एउटा विद्यार्थीको ‘नोट अफ डिसेन्ट’

शिक्षा
मिलन पाण्डे

काठमाडौँ — बेलायतको एउटा स्कुलले एक छात्राको अभिभावकलाई पत्र लेख्छ, ‘तपाईंकी छोरी पढ्न सक्दिनन् । उनमा एकाग्रता छैन । चली मात्र रहन्छिन्, एक ठाउँमा बस्नै सक्दिनन् ।’ परिवारलाई पिर पर्छ अनि उनकी आमाले छोरीलाई डाक्टरकोमा लान्छिन् ।

धेरैचोटि जाँचेपछि डाक्टरले एक्लै कुरा गर्ने भनेर आमालाई बाहिर निकाल्छन् र नजिकै रेडियो बजाएर छोरीलाई त्यहीँ छोडिदिन्छन् । बाहिर पुगेको केही बेरपछि डाक्टरले आमालाई पर्दाबाट बिस्तारै चियाउन भन्छन् । आमाले बिस्तारै पर्दा उघारेर हेर्दा छोरी रेडियोको धुनमा नाचिरहेको देख्छिन् । डाक्टरले मुस्कुराउँदै आमालाई भन्छन्, ‘तपाईंकी छोरी बिरामी होइन, उसमा अर्कै प्रतिभा छ । उसलाई नृत्यको विद्यालयमा लैजानुस् ।’ आमाले छोरीलाई नृत्य स्कुलमा लान्छिन् । एउटा साधारण स्कुलले असफल घोषित गरेको ती छात्रा विशिष्टीकृत विद्यालयमा भर्ना भएपछि सफलता चुम्न सक्छिन् । अहिले ती छात्राले नृत्यको ठूलो कम्पनी चलाएकी छन् । जिलियन लायन एउटा ठूलो नामा मात्रै बनेको छैन, दाम पनि उत्तिकै कमाउँछिन् उनी । यो घटना पहिलो पटक थाहा पाएपछि मेरो मनमा प्रश्न उब्जियो, ‘यदि जिलियन हाम्रो समाजमा अनि यही शिक्षा प्रणालीमा जन्मिएकी भए के बन्थिन् होला ?’
्म २५ वर्षदेखि यही शैक्षिक प्रणालीमा पढ्दै छु अनि करिब १० वर्षदेखि पढाउँदै छु । मेरो भोगाइ र बुझाइ भन्छ, यो शिक्षा प्रणालीले हाम्रो विद्यार्थीलाई मद्दत गरिरहेको छैन । यसले विद्यार्थीलाई शिक्षित बनाइरहेको छैन । शिक्षा भनेको आफूले सिकेको कुरालाई व्यवहारमा उतार्नु हो । हामीले बिरुवामा पानी हाल्नुपर्छ भनेर पढेका छौं तर हाम्रा बगैंचाका बिरुवा पानी नहालिएकाले मर्छन् भने के हामीलाई शिक्षित भन्न मिल्छ ? मैले धेरै विद्यार्थी देखेको छु जसले कम्प्युटर विषयमा १०० मा ९८ ल्याएका छन् । तर उनीहरूलाई कम्प्युटर राम्ररी खोल्न अनिबन्द गर्न पनि आउँदैन । हामीले पढेको कुरा खाली सैद्धान्तिक मात्र भयो, व्यावहारिक भएन । जीवन उपयोगी हुन सकेन ।

Yamaha

हाम्रो शिक्षा प्रणालीमा प्रमुख ३ आधारभूतसमस्या छन् :

अव्यावहारिक शिक्षा
धेरै वर्षपछि हालै म आफ्नो गाउँ गएको थिएँ । गाउँ जाँदै गर्दा मेरो १२ कक्षा पास गरेकी बहिनीले धानलाई देखाउँदै, ‘यो के हो ?’ मैले भनें, ‘यो धान हो र यसलाई मिलमा लगेर कुटेपछि चामल बन्छ ।’ उनले अचम्म पर्दै सोधिन्, ‘चामल नै फल्ने होइन र ?’ काठमाडौँको निजी विद्यालयमा पढेकालाई धान र चामलबारे थाहा छैन । प्रत्येक पटक हामी नेपाल कृषिप्रधान देश हो भनेर पढाउँछौं तर त्यति कुरा पनि बुझाउन सकेका रहेनछौं । हाम्रो शिक्षा खालि पास भएर जागिर खाने सर्टिफिकेट मात्र बनेको छ । दु:ख त कति बेला लाग्छ भने, हाम्रो देशमा वातावरणमा विद्यावारिधि गरेका कैयौं विज्ञ छन् तर यस विषयमा एक शब्द पनि बोल्दैनन् । सडक बिग्रँदा इन्जिनियरहरू चुप छन् अनि वकिलहरूलाई हाम्रो शिक्षा प्रणालीले न्यायालयको रक्षामा उभिन सिकाएको छैन ।

