कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘शिवानीलाई आरक्षण चाहिंदैन’

– उपन्यास बिकेर भयंंकर आम्दानी भयो भने त्यो मेरा लागि ‘बोनस’ हुनेछ
– प्रपर थारू समुदायमा हुर्किन नपाएकोमा मलाई ग्लानि हुन्छ
– एउटा आम मान्छे जसले डायरी लेख्छ ऊ पनि ‘अथर’ हो

काठमाडौँ — मोडलिङ र भिजेइङबाट चिनिएकी शिवानी सिंह थारू पछिल्लो समय लेखनमा सक्रिय छिन् । उनले बीबीसी नेपाली सेवाका लागि नाटक लेखिन् । यसपालि शिवानी उपन्यास लिएर आएकी छन् ।

‘शिवानीलाई आरक्षण चाहिंदैन’

नजन्मदै चर्चामा रहन थालेको यो उपन्यास (काठमाडौंमा एक दिन) लेखिसक्न शिवानीलाई झन्डै एक दशक लाग्यो । यतिन्जेल के गरिन् ? के–के भोगिन् ? सोसल मिडियाका आफ्ना गतिविधिबारे पनि उनी सजना बरालसँग गफिएकी छन् :

ठूलो ‘सस्पेन्स्’ राख्दै उपन्यासको आवरण मात्रै अनावरण गर्नुभयो । कस्तो कन्सेप्ट हो यो ? यसो गर्न जरुरी थियो ?
नेपालमा यो नौलो कन्सेप्ट हो । बाहिरतिर यस्तो धेरै हुन्छ । भारतमा अमिश त्रिपाठीले किताबैपिच्छे ‘कभर लन्च’ गर्छन् । मैले मेरो किताबको चर्चा होस् भनेर स्वार्थी भावनाले यस्तो गरेकी हुँ । चर्चा हुनुहुन्न भन्ने पक्षमा म छैन । किताबको व्यापारीकरण किन नगर्ने ? यसको विज्ञापन किन नगर्ने ? एमए लेभलमा पुगेकाले मात्रै पढ्ने हो किताब ? कि हाम्रा किताबलाई सधैं चार वेद र अठार पुराणै बनाइराख्ने ?

चर्चा गरेअनुसार किताब राम्रो भएन भने नि ?
चर्चा भयो भन्दैमा राम्रो र, भएन भन्दैमा नराम्रो हुन्छ भन्ने छैन । तर, कम्तीमा पाठकको आफ्नै ‘भर्डिक्ट’ आओस् भन्ने चाहन्छु । मेरो पहिलो किताब मन परेन भने दोस्रो पटक मैले जतिसुकै धुमधडाका गरे पनि किताब नकिन्नुस् । तर, कुनै पण्डितले तपाईंलाई यो किताब पढ्नुपर्छ वा पर्दैन भनेर सिकाएको मलाई चित्त बुझ्दैन । पण्डितको जुन धारणा हुन्छ, त्यो अरू सबैको धारणा नहुन सक्छ । पाठकले स्वनिर्णय गरून् भन्ने चाहन्छु । किताब पढेर मन परेन भने बरु गाली गर्दा हुन्छ ।

सेलेब्रिटी लेखकहरूका किताब ‘बेस्ट सेलर’ भइरहेका छन् । तपाईंलाई कत्तिको ‘प्रेसर’ अनुभव भएको छ ?
मोडलिङ, टेलिभिजन हुँदै आएको भए पनि म मेनस्ट्रिममा नभएको धेरै भइसक्यो । टीभीको पर्दाबाट निस्किनासाथ कथा लेख्न म बसेकी होइन । नौ वर्षको अन्तरालमा मैले लेखन, पठन धेरै गरेँ । तर, मान्छेहरूले मलाई यो र्‍याम्प मोडलिङबाट एकाएक उपन्यास लेख्न आएकी छ, के पो लेखिहोली (?) भन्ठान्दा रहेछन् । मचाहिँ किन खुसी छु भने, यसलाई लेख्नै आउँदैन भनिदिनाले मलाई ‘अन्डरडग’ महसुस भइरहेको छ, न कि सेलेब्रिटी । त्यसैले प्रेसर फिल भाको छैन ।

