कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात सालले झोसेको परिवर्तनको आगो

इतिहास
नेपालमा हरेक किसिमका परिवर्तनहरूको आगो सात सालले नै झोसेको थियो । राजनीतिक परिवर्तन त्यतिबेलाबाटै भयो । सामाजिक परिवर्तनको कल्पना त्यहीँबाट सुरु भयो । 
हरि शर्मा

काठमाडौँ — हामी २०४६ र २०६२/६३ मा भएका संघर्षलाई आन्दोलन भन्छौं । तर सात सालको संघर्षलाई क्रान्ति भन्छौं । किन ? हाम्रो राजनीतिक इतिहासमा सात सालको परिवर्तनको के महत्त्व छ ?

सात सालले झोसेको परिवर्तनको आगो

हरेक समयको आफ्नै विशेषता हुन्छ, छुट्टै महत्त्व हुन्छ । सात सालको समय राष्ट्रिय, अन्तर्राष्ट्रिय सबै दृष्टिकोणबाट महत्त्वपूर्ण थियो । उपनिवेशवादी शक्तिहरू दक्षिण एसिया मात्र होइन सम्पूर्ण एसियाबाट हट्दै थिए । चीनमा स्वतन्त्र कम्युनिस्ट क्रान्ति भएको बेला थियो । यही स्तरका ऐतिहासिक परिवर्तन हाम्रा अरू आन्दोलनहरूका बखत भएको देखिँदैन । ४६ सालको आन्दोलन सोभियत युनियनको विगठन भएको बेला भएको थियो । ६२/६३ मा भने संसारको परिदृश्यमा खासै ठूला युगान्तकारी परिवर्तन भएको देखिँदैन ।


२००७ सालताकाको नेपाली समाज, त्यसको आर्थिक र सामाजिक स्थिति अनि राणाहरूको सय वर्ष लामो अविच्छिन्न शासन भएको परिस्थितिलाई नियाल्दा भारतको राष्ट्रिय स्वाधीनता आन्दोलनबाट प्रभावित भएर जुन किसिमको क्रान्तिको सुरुआत भयो, त्यो निकै महत्त्वपूर्ण थियो । क्रान्तिको विशेषता के हो भने, त्यसले राजनीतिक व्यवस्थालाई मात्र होइन सामाजिक सम्बन्धलाई पनि परिवर्तन गर्छ । सात सालको क्रान्तिले पनि नेपालको पुरातनवादी सामाजिक सम्बन्धमा खास परिवर्तन ल्यायो । सबभन्दा महत्त्वपूर्ण कुरा त यसले नेपालीहरूलाई रैतीबाट जनता बनायो । राजनीतिक परिवर्तनलाई प्रमुखता दिँदादिँदै पनि सामाजिक संरचना र स्वरूपमा प्रहार गरेको थियो उक्त क्रान्तिले ।


नेपालको मानचित्रका दक्षिणी भेगहरूबाट आन्दोलनको विगुल फुकिएको थियो । क्रान्तिका जति पनि दबाब क्षेत्रहरू थिए तिनमा आफ्नै किसिमका सामाजिक सम्बन्धहरू थिए । ती सबैलाई क्रान्तिले प्रभावित तुल्यायो । जस्तो पूर्वमा लिम्बूहरूको ठाउँ थियो । त्यहाँ भात–भान्साको कुरा थियो । बाहुन बाहिर खाँदैनथे । तर क्रान्तिका दौरान उनीहरू पनि बाहिर लामबद्ध भएर खान थाले । एकै ठाउँमा भान्सा गरे । क्रान्तिको नेतृत्व नै बाहुनले गरेका थिए, मातृकाप्रसाद कोइराला कमान्डर थिए । रूपन्देहीको मर्चवारमा डा. केआई सिंहको नेतृत्व थियो । जग्गासम्बन्धी सबाल थियो त्यहाँ । पश्चिमतर्फ लमजुङमा तोयानाथ अधिकारी, शेषकान्त अधिकारीहरूले हलो जोते, बाहुनले जोत्न हुँदैन भन्ने त्यो समयमा । छुवाछूतविरुद्ध पनि लागे उनीहरू । तनहुँमा गोबद्र्धन शर्मा, गुल्मीमा गोकर्णराज शास्त्रीहरू क्रान्ति मार्फत सामाजिक आन्दोलनमा थिए । बाहुनले हलो जोत्नेदेखि अंग्रेजी पढ्नेसम्मका अभियान चलाइए त्यतिबेला । अझ पश्चिममा राधाकृष्ण थारूले जग्गाको स्वामित्वको कुरा उठाए ।


