कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोपीको सान

अनुभूति
चेतनाथ आचार्य

काठमाडौँ — गत पुस २८ गते चिनियाँ परराष्ट्र मन्त्रालय र बेइजिङ नगरपालिका जनसरकारले चीनमा बसेका विदेशी पत्रकारहरूका लागि नयाँ वर्षको भोज आयोजना गरेको थियो । साँझ छ बजे सुरु हुने भोजका लागि म साँझ पाँच बजेतिर कोठाबाट निस्किएँ । बेइजिङको जाडो निकै बढेको थियो ।

टोपीको सान

त्यही दिन बिहान कपाल काटेकाले मैले टोपी लगाउने विचार गरेँ । उसो त म टोपी खासै नलगाउने मान्छे । यसो कहिलेकाहीँ दूतावासले गरेको औपचारिक कार्यक्रममा दौरासुरुवाल लगाएको बेला टोपी लगाएको हुँला । कपाल झरिसकेको तालु लिएर हिँड्दै मलाई आनन्द आउँछ । जनवरी एक तारिख अन्तर्राष्ट्रिय टोपी दिवस भन्दै साथीहरूले फेसबुकमा फोटो हाले पनि आफूलाई त्यसो गर्न कहिल्यै जाँगर चलेन । त्यो दिनचाहिँ ढोकाबाट बाहिर निस्किसकेर पनि फर्केर ढाका टोपी लगाएर गएँ, चिसोबाट बच्न । टोपी लगाएपछि टाउको सकसक गर्दै कताकता अप्ठयारो लागिरहेको थियो ।


कार्यक्रममा पुगेर यसो कोही चिनेको मान्छे भेटिन्छ कि भनेर यताउता भौँतारिँदै थिएँ कसैले मलाई नमस्ते भन्दै बोलायो । हातमा चिसो पेयको गिलास बोकेका एक जना अधबैँसे चिनियाँले हात अगाडि बढाए । उनले मुसुक्क हाँस्दै भने, ‘तिमी नेपाली रहेछौ । मैले टोपीबाटै चिनें । मेरा धेरै नेपाली साथी छन् ।’ बेइजिङस्थित रनमिन विश्वविद्यालयका कार्यकारी डिन प्रोफेसर डा. वाङ वेन रहेछन् उनी । केपी ओली प्रधानमन्त्री हुँदा भ्रमणमा आउँदा उनको रनमिन विश्वविद्यालयमा गएका थिए । त्यो अवसरमा म पनि त्यहाँ थिएँ । तर त्यतिबेला प्रोफेसर वाङसँग दोहोरो चिनजान हुन सकेन । बरु डा. छन स्यावो छनसँग चाहिँ कुरा भएको थियो ।


प्रोफेसर वाङ वेनले टोपीबारे जिज्ञासा राखे, ‘प्राइमिनिस्टर केपी ओलीले पनि यस्तै टोपी लगाएका थिए । के फरक हुन्छ ?’ उनको प्रश्न निकै गहन थियो । मैले बनिबनाउ उत्तर दिएँ, ‘अरू कपडा जस्तै हो । यसको गुणस्तर र हातले बनाएका बुट्टाका आधारमा मूल्य फरकफरक पर्छ ।’ त्यहाँ नेपाली ढाका टोपी लगाउने म मात्र भएर होला सबैले मेरो टोपीमा हेरेर मुस्कुराएजस्तो लाग्थ्यो । चिनियाँ मात्र होइन भीडमा एउटी पश्चिमा युवती पनि मसँग टोपीकै कारणले कुरा गर्न आइपुगिन् । उनको नाम मारिया ओए विसक्ट्रोम रहेछ । उनी बेइजिङस्थित नर्वेजियन दूतावासको संस्कृति तथा सूचना अधिकृत रहिछन् । उनका साथीहरू केही समयअगाडि नेपालमा ट्रेकिङ जाँदाको फोटो उनलाई पठाएका रहेछन् । फोटोमा उनका साथीले नेपाली ढाका टोपी लगाएको प्रसंग उल्लेख गर्दै उनले भनिन्, ‘त्यसपछि मैले गुगलमा नेपाली टोपीबारे सर्च गरेँ । तिम्रो देशका उच्च सरकारी अधिकारीहरूले यस्तो टोपी लगाउँदा रहेछन् ।’