कलालाई महत्त्व नदिनु
मैले विज्ञान पढ्नु पछाडिको मुख्य कारण मेरो एसएलसीमा डिस्टिङ्सन आउनु थियो । पढाइमा राम्रो भएका मानिसहरूले ‘कमर्स’ वा ‘आर्ट्स’ पढ्नुहुन्न भन्ने बुझाइ छ । हाम्रो शिक्षा प्रणालीले हामीलाई सधैं डाक्टर, इन्जिनियर बन्नुपर्छ भनेर सिकाउँछन् । तर पढेर सफल कलाकार वा खेलाडी बन्न सकिन्छ भनेर सिकाएन । हामी घोकन्ते शिक्षामा दीक्षित छौं । रचनात्मकता अनि कलात्मकतालाई हाम्रो शिक्षाले स्थान दिएको छैन ।
हाम्रो शिक्षाको सबैभन्दा ठूलो समस्या यही हो ।
त्यसैले हाम्रा सफल राजनीतिज्ञ, पत्रकार, कलाकारले पनि पहिले विज्ञान पढेर पछि विषय परिवर्तन गरेको पाइन्छ । यदि हाम्रो शिक्षा प्रणालीले सिर्जनालाई स्थान दिन्थ्यो भने आज अब्बल विद्यार्थीको पहिलो प्राथमिकता कलाहुन सक्थ्यो ।

गल्ती गर्न नपाउने प्रणाली
सन् १९३९ मा वेन्डल जोन्सनले आयोवा विश्वविद्यालयमा २२ जना अनाथ विद्यार्थी मार्फत एउटा प्रयोग गरेका थिए । ११–११ जना को दुइटा समूहमध्ये आधालाई सकारात्मक तरिकाले माया गरेर सिकाइयो अनि आधालाई नकारात्मक तरिकाले गाली गरेर सिकाइयो । प्रयोगको अन्त्यमा सकारात्मक तरिकाले सिकाइएका विद्यार्थीहरूले राम्रो गरे अनि नकारात्मक तरिकाले व्यवहार गरिएका विद्यार्थीले खासै सुधार गर्न सकेनन्, बरु केहीले त बोल्नै छाडे ।
हामी पनि नकारात्मक तरिकाले सिकाउँदै छौं । हामी कुनै विद्यार्थीले जानेन भने सिकाउनुको साटो गाली गर्छौं । हामी प्रेरित गर्नुको सट्टा ‘तैंले सक्दैनस्’ भन्छौं । हाम्रो यही व्यवहारले नै हाम्रा विद्यार्थी असफल बन्दै छन् किनकि हामीले अनुशासनको नाममा सजाय दिने प्रणाली रोजेका छौं । हाम्रो अनुशासन प्रणालीले राम्रो गराउनेभन्दा पनि नराम्रो गरेपछि सजाय दिने काम गर्दै छ । हाम्रो शिक्षा प्रणालीमा विद्यार्थीहरू गल्ती गर्न डराउँछन् । गल्ती गर्न डराउनु भनेको सिक्नु वा प्रयोग नगर्नु हो जसले गर्दा विद्यार्थीले रचनात्मक शक्ति गुमाउँदै जान्छन् ।

शैक्षिक पुनर्निर्माण
हाम्रो शिक्षा प्रणाली टालटुल मात्र गरेर सुध्रनेवाला छैन । हाम्रो शैक्षिक प्रणालीको जगैबाट पुनर्निर्माण गर्न जरुरी छ । जसका लागि देशमा हुँदै गरेको राज्य व्यवस्थासँगै एउटा विज्ञ टोली बनाएर शिक्षा प्रणालीका सम्पूर्ण पाटा केलाउन जरुरी छ । जसमा मुख्य यी तीन पाटाहरूमा व्यापक छलफल अनि संरचनात्मक सुधार नै आवश्यक छ ।

