१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

धेरै नै भयो कि ?

क्रिकेट
भारत र अष्ट्रेलिया खेल्नुपर्छ, स्लेजिङकै कारण स्थिति सधैं तनावपूर्ण हुन्छ, अनि खेलभन्दा बढी झेलको चर्चा हुन्छ ।
हिमेश

काठमाडौँ — अष्ट्रेलियालाई छाडेर अरू देशमा यस्तो विरलै हुँदो हो । खेलकुदको विषयलाई लिएर त्यहाँका प्रधानमन्त्री म्याकलम टर्नबलले यसै साता बिहान बिहानै देशको नाममा सम्बोधन गरे ।

धेरै नै भयो कि ?

उनी भन्थे, ‘यो त अब धेरै नै भयो कि ? क्रिकेटमा स्लेजिङ राम्रो होइन, यो रोकिनुपर्छ । अनि बल ट्याम्परिङ त झन् अस्वीकार्य छ । अब समय आएको छ, क्रिकेटले आफ्नो छवि सुधार्नुपर्छ ।’ प्रधानमन्त्रीको आशय थियो, कम्तीमा अस्ट्ेरलियालाई न त स्लेजिङ न त बल ट्याम्परिङ ठीक लाग्छ ।

आखिरमा जुन देशले आफ्नो छवि नै खेलकुदको माध्यमबाट बनाएको छ, जहाँ खेलकुद संस्कृति व्यापक छ भने त्यस देशका प्रधानमन्त्रीबाट यत्तिको प्रतिक्रिया त अपेक्षा पनि गरिन्छ । प्रधानमन्त्री टर्नबलको भनाइ पनि यही हो, अस्ट्ेरलियाली खेलाडीले नै स्लेजिङ र बल ट्याम्परिङ गर्छ भने त यसले देशको छवि पो बिगार्छ । अनि यसमा तत्काल नै सुधार पनि आवश्यक छ, अन्यथा यो नियन्त्रणभन्दा बाहिर जानेछ । प्रधानमन्त्रीले नै यत्तिको बोलेपछि त हंगामा त हुने नै भयो ।

स्थिति कस्तो भयो भने समाचारमा लेखियो, धेरैपछि विश्व क्रिकेट अर्को एक समस्यामा फसेको छ । स्लेजिङ अर्थात् विपक्षी खेलाडीलाई उक्साउन जिस्क्याउने, गाली गर्ने, अपशब्द प्रयोग गर्ने आदि आदि । अझ सके विपक्षी खेलाडीलाई कुटौंभैंm पनि गर्ने । प्रतिद्वन्द्वी खेलाडीलाई योजनाबद्ध ढंगले तनावमा राखेपछि उसले खराब प्रदर्शन गर्ने सम्भावना हुन्छ । नयाँ भर्खरको खेलाडीको त डराएर आत्तिन पनि सक्छ । पुरानै खेलाडी पनि जालमा फस्न सक्छ ।

अस्ट्रेलियाली क्रिकेट खेलाडीलाई यसमा महारथ नै प्राप्त छ । अब बल ट्याम्परिङ । क्रिकेट खेलको नियमअनुसार यसमा बललाई अस्वाभाविक रूपमा बिगार्न पाइन्न । अझ भनौं, बलमाथि छेडखानी गर्न पाइन्न । बलको स्वरूप बिगार्नु भनेको जघन्य अपराधजस्तै हो । फिल्डिङ गरिरहेको टिमले बलमाथि छेडखानीको प्रयास गर्छ, किनभने यसले बलरलाई फाइदा पुग्छ । अस्ट्ेरलियाली खेलाडीले यस्तो पनि गर्‍यो । जति बेला यही जानकारी अस्ट्ेरलियाली प्रधानमन्त्री टर्नबलले पाए, उनी चुप लागेर बस्न सकेनन् ।


अहिले दक्षिण अफ्रिकामा अस्ट्ेरलियाविरुद्ध चार टेस्टको सिरिज चलिरहेको छ । निकै तनावपूर्ण सिरिज रहेको छ, यो । दुवै टिमका खेलाडीले यसलाई बढी नै प्रतिष्ठाको विषय पनि बनाए । त्यसैले यो टेस्ट सिरिज होइन, मैदानमा युद्धको जस्तो स्थिति तयार भएको छ । यसै क्रममा अस्ट्ेरलियाली खेलाडीले स्लेजिङ पनि गरे, अनि बल ट्याम्परिङ पनि । अनि टर्नबलले बोलिहाले, अब क्रिकेटमा शुद्धीकरणको अभियान चलाउनुपर्छ, नत्र ढिला हुन्छ ।

सिरिजको पहिलो टेस्ट डरबनमा भएको थियो र त्यसमा अस्ट्ेरलियाली उपकप्तान डेबिड वार्नर र दक्षिण अफ्रिकी खेलाडी क्विन्टन डे ककबीच हात हालाहालको स्थिति उत्पन्न भयो । ड्ेरसिङ रुममा फर्कने बेला वार्नरले ककमाथि हात छोड्ने प्रयास गरे, उनका अरू साथी खेलाडीलाई भने यसो गर्नबाट रोक्न प्रयासरत थिए । सीसीटीभी फुटेजमा घम्साघम्सी परेकै देखियो । खासमा स्थिति खराब नै थियो । एकले अर्कोलाई उकास्ने क्रममा विषय वार्नरको पत्नीसम्म पुगेको थियो, जुन पक्कै राम्रो थिएन ।