‘काठमाडौंमा एक दिन’ किन लेख्नुभएको हो ?
यो त खेलाडीले क्रिकेट, फुटबल किन खेल्छ भनेजस्तै हो । देशको स्थिति जहाँ पुगेको छ, मैले खेलेँ भने स्तर उक्सिन्छ भनेर कसैले खेल्दैन । आफ्नो प्यासनले खेल्ने हो । म सानैदेखि साहित्यमा रुचि राख्थेँ । किताब लेख्ने रहर थियो, लेखेँ । नखेलेको भए केही हुँदैन थियो र, लेखेर पनि केही हुनेवाला छैन । तर, मलाई आनन्द लागिरा’छ, ‘कथार्सिस’ महसुस भएको छ । मेरो एउटा पात्र आक्रोशित थियो, उसको आक्रोश मान्छेसम्म पुग्ने भयो । यो नै मेरा लागि सन्तुष्टि हो । उपन्यास बिकेर भयंंकर आम्दानी भयो भने त्यो मेरा लागि ‘बोनस’ हुनेछ ।

एउटा उपन्यास लेख्न झन्डै एक दशक लाग्यो । किन ?
म अङ्ग्रेजीमा आफूलाई बढी अभिव्यक्त गर्न सक्छु । नेपाली भाषामा त्यति दख्खल थिएन । आफ्नो शब्द–भण्डार बढाउन समय लाग्यो । पाठक बनेर लेख्न चाहन्थेँ, त्यसका लागि शिल्प बुझ्नुपर्‍यो । बुझेर मात्र भएन, शिल्प विकास गर्नुपर्‍यो । त्यसका लागि धेरै अध्ययन गरेँ । अरूको पढेर उहाँहरू जस्तो बन्नु भएन, आफ्नै शैली सिर्जना गर्नुपर्‍यो । यस्तै कुराले समय खायो । म बीचमा बीबीसीमा पनि आबद्ध भएँ, नाटकहरू लेखेँ । ‘कथा मीठो सारङ्गीको’ बनाएँ ।

तपाईं मोडलिङ, टीभीपछि नाटकमा आउनुभयो, अहिले फेरि उपन्यासमा । एउटै क्षेत्रमा नबसेर किन यस्तो अस्थिर हुनुभएको ?
स्टोरी टेलिङमा मेरो लगाव पुरानो हो । ‘मनोहर कहानिया’ मा छापिएका कथाहरू म हाम्रा मिसको नक्कल गर्दै साथीहरूलाई सुनाउथँे । भूतको कथा सुनाउँदा एक पटक सबै जना तर्सिएर खाटै भाँच्चिएको थियो । कथा सुनाउने रस ममा सधैं थियो । त्यो कहिले नाटक त कहिले उपन्यास मार्फत बाहिर आइरहेको छ । सुरुमा मैले मोडलिङ र फेसन सोहरू गरेँ, त्यसको उच्चतम विन्दुमा पुगेपछि के गर्ने ? टीभी थियो उत्तर । त्यसमा मेरो व्यक्तित्व सुुहायो । मैले पाँच वर्ष ‘मेरो गीत मेरो सन्देश’ चलाएँ । त्यो बन्द भएपछि नेपाल टेलिभिजनमै ‘मूल्यांकन’ भन्ने टक–सो सुरु गरियो । त्यो बेला एनटीभीको जीएम शम्भुजित बाँस्कोटा हुनुहुन्थ्यो, उहाँले २०६१ तिर राजाको समर्थन हुने गरी कार्यक्रम बनाउन भन्नुभयो । एकदम ‘प्रेसर’ दिइराख्नुभाथ्यो, मैले वास्ता गरेको थिइनँ । पछि त मेरो कार्यक्रमको समय नै सारेर अचकल्टो समयमा राखिदिनुभयो । त्यही रिसमा मैले एनटीभी छोडेँ । उहाँले त्यो अड्को नथापिदिएको भए म अहिले पनि टीभीमै पो हुन्थेँ कि ! तर, मलाई अफसोस छैन । टीभी छोडेर अध्ययनमा लागेँ, यसले मलाई झन् सशक्त बनायो । अब कार्यक्रम चलाएँ भने त्यो झन् राम्रो हुन्छ । म टीभीमा फर्किने सम्भावनामा धेरै छ । त्यो बेला बाध्य भएर निस्किएकी थिएँ ।