शिक्षक
शिक्षकहरूको आफ्नै पेसागत समस्या छ । तलब सुविधा पर्याप्त नभएकाले राम्रा विद्यार्थीले शिक्षणलाई रोजाइको विषय बनाउन सकेका छैनन् । निजी विद्यालयको हकमा त शिक्षकहरूमाथि श्रम शोषण नै भएको छ । तसर्थ शिक्षकले पाउन पर्ने सुविधा दिलाउने नीति लिनुपर्छ ताकि शिक्षकले आफ्नो आधारभूत आवश्यकताबारे सोच्न नपरोस् । साथै, शिक्षकहरूको स्तर उन्नतिबारे सम्बन्धित पक्षले ध्यान दिनुपर्छ । शिक्षकहरूलाई समयसमयमा ‘अपडेट’ अनि ‘अपग्रेड’ गरिन जरुरी छ ।
शैक्षिक क्षेत्रको परिवर्तनको सुरुआत शिक्षकहरूबाटै हुन जरुरी छ । शिक्षकले एक्लै शिक्षा प्रणाली परिवर्तन गर्न नसक्लान् तर आफैंलाई त परिवर्तन गर्न सक्छन् नि ? एउटा सफल शिक्षक त्यो हो जसले आफ्ना विद्यार्थीलाई आफ्नो लक्ष्यतर्फ उन्मुख गर्न सक्छन् ।

विद्यालय
हालको परिस्थितिमा विद्यालयहरूले वर्ग विभाजनमा मलजल गर्ने काम गर्दै छ । निजी विद्यालयमा पढ्नेहरू विद्यालयको गाडी चढी पढ्न जान्छन् । अनि आफ्नै वर्गका साथीसँग कुरा गर्छन् र आफ्नै संसार बनाउँछन् । त्यस्तै यता सरकारी विद्यालयमा पनि एउटै वर्गका विद्यार्थीहरू पढ्छन् र आफ्नै समूहमा रमाउँछन् । यसरी हाम्रो समाजमा बिस्तारै ठूलो खाडल पैदा हुँदै छ । हाम्रो संस्कृति, चाडपर्व, रहनसहनलाई एकआपसमा सञ्चार हुन रोकिँदै छ । जसले गर्दा, हाम्रो समाजमा अर्को प्रकारको वर्ग विभाजन हुँदै छ ।
हाम्रोजस्तो समाजमा शिक्षा अनि स्वास्थ्यमा व्यापारीकरण हुनु हुँदैन । झन् राजनीतिकरण त हुनु हुँदै हँुदैन । तसर्थ, शिक्षाको जिम्मा सरकारले नै लिनुपर्छ । सरकारी विद्यालयको स्तर उन्नति गर्नैपर्छ । पूर्वाधार अनि शिक्षकको स्तर उन्नतिमा व्यापक लगानी आवश्यक छ । सरकारी विद्यालयको बारेमा आम नागरिकको धारणा परिवर्तन गर्न केही ठोस योजनाहरू ल्याउनैपर्छ । सरकारी विद्यालयमा विद्यार्थी आकर्षित गर्दै अब निजी विद्यालयको संख्या बिस्तारै घटाउँदै केही समयपछि, अहिलेका निजी विद्यालयलाई गैरनाफामूलक संस्थाका रूपमा स्थापित गरिनुपर्छ । यसको कार्यान्वयन चुनौतीपूर्ण छ । तर यस कदमको विकल्प छैन ।

