कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोकको अनुहार

समीक्षा
कुमारी लामा

काठमाडौँ — तरल छ समय ।
अक्टोबर २०१७ बाट सुरु हयासटयाग ‘मिटु’ आन्दोलनले विश्वभरका यौनहिंसापीडित महिलाहरूलाई एकत्रित बनाएको छ । हलिउड मुगल हार्वे ह्विन्सटेनजस्तो बहुरूपीको अनुहारको मुखुन्डो च्यातिदिएको छ । हयासटयाग मिटु महिला अधिकार आन्दोलनको पछिल्लो बुलन्द आवाज हो । 

भोकको अनुहार

तेहरानको एक व्यस्त सडकमा टाउको नछोपी आफ्नो हिजाबलाई लट्ठीमा बाँधेर हावामा हल्लाइदिन्छिन् भिदा मोभाहेड र विरोधस्वरूप मजाक गरिदिन्छिन् सरकारले महिलामाथि लादेको अनिवार्य हिजाब कानुनको ।


नेपालमा उमा बादी अधिकारका लागि संसद्मा बोल्न थालेकी छन् । सुदूरपश्चिमतिर ठडिरहने छाउगोठ बारम्बार भत्किई पनि रहेको छ पछिल्लो समय ।


महिला आन्दोलनका विविध रूपको साक्षी हो हामीले बाँच्दै गरेको समय । नेपाली साहित्यकारहरू पनि जर्मुराएका छन् हाम्रो समाजमा रीतिथितिका नाममा शक्तिकेन्द्रले लामो समयसम्म लादेका अनेकन कुरीतिहरू र सीमान्त समुदायका आवाजहरू सतहमा ल्याउनका लागि । यसैको पछिल्लो उदाहरण हो विवेक ओझाको उपन्यास ‘ऐलानी’ जसले बादी समुदायको पीडा र भोगाइलाई सशक्त ढंगमा प्रस्तुत गरेको छ ।


कुरीति एक विद्रूपता

जब देश दसवर्षे माओवादी द्वन्द्व र दोस्रो जनआन्दोलनको उभारमा थियो, त्यही समय सीमान्त बादी समुदायका महिलाहरू हाँक दिँदै थिए अर्धनग्न प्रदर्शनमा उत्रिएर सिंहदरबारलाई । त्यही समयबाट बढी चर्चामा आएको थियो बादीका समस्या । विवेक ओझाले बादी महिलाहरूको पीडाको दस्ताबेज तयार पारेका छन् ‘ऐलानी’ मा ।


मध्य र सुदूरपश्चिमका विभिन्न ठाउँहरूमा छरिएर रहेका यस समुदायका महिलाहरूको पेसा भन्नु शरीरको सौदा हो । लोग्ने र दाजुभाइले नै खोजिल्याउँछन् ग्राहक । अनि त्यही आम्दानीबाट जल्छ त्यस घरको चुलो । लामो समयदेखि त्यसै कार्यका लागि स्विकारिएको सीमान्त वर्ग, बादी । त्यही कार्यमा होमिएका तीन पुस्ताको कथा बोकेको छ ऐलानीले । नातिनी वसन्तीसम्म आइपुगिसकेको छ हजुरआमा फूलमाया र आमा धनसुवाको लेगेसी ।


कथामा उतारिएको छ फूलमायाको सुदूरपश्चिम पहाडदेखि मधेस महेन्द्र राजमार्गको बादी बस्ती मुढासम्मको यात्रा । वास्तवमा यस उपन्यासले बादी महिलाको पीडा मात्रै भन्दैन, भन्दै जान्छ फूलमाया र मुखियाको सच्चा प्रेमकहानी र शक्तिको अनौठो खेल पनि । केही बोरी धान, कुखुरा र केही नयाँ कपडामा साटिएको हो फूलमायाको जवानी पहिलो पटक । यो उसको मात्रै हैन उमेर भएका सबै बादी युवतीहरूको नियति हो । पहिलोचोटि धनीमानीले छोइदिँदा उनीहरू गर्व गर्छन् । किनकि त्यहाँ जोडिएको छ उनीहरूले पाउने उपहार । चौध पन्ध्रकी फूलमतीले पाएको उपहार देखी निकै खुसी भएकी थिई आमा ।


