कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘प्रश्न सोध्ने अधिकारको रक्षा गर्नुपर्छ’

काठमाडौँ — अहिले बलिउडमा एक जना अभिनेता निकै चर्चामा छन् । दक्षिण भारतीय फिल्ममा ठूलो नाम कमाएर बलिउड प्रवेश गरेका प्रकाश राज आफ्ना फिल्म वा अभिनयका लागि भन्दा पनि अभिव्यक्तिका कारण चर्चामा छन् ।

‘प्रश्न सोध्ने अधिकारको रक्षा गर्नुपर्छ’

हिन्दुवादी पार्टी भारतीय जनता पार्टी (बीजेपी) भारतको केन्द्रीय सत्तामा आएसँगै धार्मिक विषयहरु निकै विवादमा आउने गरेका छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारको आलोचना गर्ने वा हिन्दुवादी गतिविधिको आलोचना गर्नेहरु ‘सफ्ट टार्गेट’ भइरहेका छन् भन्ने गुनासो सुनिन्छ । अरून्धती रोय वा आमीर खानका अभिव्यक्तिलाई लिएर भएका तीव्र विरोधदेखि गौरी लंकेशजस्ता पत्रकारको हत्यासम्मलाई यो ‘इन्टोलरेन्स’ सँग जोडेर हेरिन्छ ।

५० भन्दा बढी लेखक/कलाकार/फिल्ममेकरले यो असहिष्णुताको विरोधमा सरकारले दिएका आफ्ना अवार्ड पनि फिर्ता गरेर यस अभियानलाई साथ दिएका थिए । अहिले यो लिस्टमा जोडिएका छन्, प्रकाश राज । खासगरी आफ्नी मित्र पत्रकार गौरी लंकेशको हत्यापछि प्रकाश मुखर भएका हुन् । आफूमा ढिला गरी राजनीतिक चेतना आएको र बोल्नुपर्ने लागेको मान्ने प्रकाश भन्छन्, ‘तर, ढिलो चेत फिर्‍यो भनेर म लज्जितचाहिँ छैन ।’

हिन्दी फिल्म ‘वान्टेड’, ‘सिंघम’, ‘दबंग २’ जस्ता फिल्ममा भिलेनको भूमिकामा देखिएका

प्रकाश राज निकै क्षमतावान अभिनेता मानिन्छन् । उनी कन्नड, मलयालम, तमिल, तेलगु, तुलु, हिन्दी र अंग्रेजी ७ भाषामा पोख्त छन् । उनले ४ पटक उनले नेसनल अवार्ड पाइसकेका छन् । श्रेष्ठ अभिनेता तथा निर्माताका रुपमा दक्षिण भारतीय फिल्म उद्योगमा आफूलाई स्थापित गरेपछि उनी हिन्दी फिल्ममा आएका हुन् । उनले २ सयभन्दा बढी सडक नाटकमा पनि अभिनय गरेका छन् ।

प्रकाश राज आफूलाई नास्तिक मान्छन् । र, धर्मका नाममा हुने ज्यादतीहरु बन्द हुनुपर्ने ठान्छन् । उनी भन्छन्, ‘धर्म व्यक्तिको आफ्नो रोजाइको कुरा हो । ऊ कुन धर्मको हो भन्ने कुराले भारतजस्तो लोकतान्त्रिक देशमा सरकारले उसलाई गर्ने व्यवहारमा फरक हुनु हुँदैन ।’ उनले हालै सञ्जयलीला भन्सालीको फिल्म ‘पद्मावत’ लाई लिएर करनी सेनाले गरेको अवरोधको पनि जमेर विरोध गरेका थिए । सार्वजनिक मञ्चमा उभिएर र अन्तर्वार्ताहरु दिएर उनले पछिल्लो समय नरेन्द्र मोदी तथा बीजेपी अध्यक्ष अमित शाहलगायतलाई ‘गैरहिन्दु’ भन्ने गरेका छन् । २००२ को गुजरात दंगालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उनी भन्छन्, ‘जसले सत्ताका लागि निर्दोष मान्छेलाई मार्छ, ऊ हिन्दु हुन सक्दैन ।’ तर, हिन्दुवादी संगठनहरु भने उनलाई धर्मद्रोही ठान्छन् । उनले ‘गाईको मासु खाने गरेको’ भन्दै बीजेपीको कर्नाटका युवा समितिले जनवरी १५ मा प्रकाशले बोलेको मञ्चलाई चोख्याउन गहुँत छर्केको थियो ।

