कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रवादलाई सैनिक फुली

राजा महेन्द्रद्वारा स्थापित पञ्चायती शासनलाई घिमिरेले साहित्यिक–सांस्कृतिक क्षेत्रबाट एकातिर निरन्तर प्रशासक भएर बल पुर्‍याइरहे, अर्कोतिर गीत र कविताका माध्यमबाट त्यही थितिमा बुट्टा भरिरहे । 
सङ्गीत श्रोता

काठमाडौँ — माधव घिमिरे त्यस्ता कवि हुन्, जो पुरानो व्यवस्थाका सांस्कृतिक हर्ताकर्ता हुन्छन् अनि फेरिएको व्यवस्थामा पुन: फिट भइहाल्छन् । नेपाली राज्यको अन्तर्यमा रहेको राष्ट्रवादी चरित्रकै कारण हरेक युगले उनलाई वरण गरिरहन्छ किनभने माधव घिमिरे राष्ट्रवादका सबैभन्दा सफल गायक हुन् ।

राष्ट्रवादलाई सैनिक फुली

हामी भन्छौँ, राजतन्त्रात्मक व्यवस्थासँग जुधेर नेपाली लोकतन्त्रले गणतन्त्रमा पाइला टेक्यो । हामी भन्छौँ, केन्द्रीकृत राज्य फेरेर नेपाली लोकतन्त्रले सङ्घीय र समावेशी चरित्र ग्रहण गरिसक्यो । हो, संविधानत: हामी त्यही लोकतन्त्रमा छौँ तर व्यवहारमा नेपाली लोकतन्त्रले नबिसाएको एउटा गह्रुङ्गो भारी छ— राष्ट्रवाद । यो राष्ट्रवादलाई हिन्दू संस्कृति, नेपाली (पर्वते) भाषा, उच्चजातीय पहाडी पितृसत्ताले राजनीतिक र सांस्कृतिक क्षेत्रमा निरन्तरता दिइरहेकै छ । र, यसले सैन्य क्षेत्रबाट मूल टेको पाइरहेको छ, नेपाली सेनाबाट । सरकारहरू फेरिइरहे पनि नेपाली राज्यको मूल चरित्रमा राष्ट्रवाद यथावत् छ भन्ने पछिल्लो तर बलियो उदाहरण हो— कवि माधव घिमिरेलाई सेनाकै सिफारिसमा दिइएको सैन्य पदवी ।

घिमिरे नेपाली साहित्यको सत्ताधारी शाखाका पक्का प्रतिबद्ध कवि हुन् । विगत पौने शताब्दीभरिको साहित्य इतिहास हेर्ने हो भने उनी आफ्नो राष्ट्रवादी छविमा कतै विचलित छैनन् । सत्तासँगको उनको प्रत्यक्ष आबद्धता अटुट छ । राणाकाल (१९९९) बाटै भाषानुवाद परिषद्मा नियुक्त भई सरकारी अड्डाको बेतनभोगी जागिर सुरु गरेका यी ९९ वर्षीय कविले सरकारी अखबार ‘गोरखापत्र’ मा २००२ सालमै काम थालेका थिए । २००७ सालपछिको प्रजातन्त्रकालमा उनी नेपाली भाषा प्रकाशिनी समिति, रोयल नेपाल एकेडेमी अनि विभिन्न शैक्षिक संस्थामा बसे । २०१७ सालपछिको निरंकुश पञ्चायतकालमा त उनी राजकीय प्रज्ञा प्रतिष्ठानमा बसेर महेन्द्रीय परिकल्पनाको सांस्कृतिक स्याहार–सुसारमा तल्लीन रहे ।

महेन्द्रको जन्मोत्सवमा ‘काव्यार्चना’ देखि वार्षिक ‘महेन्द्र प्रवचनमाला’ शृंखला प्रकाशनसम्ममा उनको नेतृत्वदायी भूमिका देखिन्थ्यो । एकेडेमीका प्रकाशनहरूमा भूमिका लेख्नु र हरेक भूमिकामा राजाप्रति चाकरी बजाउनु उनको जागिरे–चर्या नै थियो । निम्नस्तरको पारिवारिक आर्थिक अवस्थाबाट आएका उनी अविच्छिन्न सरकारी बेतनभोगी मात्रै भएनन्, ०१८ सालमा एकेडेमीमा भएकै बखत सरकारबाट चितवनमा १२ बिघा ५ कठ्ठा जमिन पनि सित्तैमा प्राप्त गरे (कवि घिमिरे र उनको काव्य चिन्तन) । एकेडेमीमा उनी २०१४ सालदेखि २०४७ सालसम्म साढे तीन दशक रहे । सदस्य, उपकुलपति हुँदै कुलपतिसम्म रहेका उनी त्यसको आजीवन सदस्यसमेत बनाइए ।

