कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रहिनन् ‘घरबेटी नानी’

स्मृति
ज्यानमा सानो काँटकी कमला श्रेष्ठ असन–इन्द्रचोक गल्ली हुँदै नजिकैको राष्ट्रिय नाचघरतिर आउँथिन् । सधैं हँसमुख लाग्ने उनको घुलमिल धेरैसँग भएन । यो वा त्यो नभनी उनी आधुनिक, लोक वा शास्त्रीय जुनै गीत गाउन पनि तम्तयार हुन्थिन् ।
गणेश रसिक

काठमाडौँ — यो २०२३/२४ सालतिरको कुरा हो । म आफू राल्फा समूहमा छँदै राष्ट्रिय नाचघरसँग जोडिएको हुँ । त्यसबेलै गोपाल योञ्जन र अम्बर गुरुङ नाइटहहरू भएका हुन् । योञ्जन नाइट छँदा म राल्फामा थिएँ, गुरुङ नाइटमा लेकाली गैसकेको थिएँ ।

रहिनन् ‘घरबेटी नानी’

त्यसबेला गायिका, कलाकार कमला श्रेष्ठसँग पहिलो पटक चिनजान भएको हो । मभन्दा उमेरमा केही कमी भएकीले मैले कमला बहिनी भनेर बोलाउँथें । त्यसबेला उनी पुलिस क्लबसँग बढी आबद्ध थिइन्, क्लबका कार्यक्रममा पारिश्रमिक लिएर गीत गाउने कलाकारको रूपमा । राष्ट्रिय नाचघरका धेरै कलाकारहरू प्रहरी क्लबमा गैरहेका हुन्थे ।

२००५ सालमा काठमाडौंको महाबौद्धमा जन्मिएकी कमला नाचघर आउँदा गायिकाकै चिनारी लिएर आएकी थिइन् । यादव खरेलको शब्द र नातिकाजीको संगीतमा ‘नौगेडीको माला मेरो तिमीकहाँ खस्यो कि’ बोलको गीत २०२४ सालमै रेडियो नेपालले आयोजना गरेको आधुनिक गीत प्रतियोगितामा प्रथम भैसकेको थियो । यही गीत पछि गएर तारादेवीले गाएकी थिइन् ।

२०२६ सालमा कलाकारको माग भएपछि नवीनकिशोर राई, निर्मला श्रेष्ठ, सरिता श्रेष्ठ, कमला श्रेष्ठसहित म पनि एकैचोटी नाचघरमा नियुक्त भयौं । नाचघरमा दिनहुँजसो गीत–संगीतका अनेक कार्यक्रमहरू भैरहेका हुन्थे । त्यही क्रममा पहिलो पटक मैंले वासुशशिको गीतमा संगीत भरेको थिएँ, ‘मसँग एउटा तारा छ मायाको’ बोलमा । त्यो गीत मैले कमलासँग गाएको थिएँ, लगत्तै रेडियोमा रेकर्ड पनि भएको थियो । एकैसाथ काम गर्ने गायिका निर्मला चिनजानी भए पनि उनी नाचघरबाट एकेडेमी गैसकेको हुनाले कमला बहिनीसँग गीत गाउने अवसर मिलेको थियो ।

‘लेकाली’ समूहबाट हामी कार्यक्रम गर्नै भनेर दार्जिलिङ, खर्साङ, कालिम्पोङ, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा जान्थ्यौं । नाचघरमा सँगै जागिर खाने भएकाले कमला बहिनीसँग गीताङ्गे कार्यक्रमहरूमा सँगैजसो हुन्थ्यौं । २०२८ सालमा सांस्कृतिक विभाग खारेज भएर संस्थान बनेको थियो, त्यसपछि माणिकरत्न, नारायणगोपाल, तारादेवी, कुमार बस्नेत, रामशरण नेपालीहरू पनि करारमा काम गर्न आउनुभएको थियो । कमलाले २०३२ सालदेखि झन्डै एक दशकजति लोकगीत र भाकाका संकलक प्रेमदेव गिरीका गीतहरू पनि गाएकी थिइन् । झन्डै एक दर्जन गीतमध्ये ‘सरर मलेवा...’ बोलको गीत भने निकै प्रचलित थियो, रेडियो नेपालबाट बजिरहन्थ्यो । कमलासँग भुवन चन्दले पनि गीत गाएको सम्झना छ । उनका ध्रुव केसीसँगका युगल गीत पनि रेकर्डमा छन् ।

