कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्याड अर्थशास्त्र

टिप्पणी
डा. अरुणा उप्रेती

काठमाडौँ — अक्षयकुमार अभिनीत ‘प्याडम्यान’ हेरेपछि मलाई मेरो किशोरावस्थाको याद आयो । म १२, १३ वर्षकी हुँदा (झन्डै ४६ वर्षअघि) ७ कक्षामा पहिलोचोटि महिनावारी भएको थियो, तर मैले कसैलाई भनिनँ ।

प्याड अर्थशास्त्र

घरमा भएका सुतीधोती र पुरानो सिरकका खोलहरू च्यातेर घरेलु प्याड बनाएर प्रयोग गरेँ । झन्डै ५ वर्षजति यसैगरी काम चलाएँ । आज बजारमा पाइनेजस्तो आधुनिक प्याड नपाइने त्यो युगमा प्रयोग गरेको घरेलु प्याडलाई बारम्बार धोएर, सुकाएर पुनर्प्रयोग गरिन्थ्यो । हिन्दी पत्रिका ‘सरिता’ पढ्ने बानी भएको हुनाले महिनावारी हुँदाको सतर्कता मलाई थाहा थियो ।


यद्यपि घरमा कसैलाई पनि नभनेर भान्छा, पूजाकोठा हुँदै मन्दिर जाँदा त डर लागेकै हुन्थ्यो । तर कसोकसो त्यो डरलाई जितियो । पछि त लाग्यो— महिनावारी हुँदा भगवान् र भान्सा छोए पनि केही पाप नलाग्ने रहेछ ।


‘प्याडम्यान’ फिल्म हेरिरहँदा ती दिनहरू याद आए । फिल्ममा महिनावारी अवस्थामा फोहोर टालो प्रयोग गर्दा कसरी प्रजनन स्वास्थ्यमा समस्या आइपर्छ र कसरी जिउज्यान खतरामा पर्न सक्छ भन्ने भावमा एक पुरुषले महँगो प्याड किनेर श्रीमतीलाई ल्याइदिन्छन् । ५५ भारु मूल्य देखेपछि श्रीमतीले भन्छिन्, ‘मेरो महिनावारीमा यस्तो महँगंो प्याड ल्याएपछि आमाले के भन्लिन् ? यो पैसाले त घरमा एक हप्ताको दूध आउँछ । जाऊ यो प्याड फिर्ता गरेर आऊ ।’


बिचरा नायक (अक्षयकुमार) दु:खी हुँदै फिर्ता गर्न जान्छन् । त्यही बेला सस्तोमा कसरी प्याड बनाउन सकिन्छ भनेर नायकले विचार गर्छन् । यो काम गर्दा श्रीमती अपमानित भएर घर छाडेर गएको र बहिनीहरूसँग प्याडको बारे नायकले कुरा बेहोरेको असहज अवस्थाका वरपर फिल्म घुमेको छ । तर नायकले अझै सस्तो प्याड बनाउने विचारसँगै यो काम नछाडेपछि आमा धेरै रिसाउँछिन् ।

गाउँलेले यो मान्छे ‘पागल भयो’ भनेर जिस्काएपछि नायक गाउँ नै छाडेर हिँड्छन् । यसरी सस्तो प्याड बनाउन गरेको संघर्ष र त्यसपछिको सफलताको कथाले फिल्मलाई बाँधेको छ । नायकको यो कामले उनलाई राष्ट्रसंघमा भाषण दिन बोलाइन्छ । त्यहाँ नायकले मजासँग टुटेफुटेको अंग्रेजीमा बडो रमाइलो तरिकाले भाषण गर्छन्— कसरी प्याडले महिलाको स्वास्थ्य र जीवनमा नै परिवर्तन ल्यायो भनेर । त्यसपछि पुन: उनको गाउँमा इज्जत फर्कन्छ ।