प्राय: बलिउड कलाकारहरु राजनीतिका विषयमा मुखर भएर बोल्दैनन् । आमीर खानबाहेक कुनै पनि ठूला बलिउड स्टारले धर्म, सरकार र पार्टीहरुबारे आफ्नो धारणा सार्वजनिक फोरममा व्यक्त गर्ने गरेका छैनन् । यसरी बोल्दा पार्टीको ठूलो पंक्तिलाई चिढाउनुपर्ने वा कसैको कोपभाजनमा परिने डरले गर्दा पनि स्टारहरु बोल्दैनन् । मोदी सरकारबारे गरेको टिप्पणीलाई लिएर ठूलो विरोध भएपछि र गुजरातमा आफ्ना फिल्महरु चल्नै नपाएपछि आमीर खान पनि यस्ता टिप्पणीबाट पछि हटेका छन् । यस्तोमा प्रकाश राज बलिउडको नयाँ प्रतिपक्षका रुपमा देखा परेका हुन् । हालै स्क्रोल डटइनलाई दिएको अन्तार्वार्तामा उनले भनेका छन्, ‘जुनसुकै मूल्य चुकाएर भए पनि हामीले आफ्नो प्रश्न गर्न पाउने अधिकारको रक्षा गर्नुपर्छ ।’ अन्तर्वार्ताको अनूदित र सम्पादित अंश :



तपाईंले बोलिसकेपछि आएर मञ्च सफा गर्ने समूहलाई के भन्न चाहनुहुन्छ ?

उनीहरूले त्यसै दिन यो काम वा अन्य कुनै तरिकाले मेरो भाषणको विरोध गरेको भए हुन्थ्यो, उनीहरूले एक दिन ढिला गरे । मैले भाषणमा संविधान र यसको प्रस्तावनाबारे बोलेको थिएँ । हाम्रो देशमा अनन्तकुमार हेगडेजस्ता केन्द्रीय मन्त्री छन्, जो संविधानबाट ‘सेकुलर’ (धर्मनिरपेक्षता) शब्दै हटाउन उद्यत छन् । यसैले मैले संविधानको प्रस्तावनामा नै राखिएको यो शब्दको महत्त्व र सान्दर्भिकता के हो भन्ने विषयमा बोल्ने निर्णय गरेको हुँ । तर, बीजेपीका युवाहरूले ममाथि आक्रमण गर्न मैले गाईको मासु खाने गरेको झूटा कुरा ल्याए । मञ्चमा गहुँत छर्नका लागि उनीहरूले झूट किन बोल्नुपर्‍यो त ? किनभने, मैले संविधानको प्रस्तावनाबारे बोल्यो भनेर त गहुँत छर्न मिल्दैन ! तर म उनीहरूलाई मेरा शत्रुचाहिँ ठान्दिनँ । म उनीहरूलाई बिरामी ठान्छु, जसको उपचार आवश्यक छ । म उनीहरूलाई खत्तम गर्न वा मार्न चाहन्नँ तर उनीहरूले मलाई हानि पुर्‍याउन चाहन्छन् । खासमा म उनीहरूलाई एकफेर मज्जाले अंगालो मारेर भन्न चाहन्छु— ग्रो अप (योभन्दा त अलि परिपक्व होऊ भाइ हो) ।


राजनीतिक चेतना र ‘जस्ट आस्किङ’ ह्यासट्याग निर्माणतर्फ केले प्रेरित गर्‍यो ?