यसरी एउटै क्रान्तिले विभिन्न ठाउँमा आफूअनुकूल सामाजिक सम्बन्धहरूलाई परिभाषित गरेको थियो । यस्तो बृहद् सामाजिक परिवर्तनको सुरुआत त्यसअघि भएको थिएन । एक राजनीतिक भूभागभित्रका स्थानीय ठाउँहरूमा भएका आन्दोलन थिए यी । एउटै आन्दोलन तलबाट माथि पस्दा यसले विभिन्न किसिमका सामाजिक परिवर्तन ल्यायो । पहाड र मधेस, राजा र जनता, जात र भात, जग्गाको स्वामित्वलगायतका सामाजिक सम्बन्धहरूमा परिवर्तन ल्यायो ।


क्रान्तिले नेपालको स्वतन्त्रताका लागि ठूलो काम गर्‍यो । जनताको शक्तिलाई स्थापित गर्‍यो । यसमा अन्तर्राष्ट्रिय पक्ष पनि थियो । क्रान्तिको स्वभाव नै हो, यसमा अन्तर्राष्ट्रिय पक्ष र समयको महत्त्व हुन्छ । चीनमा त्यत्रो जनयुद्धबाट कम्युनिस्ट पार्टी आएको र भारत स्वतन्त्र भएको समय र अन्तर्राष्ट्रिय शीतयुद्धको बेला नेपाली जनताले क्रान्ति गरेर हाम्रो व्यवस्था हामी आफैं अपनाउँछौं भनेका थिएँ ।

सामान्यतया आन्तरिक द्वन्द्व, आन्तरिक विद्रोह भएपछि बाहिरिया संलग्नता हुन्छ अनि सत्ताहरू ढल्छन् । जस्तो– चीनमा जापानीहरूको हस्तक्षेप थियो । एक समयमा माओ नै सन यात्सेनको राष्ट्रिय सेनासँग मिलेर जापानसँग लडे । फ्रान्सेली क्रान्तिको समयमा पनि फ्रान्समा बाहय आक्रमणहरूको खतरा नै थियो । भारतीय स्वतन्त्रताको पूर्वसन्ध्यामा पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध भएका थिए । हाम्रो क्रान्तिका पनि अन्तर्राष्ट्रिय आयाम थिए । हाम्रो वरिपरि छिमेकमा ठूला परिवर्तन भएका थिए । भारतको त यहाँ स्पष्ट भूमिकै देखिन्छ, राजा त्रिभुवन गएर त्यहाँ शरण लिए ।


हाम्रोमा आन्तरिक शक्ति सन्तुलन पनि बिग्रिएको थियो, राणाहरू ए, बी र सी क्लासमा विभक्त थिए, उनीहरूबीच नै द्वन्द्व थियो । लिटरेचर भन्छ— मुलुकभित्र आन्तरिक द्वन्द्व अथवा आन्तरिक तनावको स्थिति र बाहय शक्तिहरूको परिस्थिति, यी सबैलाई हेरेर क्रान्ति हुन्छ । अमेरिकी विद्वान् थिडा स्चपलको एउटा पुस्तक छ, ‘स्टेट एन्ड सोसल रिभोलुसन्स’ । फ्रान्स, रूस र चीनमा भएका क्रान्तिको तुलनात्मक अध्ययन गरेर लेखेको यो पुस्तकले अन्तर्राष्ट्रिय परिवेशलाई महत्त्वपूर्ण मानेको छ ।


एउटा महत्त्वपूर्ण पक्ष के हो भने हाम्रोमा सात सालपछि पनि ‘डिसेनियल मुभमेन्ट’ (हरेक दशकमा आन्दोलन) हरू भएका छन् । क्रान्ति भएको दस वर्ष नपुग्दै १७ सालमा राजाले कु गरे । त्यसपछि फेरि २७–२८ सालमा विद्यार्थी आन्दोलन भयो । ३६–३७ मा जनमतसंग्रह भयो । ४६ सालमा जनआन्दोलन भयो । ६२/६३ मा फेरि आन्दोलन भयो । १७ सालको पश्चगमनलाई छोडेर यी सबै डिसेनियल मुभमेन्टहरूले सात सालकै क्रान्तिलाई आफ्नो जग मानेका छन् । आन्दोलन सुरु गर्ने समयका रूपमा पनि फागुन ७ एउटा स्वाभाविक मितिजस्तै भएको छ ।


