कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

“जनक” पात्रसँग जम्काभेट

राईजी नेपाली साहित्यकारहरूमा अत्यन्त धेरै पढ्ने व्यक्तिमा पर्छन् । पढ्ने त धेरै होलान् तर मैले भेटेका दुई अग्रज साहित्यकार इन्द्रबहादुर राई र शंकर लामिछाने निकै पढ्नेमध्ये पर्दछन् । 
राईजीको बोली–वचन अत्यन्त विनम्र थियो, एउटा ठूलो लेखक भएको भाव कतैबाट झल्किँदैनथ्यो । उनका बोली–वचनले म प्रभावित भएको थिएँ । नरम स्वरमा, सैद्धान्तिक व्याख्या गर्ने सामथ्र्यले पनि म अत्यन्त प्रभावित थिएँ । 
डा ध्रुवचन्द्र गौतम

काठमाडौँ — जुन समयमा पारिजातको ‘शिरीषको फूल’ले काठमाडौंमा तहल्का मच्चाएको थियो, त्यही समयमा दार्जिलिङमा जन्मेका ‘आयामेली’ लेखकले पनि काठमाडौंमा तहल्कै मच्चाएको थियो । यो नेपाली भाषामा जन्मेको सम्भवत: प्रथम साहित्यिक आन्दोलन थियो ।

“जनक” पात्रसँग जम्काभेट

इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरवल्लभ यसका प्रणेता थिए । यीमध्ये पनि इन्द्रबहादुर राई यसका प्रमुख सिद्धान्तकार थिए भन्ने मान्यता थियो । आयामेली आन्दोलन २०२० सालमा जन्मेर आजसम्म पनि कुनै न कुनै रूपमा नेपाली साहित्यमा आफ्नो छाप छोड्न समर्थ छ ।


इन्द्रबहादुर राई त सन् ६० कै थालनीमा पुस्तक लेखेर चर्चित भएका थिए । मैले भने उनको नाउँ पारिजातबाट सुनें । उनी आई.बी भन्थिन् । एक दिन सोधें— के आई.बी. ? पारिजातले बताइन्, आई.बी. भनेको इन्द्रबहादुर राई । ‘आज रमिता छ’ उनको प्रख्यात उपन्यास प्रकाशित भइसकेको थियो । म भने हाम्रो बी.ए. मा राखिएको नेपाली उपन्यास ‘मन’ र एम.ए. का ‘रूपमती’, ‘भ्रमर’ आदि नेपाली उपन्यास पढ्दै थिएँ । पछि निस्केपनि ‘शिरीषको फूल’ पहिले र ‘आज रमिता छ’ पछि पढेको हुँ ।

म त्यस बखतसम्म प्रयोगवादबारे चर्चा गर्ने भइसकेको थिएँ । त्यसकारण, जब मैले ‘आज रमिता छ’ पढें, म तत्काल त्यो उपन्यास र लेखकको प्रशंसकमा परिणत भएँ । त्यसको भाषा–शैली वा पात्र–प्रस्तुति सब अलग्ग प्रकारका थिए, प्रचलित लेखनभन्दा फरक, पछि त्यो उपन्यास मैले पढाउनुपर्ने भएपछि अझै बढी पटक पढें ।


इन्द्रबहादुर राईका कथाहरू पनि प्रयोगशीलताका अनुपम नमुना हुन्थे । एउटा ‘उबडखाबड’ गद्य थियो उनको, जुन मलाई सार्थक लाग्दथ्यो । लेककका साथै लेखकप्रति जिज्ञासा जाग्दछ, उनलाई भेट्ने इच्छा भयो । तर त्यसका लागि अझ कैंयौं वर्ष पर्खनुपर्ने थियो । नभेटे पनि उनका विचार र रचनाहरू पत्रपत्रिकामा आइरहन्थे, जसमा ‘तेस्रो आयाम’ को वकालत हुन्थ्यो । त्यसैगरी ‘तेस्रो आयाम’ का विपक्षमा रचना पनि पढिन्थ्यो, खासगरी ‘रूप–रेखा’ मा । ‘रूप–रेखा’ मा हाम्रा पनि रचनाहरू छापिन थालेका थिए, त्यसकारणले ध्यानपूर्वक र नबिराई पढिन्थ्यो । इन्द्रबहादुर सुरुमा पारिजात र त्यसपछि ‘रूप–रेखा’ मार्फत मेरो परिचित लेखक बनेका थिए ।