राजा महेन्द्रद्वारा सैन्यबलमा स्थापित गरिएको पञ्चायती शासनलाई घिमिरेले साहित्यिक–सांस्कृतिक क्षेत्रबाट एकातिर निरन्तर प्रशासक भएर बल पुर्‍याइरहे, अर्कोतिर गीत र कविताका माध्यमबाट त्यही थितिमा बुट्टा भरिरहे । जननिर्वाचित प्रधानमन्त्री (बीपी कोइराला) लाई अपदस्थ गरी सुरु गरिएको ‘माटो सुहाउँदो प्रजातन्त्र’ भनिने निर्दलीय पञ्चायत अर्थात् राजाको शासनलाई घिमिरेले ‘युगानुकूल नव निर्माण प्रारम्भ’ भनेका छन् । महेन्द्र र पञ्चायतबारे ‘महेन्द्र प्रवचनमाला’ पुस्तकमा उनले लेखेका छन्, ‘श्री ५ महेन्द्रमा विलक्षण व्यक्तित्व थियो । त्यो दुब्लो पातलो शरीरभित्र अदम्य दृढता थियो ।

...मौसुफभित्रका राजाबाट राष्ट्रको भौतिक र आध्यात्मिक, आर्थिक र सामाजिक आदि प्रत्येक पक्षमा युगानुकूल नवनिर्माण प्रारम्भ भए । नवनेपालमा हामी जति नै उन्नति गर्दै जानेछौँ, त्यसको जगमा त्यही अदम्य दृढ व्यक्तित्व रहनेछ । हामी जति नै पल्लवित र पुष्पित हुँदै जानेछौँ, त्यसको जरामा त्यही सिर्जनशील व्यक्तित्व हुनेछ ।’

पञ्चायतले अभ्यास गरेको र प्रवद्र्धन गरेको राष्ट्रवादले एक भाषा, एक भेष, एक धर्म, एक संस्कृति र एक जातिलाई श्रेष्ठ र बाँकीलाई दोयम दर्जामा राख्थ्यो र सीमान्तमा धकेल्थ्यो । देश बनाएको जस राजामहाराजालाई दिइन्थ्यो भने राजारानीलाई प्रजावत्सल देखाउन अनेक सांस्कृतिक उपक्रमहरू गरिन्थे । कवि घिमिरेका ‘राष्ट्रनिर्माता’, ‘मालती मङ्गले’, ‘राजेश्वरी’ जस्ता खण्डकाव्य त्यसै उद्देश्यद्वारा प्रेरित भएर रचिएका छन् । उनले यस्तो राष्ट्रवादी अभियानलाई ‘राष्ट्रिय आत्माको परिष्कार’ भनेका छन् । त्यसो त सीधै राजाको नाम नलिईकन वा पञ्चायतको ठाडो पक्षपोषण नगरीकन पनि उनले थुप्रै गीत, गीतिनाटक र काव्य रचना गरेका छन्, तिनको स्वर पनि कहीँ न कहीँ पुरातन मूल्यमा आधारित भएको पाइन्छ ।

प्रकृतिप्रेम व्यक्त गरिएका कविता होऊन् वा प्रणय सम्बन्धमा आधारित गीत उनका अधिकांश रचनामा क्षेत्रीय, लैङ्गिक, जातिगत र धार्मिक विभेदको गन्ध आइरहन्छ । समग्रमा अतीतमोह र पहाडप्रेम उनका रचनाको मूलस्वर हो । उनका यस्ता रचना पञ्चायत अवधिभरि स्कुल र कलेजमा अनिवार्य पाठभित्र राखियो । बहुदलकाल र गणतन्त्र स्थापनापछि पनि पाठ्यपुस्तकको पहिलो लहरमा घिमिरेकै राष्ट्रवादी रचना छन् । यसबाट के पुष्टि हुन्छ भने घिमिरे त्यस्ता कवि हुन्, जो पुरानो व्यवस्थाका सांस्कृतिक हर्ताकर्ता हुन्छन् अनि फेरिएको व्यवस्थामा पुन: फिट भइहाल्छन् । माथि भनिएझैँ नेपाली राज्यको अन्तर्यमा रहेको राष्ट्रवादी चरित्रकै कारण हरेक युगले उनलाई वरण गरिरहन्छ किनभने माधव घिमिरे राष्ट्रवादका सबैभन्दा सफल गायक हुन् ।