यसर्थ परिवर्तनको सिम्बोल हो फागुन ७ । यसले नै नेपाललाई शृंखलाबद्ध रूपमा परिवर्तनतर्फ लक्षित गर्‍यो । अर्को कुरा, त्यतिबेला राजाकै घोषणामा पनि ‘प्रजाको शासन अबउप्रान्त निजहरूले निर्वाचित गरेको एक वैधानिक सभा...’ भन्ने शब्दावली थियो । त्यतिखेर संविधानसभाको निर्वाचन विभिन्न कारणले भएन, त्यो आफ्नो ठाउँमा छ । तर जनताले आफ्नो संविधान आफैं बनाउन पाउँछन् भनेर राजाको मुखबाट स्वीकारोक्ति भएको पहिलो ‘स्टेटमेन्ट’ थियो त्यो ।


अहिले संविधानसभाले संविधान जारी गरिसक्यो । तर यो सिद्धान्त त्यतिबेलै स्थापित भएको हो । यसर्थ नेपालमा हरेक किसिमका परिवर्तनहरूको आगो सात सालले नै झोसेको थियो । राजनीतिक परिवर्तन त्यतिबेलाबाटै भयो । सामाजिक परिवर्तनको कल्पना त्यहीँबाट सुरु भयो । त्यसअगाडिका आन्दोलन राणाहरूविरुद्ध थिए, राष्ट्रिय स्वतन्त्रताका आन्दोलन थिएनन् । नेपालीलाई नागरिक बनाउनेदेखि लिएर विश्व मञ्चमा उपस्थित गराउने शृंखला पनि यही समयबाट सुरु भयो । १९५५ मा नेपाल राष्ट्रसंघको सदस्य भयो, १९५६ मा चीनसँग दौत्य सम्बन्ध स्थापना भयो । अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिकोणमा पनि सात सालको सेरोफेरो महत्त्वपूर्ण देखिन्छ ।


सात सालको क्रान्तिको महत्त्वपूर्ण पक्ष, त्यसका नायक बीपी कोइराला थिए । अन्तर्राष्ट्रिय छविको दृष्टिकोणबाट, मुलुकलाई अन्तर्राष्ट्रिय स्थितिमा उभ्याउन सक्ने, बोल्न सक्ने मान्छे उनै बीपी थिए । कतिले ईष्र्या गरे कतिले आदर, तर क्रान्तिको वास्तविक नायक उनै थिए । उनी अलि चञ्चल पनि थिए । क्रान्ति स्वभाव पनि चञ्चल हुन्छ । ३५–३६ वर्षकै उमेरमा बीपीले त्यसको नेतृत्व गरेका थिए । अहिले ब्रिटिस अर्काइभहरूमा नयाँ दस्ताबेजहरू खुला भएका छन् । यहाँसम्म कि बेलायतीहरूले पनि ‘यो मान्छे यति चञ्चल र तीक्ष्ण बुद्धिको छ, यो राजनीतिमा बस्यो भने खलबल गर्छ, यसलाई पढ्नलाई छात्रवृत्तिमा बोलाऊँ’ भन्ने किसिमका नोट त्यसबेलाका बेलायती दूतावासहरूले लेखेको देखिन्छ ।