२०२३ सालमा एउटा सात दिन लामो सेमिनार भएको थियो झापामा । त्यसमा अरू त धेरै लेखक थिए, इन्द्रबहादुर राईको पनि आउने कुरा त सुनेको थिएँ, आएको भए पनि मैले भेट्न पाइनँ । ‘अभिव्यक्ति’का सम्पादक नगेन्द्रराज शर्मा भन्छन्— आएका थिए । अहिले मलाई सम्झना भएन ।

सेमिनारमा आयामेली लेखनलाई लिएर तिखो बहस भएको भने याद छ ।


पछि २०३७ सालमा होला, म ‘साझा प्रकाशन’ मा सञ्चालक थिएँ, कृष्णचन्द्रसिं प्रधान जीएम र क्षेत्रप्रताप अधिकारी अध्यक्ष थिए । मेरो ‘कट्टेल सरको चोटपटक’ निस्किसकेको थियोजस्तो लाग्छ ।

एक दिन योजना बन्यो, दार्जिलिङतिर पनि ‘साझा प्रकाशन’ को शाखा खोल्न सकिन्छ कि ? त्यसैको अध्ययन गर्न, कृष्णचन्द्रसिं प्रधानका साथ म पनि खटिएँ । कृष्णचन्द्रका साथ जाँदा मलाई धेरै सुविधा हुन्थ्यो । उनी एक प्रख्यात लेखक/समालोचक, दार्जिलिङसँग परिचित, त्यसकारण अलमल कुनै नहुने ।

मैले लेख्न थालेको पनि केही समय त भएकै थियो, तैपनि यति चाँडो चिनिने खालको लेखक पनि म थिइनँ । त कृष्णचन्द्रकै परिचयको ओतमा हिंड्नु सुविधाजनक हुन्थ्यो ।


त्यसबखत गोर्खाल्यान्ड आन्दालेन सुरु भइसकेको थियो । त्यसबखतका त्यसका नेता सुवास घिसिङ भूमिगत थिए । भूमिगत रूपमै उनी कृष्णचन्द्रसिंलाई भेट्न आएका थिए । घिसिङले पनि त कतिवटा उपन्यास लेखेका थिए । साहित्यकार कृष्णचन्द्रसिंलाई लुकेरै भए पनि भेट्न आउने कारणचाहिं त्यही होला । दार्जिलिङको हामी बसेको होटलमा उनी धेरैबेर बसे, आफ्नो राजनीतिक धारणा कृष्णजीलाई बताइरहे, केही साहित्यिक कुरा पनि गरे र गए ।


भोलिपल्टको भेट मेरा लागि बढी महत्त्वपूर्ण उत्सुकताले भरिएको थियो । हामी इन्द्रबहादुर राईसँग भेट्न जाँदै थियौं । कृष्णचन्द्रसँग फोनमा कुरा भइसकेजस्तो लाग्यो । हामी दुई जना दार्जिलिङको नागबेली उकालो–ओरालो बाटोमा हिँड्दै राईको घरमा पुग्यौं, अलिक ओरालोपछि थियो कि जस्तो लाग्छ हो कि होइन । सुदूर सम्झनाका आधारमा लेख्दै छु । घर सुन्दर थियो, लन पनि थियो, काठहरूको पनि राम्रो प्रयोग गरिएको घर थियो । इन्द्रबहादुर राई ढोकैमा उभिइरहेका थिए । आफ्नो बैठक कोठामा लगे, सुरुचिपूर्ण माहोलमा । कृष्णचन्द्रसिं र इन्द्रबहादुर राईले अंकमाल गरे । पुराना साथीजस्ता, अनौपचारिक कुरा गर्न थालिहाले । मैले आदरपूर्वक नमस्कार गरें । अग्रज र ‘आज रमिता छ’ का लेखक । कुनै पनि विधामा ‘ट्रेन्ड सेटर’ हरूप्रति मेरो आदर रहन्छ । त्यो लेखक छ भने झन् कुरै भएन । इन्द्रबहादुरप्रति मेरो आदरको कारण त्यही थियो । त्यसमाथित्यहीं मेरो पहिलो भेट भएको थियो उनीसित ।

