनीसँग टयाटु–मेसिन रहेको र त्यो बिक्री गर्न चाहेको सुनाए ।


ओहो, जीवनको भोगाइ कहाँनिर गएर मोडिन्छ भन्ने थाहा हुन्न भन्ने कतै पढेको थिएँ । मैले एक महिनाको ज्यालादारी १२ हजार रुपैयाँ तिरेर टयाटु–मेसिन किनें, जे त होला भनेर । आफ्नै शरीरमा र घरतिरका आफन्तकहाँ प्राक्टिस गर्दागर्दै टयाटु–मेसिनमा हात बस्यो पनि । अस्ति कात्तिकको पहिलो सातातिर ठमेलको एउटा टयाटु हाउसमा काम खोज्दै गएको थिएँ ।


त्यहाँ भेटिएका एक वृद्ध कलाकारले आर्टमा स्याडो/लाइन/लाइट एकदमै महत्त्वपूर्ण हुन्छ भनेपछि म आर्टको नयाँ कुरा सिक्दै थिएँ । ती बूढा मान्छेले भनेको कुरा सही लाग्यो, तिनले भनेका थिए— हेर बाबु, मान्छेको अनुहार बनाउन एकदमै मुस्किल हुन्छ । जस्तो— एउटा बाघको पोट्रेटमा एउटा लाइन, स्याडो यताउता परे पनि ‘यो बाघै हो’ भन्ने हुन्छ । तर, मान्छेको कुरामा त रामेको अनुहारको चाउरीसँग श्यामेको काटिएको ओठ मिल्दैन अथवा यस्तै । यसकारण सिक्नुपर्छ बाबु !


यो नयाँ सिकाइमा लागेकै बेला एकाएक मंसिर २ गते साँझ आइहाल्यो जहाँबाट मेरा जीवनका साना सपना र मोडहरू पनि एकाएक धूलोमा मिसिएजस्तो भयो । आफ्नै गाउँठाउँमा, आफैंले चिन्दै आएका गाउँले केटाहरूको नृशंस आक्रमणमा मेरी श्रीमती कान्ला मुन्तिरको तोरीबारीमा झन्डै नाङ्गै भेटिएकी थिइन् । रगतको आहाल बनेको भुइँमा टाउको फुटेको र हातखुट्टा भाँचिएको अवस्थामा ‘निसास’ झैं मेरी प्यारी भेटिइन्— मंसिर ३ को बिहानीमा ।


गीतको लाइनजस्तो कहाँ हुन्छ र जिन्दगी— सधैं तिमी मेरोसामु भैदिए हुन्थ्योजस्तो लाग्छ किन हिजोआज... !


आफ्नो कथा...


मेरी प्राणभन्दा प्यारी मेरी श्रीमती निकै ज्ञानी, असल र अन्तर्मुखी छिन् । मेरी आमा, बाबा, सासू र आफन्त सबैले ‘यस्ती छोरी अरूतिरै सायदै होलान्’ भनिरहन्छन् । १० कक्षा मात्रै पढे पनि डेरी कम्पनीमा प्लास्टिक प्याकिङको काम सिकेर, जानेर मेरोभन्दा नियमित कमाइ गर्दै हाँसीखुसी बसिरहेकै थियौं । कसरी हुन्छ आफ्नै बलबुतामा बाँच्ने र बाबाआमाको भार नबन्ने भनेर लागिरहेकै थियौं । तर, धेरै सोझो हुनुको र आफ्नै बाटामा हिँडिरहनुको दुर्गति हामीले बेहोर्नुपर्‍यो । न मलाई राजनीति थाहा छ, न अरू गुट र कतैको भरथेग छ । आज कता समाउने, कता टेक्ने भनेजस्तो भएको छ ।