१५ सालमा संविधान बनाउन लर्ड आइभर जेनिङ आएका थिए । उनका डायरी हालैका दिनमा बेलायती संग्राहलयमा उपलब्ध भएका छन् । त्यसमा जेनिङले नेपालमा कुरा गर्न लायकको मान्छे बीपी कोइराला मात्रै हुन् भनेका छन् । अरूमा त्यति ‘इन्टेलेक्चुअल डेफ्थ’ नभएको उनको भनाइ छ । राष्ट्रिय जागरणको दृष्टिकोणबाट पनि क्रान्तिका लागि महत्त्वपूर्ण भूमिका उनका लेख र विचारहरूले नै निर्वाह गरेको देखिन्छ । दुर्घटना पनि त्यसैबाट भयो । राजा महेन्द्रसँग बीपीको कुरा मिलेन, सबैले भन्छन् दुर्घटनाको कारण पनि त्यही भयो । त्यही भएर लियो इ रोज र भुवनलाल जोशीले ‘डेमोक्रेटिक इनोभेसन इन नेपालमा’ को पहिलो पृष्ठमा यी दुवैको कदर गरेका छन् । राजतन्त्र भएकाले राजाको पनि भूमिका ठूलो थियो । त्यो पछिसम्म रहयो । ६२–६३ पछि मात्रै त्यसलाई हामीले बिदा गर्‍यौं ।


क्रान्तिले रैतीलाई जनता मात्र बनाएन, राजा–प्रजा समान हुन् भन्यो । त्यति बेला बीपीले राजाको अगाडि बस्दा लगाएका पोसाकबाट, कुर्सीमा एकै ठाउँमा बसेका दृश्यबाट त्यो आभास मिल्छ । पछि गिरिजाबाबु पनि दरबार र दरबारियाहरूको उपस्थितिमा आफूलाई त्यसैअनुसार प्रस्तुत गर्दथे । जनप्रतिनिधिले हेपिएको महसुस गर्नु हुँदैन भन्ने उनको मान्यता थियो । यसको लिगेसी पनि सात सालको क्रान्तिमै जोडिन्छ, राजा–प्रजा समान हुन् भन्ने ।


कतिले क्रान्तिलाई अधुरो मानेका छन्, तर परिवर्तनका सारा अजेन्डाहरू सल्काउने काम त्यसैले गरेको थियो । कुनै पनि देशमा घरिघरि क्रान्ति हुँदैन । आन्दालेनहरू हुन सक्छन् तर तिनीहरूको सीमा हुन्छ । यसमा जनता परिचालित त हुन्छन् तर यसले ठूलो सामाजिक सम्बन्धलाई परिवर्तन गर्न सक्दैन । अहिले नै हेरौं न, अहिले यत्रो परिवर्तन भयो, तर आधारभूत रूपमा नयाँ के आयो ? १६ सालताकाको बीपी कोइरालाको नीतिजस्तो क्रान्तिकारी पनि देखिएन । भूमिसुधार, वनको राष्ट्रियकरण र औद्योगिक नीतिहरू निर्माण गर्ने र बाहय मुलुकसँग दौत्य सम्बन्ध सुधार गर्ने विषयमा निकै क्रान्तिकारी कदम चालिएको थियो त्यतिबेला । क्रान्तिकै जगमा सम्भव भएको थियो त्यो ।


अहिलेको आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि भनेको समावेशिता हो । संघीयता त केवल रूप हो । दलितदेखि महिलासम्मको प्रतिनिधित्वको सुरुआत त्यही बेला भएको थियो । यत्रा वर्ष व्यतीत हुँदा पनि परिवर्तनका सारा आधार त्यही क्रान्तिले सिर्जना गरेको थियो । दुर्भाग्य, त्यही पार्टीले त्यो धरोहर बोकिरहन सकेको छैन, त्यो कथा आफ्नै ठाउँमा छ ।


दुई प्रतिशत जनता साक्षर भएको त्यस बखत क्रान्ति सम्भव तुल्याउनु निकै चुनौती थियो । बर्माबाट हतियार ल्याउनु चुनौती थियो । यस प्रसंगमा अर्को महत्त्वपूर्ण सबाल उक्त क्रान्ति पारदर्शी पनि थियो । आज सबै कुरा खुलेआम छ । माओवादीले त हतियार कहाँबाट ल्यायो अहिलेसम्म भनेको छैन । पारदर्शिताका हिसाबबाट माओवादी द्वन्द्वभन्दा सात सालको क्रान्ति बढी पारदर्शी छ । मान्छे को ‘रेक्रुट’ गर्‍यो, कसरी गर्‍यो, त्यतिबेलाको सबै खुला छ । तर माओवादी द्वन्द्वको छैन । त्यतिबेला आफ्नो स्रोत कति थियो, कसले कति चन्दा दियो पनि सबै भनिएको छ ।