मेरो आशाविपरीत, उनले मेरा केही कथा पढिसकेका रहेछन् । ‘कट्टेल सरको चोटपटक’ चाहिं भन्न सक्दिनँ, त्यो भर्खर निस्केको थियो । मैले पनि सोध्ने आँट गरिनँ ।


एउटा अर्को कुरा सम्झनलायक छ । राईसँग ‘तेस्रो आयामबारे कुरा गरूँला भन्ने थियो । गरें पनि । तर त्यतिन्जेलमा उनी ‘लीला–लेखन’ तर्फ आकर्षित भइसकेका थिए । यो कुरा जानकारीमा त थियो तर त्यति होइन ।


इन्द्रबहादुर अत्यन्त मसिनो स्वरमा कुरा गर्थे । उनको बोली–वचन अत्यन्त विनम्र थियो, एउटा ठूलो लेखक भएको भाव कतैबाट झल्किँदैनथ्यो । उनका बोली–वचनले म प्रभावित भएको थिएँ । त्यसैगरी नरम स्वरमा, सैद्धान्तिक व्याख्या गर्ने सामथ्र्यले पनि म अत्यन्त प्रभावित थिएँ ।


राईजी नेपाली साहित्यकारहरूमा अत्यन्त धेरै पढ्ने व्यक्तिमा पर्छन् । पढ्ने त धेरै होलान् तर मैले भेटेका दुई अग्रज साहित्यकार इन्द्रबहादुर राई र शंकर लामिछाने निकै पढ्नेमध्ये पर्दछन् ।

कृष्णचन्द्रसिं र राईजी त पुराना कुराहरू गर्न थाले । राईको ‘नेपाली उपन्यासका आधारहरू’ अलि अघि नै निक्लेको थियो । त्यस बखतसम्म कृष्णचन्द्रसिंको उपन्याससम्बन्धी ग्रन्थ पनि निस्केको थियो वा तरखर गर्दै थियो । दुईबीच, दुवैका ती पुस्तकको चर्चा पनि चल्यो ।


बीचबीचमा मौका पायो कि म आफ्नो प्रश्न राखिहाल्थें । इन्द्रबहादुर धेर्यपूर्वक मेरो त्यो प्रश्नको उत्तर दिन्थे, सन्तुष्ट हुनेगरी । तर मेरा प्रश्नहरू मेरा आफ्ना थिएनन्, एउटाबाहेक । यो एउटा पछि, अहिलेका प्रश्नहरू अन्य मानिसले गर्ने गरेकै प्रश्नहरू हुन्थे ।


जस्तो, चौथो आयाम पनि छ भने तेस्रो आयाम किन ? साहित्यमा चेप्टो यथार्थ र सोलोडोलो यथार्थ कसरी पहिल्याउने ? आदि । इन्द्रबहादुरले बताए— गौतमज्यू, यसरी हेर्नुपर्ला । आयामिक भनेको सोलोडोलो यथार्थ हो । अर्थात् यथार्थलाई समग्रतामा हेर्ने कोसिस । अरूले प्राय: त्यसो नगरेर यथार्थलाई पाटामा हेर्छन् । हामी कुनै वस्तुलाई जस्तो एउटा डल्लो छ, त्यो चारैतिबाट देखियोस् र त्यसैगरी चित्रित होस् भन्ने चाहन्छौं । अन्यले, डल्लीलाई जति देखियो, त्यति चित्रित गर्दछन् । यस्तैयस्तै यो मैले इन्द्र राईको भाषा होइन, मोटामोटी भाव सम्झेर लेखेको हुँ ।


यतिन्जेल कृष्णचन्द्र चुप लागेर बसिरहन्थे । त्यसले गर्दा तेस्रो आयामबारे त्यहाँ उनको धारणा सुन्न पाइएन । त्यहाँ हामीले चिया–खाजा मज्जाले खायौं । मज्जाले किनभने खाजा मज्जाको थियो, परिकारसहित ।


मेरो आफ्नो पछि लेख्छु भनेको प्रश्नचाहिं अर्कै थियो । त्यो प्रश्न मैले पछि ईश्वरवल्लभलाई पनि गरेको थिएँ, उत्तर दुवैको लगभग एउटै थियो । मैले सोधें, ‘राईजी तपाईंहरूको आयामिक लेखक अहिलेका अन्य लेखक–कविका लेखनभन्दा कुन अर्थमा भिन्न छ भनेर छुटयाउन सकिन्छ ?’