एनटीभीबाहेक अरू प्लेटफर्महरू पनि थिए । किन बाटो मोड्नुभयो ?
भोलि जनआन्दोलन भएर पर्सि गणतन्त्र आउला भन्ने त्यो बेला कसलाई थाहा थियो र ? राजाले सत्ता हातमा लिएपछि मिडियामा पनि अंकुश लगाइएको थियो । टीभीमा काम गर्ने मेरा कति साथी अस्ट्ेरलिया, अमेरिका गए । टीभीमा काम गर्नेको भविष्य नै थिएन । मैले एनटीभीमा जीएमसाबको चाकडी गरेको भए फेरि जागिर पाउँथें होला । तर, गरिनँ । लेखपढ गर्ने बानी छँदै थियो । त्यही बीउले अरू सिर्जनशील कामतिर डोहोर्‍यायो । एक्टर्स स्टुडियो भर्ना भएर अभिनय र फिल्म निर्देशन सिकेँ । ‘भर्चुअल रियालिटी’ भन्ने नाटक पनि बनाएँ । त्यो नाटक भारतमा देखाएपछि मेरो आत्मबल झनै बढ्यो ।

स्टोरी टेलिङको जग तपाईंमा केले बसाल्यो ?
म ९ वर्षको हुँदासम्म नेपालगन्जमा हजुरआमासँग बस्थेँ । मधेसी टोल थियो, त्यहाँका केटीहरू खेल्दैन थिए । केटासँग खेल्न मलाई अनुमति थिएन । कोठाभित्र एक्लै खेलेर बस्थेँ । अनेक कथाहरू बुन्थेँ । गुडियाहरूको डाइलग बनाउँथें, दोहोरो संवाद गर्थें । कतिसम्म भाथ्यो भने मेरो काल्पनिक साथी नै बन्यो । ऊसँगै कुरा गरेर बस्थेँ । यो बानीले मलाई कल्पनाशील बनाइदियो । स्टोरी टेलिङको स्वाद ममा यिनै परिस्थितिजन्य विषयले सिर्जना गरेका हुन् भन्ने लाग्छ ।

तपाईं र अरू थारू महिलाबीच केही भिन्नता छ ?
छ नि । म त मौका पाएर, राजधानी जस्तो ठाउँको राम्रो स्कुलमा पढ्न पाएर पो यस्तो बनेँ । मेरो त बुबा पनि मन्त्री, उहाँकै कारण पनि पढ्न पाएँ । तर, आफ्नै बलबुताले अघि बढेकी हुँ । पूर्वका थारूहरूले बरु पढेका छन्, पश्चिममा त विजोग छ । उनीहरू एकदमै पछाडि छन् । त्यसैले म भन्छु, शिवानीसिंह थारूलाई आरक्षण चाहिँदैन तर अरू थारू महिलालाई चाहिन्छ । अरूमा ‘कम्पिट’ गरेर आउन सक्ने ल्याकत नै छैन । ए थारू जातिहरू— तिमीहरूका लागि आरक्षण आयो, तिमी वकिल, तिमी डाक्टर, तिमी फलानो बन भनेर हुँदैन । बरु सशक्तिकरण उपाय चाहिन्छ । यसमा राज्यको सहयोग अपरिहार्य छ भने थारू समुदायभित्र पनि काम हुन जरुरी छ ।

सिर्जनात्मक क्षेत्रमा पनि ‘आरक्षण’ हनुपर्छ ?
हो, सिनमा आउन एक–दुइटा भर्‍याङ बनाइदिँदा हुन्छ । अडियन्सले महिला वा पुरुषले लेखेका हुन् भनेर कुनै लेख, रचना वा पुस्तक पढ्दैनन् । बाहिर आइसकेपछि ‘कन्टेन्ट’ नै बिक्ने हो । तर, बाहिरसम्म पुग्नलाई महिलाको लागि भर्‍याङ राख्दा हुन्छ । सरकारले आरक्षण दिएझैं प्रकाशक, आयोजकले पनि महिलालाई ‘स्पेस’ दिँदा हुन्छ । त्यसपछि ऊ जम्न सक्छ/सक्दैन, लड्न सक्छ/सक्दैन भन्ने कुरा उसको स्वक्षमतामा भर पर्ने कुरा हो ।