एकदम रमाइलो तरिकाले र महिलाकै जीवनमा प्रभाव पार्ने गरी बनाइएको यो फिल्मले भारतमा राम्रो व्यापार गर्‍यो । फिल्मबाट थाहा भयो कि भारतीय महिलामध्ये जम्मा १२ प्रतिशतले मात्रै स्वस्थ र सफा प्याड प्रयोग गर्छन् । किनभने कम्पनीहरूले बनाएको प्याड महँगो हुन्छ । नेपालमा त यसबारेमा अध्ययन भएकै छैन । मैले स्यानिटरी प्याडको मूल्य पत्ता लगाउँदा डेढ सयदेखि २ सय रुपैयाँसम्म पर्दोरहेछ । यसरी सामान्य दृष्टिमा हेर्ने हो भने पनि नेपालका गाउँघरमा किशोरीहरूले वर्षको २ हजार २५ सय रुपैयाँको स्यानिटरी प्याड किन्नै सक्दैनन् । केहीपहिले विभिन्न स्कुलमा गएर किशोरीहरूलाई सोधेकी थिएँ, ‘महिनावारी हुँदा तिमीहरू कसरी व्यवस्थापन गर्छौ ?’


थोरै किशोरीले मात्र बाहिरको ‘स्यानिटरी प्याड’ प्रयोग गर्ने बताएका थिए । ९५ प्रतिशत किशोरीले चाहिँ घरको सफा सुतीधोती र सिरक खोलका भरमा महिनावारी व्यवस्थापन गर्ने बताए । मैले ४६ वर्षअघि प्रयोग गरेको घरेलु प्याड नै अहिले पनि किशोरीले गाउँघरमा प्रयोग गर्दा रहेछन् ।

अहिलेको किशोरीले कट्टु लगाउने हुनाले उनीहरूले घरेलु प्याड लगाउन सजिलो रहेछ तर, जब यही प्रश्न मैले अछाम, डोटी, कैलालीका विवाहित महिलालाई गरेँ, उनीहरूले असाध्यै लाज माने । धेरैजसोले भने, ‘हामीहरू त २ वटा पेटीकोट लगाउँछौं । हामीहरू त प्याड किन्नै सक्दैनौं । अनि २/३ दिनमा त्यही लुगा लगाउँछौं र चौथो दिनमा मात्र धुन्छौं ।”


उनीहरूको प्रश्नले मलाई सोच्न विवश गरायो । यी महिलाहरूको हातमा मोबाइल छ, विदेश र भारतमा बसेका आफन्तहरूसँग फोनमा कुरा गर्छन् तर आफ्नो स्वास्थ्यको विचार कसरी गर्ने भन्ने आधारभूत जानकारी भने कहींकतै छैन । ‘हामीहरूले कट्टु लगाउँदैनौं कट्टु किन्ने पैसा छैन, अनि हामी त यसरी नै बस्छौं । यस्तो बेलामा जिउ गनाउने हुनाले सकेसम्म हामी मानिसहरूबाट टाढा नै बस्छौं,’ उनीहरूले भनेका थिए ।


यसरी फोहोरी बस्दा त अनेक स्वास्थ्य समस्या आइपर्छ नि ? भनेर सरोकार राख्दा महिलाहरूले ‘जे होला, देखा जाएगा’ भनेर जवाफ फर्काएका थिए । धेरै महिलालाई सायद थाहा हुँदैन कि ढुसी परेको टालो लगाउनाले प्रजनन अंगमा संक्रमण हुनु आदिले भविष्यमा क्यान्सर पनि गराउन सक्छ ।


किशोरी र महिलाहरूले विज्ञापनमा देखाएजस्तो महँगो प्याड किन्नुपर्ने जरुरतै छैन । तर भित्री वस्त्र प्रयोग गरेर सफा टालो प्रयोग गरेर पनि महिनावारी व्यवस्थापन गर्नचाहिँ जरुरी छ । महिला स्वास्थ्यमा सरोकार राख्नेले सस्तो तरिकाले ‘प्याड’ उत्पादन गरेर उपलब्ध गराउन पनि सक्छन् । एक प्याडको ५ रुपैयाँमा पाउन सकियो भने यो सबैको पहुँचमा हुन्छ । खासमा प्याडम्यानको अर्थशास्त्र र समाजशास्त्र पनि यही हो ।

प्रकाशित : चैत्र १०, २०७४ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?