पाठ्यक्रम अनि परीक्षा
विद्यालय शिक्षामा उत्कृष्ट देश फिनल्यान्डमा केही वर्षयता विषयगत पढाइ हटाउँदै चाहिएको शीर्षकमा मात्र पढाउन थालिएको छ । अर्थात्, अब तपाईंले भूगोल, इतिहास, रसायनशास्त्रका सबै पाठ पढ्नु पर्दैन । आफूले छानेको विषयको चाहिएको पाठ पढ्न सक्नुहुन्छ । यो शिक्षा जगत्मा ठूलो क्रान्ति हो । अब नेपालमा पनि यस्तो शिक्षा प्रणाली अपनाउनुपर्छ ताकि, ‘मैले यो सबै किन पढिरहेको छु ?’ भन्ने उत्तर विद्यार्थीले खोज्न नपरोस् ।
विद्यार्थीलाई केही मौलिक विषयमा आफ्नै भाषामा पढ्न प्रेरित गरिनुपर्छ । सामाजिक शिक्षाजस्तो विषयमा त विद्यार्थीले आफ्नो मनको भाव आफ्नै भाषामा व्यक्त गर्न पाउनुपर्छ । अझ यस्ता विषयमा त झन् नेपालीभन्दा पनि मातृभाषामा विद्यार्थीलाई आफूलाई व्यक्त गर्न प्रेरित गर्नुपर्छ । साथै, पाठयक्रममा व्यावहारिक शिक्षामा जोड दिनुपर्छ, ताकि विद्यार्थीले घोक्नेभन्दा पनि बुझ्न सकून् अनि व्यवहारमा उतार्न सकून् ।
प्रत्येक प्रश्नपत्रको माथि ‘विद्यार्थीलाई सकेसम्म आफ्नै शैलीमा उत्तर लेख्न प्रेरित गरिन्छ’ भनिएको हुन्छ तर हाम्रो प्रणालीले विद्यार्थीबाट घोकेको उत्तरै माग्छ । हाम्रो परीक्षा प्रणालीले समेत विद्यार्थीमा कति ज्ञान छ भनेर जाँच्नेभन्दा पनि कसले कति घोकेको छ भन्ने जाँच्ने गरेको छ । तसर्थ, हाम्रो परीक्षा प्रणालीमा नै व्यापक सुधार आवश्यक छ । अब विषयगत परीक्षासँगै प्रयोगात्मक परीक्षा पनि लिइनुपर्छ । परीक्षामा लेख्ने मात्र विधि नभई अन्य विधि पनि अपनाउन जरुरी छ । वर्षभरि पढाएर परीक्षा लिनेभन्दा पनि एउटा शीर्षक सकिएपछि परीक्षा लिनुपर्छ । अनि कक्षा ५ सम्म कुनै पनि प्रकारको परीक्षा लिइनु हुन्न ।
हेर्नुस् त, हाम्रा केही नाम चलेका ठूला विद्यालयले कक्षा १ मा भर्ना गर्न परीक्षा लिने गरेको । त्यो निकै गलत काम हो । १ कक्षामा पढ्नेलाई जिन्दगीको पहिलो खुड्किलामै असफल बनाउने शिक्षा प्रणालीले उसलाई भविष्यमा सफल बनाउन सक्दैन ।
पिटर डायमान्डिसका अनुसार सन् १९०० देखि २००० सम्म जति परिवर्तन भयो अब त्यति परिवर्तन सन् २०१६ देखि २०२२ सम्ममा हुनेछ । अब संसार हाम्रो गतिभन्दा धेरै छिटो कुद्दै छ । तसर्थ, हाम्रो शिक्षा प्रणालीले हाम्रा सन्ततिलाई सफल बनाउन सक्दैन भन्ने बुझ्न अब ढिलो गर्नु हुन्न । अहिले हामीले खोजेको समृद्धिको यात्रा शिक्षा प्रणालीमा परिवर्तन ल्याएर मात्र सम्भव छ । शिक्षामा परिवर्तनबिना समृद्धि सम्भव छँदै छैन ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०९:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हामी कस्तो नेता खोज्दै छौं ?

मिलन पाण्डे

काठमाडौँ — सत्तरीको दशकसम्म क्यानाडालाई ‘ह्वाइट क्यानाडा’ भनिन्थ्यो । क्यानाडा उदार बनिसकेको थिएन । १९६८ मा पियरी ट्रुडो प्रधानमन्त्री भएपछि क्यानाडाले बहुसांस्कृतिक नीति अपनायो, जुन चलिआएको धारभन्दा विपरीत थियो ।

यो निर्णयसँगै क्यानाडा अध्यागमनमा उदार बन्यो, जसले शिक्षा, स्वास्थ्य, भाषामा उत्कृष्टतालाई प्राथमिकता दिलायो। ट्रुडोले बहुसांस्कृतिक पाटोलाई अर्थतन्त्रसंँग जोडे। क्यानाडा विकासको पथमा लम्कियो।

ली क्वान युले सिंगापुरमा लगातार करिब तीन दशक शासन गरे। उनको शासनशैली तानाशाहको जस्तै देखिन्थ्यो, तर उनले आम नागरिकलाई आफ्नो नेतृत्वप्रति विश्वास दिलाउन सफल भए र सिंगापुरले विकास चुम्यो। सन् १९६१ को सैनिक विद्रोहपछि स्थापित कोरियाका नेता पार्क चुङ हीले जनताको भावना समेट्दै कठोर विकास नीति अपनाए। उनले पनि जनसमर्थन पाए। मलेसियाका मोहम्मद महाथिर हुन् वा रुवान्डा राष्ट्रपति पल कागामे, यी सफल नेतृत्वले आफ्नो माटो सुहाउँदो विकासपथ अवलम्बन गरे। आम नागरिकलाई नतिजा दिए। जनसमर्थन पाए।

