जसले ह्विलचियरबाटै चहारे ब्रह्माण्ड

चिकित्सकहरूको घोषणाविपरीत स्टेफन हकिङ ५४ वर्ष बढी बाँचे । ह्विलचियरमै जीवन बिताउनुपर्दा पनि उनले त्यसलाई कहिल्यै आफ्नो कमजोरी बन्न दिएनन् । रोगले उनका शरीरका अधिकांश मांसपेशीका चाललाई बन्द गरिदिए पनि उनको दिमाग बन्द गर्न भने मृत्यु मात्रै सफल भयो ।
स्वरूप आचार्य

काठमाडौँ — क्याम्ब्रिज विश्वविद्यालयका भौतिकशास्त्री तथा अत्यधिक रुचाइएका लेखक, जो ह्विलचियरमा ब्रह्माण्ड चहार्थे, गुरुत्वाकर्षण र ब्रह्माण्डको उत्पत्तिबारे नवीन सोच राख्थे र मानव अठोट र जिज्ञासाका प्रतीक थिए— उनै स्टेफन हकिङको ७६ वर्षको उमेरमा बेलायतमा गत बुधबार निधन भयो ।

सबै वस्तुलाई आफूमा समाहित गरेर त्यसको ऊर्जा मात्रै बाहिर फ्याँक्ने ब्ल्याक होल जस्तै थिए स्टेफन हकिङ । उनी विश्वमा भएका सबै सोच र सिद्धान्तलाई आफूमा समाहित गर्थे र नवीन सोच र नयाँ परिधिको विकास गर्थे ।


उनले जुन प्रकारले आफ्नो जीवनलाई ह्विलचियरको सानो घेरामै गुडाएर मस्तिष्कलाई भने ज्ञान र सोचको असीमित ब्रह्माण्डमा पुर्‍याए, त्यसले दुनियाँलाई चकित तुल्याएको थियो, अझै तुल्याइरहनेछ । अब विश्वजगत्लाई १४ मार्चको दिनलाई सम्झन कर लाग्छ । तर, अब उक्त दिनलाई दुई किसिमले सम्झिनुपर्ने बाध्यता हामीलाई आइपरेको छ । त्यसै दिन विश्वले एकातर्फ महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई पाएको थियो भने भौतिकशास्त्रका अद्वितीय प्रतिभा स्टेफन हकिङलाई गुमाएको छ ।

Yamaha


यो संयोग आफैंमा निकै चामत्कारिक छ । आजको दिनमा भौतिकशास्त्रमा रुचि राख्ने जोकोहीले आइन्स्टाइन र हकिङलाई एकैसाथ नसम्झी धरै छैन ।


त्यसो त उनको जन्ममितिको संयोग पनि रमाइलो छ । हकिङको जन्म १९४२, जनवरी ८ मा महान् वैज्ञानिक ग्यालेलियो बितेकै ३ सय वर्षपछि भएको हो । ग्यालेलियो गुरुत्वाकर्षणको अध्ययन सुरु गर्ने पहिलो वैज्ञानिक हुन् ।


हकिङले सन् १९८८ मा प्रकाशित गरेको पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम : फ्रम द बिग ब्याङ टु ब्ल्याक होल्स’ ले उनको प्रख्यातिलाई भौतिकशास्त्रका जर्नल र विद्वत् प्रवचनबाट बाहिर निकालेर जनमानसमा पुर्‍यायो । वास्तवमा भन्नुपर्दा उनी आइन्स्टाइनपछिका सर्वाधिक रुचाइएका वैज्ञानिक भए ।

यहाँ लेख्नुहोस्...हकिङले जसरी आफ्नो जीवनलाई ह्विलचियरको सानो घेरामै गुडाएर मस्तिष्कलाई भने ज्ञान र सोचको असीमित ब्रह्माण्डमा पुर्‍याए, त्यसले दुनियाँलाई चकित तुल्याएको थियो, अझै तुल्याइरहनेछ ।

उनको प्रख्यातिबाट हलिउड पनि टाढा रहन सकेन । २०१४ मा उनको जीवनमा आधारित भएर बनाइएको बायोपिक ‘द थियोरी अफ एभ्रिथिङ’ ओस्करका धेरै विधामा छनोट भयो र हकिङका अभिनय गरेका एड्डी रेडमाइनले त सर्वोत्कृष्ट अभिनेताको अवार्ड नै प्राप्त गरे ।