०४६ सालमा बहुदलीय प्रजातन्त्र पुन:स्थापना भएपछि पनि यी कविलाई सरकारी, अर्धसरकारी सेवासुविधाहरूभन्दा टाढा हुनुपरेन । वीरेन्द्र शाहको हत्यापछि राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिए, यही बेलामा यिनलाई ‘राष्ट्रकवि’ उपाधि दिइयो, देशका ठूला सहरमा अभिनन्दन गरियो र सेवासुविधा थपियो । त्यतिबेलाका मिडियाले उनको अतिरिक्त बढाइचढाइ गरे । ०५९ सालपछि राजाको सक्रिय शासनमै बनेको त्यही सरकार हो, जसले सत्ताधारी विचार राख्ने घिमिरेलाई अभिनन्दन गर्दै ‘राष्ट्रकवि’ उपाधि दिएको थियो भने विद्रोही विचार राख्ने कवि कृष्ण सेन इच्छुकलाई कविता लेखेका आधारमा ‘आतंककारी’ भन्दै प्रहरी थानाभित्रै हत्या गरेको थियो । घिमिरेको अभिनन्दन चलेको साताभरि राजधानीका अखबारहरूले रङ्गीन तस्बिरसहित उनको व्यक्तिवृत्त प्रकाशित गरिरहेका थिए तर त्यही साता सेनाले पक्रेर बेपत्ता पारेका अर्का कवि पूर्णविरामको अज्ञात अवस्थाबारे धेरै लेखक झन्डै चुपचाप अवस्थामा थिए । ‘कान्तिपुर’ का तत्कालीन स्तम्भकार खगेन्द्र सङ्ग्रौलाले प्रतिवाद गर्दै लेखे, ‘कविको उचाइ पारखी पाठकका आँखाले नापिन्छ, शासकको फिताले नापिँदैन । कविको ओजन जानिफकार समीक्षकको तुलोमा तौलिइन्छ, दरबारको खरिदारको तुलोमा तौलिइँदैन । कविको सम्मानको किटानी सचेत नागरिकको गुणग्राही हृदयले गर्छ, शासकबाट पाइने बकसले गर्दैन ।’ (२०६० असोज १४, कान्तिपुर)

२०६२/०६३ सालको जनआन्दोलनयताको एक दशक राजनीतिमा लोकतन्त्र, समावेशिता, पहिचान, सङ्घीयता बहसको केन्द्रमा थियो तर सार्वजनिक जीवनमा माधव घिमिरेको चर्चा हराएन । उनी गणतान्त्रिक विद्यालय र विश्वविद्यालयका पाठयपुस्तकका पानामा पनि यथावत् रहे अनि मिडियाका कभर पृष्ठमा पनि नियमित छाइरहे । यो समयमा उनको न कुनै नयाँ पुस्तक प्रकाशित भयो, न कुनै उल्लेखनीय रचना नै सार्वजनिक भयो तर पुरस्कार, सम्मान, उपाधि दिने क्रम चली नै रहयो । यसैको पछिल्लो कडीका रूपमा शेरबहादुर देउवा नेतृत्वको सरकारले जाँदाजाँदै उनलाई दिएको नेपाली सेनाको सहायक रथीको मानार्थ पदवी हो । यो पदवी प्रकरण एकातिर माधव घिमिरेको व्यक्तित्व सम्झाउने–उजिल्याउने नयाँ सन्दर्भ बनेको छ, अर्कोतिर जरैसम्म गाडिएर बसेको नेपाली राष्ट्रवाद बुझ्ने नयाँ आँखिझयाल–घटना भएको छ । घिमिरेलाई राज्यकै तहबाट उच्च सम्मान र भूमिका दिने काम पहिले पञ्चायतकालमा भयो, पछि ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि (राष्ट्रकवि उपाधि) भयो र अहिले नेपाली सेनाको रुचिमा गणतान्त्रिक व्यवस्थाको राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाटै भयो । यसैबाट बुझ्न सकिन्छ, नेपाली राज्यको सांस्कृतिक चरित्रमा नआएको परिवर्तन ।