मैले त्यसबखतका चर्चित कविहरू मदन रेग्मी, द्वारिका श्रेष्ठ, भूपी शेरचन, कृष्णभक्त श्रेष्ठ, रत्नशमशेर, कुन्दन शर्मा आदिको नाउँ लिएको थिएँ, उदाहरणका रूपमा । यस प्रश्नमा राईजी धेरै बेर मौन रहे । धेरै बेरपछि भने, ‘गौतमज्यू त्यो त अहिले कठिन छ ।’

त्यसपछि मैले सोधिनँ यसबारे । उचित पनि लागेन । मैले बरु अर्कै कुरा गरें, ‘राईजी गद्यलाई राम्रो भन्न प्राय: ‘काव्यात्मक गद्य’ भनेर प्रशंसा गरिन्छ ।


‘काव्यात्मक हुनु नै गद्यको खुबी हो, गद्यात्मक गद्य राम्रो हुन सक्दैन ?’

‘एकदम ठीक । म पनि यही सोच्दछु,’ त्यसो भनेपछि राईले मलाई एउटा उपन्यासकारको नाउँ र उसको कृति टिपाइदिएका थिए । तर मसित हरायो र अहिले स्मरण छैन ।

‘मसित त्यो किताब थियो’ उनले भने, ‘तर कसैले लगेर फर्काएको छैन, नत्र म तपाईंलाई पढ्न दिन्थें ।’

यति सदाशयता नै इन्द्रबहादुर राईको पर्याप्त थियो, म एक नयाँ लेखकलाई । कद ठिक्कको कुरामा धैय, अठोट र विनम्रता कमैमा पाइन्छ । उनीमा थियो ।

हाम्रोमा हिंड्ने बेला भएको थियो । उभियौं । बाहिर निस्कँदा भित्तामा हेरें । देखें, त्यहाँ एउटा तस्बिर झुन्डिएको छ । तस्बिरमा कैयौं फणा भएको नागमाथि कृष्णजी नाचिरहेका छन् ।

मैले त्यो हेर्दै सोधें, ‘लीला–लेखन ?’

राईजीले त्यत्तिकै संक्षिप्त भने, ‘हो ।’


त्यसपछि हामीलाई ढोकासम्म पुर्‍याएर उनी उभिइरहे हामी देखिउन्जेलसम्म ।

म, यो भेट नै हाम्रो पहिलो र अन्तिम भेट हो भनेर लेख्न खोज्दाखोज्दै, मैले सम्झें, त्यो भेट हो भनेर लेख्न खोज्दाखोज्दै, मैले सम्झें, त्यो पहिलो भेट त थियो, अन्तिम होइन । त्यसैदिन वा अर्को दिन एक पटक राईसँग दार्जिलिङको दार्जिलिङे कुनै चोकमा भेटेको सम्झना छ । साहित्यिक दृष्टिले महत्त्वपूर्ण पनि छ । चोकमा बसेर हामी चिया खाइरहेका थियौं । त्यसै बखत त्यहाँ दुुईचार जना आए, इन्द्रबहादुर राईका परिचित । उनीहरूले हामीलाई पनि नमस्कार गरे । नमस्कार गर्दै हामी पनि उभियौं । ती सम्भवत: कृष्णचन्द्रजीका पूर्वपरिचित थिए । इन्द्रबहादरले मेरो परिचय दिए लेखकका रूपमा । त्यसपछि उनीहरूको परिचय दिन थाले, फलाना, यस्तो यस्तो आदि गर्दै, चौथो व्यक्तिको परिचय गराउँदा भने उहाँ, ‘आज रमिता छ’ का जनक । म त चकित नै भएँ । जनक, ‘आज रमिता छ’ उपन्यासका प्रमुख पात्र हुन् । त्यहाँ साक्षात त्यही पात्र देख्दा चकित हुनु स्वाभाविक थियो । यसरी स्वयं लेखकले नै फलानो, मेरो मात्र भनेर परिचय गराएको पहिलो पटक त थियो नै, अहिलेसम्म अन्तिम पटक पनि हो, भोलि अर्को आयो भने मात्र हो ।