कीर्तिपुरवासी रामशरण नेपालीले मलाई पहिलो पटक ‘घरबेटी नानी पिंढीमा देऊ न मलाई बास’ को शब्द/भाका नाचघरमै सुनाउनुभएको थियो । यो गीतको रचनागर्भ बुझ्दा एउटा समय थियो जुन बेला पश्चिम नेपालसहितका भेगबाट थुप्रै नेपालीहरू पढ्न र सजिलो गुजारा खोज्न बनारस, हरिद्वार आदि ठाउँमा गैरहेका हुन्थे । यसरी जाने पुरुषमध्ये धेरैको बाल्यकालमै बिहा भैसकेको हुन्थ्यो । त्यसबेला वर्षौंसम्म पढाइ र कामका निम्ति परदेशमा हराएर घर फर्कंदा घरमा आफ्नै जहानले पनि नचिनेको जस्तो अवस्था आइपथ्र्यो । अनि, ‘आँगनीमा देऊ न मलाई बास, पिंढीमा देऊ न मलाई बास’ को यथार्थ भोगाइ उब्जन्थ्यो, रामशरणले त्यही भोगाइ र लोकभाका संकलन गरेर ल्याउनुभएको रहेछ । गीतलाई अलिक कथानक बनाउन रामशरणले बीबीचमा आलाप पनि थप्नुभएको थियो । त्यो गीत ख्यालख्यालमै यति लोकप्रिय भयो कि कमला बहिनी र मलाई राम्रोसँग चिनाउने गीत पनि त्यही बन्यो । पछि देश–विदेश, रुस, चीन, हङकङमा पनि त्यही ‘घरबेटी नानी’ गीत हामीले गायौं, फर्माइस त्यसैको थियो । मैले जीवनमा सबैभन्दा बढी पटक स्टेजमा गाएको गीत पनि यही हो । यो गीत भने रत्न रेकिर्डङ संस्थान (डिस्क सिस्टम) मा रेकर्ड भएको थियो ।

त्यही बेला मेरो रचना र संगीतमा ‘सहिदिन्छु कुट बरु, बोलीले नकुट’ बोलको गीत कमलाले गाएकी थिइन् । मेरै संगीतमा भगवती नकर्मीको ‘जाँदाजाँदा बाटो बिराएँ’ बोलको गीत पनि कमलाले गाइन् । ‘पहिलामा पहिला’ र ‘पाप धेरै गर्नेहरू’ बोलका मैले संकलन गरेका लोकगीतहरू पनि कमलाले गाइन् । त्यसपछि भने प्रेमदेव गिरीका गीतहरू निरन्तर रूपमा उनले गाएकी थिइन् । ‘वारि खोला नल खोलापारि, बीचमा दुवाली’ बोलको समूह गीत पनि हामीले गायौं । उनले गोपाल योञ्जनको संगीतमा ‘म बाँच्ने उमेरहरू सारा हजुरलाई’ बोलको गीत पनि गाएकी थिइन् ।

नाचघरको स्टेजमा ‘प्लेब्याक’ का रूपमा थुप्रै गीतहरू हामीले गायौं । यस्तो प्लेब्याक जसको र जुन गीत पनि हुन सक्थ्यो, नेपथ्यमा बसेर गाउनुपर्ने । कहिले कुमार बस्नेतको (भोटमाथि चीनमा) गायौं होला, कहिले तारादेवीकै । २०३२ सालमा पश्चिम नेपालका सुर्खेत, दाङ आसपासबाट धेरै कलाकार काठमाडौं आएका थिए । त्यो हूलमा ‘टप्पा’ मा नाच्ने भरतराज शर्मा, ‘सुर्खेत बुलबुल ताल’ मा नाच्ने गोपाल बस्नेत, ‘मगरे नाच’ नाच्ने टेकराज भारती पनि आएका थिए । त्यसबेला नृत्यमा कोकिल गुरुङ, नारायणकृष्ण श्रेष्ठ, भीमबहादुर गुरुङ, रवि शाह, सरिता श्रेष्ठ, श्याम प्रजापति, सप्तमुनि बज्राचार्य, कान्छाबुद्ध आदि थिए जो आज यो धर्तीमै छैनन् । नाचघरमा हुने समारोहमा चर्या नृत्य (भैरव/काली अवतारका गीत) को पालो आएपछि गीत गाउने एक मात्र गायिका कमला श्रेष्ठ थिइन् । यसैगरी, मदन लामा, विमला श्रेष्ठ, भुवन चन्द, शुभद्रा अधिकारी, बसुन्धरा भुसाल, भैरवबहादुर थापा आदि पनि नृत्यटोलीमा थिए । २०२६ सालदेखि १२ वर्ष लगातार काम गर्दा कमलाले मेरो रचना/संगीतका झन्डै एक दर्जन गीत गाएकी थिइन् । पछि २०६१ सालमा कमला बहिनीले नाचघरबाट अवकाश पाएको मलाई सम्झना छ ।

