१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

‘आईबी : दार्जिलिङका मदनमणि’ 

सम्झना
पिटर जे कार्थक

काठमाडौँ — आईबी राईसहितको तीन सदस्यीय लेखक टोलीले सन् ६० को दशकमा जन्माएको ‘तेस्रो आयाम’ पत्रिकाको वर्ष १, अंक १ मै भनिएको छ, ‘हामी नबुझिने बनौंला । तर लोकप्रियताको लोभ गरिरहे केही लेख्न सकिन्न ।

हामीले अहिले सफलता देखाउन नसकेका हौंला, पछि जरुर सक्नेछौं । पछि आउनेहरूले त्यो गर्नेछन् र, गरिछाड्नेछन् । कारण मानिसको शरीर छाडी अरू केही पनि मर्दैन । विचार मर्दैन ।’ (१–४–१९६३) नभन्दै आईबी सर (मेरो टर्नबुल स्कुलका गुरु) ले शरीर छाडेर गए । विचार बाँचेकै छ । यसो भनिरहँदा आईबी सरको ‘आज रमिता छ’ उपन्याससँगको असहमति र पूरापूर संस्कृते–लेखाइको नमिलेको कुरो मेरो चासोमा सधैं रहिरहयो । ‘आज रमिता छ’ को सबैतिर वाहवाही सुन्छु । तर यो यतिबिघ्न ‘संस्कृते’ छ नि, यसलाई पहिला नेपालीमा अनुवाद गर्नु जरुरी छ । नेपालमा मदनमणि दीक्षितको ‘माधवी’ जस्तै । भन्नैपर्छ— दार्जिलिङको मदनमणि दीक्षित भनेको इन्द्रबहादुर राई हो । नेपालको इन्द्रबहादुर भनेको मदनमणि हो । मैले कतै पढेको छु— ‘माधवी’ का १ हजारभन्दा बढी संस्कृत शब्दको नेपालीकरण गरिएर ‘माधवी’ पुनर्लेखनमा आउँदै छ । हो, ‘आज रमिता छ’ लाई पनि यसै गर्नुपर्छ । यसलाई दार्जिलिङको बोली र टोनमा झार्नैपर्छ । त्यो संस्कृते भाषा उता दार्जिलिङको हुँदै होइन । सायद यता फिक्कलमा शिक्षक भएका बेला भाषाविद् महानन्द सापकोटाको संगत र प्रभावले गर्दा होला, आईबी सरले आफ्नो लेखाइलाई पूरै ‘संस्कृते’ बनाए । पादरी गंगाप्रसाद प्रधानले सन् १९२३ तिरै ‘गोर्खे खबरकागज’ मा काशी, बनारस, पटनातिर बसेर आएका अथवा पढेर आएकाहरूको भाषालाई ‘काँशीभाषे बोली’ भनेको थिए ।

फेरि ‘आज रमिता छ’ दार्जिलिङे कथा हुँदै होइन । मञ्जुश्री थापाले किन रोमाञ्चित भएर अंग्रेजी अनुवाद गरिन्, म भन्न सक्दिनँ । उपन्यासमा भनेजस्तो उताको समाजमा मेलमिलाप थियो भन्ने कुरा पनि ‘मिथ्या’ हो ।


आईबी राईले नेपाली भाषाका पक्षमा जे जति कुरा गरे पनि त्यसलाई नेपाली भाषा भन्ने कि गोर्खे भाषा भन्ने अन्योल रहिरहयो । उताका नेपालीहरू गोर्खाल्यान्डका गोर्खेहरू भए । अर्को कुरा, आईबी सरले दार्जिलिङमा नेपाली भाषाका लागि जे जति गरे, त्यो उनी एक्लैले गरेका होइनन् । धेरै योग्य–योग्य मानिसहरू उता थिए । खर्साङका प्रेम थापा, जोनाथन थापा, तारकबहादुर कार्की, गुमानसिंह चामलिङ, एडोल्ड रोङगोङ, गणेशलाल सुब्बाहरू र अरूहरू पनि थिए । पक्कै पनि आईबी सर यो ‘फोर्स’ को मियोमा थिए ।


उपन्यासबाहेक बरु आईबी सरका कथाहरूमा घटेकै कुरा छन्, त्यहाँ भएकै विवरण छन् । बर्माबाट लखेटिएका नेपालीको दु:खान्त होस् अथवा घरघरमा भेटिने जारका कुरा । अझ किरातीहरूको त दूधैदूध मिसिएर दाजुबहिनी, फुपू–भदै भएको अवस्था पनि छ । यी एकदमैं भएका कुरा हुन् । त्यसमाथि ठयाक्कै दार्जिलिङे टोन, लवज, कथ्य पनि छ कथाहरूमा । बर्माबाट भागेर आएका नेपालीहरू भारतको कुनाकन्दरामा बिलाएरै गए । यो यथार्थ हो । ‘जयमाया लेखापानी आइपुगी’ को संवेदना शाश्वत छ ।

‘भाषिका’ भनेको जनजिब्रोको बोली हो । उता भाक्सु, देहरादुनतिर गयो भने ‘ठेर–ठेर, मैं भी आउँछु’ भन्छन् । ‘कता पधारिराछस् ?’ भन्छन् अथवा ‘यो लोगहरू कहाँबाट आए ?’ भन्छन् । यो लोकल–डाइलेक्ट हो नि । यसलाई त्यहींको भाषा, साहित्य, लवजमा फिट गर्न सकेको स्वाद अर्कै हुन्छ । तर, हाम्रो दार्जिलिङमा संस्कृतै–संस्कृत कहाँबाट आयो ?