हाम्रा नेता कहाँ चुक्दैछन्?
नेपाल सात दशकदेखि संक्रमणकालमै अल्झिएको छ। यो बीचमा पटक–पटक राजनीतिक आन्दोलन भए, अनि प्रत्येक आन्दोलनमा आम नागरिकले ज्यानको बाजी थापेर नेतृत्वलाई साथ दिए। प्रत्येक आन्दोलनले नेतालाई स्थापित गर्‍यो, अनि नेताले देश हाँक्ने अवसर पाए। तर कुनै पनि नेताले त्यो अवसर सदुपयोग गर्न सकेनन्। गणतन्त्र प्राप्तिपछि हाम्रा नेता उद्देश्यविहीन झैं बने। आन्दोलनको नेतृत्व गरेकै व्यक्तिले समृद्धिको पनि नेतृत्व गर्न तम्सनु नै समस्याको कारण देखिँदै गयो। सही समयमा सही नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न नसक्नु नै नेतृत्वको असफलताको प्रस्थानविन्दु रह्यो।

हाम्रा नेताले आन्दोलनमा कार्यकर्ता प्रयोग त गरे, तर आन्दोलन सकिएपछि कार्यकर्तालाई अलपत्र छाडे। आफ्नै कार्यकर्ता व्यवस्थापनमा चुकेपछि उनीहरूले कार्यकर्ताबाटै विश्वास गुमाउन सुरु गरे, जुन विस्तारै आम नागरिकसम्म फैलियो। नेताहरू आफ्नै सानो गुटमा सीमित भई व्यक्तिगत स्वार्थमै रमाइराखे। नतिजा, आन्दोलनको बेला पाएको जनसमर्थन गुम्दै गयो। निर्णय प्रक्रियामा अन्य पक्षलाई सामेल गराउन सकेनन्। जसले गर्दा सहकर्मी, कर्मचारी अनि आम नागरिकले उनीहरूको निर्णयमा अपनत्व महसुस गर्नै सकेनन्। त्यसको असर कार्यान्वयन पक्षमा देखियो। यस्तै नेताहरूले आफू कमजोर हुने डरले देशका विभिन्न अंग (संस्था) हरू बलियो बनाउन कहिल्यै जोड गरेनन्। तर त्यही संस्थाहरू कमजोर हँुदै जाँदा उनीहरू आफै पनि कमजोर बन्दै गए।
भिसा क्रेडिट कार्डका संस्थापक डी हकले भनेका छन्, ‘तिमी सफलतापूर्वक नेतृत्व गर्न चाहन्छौ भने आफ्नो समयको ४० प्रतिशत समय आफैलाई नेतृत्व गर।’ विडम्बना, हाम्रा नेताले आफैलाई समेत नेतृत्व गर्न सकेनन्। उनीहरू आसेपासे अनि केही कार्यकर्ताको नियन्त्रणमा देखिन्छन्। नेताले निश्चित समय आफ्नै व्यक्तित्व विकासमा पनि खर्चनुपर्छ। तर उनीहरूले त्यसमा ध्यान दिएनन्। नेताहरूले अल्पकालमा हुने व्यक्तिगत अनि पार्टीगत फाइदाका निम्ति जे पनि बोले, जे पनि गरे। तर त्यसको दूरगामी असरबारे सोचेनन् वा सोच्न सकेनन्। तसर्थ आफ्नै अदूरदर्शिताको भारीले थिचिए। तर पनि उनीहरूले न आत्मालोचना नै गर्नसके, नत त्यसलाई सच्याउने सामथ्र्य नै राखे।