तपाईंलाई त ‘एलिट’ थारू भन्दा रहेछन्...
थारू समुदायबाहिरको मान्छेले मलाई दु:ख नपाएको थारू, एलिट थारू भन्छन् । तर, थारू समुदाय मप्रति गर्व गर्छ । भेट्दा, सामाजिक सञ्जालमा म्यासेज पठाउँदा त्यस्तो अभिव्यक्ति पाउँछु । खुसी लाग्छ । तर, प्रपर थारू समुदायमा हुर्किन नपाएकोमा मलाई ग्लानि हुन्छ । म मधेसी समुदायमा हुर्किएँ, अवधी भाषामा गाली नै गर्न सक्छु । तर, थारू भाषा बुझ्छु मात्रै ।

सामाजिक सञ्जाल धेरै प्रयोग गर्नुहुन्छ । जे कुरामा पनि बढी नै ‘रियाक्ट’ गरेको देखिन्छ । किन त्यस्तो ?
पछिल्लो पटक मान्छेहरूले मलाई चिनेको सोसल मिडिया मार्फतै हो । यसले मलाई राम्रै गरिरहेको छ । तर, रियाक्टचाहिँ ट्रोलरहरूसँग गरेको छैन । प्रवृत्ति वा इस्युमाथि रियाक्ट गर्छु । म कूटनीतिक नभएकाले रियाक्टिभ देखिएको होला । कतिपय कुरामा बोल्नु हुँदैन, दूरी राख्नुपर्छ, पन्छिनुपर्छ भन्ने मान्दिनँ । बोल्यो भने ट्रोल बन्छ, ट्रोल सम्हाल्न गाह्रो पर्ला वा बोलेपछि कुनै कोटरीमा नपरिएला वा त्यसबाट बाहिर निस्किइएला भनेर डराउँदिनँ ।

सबैभन्दा बढी कुन विषयमा बोल्दा तपाईंको ‘ट्रोल’ बन्यो ?
मेरा धेरैजसो ट्विटमा ट्रोलिङ भइरहेको हुन्छु । यसलाई चण्डी चढेको छ, पाठ गरेर शान्त गर्नुपर्छ भन्छन् । एकचोटि बलात्कारका घटना लगातार बाहिर आइरहेका थिए । मैले ‘भताभुंग देशको लथालिंग राज्यमा अब महिला स्वाक्ट खडा गरेर बलात्कारी पुरुषको लिंग काट्नुपर्छ’ लेखेकी थिएँ । त्यो रोषमा लेखेको कुराको कुरा असर कतिसम्म परेछ भने अहिले पनि बिनाप्रसंग त्यो रिट्विट भइरहेको हुन्छ । खगेन्द्र (लामिछाने) लाई पनि धेरै नबोल् थरुनीले लिंग काट्ला भनेछन् । मान्छेलाई त्यो हाँसोको विषय भएछ । मैले त गम्भीर भएरै लेख्याथेँ । तर अनर्थ गराउन खोजियो ।

अहिलेको समकालीन साहित्य कस्तो लाग्छ, कत्तिको पढ्नुहुन्छ ?
बीपी कोइराला, पारिजात, आईबी राईहरूले लेख्नेजस्तो ड्यासिङ खालको केही र कोही आइरहेको छैन जस्तो लाग्छ । तर, बुद्धिसागर त्यो लेभलको लेखक हो जस्तो लाग्छ । ‘उसको जस्तै लेख्न पाए हुन्थ्यो’ भनेर मैले ईष्र्या गर्ने लेखक बुद्धिसागर नै हो । आन्विका गिरीमा सशक्त कथनशैली पाउँछु । अमर न्यौपानेको कथाभन्दा भाषा मीठो लाग्छ । रामेश कोइरालाका संवाद सुन्दर हुन्छन् ।