‘आज रमिता छ’ मा कतै ‘बायुद्धार’ भनेको छ, कतै ‘बिस्तृण जलराशी’ । यो बायुद्धार भनेको त भेन्टिलेसन भनेको पो रहेछ । यस्तो क्लिष्टतामा, स्थानीयतामा नमिलेको लवजबारे अभि सुवेदी, राजनारायण प्रधान, रविलाल अधिकारीजस्ता विज्ञ समालोचकहरूले पनि कहीं कतै केही

बोलेको मलाई थाहा छैन । म त आईबी सरको सामु एउटा फुच्चे न थिएँ, कहाँ बोल्ने आँट गर्नु ?

जाति र जातित्वको कुरामा, पहिचान र अस्तित्वको कुरामा आईबी सरले दार्जिलिङलाई नै ‘आफ्नो नेपाल’ भनिरहे, लामो कालसम्म । ‘नौ लाख तारा’ गीतका रचयिता अगमसिंह गिरीसँगै यही गीतका कारण आईबी सरको टकराव परेको थियो, बेमेल भएको थियो । हरेक डिसेम्बर महिनामा चल्ने कोचिङको एउटा क्लासमा आईबी सरले हँसीमजाक गर्दै भनेका थिए, ‘हन ए केटा हो, यो नौलाखे तारा भन्ने गीत छ नि अगमसिंह गिरीको । यो गीत त के हो ? उल्टापाल्टी पो छ त । ‘शरद लाग्यो बनमा फूलले पीर्ति गाँसेछ’ पो भन्छ त ।...’


तर, प्रवासमा बसेका नेपालीको दु:खान्तलाई १६ लाइनमा बुझाउन खोज्नु कम्ती मुस्किलको काम थिएन । अगमसिंहले खासमा नेपाली गाथा बुझाउन खोजेका थिए । ‘नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको’ भन्नु आफैंमा एउटा काव्य हो, २ सय वर्षदेखि बेहोरेको नेपालीको गाथा यसमा छ । तर, आईबी सर भने यो गीतको ‘नजाऊ फर्की नेपाल’ को लाइन आउँदा भने सर खुसी देखिन्थे, रमाउदै भन्थे, ‘होहो, सही हो...’ ।


मलाई के लाग्छ भने मान्छेलाई देवता बनाउनु हुँदैन । आईबी दाजु पनि देवता होइनन् । पक्कै पनि त्यो बेलाको पढाइको ‘गोल्ड मेडलिस्ट’ हो आईबी । ठूलो सर्भिसमा जान सक्ने, विदेश गएर केही गर्न सक्ने, आफ्नै बुतामा अरू कमाइधमाइका काम गर्न सक्ने स्थिति उनमा थियो । राम्रो पढाइको स्कलरसिप पनि पाउन सक्थे । तर कतै गएनन् । खालि साहित्य, भाषा भनेरै कुवामा बसिरहे । म कतिपय अर्थमा कुवाको भ्यागुतो भन्छु आईबी दाजुलाई । उनले दार्जिलिङे कुवामै बसेर संसार पढे । सेक्सपियरदेखि सोपेनआवरसम्म, माक्र्सदेखि नित्सेसम्म खर्लप्पै खाए । तर बाहिरी दुनियाको ‘एक्सपोजर’ भएन कहिल्यै । मलाई लाग्दैन, आईबी दाजु अमेरिका–बेलायत गए (मैले थाहा नपाएको होला ।) टर्नबुल स्कुलको टिचर र साहित्य लेखन, यी दुई जिम्मेवारीमै जीवन गुजारे ।


खासमा नेपाली मिडिया र केही समालोचकले पनि आईबी सरलाई नेपाल–भारतको, नेपालीभाषीको ‘ब्रिज’ भनिरहेका छन् । तर, आईबी सर स्वयम्ले यो कुरा मानेकै थिएनन् । ‘हाम्रो नेपाल यही हो’ भनेर उता बसेका थिए । उताबाट लैनसिंह, रणधीर सुब्बा, अम्बर गुरुङ, गोपाल योञ्जनहरू कोही पनि यता आएको आईबी सरलाई मन परेको थिएन । त्यसबेला भारतीय नेपाली हुनुको हकमा त्यो कुरा बोलिएको थियो । तर, अहिले त्यहाँकाले आफूलाई भारतीय नेपाली हौं भन्दैनन् । त्यतातिर गोर्खा, गोर्खे सुरु

भएको छ ।


सन् ८० को दशकमा गोर्खाल्यान्ड प्रकरणमा घर जलाइदिएपछि र दार्जिलिङबाट निर्वासनमा परेपछि मात्रै आईबी सरले नेपालतिर फर्केर हेरेका हुन् । नेपाल त सधैं स्वागतमा तत्पर थियो नै । आईबी सर उता माया नपाएपछि यता आएका हुन्, माया खोज्दै । यत्ति हो कि यत्रो विचारक र बौद्धिक व्यक्तिले पढेर, बुझेर पनि खालि शिक्षक बनेरै र भाषा–साहित्य भनेर कलम चलाएरै जीवन बिताएको दृश्य मेरा लागि अलौकिक छ, एकदमै प्रशंसनीय ।

(कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन २६, २०७४ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?