छोरी जन्मँदा खुसी हुन्छ बादी परिवार किनकि उही नै त हो पछि काम गरी परिवार पाल्ने । बाहिरी संसारभन्दा निकै भिन्न छ उनीहरूको दुनियाँ । या भिन्न पारिएको छ उनीहरूको मानसिकता ती शक्तिशालीहरूले उनीहरूमाथि लादेका अनेकन सामाजिक, संस्कृतिक बन्धन र नीतिनियमका कारण । बारम्बार उही इतिहास दोहोरिन्छ बादी परिवारमा रूपरंग थोरै फेरिए पनि । फूलमायाकी आमाको कुमारित्व एक बोरा धानमा बिक्री भएको थियो भने उसका लागि अलिक बढी बोरामा, बस् । त्यसैमा पनि मख्ख छन् परिवार । मख्ख छे फूलमाया । किन कि अब केही दिन भात मात्रै पाक्नेछ त्यस घरमा । एउटा गरिब समुदायको निरीहताको पराकाष्ठा उप्काउँछन् लेखक । यो वास्तवमै पीडाको महासागर हो ।

बादी महिलाहरूले उमेर पुगेसँगै कामधन्दा सुरु गर्नु त सामान्य भइगए । उनीहरूभित्र एकदमै फरक मानसिकता छ, जो साह्रै डरलाग्दो पनि छ । तर ती मानसिकता उनीहरूमा उसै पलाएका निश्चय नै होइन । ती त उनीहरूमाथि विभिन्न रूपमा शक्तिकेन्द्रहरूले आफ्नो फाइदाका लागि लादेको नियम कानुनको उपज हो । लेखकले उनीहरूभित्रका अनेकन मानसिकता उजागर गरेका छन् । धर्मको डर देखाई धार्मिक मठका मठाधीशहरूदेखि शक्तिकेन्द्रका मठाधीशहरूले उनीहरूलाई अन्य पेसा गर्न रोक लागाएका छन् ।


क्यान हामी खेतीपाती गर्दाइनौ आमोई ? क्यान हामी गाईबस्तु कुखुरा क्यै पाल्दाइनौ ?

पाप लाग्छ । हामी त नाचगानका लागि जन्म्याका जात हौं । मालिकको सेवा गर्‍या धर्म हुन्छ । खेतीपाती गर्न र बस्तुभाउ पाल्न हाम्रो जातमा लेख्या छैन । ( पृष्ठ १८ )

शक्तिपीठहरूले उनीहरूको मानसिकतामा यसैगरी शासन गरेका छन् । र, यही कुरा पुस्तौंपुस्ता हस्तान्तरण हुँदै आएको छ । बादी महिलाहरूको बारम्बार बिहे हुनु, बाउ थाहै नभएको बच्चा जन्माउनु, ग्राहक पाउँदा खुसी हुनु र नपाउँदा भोको पेट सुत्नु, शरीर बिक्री हुन छाड्दा पीडाले ग्रस्त हुनुजस्ता कुराहरू अति सामान्य घटनाहरू हुन् त्यस समुदायमा । उनीहरूलाई सामान्य लाग्छ आफ्नी आमा कुनै ग्राहकसँग लठारिँदै घरभित्र पसेको दृश्य । फूलमाया पनि अभ्यस्त भइसकेकी छ यी सब कुराको । अब उसको पालो आएको छ । तर उसको कुरा अलिक फरक हुन्छ । ऊ सबैको ओछयान हुनु पर्दैन किनकि ऊमाथि मुखियाको नजर छ । अझ भनौं ऊ मुखियाकी एकलौटी भएकी छे । गजब कुरा के हुन्छ भने, त्यहाँ शरीरको मात्र हैन मनको पनि मिलन हुन्छ । मुखिया र फूलमायाको माया झ्याङ्गिँंदै जान्छ । र, एक दिन घोडा चढाई लैजान्छ उसको रातो घरमा कान्छी बनाई राख्न ।


मायाप्रेम भए पनि फेरि समाज तर यही हो । मुखिया जकडिन्छ सामाजिक बन्धनहरूबाट । निकै समय बूढो मुखियाको रखौटी भएर बसेकी फूलमाया एक दिन कसैले थाहा नपाउने गरी आफ्नो स्वतन्त्रताको यात्रामा निस्कन्छे ।