गरिबीकै कारण अघिल्लो वर्षको दसैंमा मैले सामान्य टीकाटालोमै बिहा गरेको थिएँ, कुनै रमिता नदेखाईकन । भोजभतेर पनि गर्न सकिएको थिएन । हामीबीच अरूहरूको जस्तो ‘लभ’ चलेको थिएन, तर मन परापर थियो । मेरो मावलीघरकै छिमेकी भएकाले उनीसँग सानैदेखि देखभेट भइरहन्थ्यो ।


मेरो परिवारमा एक जना बहिनी मात्रै थिई । अघिल्लो वर्ष भदौमा उसको बिहे भएपछि घर शून्यशून्य भएको थियो । त्यसपछि मेरी आमाले मसँग मेरो बिहाको कुरा गर्नुभएको थियो । आमा स्वयम् ‘म बुहारी लिन होइन, छोरी माग्न आएकी’ भनेरै केटीको हात माग्न जानुभएको थियो । केटीसँग मेरो जात नमिले पनि हामी केटाकेटीको मिल्दो जोडा देखेर दसैंका बेलामा टीकाटालो गर्दै उनलाई मेरो जिम्मा लगाइएको थियो ।


बिहापछि त अनेक जिम्मा, जिम्मेवारीका कुरा सुरु भैहाल्यो । म भर्खरै २३ लागेको छु, ऊ २१ मा हिंड्दै छे । उसका पनि कति गुलियामीठा सपना होलान् । तर, ‘दु:खीको नि दिन आउँछ’ भन्दै हामी संघर्षमै थियौं । बिहापछि हामी जम्मा एक पटक मनकामना गएका छौं । पशुपति, स्वयम्भू, सन्तानेश्वर, बिसंखुनारायण मन्दिर पुगेका छौं । जम्मा एउटा फिल्म सँगै हेरेका छौं— ‘बाहुबली रिटर्नस्’ । अस्ति नयाँ वर्षका दिन चिडियाखाना घुम्न गएका थियौं । मेरो ज्यालादारी कामको छुट्टी शनिबार हुन्थ्यो, उनको शुक्रबार । यो महिनाबाट उनको शनिबारै बिदा मिल्नेवाला थियो । अस्ति भर्खरै आमाले भन्दै हुनुहुन्थ्यो, ‘तिमीहरू छोराबुहारी शनिबार एउटै दिनमा छुट्टी मिलाओ । एउटाले लुगा धुनू, अर्काले पखाल्नू । एउटाले तरकारी काट्नू, अर्कोले पकाउनू । यसो मिलेमा फिलिम हेर्न पनि जानू... ।’


ओहो, जीवन कुनै फिल्म अथवा गीतको लाइनजस्तो सजिलो रहेनछ । कस्तो गाह्रो भने म पोहोरको दसैंअघिसम्म छोरो मात्रै थिएँ । त्यसपछि उनको लोग्ने भएँ । अझ मंसिरको घटनापछि त झनै ठाडो भएर, झन् स्पष्ट बनेर सबैतिर चिनिनुपर्ने लोग्नेजस्तै बनेको छु ।


‘त्यो बलात्कृत केटीको लोग्ने ऊ त्यही हो,’ भन्छन् सबैले ।


गाउँले पसल, चोक–चौतारी, खेतबारी, खोला, पँधेरो सबैतिर ‘त्यही क्या... त्यसको लोग्ने’ भन्छन् ।

फेरि सुन्छु— थुइक्क, कस्तो लोग्ने होला— श्रीमती हिफाजत गर्न नसक्ने ? हैट, लोग्नेको नाममा धब्बा !

हो, म आफू छोरो मात्रै हुँदा धेरै सजिलो थियो । आमाबाबाले जे पनि टारिहाल्नुहुन्थ्यो । मानसिक तनाव त्यस्तो कहिल्यै थिएन । अहिले लोग्ने भएपछि धेरै कठिन छ । छोरो भएर रुनु हुँदैन भन्ने सुनेको थिएँ । रोएको थिइनँ पनि । तर, अहिले लोग्ने भएपछि भने रुनुपर्ने रहेछ भन्ने लाग्यो, भित्रभित्रै रोइरहेको छु । यस्तो आपराधिक घटना धेरैतिर घटेको छ, मैले सुनेको छु । पढेको छु । घटना भयो भन्दैमा पहाडै खसेको ठान्नु हुँदैन भन्ठान्नेमा म आफैं थिएँ । तर, पहाड खस्दोरहेछ ।