अचेल सबैले उपन्यास लेखिराछन्, किन लेखिराछन् भनेको सुन्छु । किन लेखिराछन् (?) भन्नु व्यंग्य हो । लेख्न नपाउनु ? लेखन व्यंग्य हो ? लेख्ने भनेको चार/पाँच जना पण्डितले मात्र हो र ? एउटा आम मान्छे जसले डायरी लेख्छ ऊ पनि ‘अथर’ हो । आफूलाई अभिव्यक्त गर्न सबैले लेख्नुपर्छ भन्छु म त । सबैले लेखेर भाँडभैलो भयो, लेखन कार्य अर्कैको हातमा गयो, नेपाली साहित्य बिग्रिन आँट्यो भनेर कसैले चिन्ता दर्साइरहनु पर्दैन ।

‘माथा चकराउने’ उपन्यास
‘घुर्नाको मगज एउटै चकरघिन्नीमा खिइँदै थियो— स्वायत्त मधेसमा मधेसी दलितहरूको मुक्तिचाहिं के गरी हुनेछ ?’

यही मुक्ति, आक्रोश, विद्रोह र प्रति–विद्रोहको अहम् कौतूहलमाझ सुरु भएको (र, टुङ्गिएको) लामो कथा हो— ‘काठमाडौंमा एक दिन’ । यो आख्यानका कारण शिवानीसिंह थारू यतिखेर चर्चा खेपिरहेकी छन् । पूर्वी तराई र सीमावर्ती विहारसम्म फैलिएका सशस्त्र समूहको नालीबेलीमाझ ललन, घुर्ना, रामा, फौलाद, बेचन बहडी, झबर पासवानजस्ता पात्रहरू ‘काठमाडौंमा एक दिन’ सम्मका अनवरत कारक र कारण बनेका छन् ।

२०५६ सालमा सिरहामा सुरु भएको सिनो बहिष्कार आन्दोलनबाट सुरु भएको कथानक २०६४ सालको काठमाडौंको शृंखलाबद्ध बम विस्फोटसम्म तन्किएको छ । झन्डै ८ वर्षको अवधिमा शिवानीले गरेको कन्टेन्टको अध्ययन, अनुसन्धान र विषयगत बुझाइ अब्बल देखिन्छ । कतै ‘फ्ल्यासब्याक’ त कतै भावना भरिएको ‘मोनो राइटिङ’ छ उपन्यासमा । भाषामा आञ्चलिकतासँगै अपनत्व छ, लेखाइमा लोकल टाइपको ‘ज्वार’, ‘माथ’, ‘जल्दी’, ‘जलखे’ आदि प्रशस्तै छ । एक ठाउँमा शिवानीको भाषा छ— ‘कोसी बढ्दा बहाव यहाँसम्म उर्लिंदै फदाल्दै आइपुग्थ्यो ।’

झन्डै ३ सय ५० पेजको उपन्यास पढिसक्दा कहींकतै, कुनै पाठकले भन्न पनि सक्छन्, ‘राजधानी उडाउने’ आख्यानको यति लामो दस्तावेज कत्तिको सारभूत होला ?

मन पर्ने आख्यान (अङ्ग्रेजी)
द ब्रदर्स कारामाजोभ (एफ. दोस्तोवेस्की)
वार एन्ड पिस (लियो टोल्सटोय)
द ग्रेट एक्सपेक्टेसन (चाल्र्स डिकेन्स)
द विलभेड (टोनी मोरिसन)
द बिग स्लिप (रेमन्ड चान्डलर)

आख्यान (नेपाली)
बीपी कोइरालाका सबै
आईबी राईका कथा र उपन्यास
धच गोतामेका संस्मरणहरू
भैरव अर्यालका सबै
धुव्रचन्द्र गौतम (चाहिने/नचाहिने सबै)
पारिजातको चार भाग (कम्पाइलेसन)

गैरआख्यान
अब यस्तो कहिल्यै नहोस् (बाबुराम आचार्य)
प्रयोगशाला (सुधीर शर्मा)
मान्ठा डराएको जुग (मोहन मैनाली)
भीषण दिनहरू (नवीन जिरेल)
माओवादी कब्जामा सय दिन (नारायण सुवेदी)

प्रकाशित : चैत्र १७, २०७४ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?