हकिङको खोज आफैंमा निकै अजिब मानिन्थ्यो । उनले ‘ब्ल्याक होल’, कालो नभई त्यसबाट पनि केही प्रकाश निस्कने बताउँदा धेरैले पत्याउनै मानेका थिएनन् । तर उनले त्यो सिद्ध नै गरिदिए ।


बाल्यकालमा औसत विद्यार्थी हकिङले कलेजमा पुगेपछि मात्रै गणित र फिजिक्स आफूलाई अध्ययन गर्न सहज हुने थाहा पाएका थिए । उनलाई मन परेको विषय भनेकै कस्मोलोजी थियो । किनकि त्यस विषयको प्रमुख प्रश्न थियो, ‘ब्रह्माण्डको उत्पत्ति कसरी भयो ?’


उनी यस्ता विचारक पनि थिए जो भिन्न प्रकारले सोच्थे । अरूले भनेको कुरालाई आत्मसात् गर्दै त्यसलाई अर्को तहमा पुर्‍याउनु र अरूले विश्वास नै नगरेको कुरालाई विश्वसनीय बनाउन संघर्ष गर्नु नै मानव सभ्यताका लागि अर्को महान् देन हो उनको ।


मात्र २१ वर्षको हुँदा, १९६३ मा उनमा ‘एमोट्रोफिक ल्याटरल स्केलेरोसिस–एएलएस’ भन्ने स्नायुसम्बन्धी रोग देखा परेको थियो । त्यो रोगको कुनै उपचार नभएका कारण उनको आयु २ वर्षको मात्र रहेको चिकित्सकहरूले घोषणा नै गरिदिएका थिए । तर, उनी चिकित्सकहरूको घोषणाविपरीत ५४ वर्ष बढी बाँचे । रोग देखिएको केही समयपछि नै ह्विलचियरमा बस्नुपर्दा पनि उनले त्यसलाई कहिल्यै आफ्नो कमजोरी बन्न दिएनन् । रोगले उनका शरीरका अधिकांश मांसपेशीको चाललाई बन्द गरिदिए पनि उनको दिमाग बन्द गर्न भने मृत्यु मात्रै सफल भयो ।


उनले भनेका थिए, ‘जब मानिसले आफू अल्पायुमा मर्दै छु भन्ने थाहा पाउँछ तब उसलाई लाग्छ जीवनमा अझै धेरै गर्न बाँकी छ ।’ त्यसैले पनि उनले आफ्नो अध्ययन, अनुसन्धान र शोधलाई कहिल्यै पनि रोकेनन् ।


१९६५ मा उनले भाषाको विद्यार्थी जेन वाइल्डसँग विवाह गरे । जसले उनलाई जीवनमा केही गर्नुपर्ने जोस भरिदियो । उनको रोगले भने उनलाई कस्मोलोजीका अत्यन्तै जटिल र लामा सूत्रहरूमा काम गर्न गाह्रो तुल्यायो । तर त्यही बन्देजलाई पनि उनले हतियारका रूपमा प्रयोग गरे र विचारोत्तेजक सोच र सिद्धान्तहरू प्रतिपादन गर्न थाले । जसलाई गणितीय सूत्रमा ढाल्न र प्रमाणित गर्न विश्वभरका वैज्ञानिक तथा विद्यार्थीहरू लागिपरेका छन् ।


निकै रमाइलो स्वभावका भनिएका हकिङको वैवाहिक जीवन भने त्यति सुमधुर रहेन । जेनसँगको २५ वर्ष लामो सम्बन्ध उनको आफ्नै नर्ससँगको हिमचिमका कारण टुटयो । उनले ती नर्ससँगै १९९५ मा विवाह गरे तर त्यो पनि लामो समय चल्न सकेन केही केही वर्षमै टुटयो । त्यसपछि भने उनले विवाह गरेनन् ।


***

हकिङकै पथ पछयाउँदै ‘हकिङ रेडियसन’ मै विद्यावारिधि गरेका भौतिकशास्त्री तथा कस्मोलोजिस्ट डा. उदयराज खनालका अनुसार उनी यो युगकै महान् वैज्ञानिक र विचारक थिए ।


‘आइन्स्टाइनपछि सबैभन्दा धेरै चर्चित वैज्ञानिक भनेकै हकिङ थिए,’ टेलिफोनमा कुराकानीमा स्तब्ध सुनिएका खनालले भने, ‘ब्ल्याक होलले सबै कुरा खान्छ मात्रै भनेर मानी आएको जगत्लाई त्यसबाट केही चीज बाहिर पनि निस्कन्छ भनेर भन्न सक्ने शक्तिशाली व्यक्ति हुनुहुन्थ्यो हकिङ ।’


कुनै पनि व्यक्ति एक प्रकारको ज्ञान र सोचको उचाइमा पुगेपछि ऊ विचारक त्यसै हुन्छ । ‘त्यसलै हकिङले दिएका सिद्धान्तहरू केवल सिद्धान्त नभएर जीवनदर्शन पनि हुन्,’ उनले भने ।


त्रिभुवन विश्वविद्यालयका केन्द्रीय भौतिकशास्त्र विभागका प्रमुख प्राडा बिनिल अर्यालका अनुसार हकिङले अहिलेको मानव सभ्यतालाई नै ठूलो गुण लगाएका छन् । ‘उनले प्रतिपादन गरेका केही सिद्धान्तहरू प्रमाणित भएका छन् भने केही हुने तहमा छन्,’ उनले भने, ‘हकिङ पृथ्वीमा सम्पूर्ण जीवहरूको प्रमुख कारक मानिएका कोषहरूको उत्पत्तिको कारण पत्ता लगाउने कोसिसमा थिए, जुन धेरै हदसम्म अगाडि बढेको छ । त्यो भविष्यमा प्रमाणित हुन सक्छ ।’


प्राडा अर्यालका अनुसार न्युटनले ‘म्याटर’ र ‘स्पेस’ एकअर्काबाट निरपेक्ष हुन्छन् भन्ने तथ्यका आधारमा पृथ्वीमा रहेका वस्तुहरूको बारेमा विश्लेषण गरेका थिए । त्यसलाई एक कदम अगाडि बढाउँदै म्याटर र स्पेस भनेका एकअर्काका परिपूरक हुन् र उनीहरूबीच सापेक्ष सम्बन्ध रहन्छ भन्ने तथ्य आइन्स्टाइनले सिद्ध गरे । ती दुवैभन्दा अझ धेरै अगाडि गएर हकिङले आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्तलाई कस्मोजोलीमा नै प्रयोग गर्न मिल्ने बनाइदिए ।


‘हकिङले रिलेटिभ स्टेट कस्मोलोजी सिद्धान्तको विकास गरे,’ उनले भने, ‘जसका कारण आइन्स्टाइनको सूत्रलाई जहाँ जसरी प्रयोग गरे पनि सही हुने प्रकारका नयाँ सूत्रहरूको विकास गरे ।’ उनको अनुसार हकिङको सबैभन्दा महत्त्वपूर्ण देन भनेको उनले क्वानटम मेकानिक्सलाई कस्मोलोजीमा जोड्ने काम गरेका छन् ।


शरीरमा मुस्किलले चल्ने केही मांसपेशीका सहायतामा जीवन चलाएका हकिङले प्रकाश पनि उम्कन नसक्ने ब्ल्याक होलको गहिराइमा प्रवेश गरेर गुरुत्वाकर्षणका गुणहरू निकाले, त्यसैले पनि उनी आफ्नो समयका महान् अभियन्ता कहलाइएका हुन् ।


‘ब्ल्याक होलले सबै वरपरका वस्तुलाई आफूतिर खिच्छ र त्यो समयको अन्तरालसँगै ठूलो हुन्छ भन्ने कुरामा कसलाई पो विश्वास थियो र,’ प्राडा अर्यालले भने, ‘तर उनले ब्याल्क होल समयको अन्तरालसँगै ठूलो मात्रै हुने होइन । त्यो विस्फोट पनि हुन्छ र त्यही विस्फोटका कारण यो ब्रह्माण्ड सिर्जना भएको हो भन्ने बताए ।’


अर्यालका अनुसार हकिङको सोचका कारणले ब्ल्याक होल संहारकर्ताबाट सिर्जनाकर्ताको भूमिकामा रूपान्तरित भएको हो । ‘हाम्रो वरपरको यो विशाल ब्रह्माण्डको रचना कसरी भयो भन्नेसम्म हामीलाई अहिले हकिङकै कारणले थाहा भएको हो,’ उनले भने ।