भोकको अनुहार

थरीथरीका हुँदा रैछन् भोक । शक्तिको, मायाको, प्रगतिको, महत्त्वाकांक्षाको, अनि सबभन्दा जब्बर त पेटको । बादीहरूको भोक भन्नु केवल पेटको भोक हो । उनीहरूको लडाइँ पनि त्यही नै । बादीको दृष्टिमा भोकको एक डरलाग्दो चित्रण यसरी पोखिन्छ, ‘साहेब भोकमा मानिस के बन्दैन ? बाठो मान्छे चोर बन्छ । बलियो मान्छे डाँका बन्छ । भोकमा हामीजस्ता मान्छेहरू ओछयान बन्छौँ । जसको शरीर पनि बिक्दैन उनीहरू भिखारी बन्छन् । जसले भीख माग्न सक्दैन उनीहरू भोकले नै मर्छन् । वास्तवमा जिन्दगी भोकले नै निर्धारण गर्दोरहेछ (पृष्ठ ११८) ।’


हो त्यही भोकबाट डोरिएको छ प्रत्येक जीवन, अझ भनौं बादी महिलाको शरीरको यात्रा । विभेदका अनेकन पत्रहरू उप्काउँछन् लेखक । अछुत जात भएर कुवा छोइदिएको निहुँमा ढुं्गाले हानीहानी मार्छन् कम्मानलाई । उच्च पदमा आसीन उच्च जातका भलाद्मीहरू जो दिनको उज्यालोमा उनीहरूले छोएको पानी पनि चलाउँदैनन् तर रातको अन्धकारमा भने उनीहरूको काँचो मासुको मज्जाले स्वाद लिन्छन् । महेन्द्र राजमार्गमा पर्ने एक बादी बस्ती, मुढाभित्रको अनेकन पिर–व्यथालाई सतहमा ल्याइदिएको छ यस उपन्यासले ।


राम्रै मोलमा बेचिने तरुनीको उत्सुकतादेखि बिक्री हुन छाडेपछिको निराशाले आत्महत्याको बाटो लिएकाहरूको पीडा छ । भारतमा बेचिएर फर्किएकादेखि बालबच्चा हुकाउँदै पेसामा लागिरहेकाहरू पनि छन् त्यही बस्तीमा । ती सबका सब पेटकै लागि गरिरहेका छन् त्यो संघर्ष । बादी महिलाहरूको भोगाइ र पीडाको कलात्मक फेहरिस्ता हो ऐलानी । उनीहरूको भोगाइलाई विभिन्न पात्रका माध्यमबाट सजीव चित्रण गर्न सफल छन् लेखक ।


विद्रोह ब्लुज

ऐलानीको मुख्य पात्र फूलमायाको अस्तित्वचेत गजबको छ । ऊ आफ्नो स्वतन्त्रता उपभोग गर्न हिच्किचाउँदिनँ । धेरै समय रोगले थलिएको छ बूढो मुखिया । उसको तन्नेरी भाइ पछि नै पर्छ फूलमायाको । बस्दै भन्दै जाँदा सामीप्य बढ्छ । तर उसलाई कुनै ग्लानि हुन्न त्यस सामीप्य र संसर्गको । ऊ आफ्नो जीवनको बाटो आफैंले तय गर्न पछि पर्दिन । त्यसैले एक दिन एउटा स्वतन्त्रताको उडान लिन्छे । मुखियाको रातोघरको सुखसयल छाडी लाग्छे आफ्नो संघर्षको बाटो । यो बादी हजुरआमा पुस्ताकी फूलमायाको भयंकर विद्रोह हो ।


अर्को प्रसंग पनि छ जहाँ ऊ आफ्नो अस्तित्वबारे निकै सजग देखिन्छे । पैसा तिरेर बादी महिलामाथि चढ्छन् पुरुषहरू । अब ऊसँग पनि पैसा छ । पुरुषलाई पैसा दिएर तिनीमाथि चढेर यौन सन्तुष्टि लिन्छे । मनमा एउटा प्रश्नको बास छ, सधैँ पुरुष मात्रै माथि किन ? फूलमायाभित्रको अलिकति बदला, अलिकति विद्रोह, अलिकति चेतनाले दिएको सनक मीठो गरी प्रस्तुत गर्छन् लेखक ।