मैले उनलाई नेपाली टोपीको महत्त्व दर्साउँदै हिजोआज पश्चिमा फेसनको प्रभावले धेरै नेपालीले यस्तो टोपी लगाउन छोडेको बताएँ । उनले अनौठो अनुहार बनाउँदै भनिन्, ‘एसियामा रहेको सबैभन्दा ठूलो समस्यै यही हो । अरूका कुराको नक्कल गर्दा आफ्ना सम्पदाहरू नासिएका छन् ।’ उनले प्रयोग गरेको ‘सम्पदा’ शब्दले मलाई कुत्कुत्यो, ‘साँच्चै टोपी नेपालीहरूको सम्पदा हो त ?’ मेरो टोपी हेर्दै टाडैबाट हात हल्लाउँदै अर्का चिनियाँ कुरा गर्न आइपुगे । उनले परिचय गर्नुभन्दा अगाडि भने, ‘मसँग पनि यस्तै टोपी छ । मलाई ल्हासाका लागि नेपाली महावाणिज्यदूतले उपहार दिएका हुन् ।’ उनको नाम सु स्यावो रहेछ । चिनियाँ परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय सूचना केन्द्रका उपनिर्देशक पदमा कार्यरत सु चार वर्षअगाडि चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासामा कुनै सरकारी पदमा काम गरेका रहेछन् । तत्कालीन नेपाली महावाणिज्यदूत हरि बस्यालले उनलाई नेपाली टोपी उपहार दिएको र त्यसलाई जतनसाथ राखेको बताउँदा मलाई नेपाली टोपीप्रति गौरवबोध भयो । त्यति मात्र होइन सु स्यावोले नेपाली टोपीको अझै व्याख्या गरे । आधुनिक चीनका प्रणेता तङ स्यावो फङ नेपाल भ्रमणमा जाँदा नेपाली टोपी लगाएको फोटो अझै पनि चीनमा निकै लोकप्रिय रहेको बताउँदै उनले भने, ‘नेपालीहरूका लागि टोपीको महत्त्व सगरमाथाको उचाइजस्तै छ । अनि नेपाली टोपी उपहारले चीन र नेपालबीचको सम्बन्ध पनि उस्तै उच्च छ ।’


टोपी लगाउँदा सुरुमा भएको अप्ठयारो हराउँदै गयो र म दंग पर्न थालेँ । त्यही भीडमा एक जना चिनियाँ महिला निकै हतारिएर आइन् र भनिन्, ‘पक्कै पनि यहाँ कुनै नेपाली पत्रकार भेट हुन्छ भन्ने सोचेकी थिएँ । तपाईंको टोपीबाट मैले चिनिहालेँ । मलाई तपाईंको सहयोग चाहिएको छ ।’ त्यसपछि बल्ल उनले आफ्नो नामकार्ड मेरो हातमा राखिदिइन् । उनी चिनियाँ पत्रकार संघको अन्तर्राष्ट्रिय सम्पर्क विभागअन्तर्गत एसिया डिभिजनकी प्रमुख चाङ याङ रहिछन् । उनले मबाट चाहेको सहयोगचाहिँ नेपाल पत्रकार महासंघ र नेपाल पत्रकार संघ (मञ्जुरत्न शाक्य) बीचमा के फरक छ र नेपाली पत्रकारिता क्षेत्रमा यी दुई संस्थाको प्रभाव कस्तो छ भन्ने रहेछ ।


पश्चिमा मुलुककी एउटी उमेर ढल्केकी महिलाले ‘नेपाली टोपी’ भनेर उच्चारण गरिन् । जमघटमा विदेशीले टोपी भनेर उच्चारण गर्दा अचम्म नलाग्ने कुरै भएन । ५५ कटेकी ती महिला मेरो छेउमा आइन् र परिचय दिइन् । उनी बेइजिङस्थित अमेरिकी दूतावासका उपप्रवक्ता अलिज एल स्पेन्स्लेई रहिछन् । उनी मोरियार्टी नेपालका राजदूत हुँदा काठमाडौँस्थित अमेरिकी दूतावासमा कार्यरत रहिछन् । उनले भनिन्, ‘बेइजिङमा पनि यसरी नेपाली टोपी लगाएको मान्छे देख्ता मैले आफ्नो नेपालको कार्यकाल सम्झिएँ । त्यतिबेला नेपालको राजनीति सबैभन्दा तरल थियो र अमेरिकाका लागि सर्वाधिक चासोको विषय पनि थियो ।’ मैले मनमनै गणना गरेँ त्यो समय त माओवादी शान्ति प्रक्रियामा आउने समय पो रहेछ ।


भोज सकिँदा रातको साढे आठ नाघेको थियो । कुनै बेला महाकवि लक्ष्मीप्रसाद देवकोटाले मान्छेभित्र भएको गुणको होइन पोसाकको महत्त्व हुन्छ भनेर व्यंग्य गरेजस्तै भोजमा टोपीको परिचय मेरोभन्दा बढी भएको अनुभव गर्दै म फर्किएँ ।

[email protected]

प्रकाशित : फाल्गुन १२, २०७४ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?