घिमिरे नेपाली राष्ट्रवादका देखिने, बुझिने र सम्प्रेषणीय विम्ब हुन् । नेपालमा राष्ट्रवाद कति बलियो छ भन्ने दृष्टान्तका लागि यतिखेरका सरकारी सांस्कृतिक तथा प्राज्ञिक निकायको गतिविधि र तिनको नेतृत्व हेर्दासमेत थाहा लाग्छ । राजामहाराजाको जन्मोत्सव मनाउने तर गणतन्त्र दिवसमा केही पनि नगर्नेहरू र हिजो घिमिरेकै रथयात्रा गर्ने, गराउनेहरू अहिलेको प्रज्ञा प्रतिष्ठानको निर्णायक ठाउँमा छन् । सांस्कृतिक क्षेत्रको मात्रै के कुरा, पछिल्लो एक/डेढ वर्षमा प्रधानमन्त्री केपी ओलीले सबैभन्दा धेरै हिमचिम बढाएका ‘ठूला लेखक’ मा पनि यिनै माधव घिमिरे पर्छन् । साझा प्रकाशनको एउटा कार्यक्रममा ओलीले आफूले राष्ट्रवाद घिमिरेबाटै सिकेको भन्दै उनलाई गुरु सम्बोधन गरेका थिए, जवाफमा घिमिरले ओलीलाई ‘चन्द्रशमशेरजस्तो शक्तिशाली प्रधानमन्त्री, साहित्यिक प्रधानमन्त्री’ भन्दै प्रशंसा गरेका थिए ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दी चलिरहेका बेला ओली र घिमिरेले संयुक्त रूपमा माइतीघरमा राष्ट्रिय झन्डा गाडेका थिए । देशलाई ‘जनगणतन्त्र’ बनाउने सपना देख्दै र देखाउँदै सशस्त्र सङ्घर्षको नेतृत्व गर्ने नेता प्रचण्डले समेत संविधान घोषणापछिको आमसभामा कुनै जनवादी गीत सम्झेनन्, यिनै कविको गीत गाए– नेपाली हामी रहौँला कहाँ नेपालै नरहे । राजा महेन्द्रको माधव घिमिरेले नै उद्धृत गरिरहने ‘नेपालको अस्तित्व भेटियो भने नेपालीको पनि अस्तित्व मेटिनेछ’ (महेन्द्र प्रवचनमाला, २०३९) भनाइमा आधारित भएर लेखिएको यो गीत अहिले पनि कक्षा ११ को पहिलो पाठका रूपमा छ ।

कहिलेकाहीँ इतिहासको गति वा अवरोध बुझ्न राजनीतिका तथ्य–तथ्याङ्क वा औपचारिक अभिलेखहरूको अध्ययन मात्रै पर्याप्त हुँदैन, त्यसका लागि साहित्य र संस्कृतिको दुनियाँमा पनि विचरण गर्नुपर्ने हुन्छ । नेपालको इतिहासमा पञ्चायती राष्ट्रवाद र गोर्खालीको वीर–विम्ब निर्माणमा साहित्यको भूमिका राजनीतिको भन्दा कम छैन । त्यसका एक जना प्रमुख जसी सर्जक घिमिरे नै हुन् । गणतन्त्र नेपालकी राष्ट्रपति यतिखेर तिनै शाही कविलाई किन सम्मान गरिरहेकी छन् ? यहीँनेर देशको यतिखेरको सांस्कृतिक यथार्थ बुझ्न राजनीतिका औपचारिक अभिलेखहरू अपर्याप्त महसुस हुँदा छन् । संविधानत: लोकतान्त्रिक भनिएको देशको सांस्कृतिक जमिन अझै सामन्तवादी र अन्धराष्ट्रवादी छ भन्ने पुष्टि राजतन्त्रका स्तुतिगायकको काँधमा थपिएको सैनिक फुलीले गरेको छ । साथै यो घटनाले नेपाली सेनासामु पनि दुईवटा प्रश्न तेर्साएको छ— व्यापार मार्फत भूमिका बढाइरहेको भनिएको नेपाली सेनाले सांस्कृतिक क्षेत्रमा पनि प्रभाव विस्तार गर्न खोजेको हो ? के सेना अहिले पनि राजतन्त्रकालीन राष्ट्रवादका आधारमा चल्ने संस्था हो ?

प्रकाशित : फाल्गुन १९, २०७४ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?