वार्नर निकै आक्रामक खेलाडी हुन्, उनको स्वभाव नै झगडालु छ । पछिल्लो एसेज सिरिजमा पनि उनी इंंग्लिस बलर जेम्स एन्डरसनसँग झगडामा उत्रिहाले । वार्नरले ब्याटिङ र एन्डरसनले बलिङ गरिरहँदा निकै तनावको स्थिति बन्यो । आखिरमा अम्पायरले दुवै खेलाडीलाई रोक्नुपरेको थियो । अस्ट्ेरलियाली खेलाडीमाथि स्लेजिङको बढी आरोप नै लाग्ने गर्छ । उनीहरूले यसलाई आफ्नो खेलको एक भागजस्तै बनाएका छन् । त्यसैले पनि अस्ट्ेरलियाली खेलाडीको व्यवहारलाई मन नपराउने धेरै छन् ।

आजभोलि यही काम भारतीय खेलाडीले सिकेका छन्, विशेषत: कप्तान विराट कोहलीले । कोहलीलाई मैदानमा किचकिच गर्न, थाकथुक जिस्काइरहन मन पर्छ, त्यसैले भारतीय टिमकै समर्थक पनि कोहलीलाई मन पराउँदैनन् । कोहलीभन्दा अस्ट्ेरलियाली खेलाडी स्लेजिङमा एक पाइला अगाडि छन्, अब बुझ्न सकिन्छ, उनीहरू साँच्चै कस्ता छन् । भारत र अस्ट्ेरलिया खेल्नुपर्छ, स्लेजिङकै कारण स्थिति सधैं तनावपूर्ण हुन्छ, अनि खेलभन्दा बढी झेलको चर्चा हुन्छ ।

बल ट्याम्परिङको मुद्दा भने जोहानेसबर्ग टेस्टका क्रममा उठेको हो । अस्ट्ेरलियाली कप्तान स्टिभ स्मिथले त्यस टेस्टका क्रममा बलको स्वरूपलाई बिगार्न खोजेको माने । आखिरमा उनीसामु अर्को विकल्प पनि थिएन । टिमका १२ औं खेलाडी क्यामरुन बेनक्रोफ्टले यस्तो प्रयास गरेको क्यामरामै रेकर्ड भएपछि के चाहियो र ? बेनक्राफ्टले मैदानमा छिर्ने क्रममा ‘टेप’ ल्याएका रहेछन् । ‘टेप’ को एक छेउमा जुन टाँस्ने रसायन हुन्छ, त्यसलाई बलमा सारे ।

अनि खेलाडीले त्यही भागमा धूलो टाँसे । यसरी टाँस्ने रसायन र त्यसमा धूलो राख्ने काम बलको एक भागमा मात्र हुन्छ । अर्को भाग भने नयाँ र चिप्लोजस्तै हुन्छ । यसले बलको एक छेउ गह्रौं हुन्छ भने अर्को छेउ हल्का । नतिजा बलरले बललाई आफूअनुकूल नचाउन सक्छन्, अझ क्रिकेटको भाषामा भन्दा स्विङ गर्न सक्छन् । स्विङ, इन–स्विङ पनि हुन सक्छ, आउट स्विङ पनि । अस्ट्ेरलियाली खेलाडीले यस टेस्टमा यही काम गरे, त्यो पनि योजनाबद्ध ढंगले, लगभग सबै खेलाडी मिलेर ।

यसको जिम्मेवारी भने कप्तान स्मिथको टाउकोमा बढी पर्‍यो । स्टिभ टेस्ट क्रिकेटमा नम्बर १ ब्याट्सम्यान हुन् । उनी साँच्चै कति अब्बल दर्जाका छन् भने उनको तुलना प्राय: महान् डन ब्रेडम्यानसँग हुने गर्छ । विपक्षी बलरले उनलाई आउट गर्न निकै मिहिनेत गर्छन् तर सक्दैनन् । भनिन्छ, उनको विकेट लिनु चिठ्ठा परेजस्तै हो । उनी निकै महँगा खेलाडी पनि हुन् । इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्ससँग उनको १९ लाख डलरको अनुबन्ध छ ।

उनी कप्तान नै हुन्, राजस्थानमा । यी सबै विवादबीच राजस्थानले उनलाई कप्तानबाट हटाएको छ । न त उनी अब अस्ट्ेरलियाली टिमका कप्तान नै रहे । यस्तै स्थिति उपकप्तान वार्नरको पनि छ । दुवैमाथि ठूलै सजाय हुन सक्छ । हल्लालाई आधार मान्ने हो भने दुवै खेलाडीमाथि आजीवन प्रतिबन्ध पनि लाग्न सक्छ । प्रत्येक दिन अब के हुनेछ भनेर नयाँनयाँ समाचार आइरहेका छन् । आजको दिनसम्ममा ठूलै सजाय भइसकेको पनि हुन सक्छ ।

यहाँनिर अस्ट्ेरलियाली क्रिकेटलाई बढी रिस उठेको कारण के भने उनीहरूको टिम बलियो छ, खेलाडी एकसेएक छन्, तर किन स्लेजिङ गर्नुपर्‍यो, अनि किन बल ट्याम्परिङ । यसै विवादबीच मेरलिबन क्रिकेट क्लबले पनि आफ्नो धारणा अगाडि सारेको छ । यो यही संस्था हो, जसले क्रिकेटको नियम बनाउँछ । उसको पनि भनाइ हो, अहिले क्रिकेटमा जे भइरहेको छ, त्यो राम्रो होइन । कसरी स्लेजिङ र बल ट्याम्परिङलाई रोक्ने हो, त्यसमा ध्यान जानुपर्छ । साँच्चै, उसकै भाषामा पनि क्रिकेटको मैदानमा ‘अलि धेरै नै भयो कि ?’

twitter : @himeshratna

प्रकाशित : चैत्र १७, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?