म लामो समयदेखि आफ्नै संसारमा रमाइरहेको थिएँ, जो मेरालागि आनन्दको संसार थियो । मैले बुझ्ने, सोच्ने र मलाई सहज हुने संसार त्यो थियो । मलाई लाग्थ्यो, एउटा कलाकारका रूपमा मेरो काम नै काफी छ । मैले एउटा गाउँ ‘एडप्ट’ गरेर त्यसको विकासका लागि काम गरिरहेको छु । त्यति गरेपछि त भइहाल्छ भन्ने मलाई लाग्थ्यो । तर, दुई–तीन वर्षदेखि मलाई केही पुगिरहेको छैन भन्ने लाग्न थाल्यो । खासगरी, एउटा विषयमा बोल्नुपर्ने जति नबोलिएको र त्यसलाई सम्बोधन नगरिएको जस्तो लाग्न थाल्यो । मानिसहरूबीच बिस्तारै एउटा मौन डरको अनुभूति फौलिइरहेजस्तो लाग्न थाल्यो । खासमा यो डर मानिसहरूको दिमागमा थाप्ने, घुसाउने काम भइरहेको छ । जसले आलोचनात्मक कुरा गर्छ, प्रश्न गर्छ त्यसलाई ठेलेर एउटा कुनामा पुर्‍याउने, सबैबाट अलग बनाउने र उसलाई आक्रमण गर्ने काम भइरहेको छ । हरेक ‘ह्विसलब्लोअर’ को मनमा म एक्लै छु, मलाई कसैले पनि सहयोग र समर्थन गर्दैनन् भन्नेमा विश्वस्त गराउन खोजिएको छ । फासिस्ट समूहले यसरी नै काम गर्छ । यो सबको उद्देश्य त्यस्ता मानिसहरूलाई भौतिक रूपमै सिध्याइदिने अथवा एउटा किनारामा पुर्‍याउने र उसलाई जीवन जिउने कला र संस्कार नभएको आरोप लगाउने, मूर्ख सावित गर्ने हो । म यसका विरुद्ध लड्न चाहन्छु ।

यसका लागि मैले सबभन्दा पहिले प्रश्न सोध्ने अभियान सुरु गर्न ठीक ठानें । यस्ता प्रश्न जो सामान्य मानिसका पक्षमा हुन् र उनीहरूकै प्रश्न हुन् । कहिलेकाहीं हामीले गलत प्रश्न सोधिरहेका पनि हुन सक्छौं तर जुनसुकै हालतमा पनि हामीले प्रश्न सोध्ने अधिकारको रक्षा गर्नुपर्छ । यो सबैको पछाडिको विचार के हो भने हामी जनता नेताभन्दा बलियो हौं भनेर जनतालाई भन्ने हो । जनताका रूपमा पहिले हामीले निर्णय गर्नुपर्छ होइन भने व्यवस्था शुद्ध हुन सक्दैन । यसका लागि सबभन्दा पहिले भयमुक्त समाज चाहिन्छ ।


सेप्टेम्बरमा भएको गौरी लंकेशको हत्याको यो जागरणमा कस्तो भूमिका रह्यो ?

धेरै कुरामा गौरी र मेरा कुरा मिल्थेनन् तर हामी राम्रा साथी थियौं । आफ्नो अनुपस्थितिमा गौरीले मलाई जागृत गराइन् । अहिले उनी केका विरुद्ध लडिरहेकी थिइन् भन्ने मलाई प्रस्ट भएको छ । सायद, उनका शब्दहरू निकै कडा थिए तर यसको अर्थ उनको आवाज थुन्नैपर्ने थियो भन्ने होइन । वादविवाद गरेर शब्दबाट, तर्कबाट उनलाई नि:शब्द बनाउने हो कि, यसरी मार्ने हो ?

यो संसारबाट बिदा भएपछि गौरीले मलाई पढाएको कुरा के हो भने, हामी सबैले उनलाई एक्लै छोडिदिएका रहेछौं । यो ग्लानिको भाव मसँग सधैं रहनेछ । यो ग्लानिबाट निस्कने एउटै उपाय हो— झन् ठूलो आवाजमा प्रश्न उठाउने । उनीसँग क्षमा माग्ने यो एउटा तरिका हो । आफैंसँग क्षमा माग्ने र आफ्नै मद्दत गर्नेचाहिँ एउटै तरिका छ— निडर हुने ।


यसका लागि तपाईंले ट्विटर किन छान्नुभयो ?

हामी यस्तो समाजमा छौं, जहाँ कुन न्युज मिडिया वा प्रकाशनलाई कसले किनेको छ थाहा छैन । ट्विटर र फेसबुक यस्ता माध्यम हुन्, जहाँ सुन्नेले सीधै बोल्नेका मुखबाट कुरा सुन्न पाउँछन् । यसमा कसैले सम्पादन गर्दैन । यसले के हुन्छ भने मैले बोलेका र नबोलेका दुवै कुरा मेरै हुन्छन्, यसका लागि म आफैं जिम्मेवार हुन्छु । यसमा अरू कसैलाई दोष दिने ठाउँ हुँदैन । र, यो यस्तो माध्यम हो जहाँ मानिसहरूले तपाईंको कुरामा सीधा प्रतिक्रिया दिन्छन् । तपाईंसँग उनीहरू विवाद गर्न अग्रसर हुन्छन्, यो बढी महत्त्वपूर्ण कुरा हो ।


अनि, ‘ट्रोल’ हरूलाई कसरी झेल्नुहुन्छ ?