कति दुविधाका बीच उक्त क्रान्ति भएको थियो । बीपीले भनेकै छन्— बन्दुक समात्नै लागेका बेला कोलकातामा रेडियो बज्यो, गान्धीको मृत्यु भयो, गान्धीलाई दुई दिनअगाडि भटेको थिएँ ।

कुनै पनि क्रान्ति आफैंमा पूर्ण हुँदैन । क्रान्ति एउटा ज्वाला हो त्यसले एउटा निश्चित बाटो दिन्छ । त्यसलाई राम्ररी आकार दिने काम त्यसपछिका नेतृत्वहरूले गर्ने हो । क्रान्ति आफैंमा साध्य होइन साधन हो । त्यसलाई जस्तो प्रयोग गर्‍यो नतिजा त्यस्तै प्राप्त हुन्छ । यस विषयमा पढाउँदा म गाडीको उपमा दिन्छु । चौथो गेयरमा मात्रै गाडी चलाउन सकिँदैन । एक नम्बर गेयरमा पनि झर्नुपर्छ, रोक्नु पनि पर्छ । क्रान्तिका कुराबाट निस्केका कुरालाई संस्थागत गर्ने तरिका पनि त्यही हो । कहाँ के गर्नुपर्छ भन्ने सुझबुझ अधिकारीहरूले राख्नुपर्छ । क्रान्तिलाई सबैभन्दा ठूलो चुनौती त प्रतिक्रान्तिबाटै हुन्छ । प्रतिक्रान्ति भनेकै क्रान्ति हो फेरि कसैको दृष्टिकोणमा ।


राजा त्रिभुवन शरण लिन गएकाले हाम्रो क्रान्तिमा भारत जबर्जस्त जोडिन पुग्यो । फेरि, कुनै पनि यस्तो क्रान्ति छैन जहाँ बाहय हस्तक्षेप नभएको होस् । तर त्यसलाई ‘कन्सोलिडेट’ गर्न भने सक्नुपर्छ । क्रान्ति निश्चित यो दिनमा सुरु भएर यो दिन अन्त्य हुन्छ भन्ने हुँदैन । क्रान्तिलाई ‘रिभोलुसनरी मोमेन्ट’ भनिन्छ, ‘मुभमेन्ट’ होइन । त्यस्ता क्षणहरू विभिन्न कालखण्डबाट गुज्रेर गएको हुन्छ । जस्तो चीनको क्रान्तिकारी आन्दोलन हेर्‍यो भने जापानी संलग्नता छ । बेलायतको क्रान्ति हेर्‍यो भने फ्रान्ससँगको लडाइँ छ । फ्रान्सको हेर्‍यो भने जर्मनी र बेलायतसँग लडाइँ पनि छ । क्रान्ति हुने नै आन्तरिक गडबडीमा र बाहिरी परिस्थितिमा हो ।


फेरि, अहिले यत्रो एक्स्पोजर भएका मान्छे छन्, यत्रा मिडिया छन् । यत्रा जागरुक मान्छे छन् । र त हस्तक्षेप छ । त्यतिबेलाको राष्ट्रसंघको सदस्य नभएको परिस्थितिमा हाम्रो पुर्खाहरूले जे गरे, त्यसलाई यति त जोगाइदिएछन् भनेर धन्य हुने हो । म त के भन्छु भने इतिहासमा ‘यदि’, ‘तर’ यति धेरै छन् तर जे भयो त्यो त भइसक्यो नि । त्यसबाट नि:सृत परिस्थिति जे छ त्यसलाई हामीले बुझ्ने हो । जस्तो : राजा त्रिभुवन भारत नगएर चीन गएको भए के हुन्थ्यो ? प्रश्न गर्न त सकिन्छ नि । त्यो बेला चीन जाने परिस्थिति थिएन होला । बीपीकै बारेमा भन्न सकिन्छ नि । बनारसमा ‘एक्जाइल’ नबसेको भए उनी के पेरिसमा, न्युयोर्कमा बस्न नसक्ने थिए र ? तर हिन्दुस्तानमा गएर बस्नुको अर्थ के भने परिवर्तनका लागि हो । क्रान्तिका लागि सजिलो हुन्छ भनेर हो ।

प्रकाशित : फाल्गुन ५, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?