अर्की महत्त्वपूर्ण पात्र वसन्ती बादी, जसले बाँच्दै गरेको समय भनेको देशमा लोकतन्त्रको स्थापना भएपछिको परिवर्तिन समय हो । ऊभित्र विद्रोहको लप्का त छँदैछ त्यसका साथै चेतनाको उज्यालो पनि निकै लोभलाग्दो छ । ऊ कथावाचक अमरसँग घण्टौं विभिन्न विषयमा खरो उत्रन सक्छे । महाभारतका विभिन्न महिला पात्रहरूले भोगेका अन्याय र ईश्वरको अस्तित्वको विषयमा पनि निकै खरो तर्कवितर्क गर्छे । ऊ जुझारु र आफ्नो तर्कलाई प्रस्तुत गर्न सक्नेखाले बौद्धिक पात्रको रूप लेखकले देखाएका छन् ।


केही भन्नु

बादी समुदायको समग्र पीडालाई निकै मार्मिक र सजीव ढंगमा चित्रण गरेका लेखक विवेक ओझेलका केही पाटाहरू भने अलि खुकुलो छाडिदिएका छन् । हजुरआमा फूलमायाको पात्रचित्रणमा निकै सतर्कता अपनाएका लेखक आजकी वसन्तीको चरित्र भने सशक्त रूपमा उतार्न सकेका देखिँदैनन् ।


कथावाचकसँगको केही बौद्धिक बहसबाहेक उनले परिवर्तन र आफ्नो अस्तित्वका खातिर केही गरेको देखिँदैन । आफ्नो हक अधिकारका लागि सजग साथै बादी आन्दोलनमा समेत लागेकी वसन्तीमा अस्तित्वचेत नै देखिन्न । बरु उल्टै अमरको प्रेममा परेर उसैले नै उद्धार गरिदेला भनने परनिर्भर मनस्थिति पो बनाएकी छ । वसन्ती पात्रमाथि लेखकले न्याय गर्न नसकेको देखिन्छ ।


पात्रहरू जमेर बसेका छन् । उनीहरू परिवर्तनमुखी छैनन् । उही पेसा नै निरन्तरता दिइरहेका छन् । बादी आन्दोलनपछिको समय छ उपन्यासमा तर पात्रहरू उही पेसामा छन् । ०६४, ०६५ पछि त बादीहरूको हक अधिकारका विषयमा सरकार र अन्य संस्थाहरूले पनि धेरै नै कामहरू गरेका थिए । उनीहरूलाई अन्य पेसा व्यवसायमा लाग्ने प्रोत्साहन, नागरिकता, उचित आवासका साथै उनीहरूको शिक्षाका लागि पनि विभिन्न होस्टलहरूमा राख्नेलगायतका कामहरू भएका थिए । तर लेखक भने उनीहरू अझै पनि त्यही पेसामा रहेको देखाउँछन् । साथै भारतबाट उद्धार गरी केही सीपहरू दिएर आत्मनिर्भर भएका महिलाहरू पनि फेरि उही पेसामा लाग्ने सोच बनाएको चित्रण अपाच्य लाग्छ ।


त्यस्तो सीप सिकाएर के काम ? सिकेर पनि के काम ? त्योभन्दा त यही शरीर जिन्दावाद । आखिर मरेपछि माटै हो क्यार । (पृष्ठ २११)


बाध्यात्मक परिस्थितिबाहेक के महिलाहरू आफ्नो शरीरको व्यापार रुचाउलान् ? लेखक अलि असंवेदनशील लाग्छन् यस मामलामा ।


यस उपन्यासको निकै ठूलो छिद्र भन्नु आशाको अभाव पनि हो । अब बादीहरू त्यस पेसाबाट अलग भएर अन्य पेसा व्यवसायमा लागेर सम्मानजनक जीवन बाँचिरहेको समयमा उपन्यसका पात्रहरूमा भने थोरै परिवर्तन पनि देखिँदैन । आशाको सञ्चार गराउन नसक्दा ऐलानी केवल बादीहरूको पीडाको दस्ताबेज मात्र भएको छ ।


केही छिद्रका बाबजुद ‘ऐलानी’, लेखिनैपर्ने अति नै संवेदनशील विषयमा लेखिएको एक शक्तिशाली उपन्यास हो ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?