तर, गाउँमा भने कस्तो अफवाह फैलने रहेछ, बेकारको । यिनीहरू आफैंले आफ्नी बुहारी, छोरी, श्रीमतीलाई यस्तो अवस्थामा पुर्‍याए । आफैं बिचल्ली बनाए, अनि आफैं खोजेर भेटे, आफैं प्रहरीमा उजुरी गरे । यो केटीको लोग्ने दोषी हो, केटीका बाआमा दोषी हुन् भनेर गाउँघरमा सुनिने गाइँगुइँ भने निकै चित्त काटिने खालको छ । यो गाउँमा यिनीहरू कसरी बस्ने रहेछन्, हेरौंला (?) भन्नेहरू देखा पर्न थालेका छन् । साँच्चै, यो समाजमा को रक्षक छ अथवा को भक्षक छ ? हाम्रो समाज कसरी बनेको छ ? अचम्म लाग्न थालेको छ ।


म यो समाजको अपराधी होइन, न मेरी श्रीमती दोषी हो । तर, यत्तिका वर्षदेखि बस्दै आएको आफ्नै समाज आज पूरै ‘बिरानो’ झैं भएको छ, चिनेकाहरू पनि नचिने झैं गर्न थालेका छन् । मास्क लगाएर, फेटा बाँधेर र हुलिया फेरेर हिंड्नुपर्ने अवस्था मैले बेहोर्ने कि दोषीले बेहोर्ने ? अपराधी को— म या यो समाज ?


म मेरी श्रीमतीलाई जन्मजन्म माया गर्छु । बिचरी, उसले बेहोरेको यो पीडा र सास्ती म आफू छोरी मान्छे भएर बेहोर्नुपरेको भए के हुन्थ्यो होलाजस्तो लागिरहन्छ । मसँग कामै नगरी बिहान–बेलुका भात खाने स्थिति मेरो भैदिएको भए श्रीमतीकै हेरचाह गरेर सधैंको समय बिताउने थिएँ । तर यो सम्भव छैन । अब यो गाउँ छाडेर यो समाजले, यहाँका मान्छेले नदेख्ने–नचिन्ने ठाउँमा म बसाइ सर्दै छु । शारीरिक र मानसिक रूपमा सख्त भएकी घाइते श्रीमतीलाई लिएरै म यो गाउँ छाड्दै छु । साथमा बाबाआमाको माया र आशीर्वाद लिएर जानेछु, एउटा अनाम बस्तीमा ।


‘म संसार जित्ने आँट गर्दै छु

मात्र तिमी मेरो साथ बसिदेऊ

भविष्यले गाउने गीत म रच्दै छु

मात्र तिमी सुरमा ताल मिलाइदेऊ

यही हो अर्थ रच्नुको

इतिहासमा अमर रहोस्

तिम्रो र मेरो कहानी

सधैंसधैं...’


(मंसिर पहिलो साता ललितपुरको भित्री बस्तीमा आततायी बलात्कार एवं ज्यान मार्ने उद्योगको एउटा घटना भयो । घटनाका दोषीहरू किटानी जाहेरीपछि चिनिए, प्रमाणित पनि भए । तर, अदालतले अचम्मलाग्दो नजिर सुनाएर दोषीलाई छाडिदिएको छ । घटनाकी पीडित युवती र उनका श्रीमान् अहिले आफू जन्मे–हुर्केको बस्ती छाडेर बसाइ सर्न बाध्य भएका छन् । यिनै नवयौवना जोडीका श्रीमान्सँग गरिएको संवादका आधारमा देवेन्द्र भट्टराईले तयार पारेको आलेख हो यो ।)

प्रकाशित : माघ २०, २०७४ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?