पछिल्ला केही महिनामा म देशमा जहाँ पनि पगुेको छु, मैले बोलिरहेको कुरालाई लिएर मसँग प्रतिवाद गर्न वा झगडा गर्न एक जना पनि आएको छैन । तर, मेरो कुराको समर्थनमा हजारौं मानिस मलाई भेट्न आएका छन् । उनीहरूले मेरो कुराको समर्थन गरेका छन् । धेरैले मलाई भनेका छन्, तपाईं सावधान रहनुहोला, हामी तपाईंको साथमा छौं । यसले के देखाउँछ भने जसले ‘ट्रोल’ गर्छन् ती मानिसको कुनै अनुहार छैन । ट्रोलहरूले कहिल्यै मैले गरेको प्रश्नको जवाफ दिँदैनन् । उनीहरू ममाथि व्यक्तिगत आक्रमण गर्न चाहन्छन् । उनीहरूको भाषा पनि अभद्र हुन्छ । तर, म उनीहरूलाई निषेध गर्न चाहन्नँ । किनभने म यो रोग के हो भन्ने जान्न चाहन्छु । म आफूलाई मन लागेको मात्रै गर्न सक्ने ठाउँमा अब छैन । म त एउटा सार्वजनिक अभियानको मध्यतिर आइपुगेको छु, यस्ता कुरासँग कसरी जुध्ने भन्ने पनि मैले सिक्नु छ । र, यो सबै चीजलाई मानिसहरूले चुपचाप हेरिरहेका छन्— बहुमतले मौन रहेर यी आक्रमणहरू हेरिरहेको छ ।


राजनीतिमा प्रवेश अझै पनि टाढैको कुरा हो त ?

अहिलेको समयमा म खाली एउटा निडर नागरिक बन्न मात्र चाहन्छु । म मानिसहरूलाई भन्न चाहन्छु कि शक्तिशाली त हामी हौं । सत्ता र शक्तिमा आउने हरेक पार्टीलाई म प्रश्न गर्न चाहन्छु । हेरौं यस्तो गर्न पाइन्छ कि पाइन्न । यदि यस्तो अवस्था आएन भने म जनताहरूकै बीच जानेछु र हाम्रा आफ्नै प्रतिनिधिहरू पठाउने हो कि भनेर सल्लाह गर्नेछु । आफ्नै नेता खोजौं, युवाहरूलाई रोजौं भनेर भन्नेछु । अब म

एउटा सचेत नागरिक भएको छु । म कुनै एक व्यक्तिलाई चुनौती दिन राजनीतिमा हामफाल्न चाहन्नँ । यो कुनै क्रिकेट म्याच होइन । राजनीति भनेको जीवनको मार्ग हो, जीवनको शैली हो । केही ठूला सपना छन् । म ती सपना प्राप्त गर्नलाई निरन्तर प्रयास गर्नेछु ।


कसैबाट धम्की आएका छन् ?

धेरैले सावधान रहन भन्नुभएको छ तर धम्की कसैले दिएको छैन । तर, अप्रत्यक्ष रूपमा मेरा फिल्म र विज्ञापनहरूलाई चल्न नदिने प्रयास भने भएका छन् । हेरौं, उनीहरूले कतिसम्म गर्छन् । यस्ता कुराबाट पैसाको डर ममा पैदा होला भन्नेहरूलाई म कति धनी छु भन्ने थाहा छैन ।


कन्नड भाषको पत्रिका ‘उदयवाणी’ मा छ महिनामा नै तपाईंको कोलम रोकिनुको कारण के हो ?

मलाई थाहासम्म नदिई मेरो कोलम रोकियो । यस्तो किन गरियो भन्ने मलाई थाहा छ । दक्षिना कन्नडा (कर्नाटकको एउटा क्षेत्र) मा म लोकप्रिय छु । त्यो नै उनीहरूको आधारक्षेत्र थियो । तर, उनीहरूले म रोक्न सक्दैनन् ? तपाईं नदीलाई रोक्न सक्नुहुन्छ ?


तपाईंको यो राजनीतिक अवतारले फिल्ममा पनि असर परेको छ कि ?

छैन, त्यो बेग्लै क्षेत्र भयो । फिल्ममा म स्क्रिप्टसमक्ष पूर्ण आत्मसर्मपण गर्छु ।

प्रकाशित : माघ २०, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?