यस्तो हुनुपर्छ नेता
२१ औं शताब्दीले खोजेको नेतामा निम्न गुण हुन जरुरी छ।

भिजन : नेतामा स्पष्ट भिजन हुनुपर्छ। उसले ससानो व्यवस्थापनका कुरा बुझ्न जरुरी छ र ती प्रत्येक कुरालाई ठूलो चित्रसँग जोड्ने सामथ्र्य राख्न सक्नुपर्छ। आफूले यो काम किन गरिरहेको छु र यसले भविष्यमा देशका अन्य पाटोलाई कसरी असर गर्छ भन्ने हेक्का राख्न सक्नुपर्छ।
कार्यान्वयन अनि व्यवस्थापन : नेल्सन मन्डेलाले भनेका छन्, ‘योजना बिनाको कार्य समयको बर्बादी हो। कार्यान्वयन बिनाको योजना दिवास्वप्ना हो। कार्यान्वयन सहितको योजनाले चाहिँ संसार बदल्न सकिन्छ।’ आफ्नो भिजनको कार्यान्वयनमा दृढतापूर्वक निरन्तर लाग्नु नै नेतृत्वको सफलताको कडी हो। नेता आफै सबै कुराको विज्ञ हुँदैन, तर कुन काम कसलाई गराउने अनि कसको सल्लाह लिने भन्नेबारे चाहिँ नेता विवेकी हुन जरुरी छ।

विश्वसनीयता : राजनीतिमा नेताले आफ्नो टोली, समकालीन नेतृत्व अनि आम नागरिकको विश्वास जित्न जरुरी छ। जब नेताले इमानदारिताका साथ आम नागरिकको समस्यालाई मेरो समस्या हो भनेर समानुभूति राख्छ, तब आम नागरिकको साथ मिल्छ। जनआस्था प्राप्त सरकार जनमत प्राप्त सरकारभन्दा शक्तिशाली हुन्छ।

टिम वर्क : एउटा भनाइ छ, ‘तिमीले जस्तो पनि परिवर्तन ल्याउन सक्छौ, तर एक्लै सक्दैनौ।’ नेताले आफ्नो भिजनमा सबैको अपनत्व ल्याउन सक्नुपर्छ। आफ्नो टोलीमा सकारात्मक ऊर्जा सञ्चार गर्न सक्नुपर्छ। नेताले आफू होइन कि आफ्नो संगठन बलियो बनाउन सक्नुपर्छ।

कम इगो : राजनीतिमा सबैभन्दा ठूलो रोग ‘इगो’ हो। जति ‘ठूलो’ व्यक्ति, उति ठूलो इगो। यो मानवीय गुण नै हो। तर नेताले यसमै आफूलाई व्यवस्थित गर्न सक्नुपर्छ। आफ्नो मात्रै सोच ठिक छ र म आफैले मात्रै गर्न सक्छु भन्ने व्यक्तिले नेतृत्व गर्न सक्दैन।

प्रभावशाली व्यक्तित्व : नेता प्रभावशाली हुन जरुरी छ। ‘करिजम्याटिक’ नेताले आफूलाई सजिलै जनतासँग जोड्न सक्छ। आफ्नो संगठन अनि विपक्षलाई समेत विश्वासमा लिन सक्छ। अरुको भावना बुझ्न सक्ने अनि आफ्नो भिजन, ऊर्जा अनि विश्वासलाई अभिव्यक्त गर्नसक्ने व्यक्ति नै नेता बन्न सक्छ।

मूल्य–मान्यताको एकरूपता : नेतृत्वको सफलता अनि असफलता नेतृत्वको व्यक्तिगत मूल्य–मान्यता अनि उसले नेतृत्व गरेको संगठनको मूल्य–मान्यता बीचको एकरूपताको डिग्रीले निर्धारण गर्छ। तसर्थ नेताले आफूले काम गर्ने संगठन, आफ्ना सहकर्मी अनि पार्टी कार्यकर्ताको मूल्य–मान्यताबीच एकरूपता ल्याउन पनि नेतृत्व लिनुपर्छ।

अन्त्यमा, २० औं शताब्दीसम्म नेतृत्वको सफलताको मापन धेरै हदसम्म उसको त्यागले निर्धारण गर्‍यो। २१ औं शताब्दीमा नेतृत्वको सफलताको मापन त्यागले मात्रै गर्न सकिँदैन। अबको राजनीतिले नेताको योगदान, नेताले लिएको निर्णयको दूरगामी असर अनि त्यसले आम मानिसमा ल्याउने प्रभावसमेत हेरेर मूल्यांकन गर्नेछ। हाम्रो देशलाई समृद्ध बनाउन पनि सक्षम नेतृत्व चाहिएको छ, जो दूरदर्शी अनि आम नागरिकको विश्वास जित्न सक्ने होस्। हाम्रो देशले आम मानिसभन्दा अगाडि पनि होइन, पछाडि पनि होइन, सँगसँगै हिँड्न सक्ने नेता खोजिरहेको छ।
ट्विटर : @milanleads

प्रकाशित : आश्विन २२, २०७४ १५:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT