कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माइतीघर मण्डला

कविता
बाबु त्रिपाठी

काठमाडौँ — कस्सम !
असाध्यै पीडामा छ
माइतीघर मण्डला ।

कस्सम !
असाध्यै पीडामा छ
माइतीघर मण्डला ।

उसलाई
केही बेर लामो सास फेर्न दिनुहोस्

हरियो स्टिकर टाँसेको पुरानो मोटरले
उसैको मुखमा पुगेपछि
किन निकाल्छ–
चिम्नीबाट निस्कने धूवाँको फोटोकपी
यो कसको ग्रयान्ड डिजाइन हो ?
यो कस्तो ग्रयान्ड डिजाइन हो ?

कसको ग्रयान्ड डिजाइनमा
उसैको छातीमा टेकेर
बोकिन्छ कालो झन्डा ?

कसको ग्रयान्ड डिजाइनमा
उसैको छातीमा उफ्रेर
लगाइन्छ नारा ?

कसको ग्रयान्ड डिजाइनमा
उसैको छातीमा बसेर
फर्फराइरहन्छ यो देशको झन्डा ?

किन
हर्न बजाउन निषेधित त्यो क्षेत्रमा आएर
ठूल्ठूलो आवाज निकाल्छ–
चुनाव हारेको नेता ?

कसको ग्रयान्ड डिजाइनमा
भारदहमा चल्छ गोली ?
र, बर्खा लागेपछि
कसको ग्रयान्ड डिजाइनमा
कोसीले बगाउँछ मान्छे, खेत र आँगन ?
कसको ग्रयान्ड डिजाइनमा
कोदालो बोकेर त्यहाँसम्म आइपुगेको हो किसान ?

कसको ग्रयान्ड डिजाइनमा
सिंहदरबारतिर चोर औँला उठ्छ
–शान्ति समाजका अगुवाहरुको
–मानव अधिकारवादीहरुको
–नागरिक समाजहरुको

भर्खर
पेसी तोकिएकी बलात्कृत किशोरीको नाउँमा
किन त्यहीँ बसेर बारम्बार जलाइन्छ मैनबत्ती
किन देखेर पनि नदेखेझैँ गर्छ नजिकको न्यायालय ?

भोकको जुलुस
त्यही ठाउँमा उभिएर
किन दिन्छ–
आमरण अनशन बस्ने धम्की
किन सुनेर पनि नसुनेझैँ गर्छ सरकार ?

भर्खर जितेर गएको
–उही क्रान्तिकारी काम्रेड
–उही समाजवादी सांसद
–उही जनवादी सरकार
किन त्यही बाटो पान चपाउँदै हिँड्छ
र, थुक्ने बेलामा थुक्छ रगत ?
कसको ग्रयान्ड डिजाइनमा
उनीहरुको पछिपछि हिँड्छ देश ?

अम्मलीले
ओठमा सुर्ती च्यापेझैँ
किन बारम्बार च्यापिन्छ ऊ ।

कस्सम !
असाध्यै पीडामा छ
माइतीघर मण्डला ।

प्रकाशित : चैत्र ३, २०७४ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?