खगोलविद् तथा नास्टका प्राज्ञ इ. ऋषि शाहका अनुसार भने हकिङ महान् भौतिकशास्त्री मात्र नभई महान् विचारक पनि हुन् । उनले विभिन्न सिद्धान्तहरू प्रतिपादन गर्ने क्रममा थुप्रै नवीन विचारहरू पनि यो विश्वलाई दिएका छन् । ‘हकिङ के थिए भनेर दुई शब्दमा भन्न सकिँदैन किनभने उनले ब्रह्माण्डबारे धेरै नयाँ तथ्य हामीलाई सिकाएका छन्,’ उनले भने, ‘अति कठिन शारीरिक अवस्थामा पनि एउटा मान्छेले हासिल गर्न सक्ने असीमित ज्ञानको भण्डारबारे उनले भविष्यका पुस्तालाई सिकाएका छन् ।’


उनी यस्ता व्यक्ति थिए जसले मानव विचारका सबै परिधिहरूलाई यति ठूलो बनाइदिए कि त्यसमा ब्रह्माण्ड नै सानो लाग्न थालेको छ । एक पटक उनले कतै भनेका थिए, ‘मलाई मान्छेहरूको मनोभावले सबलांग भएसम्म शारीरिक रूपले विकलांग भएर केही फरक पर्दैन भनेर जगत्लाई देखाउनु छ ।’


त्रिचन्द्र कलेजकी भौतिकशास्त्रकी प्राध्यापक डा. नीलम श्रेष्ठ भने अरूभन्दा केही भिन्न तरिकाले हकिङलाई सम्झन चाहन्छिन् । उनको अनुसार हकिङको सिद्धान्तहरूको गहिरो अध्ययन गर्दा अर्को ग्रह नै बनाएर त्यहाँ मानव बस्ती बसाल्न सकिन्छ भन्ने आभास हुन्छ । ‘उहाँ बाँचिरहेको भए हामीले पृथ्वीजस्तै अर्को ग्रह बनेको पनि देख्न सक्थ्यौं होला,’ उनले भनिन् ।


प्राज्ञ शाहले भनेजस्तै हकिङ वास्तवमै यस्ता व्यक्ति थिए जसलाई बयान गर्न धेरै शब्द पनि चाहिन्छ र शब्द पनि चाहिँदैन किनकि ‘शून्यबाट सुरु भएर शून्यमा नै बिलाउने क्षमताका लागि कि ब्ल्याक होल हुनुपर्छ या स्टेफन हकिङ नै ।’

जो आँखाले बोल्थे
हकिङलाई सामान्य मानिसहरूले उनको ह्विलचियरमा जडित कम्प्युटर स्क्रिनका लागि पनि चिन्थे । वास्तवमा त्यो एउटा स्क्रिन मात्रै नभएर उनको जीवन नै चलाउने यन्त्र थियो ।


कुनै समय आफ्नोअगाडि राखिएको अक्षरहरूको बोर्डमा एउटा एउटा शब्दमा आँखा टक्टकाएर संवाद गर्नुपर्ने हकिङका लागि त्यो स्क्रिन आफैंमा वरदान थियो । उक्त स्क्रिनको सहायताले उनी बोल्ने मात्रै होइन केही सामान्य कामहरू पनि आफैं गर्न सक्षम भएका थिए । हकिङको स्थिति देखेर कम्प्युटरविज्ञ वाल्टर वोल्टोजले उनका लागि औंला र आँखाकै साहयताले पनि चलाउन मिल्ने कम्प्युटर विकास गरिदिए । त्यसमा सबै अंग्रेजी अक्षरका साथै २ हजार ५ सय शब्द पनि थिए ।


अक्षर र शब्दहरूको सहायताबाट उनले वाक्यहरू बनाउन सक्थे जुन स्पिच सिन्थेसाइजरको मद्दतले आवाज बनेर निस्कन्थ्यो । त्यो सबै सिस्टम उनको मोटरराइज्ड ह्विलचियरमा जोडिएको थियो । कहिलेकाहीं औंला पनि चलाउन नसक्दा दायाँ गालाको मांसपेशी वा आँखा झिम्काएरसमेत आदेशहरू दिन सक्थे । उक्त सिस्टमले उनलाई ढोका खोल्न, लगाउन, टेलिफोन गर्न र इन्टरनेट चलाउन पनि सहज बनाएको थियो ।