काठमाडौंकै स्थानीय बासिन्दा थिइन् कमला । उनी स्थानीय गुठी, संस्थाहरूमा समेत आबद्ध थिइन् । कमला त्यसबेलाका चल्तीका नासा खल:, सोभियत सांस्कृतिक केन्द्र (जमल) मा सम्बद्ध थिइन् जस्तो लाग्छ । उनी रसियन भाषाका गीत पनि मजैसँग गाउने गर्थिन् । कमला खानपिनमा एकदमै सोखिन थिइन् । ‘आज बोसो–बोसो तारेर खाएँ, कत्ति मीठो थियो भने नि...’ भन्दै उनी नाचघर आउँथिन् । त्यो खानपिनको अतिसोखले पनि अलिक चाँडै उनी बितिन्जस्तो लाग्छ । कमला हाँसिराख्थिन्, उनमा शान्त स्वभाव थियो । धेरैसँग त्यति घुलमिल पनि थिएन, अन्तर्मुखीजस्तै ।

कमला श्रेष्ठ आज हामीमाझ नरहेपछिको अवस्थामा स्मरण गर्नुपर्दा मसँग जोडिएर भने ‘घरबेटी नानी’ नै निकै चलनचल्तीमा आइरह्यो । विशेषत: बीसको दशकपछि महिला स्वरमा अरुणा लामा, तारादेवी, दिलमाया खाती, गंगा राणाहरूको आवाज एकदमै एकछत्र थियो । त्यसपछि मीरा राणा, सुशीला कंसाकार, निर्मला श्रेष्ठ, उर्मिला श्रेष्ठ, इन्दिरा मास्के, सुशीला मास्केहरू एउटै लटमा आएका थिए । यो भीडमा कमलामा भने भिन्न विशेषता थियो । आधुनिक, लोकलय वा शास्त्रीय जे पनि गाउन सक्ने खुबी थियो उनमा ।

२०३० सालतिर ‘मुनामदन’ लाई नाट्य रूपमा सांस्कृतिक संस्थानमा देखाउने निधो भयो । त्यसमा चन्द्रराज शर्माजीले राम्रो संगीत भरिदिनुभएको थियो । नाचघरमा भएको सबै कलाकारले मुनामदनको एकएक पार्ट गाउनुपर्ने निर्देशन थियो । त्यहीअनुसार नवीनकिशोर, इन्द्रनारायण, कमल क्षत्री र मैले ‘मदनले दु:ख पाएको भोट जाने बेलाको’ अंश गाएका थियौं । मुख्य भागका रूपमा मदनको अंश नारायणगोपाल र मुनाको गीति अंश तारादेवीले गाउनुभयो । तर, त्योबला नारायणगोपाल र तारादेवीबीच बोलचालै थिएन । लाइभ रेकर्डिङ र स्टेजमा दुवैले एकअर्कालाई नहेरी गीत गाउनुभएको थियो । मदनकी दिदीको गीति अंशमा कमला र आमाको अंशमा भुवन चन्दले गीत गाउनुभएको थियो । कतिले कमलालाई ‘मदनकी दिदी’ पनि भन्थे, त्यही भूमिकाको गीत (हे मेरा भाइ, ती तिम्री मुना मरेकी छैनन् ती...) गाएकाले । पछि गएर महाकवि देवकोटाको यही ‘मुनामदन’ गीति अंशलाई नारायणगोपाल आफैंले आफ्नो संगीतमा गाउनुभएको थियो ।

एकताका (२०१८ सालतिरै) पूर्व–पश्चिम राजमार्ग निर्माणका क्रममा जनकवि धर्मराज थापाको साथ लागेर गीताङ्गे बन्दै कमला हिंडेकी रहिछन्, चन्दा संकलन अभियानमा । पछि संगीतकार नातिकाजीको समूहमा मिसिएर दरबारमा गीत सुनाउन पनि उनी पुगेकी हुन्थिन् । कमलाको ‘तारेभीरमा’ नामको अल्बम म्युजिक नेपालबाट आएको थियो ।

त्यसबेलाको सांगीतिक रेकर्ड र वाद्यवादनमा न्हुच्छेमान पाजु, धिर्जलाल कुलु, श्यामबहादुर थापा, विश्वनाथ कार्कीढली, वीरबहादुर आदि थिए जो आज यो संसारमा छैनन् । अहिले कमला बहिनी सम्झँदा यी सबै कलाकार, स्रष्टा र सर्जकलाई एकैसाथ सम्झेजस्तो भैरहेको छ । यी दिवंगत आत्माहरू जसको नाम कहीं कतै छैन, जसको अभिलेख कतै छैन, यी सबैलाई आज एकैचोटी सम्झने अवसर पाएँ । कस्तो दु:खद संयोग छ भने आज यी सबै नामहरू कमलासँगै गाँसिएका छन्, एउटै ‘स्वर्गीय’ कित्तामा । बितेर जाने ती दौंतरी, साथीसँगी र मन–वचन–कर्मका निकटस्थहरूलाई एकैसाथ सम्झँदै कमला बहिनीलाई श्रद्धा–सुमन चढाउनुपर्दाको यो घडी मेरा निम्ति निकै पीडादायी बनेको छ । हार्दिक श्रद्धाञ्जली !

प्रकाशित : चैत्र १०, २०७४ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?