मैले ती मान्छेसँग हात मिलाउँदा देखें, उनी एकोहोरो जिउका घुम्रेको कपाल भएका व्यक्ति थिए । अनुहार गहुँगोरो र चेप्टो खालको थियो । मैले ‘आज रमिता छ’ को जनकलाई सम्झिन खोजें, धेरै सम्झन त सकिनँ तर हो कि जस्तो लाग्यो, लेखकले नै चिनिएको वजन पनि त थियो नि त्यसमाथि ।

अर्को आश्चर्य केमा थियो भने तिनको बोलीवचन ठयाक्क लेखक इन्द्रबहादुर राईबाट पैंचो लिएजस्तो गरी मसिनो थियो ।


यसलाई म भन्न सक्छु, उनीसँगको अन्तिम भेट । स्मरणीय किन भयो भने लेखक र पात्र दुवैसँग साक्षात भेट भएको थियो । त्यसपछि हामी फर्केर आयौं । केही दिनपछि इन्द्रबहादुर राईले मलाई एउटा चिठी पठाए । दार्जिलिङमा केही कार्यक्रम भएका थिए, कृष्णचन्द्रको सम्मानमा बोल्थें म पनि । तिनैलाई सम्झँदै अन्त्यमा उनले लेखेका थिए—‘दार्जिलिङ विल नेभर फरगेट यू ।’ म धेरै उत्साहित भएको थिएँ, उनको त्यो प्रोत्साहनपूर्ण चिठीले । त्यो चिठी मसँग अहिले छैन, नत्र त्यसबाट अझै ‘कोट’ गर्थें । यतिचाहिं सम्झिरहें ।


धनगढीमा ‘नेपाल–भारत बीपी फाउन्डेसन’ को आयोजनामा म पनि जानुपर्ने थियो, जान सकिनँ । गोपाल अश्क गएका थिए । उनले आएर भने, ‘राई त राउर बडा तारिफ कइलन ह अपन पेपर मे ।’

त्यहाँ इन्द्रबहादुर राईले पनि पेपर प्रस्तुत गरेका रहेछन् । पछि त्यही कार्यपत्रबाट झिकेर ‘मौन’ उपन्यासको गातामा एक लाइन हालिएको छ, जसलाई मैले इन्द्रबहादुरको आशीर्वाद ठानेको छु ।

धु्रव सापकोटा भन्छन्, ‘इन्द्रबहादुरले पछिपछि पनि ठाउँठाउँमा तिम्रो प्रशंसा गरेका छन् ।’

इन्द्रबहादुर राई, नयाँ गद्यका निर्माता लेखकहरूमा आफ्नो दरो उपस्थिति जनाउने लेखक हुन् । उनको लेखन सधैं प्रयोगोन्मुखी रहयो, फरक रहयो यही उनको उच्चता हो । आज एक्कासि नै हो, उनको निधनले म उदास भएँ, मैले फोनमा ध्रुव सापकोटासित भनें, ‘जुन उमेरमा गए पनि गएपछि दु:ख लाग्दो रहेछ ।’


उनले धेरै कुरा हामीलाई छाडेर गएका छन्, जुन हामी र हामीपछिको पुस्तालाई उपयोगी हुनेछ ।

बौद्धिक लेखक इन्द्रबहादृुर राईलाई, आफ्नो भेटघाट र चिठीको प्रेरक सम्झनासहित श्रद्धाञ्जली हो यो लेख । इन्द्रबहादुरजस्ता लेखक नेपाली साहित्यको इतिहासमा समयले विस्मृत बनाउन नसक्ने नाउँ हो, यस्तो मेरो विश्वास छ ।

प्रकाशित : फाल्गुन २६, २०७४ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?