कम्प्युटरको सहायताले उनले प्रतिमिनेट १५ शब्द मात्रै बोल्न सके पनि त्यो आफ्नो आवाज पूर्ण रूपमा हराउँदाको बखतभन्दा राम्रँे भएको उनको सोचाइ थियो ।


उक्त मोटरराइज्ड ह्विलचियरकै सहायतामा विश्वका धेरै ठाउँमा पुगेका उनलाई एक म्यागजिनका पत्रकारले धेरैजसो समय केको बारे सोच्नुहुन्छ भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘आइमाईहरूको बारे । उनीहरू पूर्ण रूपमा रहस्यमयी हुन्छन् ।’


हकिङले विश्वमा एक वैज्ञानिकले चाहेका सबै कुरा प्राप्त गरे । तर, उनको हातमा नोबल पुरस्कार भने पर्न सकेन । त्यसबारे उनी भन्ने गर्थे, ‘उनीहरू प्रमाणित भएका तथ्यहरूलाई मात्रै पुरस्कृत गर्छन् । मैले भनेका तथ्यहरू देख्न निकै कठिन छन् ।’


उनी मानव सभ्यतालाई अनन्तकालसम्म जोगाउनका लागि अन्तरिक्षको अध्ययन र शोध गर्नु महत्त्वपूर्ण रहेको बताउँथे । ‘पृथ्वीमा रहेका सबै कुरा कुनै प्रकोपका कारण विलुप्त हुने खतरामा छन् । त्यो आणविक युद्धका कारण पनि हुन सक्छ वा मानिसहरूले आफैं बनाएका भाइरसका कारण अथवा हामीले विकसित पनि नगरिसकेका कुनै खतराबाट,’ हङकङमा भएको एक सार्वजनिक कार्यक्रममा उनले भनेका थिए ।
(विभिन्न एजेन्सीका लेख, रचना तथा कुराकानीमा आधारित)

केही भनाइ
मृत्यु– म मृत्युसँग डराउँदिनँ, तर मलाई मर्ने हतारो पनि छैन । मलाई अझै धेरैथोक गर्नु छ ।

पुनर्जन्म– म दिमागलाई कम्प्युटरको रूपमा लिन्छु । जुन कुनै सामान बिग्रिएपछि काम गर्न छोड्छ । बिग्रिएका कम्प्युटरहरूका लागि न स्वर्ग हुन्छ न पुनर्जन्म । त्यो त अन्धकारसँग डराउनेका लागि भनिएको कथा हो ।

जीवनको लक्ष्य– मेरो जीवनको सामान्य लक्ष्य छ । म ब्रह्माण्डलाई पूर्ण रूपमा जान्न चाहन्छु । यो किन यस्तो छ, के कारणले यस्तो छ र केका लागि यस्तो छ ।

जोखिम– म मानिसहरूलाई कोही पनि आफ्नो शारिरिक विकलांगताका कारण सीमित हुँदैन जबसम्म ऊ मनोभावबाटै विकलांग हुँदैन भनेर देखाउन चाहन्छु ।

अपूर्णता– अपूर्णता नभएको भए तपाईं र मेरो अस्तित्व नै हुँदैन थियो ।

वैज्ञानिक खोज– म यसलाई यौनसम्पर्कसँग तुलना त गर्दिनँ, तर यो धेरै समय रहन्छ ।

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डा. केसी पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

स्वरूप आचार्य

काठमाडौँ — अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन् ।

अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रलगायतको उपस्थिति छ।

प्रदर्शनस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

पूर्वप्रधानमन्त्री भट्टराईले मंगलबार बिहान नै सिंहदरवार वृत्त पुगेर केसीलाई भेटेका थिए। ‘अदालतको अवहेलना’ मुद्दामा प्रहरीलाई पक्राउ गर्न फैसला गरेलगत्तै प्रहरीले केसीलाई पक्राउ गरी सिंहदरवार वृत्त पुर्‍याएको हो।

सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशि शर्मालाई पुनर्बहाली गरेको भन्दै केसी सोमबार अपरान्ह ४ बजेदेखि अनसन बसेका थिए।

केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै अनशन बसेलगत्तै अदालतमा मुद्दा दायर भएको थियो।






प्रकाशित : पुस २५, २०७४ ०९:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT