मेरो माइला राजा भो

कथा
यस्तोमा सकेसम्म धेरै प्रतिनिधि निर्देशक समेट्नु राम्रो मानिन्छ । त्यो बेलाका नीर शाह, तुलसी घिमिरे, शम्भु प्रधानहरूका फिल्म खोइ ? मातृभाषाको फिल्म पनि सूचीमा छैन ।
खगेन्द्र संग्रौला

काठमाडौँ — सिरानघरे माइला आउने रे, सुन्यौ नानी ?’ एक मन थोरै हाँस्दै र एक मन धेरै रुँदै नूरमाया घर्तीले भनी । थोरै हाँस्दै किनभने सिरानघरे माइला उसका छोराको कमान्डर थियो, उसका आँखाको नानीजस्तो ।

र, धेरै रुँदै किनभने माइला बाँचेर अहिले ठूलो मान्छे भएको थियो, छोरो मारिएको यतिका वर्षपछि पनि आमाका हृदयको घाउ आलै थियो ।

‘अँ त नि दिदी,’ चिया पसल्नी सुन्तलीले सही थापी । ‘त्यो त उडेर पो आउने रे लौ । कत्ति न ठूलो राजाजस्तो !’

Yamaha

‘कोई ठूलो हुनलाई कोई मर्नुपर्ने रैछ, हकि नानी ?’ वेदनाले कण्ठ हिक्क भयो र नूरमायाका आँखामा आँसु भरिए ।

सुन्तली अबाक् र हतप्रभ भई ।

राजधानीदेखि धेरै टाढा एउटा पहाडी गाउँ छ— झिबाङ । गाउँलेहरूको कल्पनालाई कुतकुत्याउँदै माथिबाट खबर आयो— ल है, गाउँमा सवारी हुने भो ! देशमा राजै छैन त कसको सवारी ? अरू कसको हुनु ? हाम्रै सिरानघरे माइलाको क्या । पहिलेको विद्रोही कमान्डर, अहिलेको केजाती उपराष्ट्रपतिको सवारी । धूलामा हिँडेर होइन, भुइँमा गुडेर होइन, आकाशमा भटभटेमा गट्टटट उडेर ! गाउँलेहरूले चकित मुद्रामा कान थापेर सुने— गाउँमा सिरानघरे वीरमान बाठामगरको सवारी हुने भो !

पन्ध्र वर्षअघिको कुरा हो । झिबाङमा आकाशे भटभटेमा राजाको सवारी भएको थियो । अहिले न नारानहिटी दरबारमा सिंहासन छ, न मुकुट लगाएको राजा कतै देख्नु छ । विद्रोहको भयङ्कर प्रहारले सिंहासन ढल्यो र राजा मासियो । राजाको सट्टा अब गगनमार्गबाट बाठामगरको सवारी हुने भयो !

‘नरोऊ दिदी,’ सान्त्वनाको लयमा नूरमायाको हात मुसार्दै सुन्तलीले सम्झाई, ‘बरु माइला आउँदा यसो रोइकराइ गर दिदी । यसो बिन्तीभाउ गर । तिम्रो डल्ले मरेर न हो यल्ले यस्तो हुन पाएको । ल, मौकामा यसो केही माग । अण्ण्, नातिलाई गरिखाने राम्रो इलम.... । गुनको पैँचो तिर्न तै यसले केही गरि पो हाल्ला कि...’

‘अँ नानी, गर्छु त भन्थ्यो ।’ अतीततिर फर्केर नूरमायाले भनी, ‘यो पहिल्यैको कुरा हो, नानी । मेरो डल्ले मारिएपछि ऊ मेरोमा आयो । ऊसँग आउनेको हूलै थियो । आयो, मायाले मेरा खुट्टा छोयो र रुँलाझैँ गरी भन्यो— अब तिमी हामी सप्पैकी आमा । अब हामी सप्पै तिम्रा छोरा । भो नरोऊ, कमरेड बज्र मरे पनि हामी छौँ ।’

मारिँदा डल्ले उर्फ बज्र २५ वर्षको थियो । एक महिनाअघि मात्र ऊ बाबु भएको थियो । यता घरमा बाबुको छोरो भएको थियो, उता छोराको बाबु रणमा थियो । बाबुले छोराको मुख देख्न पाएन, छोराले बाबुको मुख चिन्न पाएन । नूरमायाका बेचैन आँखा तल खोल्सातिर झरे, र उता खोल्सापारिको खोचमा पुगेर टक्क अडिए । त्यो उही रगतपच्छे खोच हो, जसमा आँखा पर्नु के छ, नूरमायालाई त्यसैत्यसै औडाहा भएर आउँछ । त्यहीँ त हो उसको छोरो मारिएको ! त्यो उसको जीवनको एक मात्र आशा, त्यो उसको एक मात्र सहारा ! उसको खेत भने पनि, उसको बारी भने पनि, उसको बन्दबेपार भने पनि, जे भने पनि उसको त्यही छोरो थियो । हो, आखिर त्यही त थियो इहलोकमा उसको सर्वस्व !

मध्य दिन । काँचो छाला सुकाउने भदौरे घाम चरक्क चर्केको बेला । त्यो एकलासे खोचमा बैरीका आँखा छलेर सत्ता पल्टाउने छापामार तालिम हुँदै थियो । बन्दुक पड्काउने, बैरीलाई ताक्ने, हानेर भाग्ने, घोप्टो परेर घस्रिने र अरू के के के के गर्ने तालिम । तालिम दिने माउ कमान्डर यही सिरानघरे माइला थियो, यही बाठामगर । कतै दूर आकाशबाट हेलिकप्टरको आवाज आयो । ऊबेला सिकार खोज्दै दाउ छोप्न हेलिकप्टरमा शाही सेना आउँथ्यो । ‘आतङ्ककारी’ को शंका लागे ऊ अन्धाधुन्ध बम खसाउँथ्यो, मिसिनगन चलाउँथ्यो । निसानामा कहिलेकाहीँ छापामार पर्थे, धेरैजसो निहत्था गाउँले अनाहकमा मर्थे ।

त्यस दिन छपामार फेला परे । एकबारको जुनी जोगाउन ती कोही कान्लामुनि लुके, कोही झाडीतिर कुदे । कसैले रूखको आड लिए, कोही भुइँमा घोप्टो परेर हल न चल भए । आ... व्याधाले त्यतिमाथिबाट के देख्ला र ? देखिहाले पनि त्यस नाथेले के नै पो नाप्ला र ? नूरमायाको डल्लेले मूर्ख तालले अटेर गर्‍यो । कहलिएको बहादुर थियो ऊ— कुनै बैरीलाई बाल नगन्ने, कोहीदेखि कत्ति नडराउने । के शत्रु, के मृत्यु— उसका लागि ती केही थिएनन् । त्यत्तिकैमा सेनाको गोली टाउकामा लाग्यो । ऊ कहिल्यै नउठ्ने गरी ढल्यो । र, त्यही खोचको धरतीले उसलाई सदाका लागि निल्यो ।

‘नरोऊ दिदी ।’
‘नानी, पापीका गोलीले मेरो डल्ले ढल्यो, र मेरो संसारै अँध्यारो भो ।’
‘दिदी....’
‘कठै ! आज ऊ बाँचिराख्या भए...’
‘ऊ नभए पनि माइला छ, दिदी ।’

‘खै नानी, छ भनूँ कि छैन भनूँ ? अचेल त्यो मान्छे अर्कै भा’छ भन्छन् । परचक्रीले कुरा काट्या हुन् कि साँच्चि हो म के जानूँ, नानी ?’

नूरमायाको भाँचिएको मन छोराबाट नातितिर मोडियो । नातिकी आमा ऊ जन्मेको दुई वर्षपछि अर्कैसँग गई । टुहुरो नाति बज्यैको शोकाकुल काखमा हुर्कियो । त्यो नाति अहिले अठाह्र वर्ष पुगेको थियो । पढ्दा–पढ्दै बीचैमा उसको पढाइ टुट्यो । के खानु, के लाउनु, कोसँग गुहार माग्नु, क्यै उपाय भएन । फिस भन्यो, किताब–कापी भन्यो, ड्रेस भन्यो, के भन्यो— केले पुर्‍याउनु ? अनि घाँस–दाउरा, खन–जोत, भारी ओसोर–पसार— नातिको पाठशाला त यो पो भयो !

‘कुरा सुन्दा त्यसैत्यसै डर लागेर आउँछ, नानी,’ नूरमायाले साउती गरी, ‘मेरो नाति बम पड्काउने पार्टीमा लाग्या छ भन्छन् । यसो सुन्दा ऊ कुरा पनि त्यस्तै गर्छ, नानी । मुठ्ठी कसेर ऊ भन्छ— म बम बनाउँछु र मेरो बाउलाई मार्नेलाई मार्छु ।’

सिरानघरे माइलाको सवारीको दिन नजिक आयो । गाउँमा फाटफुट पुलिस देखापरे । पुलिस देख्यो कि झबाङका गाउँलेहरूलाई पुरानो भूतको सम्झनाले तर्साउँथ्यो । द्वन्द्वकालमा गाउँमा जब पुलिस प्रकट हुन्थ्यो, उसले कि माथ्र्यो कि ऊ मारिन्थ्यो । पुलिस त्यही हो जो अहिले सवारीको सुरक्षा मिलाउन झबाङमा हाजिर भएको छ । पुलिसपछि गाउँलले शाही सेना भनेर चिनेका जवानहरू आए । गाउँलेलाई झन् डर लाग्यो । अब के हुने हो ? दुरुमदुरुम बुट बजार्दै सेनाले विद्यालय कब्जा गर्‍यो । सवारी टोलीको बास विद्यालयमा हुने भयो । विद्यालयको ग्राउन्डको बीचमा चुनाको रेखी हालेको हिलिप्याड बन्यो । र, वातावरण झन् डरमर्दो भयो । मानिसहरूलाई विद्यालयतिर हेर्न पनि कसोकसो डर लाग्यो । पुलिस उही हो, सेना उही हो— त्यसले के गर्छ, के गर्दैन कसरी जान्नु ? त्यसले ड्याङ्ग हान्यो भने !

बन्दुक बिसाएर भोटको राजनीति गर्न काठमान्डु जाँदा ऊ सादा सिरानघरे माइला थियो । अहिले उपराष्ट्रपति भएर भटभटेमा उसको सवारी हुँदैछ । उ: पर पूर्वी डाँडामाथि भटभटे देखियो । नूरमायाको मुटु काम्यो । उसका आँखा अनायासै तलको खोचतिर हुर्रिए । उसको डल्ले त्यही खोचमा कतै छ । उही शाही सेना हो, छोरालाई मारी पो हाल्ला कि ! नूरमायालाई भनन्न रिङ्गटा लाग्यो । पुतलीले उसलाई आड दिई । एकाएक नूरमायाको डाको छुट्यो । ‘मेरो डल्ले ! माइला त भटभटेमा उडेर आउँदैछ, माटामुिन तँ कहाँ बिलाइस् बाबु ? मेरो राजा !’

नूरमाया सोझो चित्तकी अकिञ्चन प्राणी थिई । उसको आशा थियो— सके सिरानघरे माइला उसलाई भेट्न मेरो छाप्रोमै आउला । ‘आमा’ भन्दै उसले सुखदु:ख सोध्ला । छाप्रामै नआए पनि उसले उसलाई भेट्न डाकिपठाउला । अनि पुराना वाचा सम्झेर मायाको भाकामा म आमालाई के गरूँ भनेर सोध्ला । तर दुर्भाग्यवश त्यस्तो केही भएन । उसलाई सिकारी कुकुर, पुलिस र सेनाले घेरेर विद्यालयमा लुकाए ।

सुरक्षा–सुरक्षा भन्दै तिनले ससाना भुइँमान्छेहरूलाई अलग्गै, परै लखेटे । अरू त अरू, नूरमायालाई धरी उसको छेउ पर्न दिएनन् । गाउँका पञ्च र मण्डले, कमरेड र काइते, टाठाबाठा र चोट्टाहरूले उसलाई नाकै पुरिने गरी माला लगाइदिए, खादा भिराइदिए र आकाशै चिरिने गरी उसको जयजयकार गराए ।

स्वागत–सत्कारको कर्मकाण्ड सकियो । र, अब सिरानघरे माइला उर्फ उपराष्ट्रपतिको फिर्ती सवारीको घडी आयो । बुङबुङती धूलो उडाउँदै भटभटे स्टार्ट भयो । सेनाका टुकडीको घेरामा लुकाएर सिरानघरे माइलालाई भटभटेमा हुले । नूरमायाको आशा खरानी भयो । उसले आहत सुस्केरा हाल्दै तर्क गरी— पहिले मेरो छोरालाई सेनाले मार्‍यो । अहिले मेरो माइलालाई उही सेनाले मदेखि खोसेर परपर लग्यो । धिक्कार छ !

भटभटे सोझै हुत्त माथि उड्यो । उन्मादी जयजयकारले गगन गुन्जायमान भयो । सिरानघरे माइलाको बूढो बाबुले हेलिकप्टर हेर्दै बडो घमण्डसाथ भन्यो, ‘हेर, मेरो माइला राजा भो !’ सँगसँगै नूरमायाको चीत्कार वायुमण्डलमा पोखियो, ‘हेर, अपराधी उड्यो !’ त्यो आक्रोशको तारो भटभटे थियो कि सेना थियो कि माइला थियो भन्न गाह्रो छ ।

हेलिकप्टर जति माथि उठ्दै गयो, त्यसको चापले नूरमाया त्यति नै तल दबिँदै गई ।

उसका आँखासामु घना अन्धकार व्याप्त भयो । ऊ त्यसैत्यसै लल्याकलुलुक भई । ऊ जमिनमा ढली र मूच्र्छा परी ।

Esewa Pasal

प्रकाशित : चैत्र १७, २०७४ ०९:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तीन सम्पादक र म

खगेन्द्र संग्रौला

काठमाडौँ — दुई कुराले कान्तिपुरतर्फ म आकृष्ट भएको थिएँ । तिनताक अल्पायुमै मर्न अभिशप्त र पाठकको वृत्त सीमित भएका घरी यो र घरी त्यो वाम साप्ताहिकमा म लेख्थें । कान्तिपुरको आयु अपेक्षाकृत लामो हुने निश्चित थियो र त्यसको पाठकवृत्त थियो कता हो कता व्यापक । 

कान्तिपुर मेरो लेखनीको अस्थायी डेरा हो । द्वन्द्वरत विचारहरूबीचको नित्य घर्षणका कारण आज छ, भोलि छैन टाइपको । कान्तिपुरको सम्झना भयो कि मेरो अन्तरमनको ऐनामा तीनवटा अनुहार लहरै देखिन्छन् । मेरो सम्झनामा बराबर आइरहने र सायद धेरै दिनसम्म नबिर्सिइने तीन पुलिंगी अनुहार । यी अनुहारका स्वामी हुन्— युवराज घिमिरे, नारायण वाग्ले र सुधीर शर्मा । कान्तिपुरका समय, समयका मेरो तीन सम्पादक । हुनलाई कान्तिपुर यी त्रिमूर्तिको पनि अस्थायी डेरा नै हो । र, म हुँ यी डेरावालको पनि डेरावाल । हाम्रा घरबेटी महाजनको कान्तिपुरको नेपथ्यमा स्वामित्वसहितको स्थायी बास छ ।

कान्तिपुरका प्रथम सम्पादक योगेश उपाध्याय मेरा लागि बिष्टबराजुसरह भइदिए । र, तिनका दृष्टिमा म भएँ एक पानी अचल दलितसरह । तिनका पालामा कान्तिपुरको द्वार मेरालागि सदैव बन्द रहयो । मैले पटकपटक लेख पठाएँ, प्रकाशनको प्रकाश देख्नै नपाई अन्धकारमा ती विलीन भए । दुई कुराले कान्तिपुरतर्फ म आकृष्ट भएको थिएँ । तिनताक अल्पायुमै मर्न अभिशप्त र पाठकको वृत्त सीमित भएका घरी यो र घरी त्यो वाम साप्ताहिकमा म लेख्थेँ । कान्तिपुरको आयु अपेक्षाकृत लामो हुने निश्चित थियो र त्यसको पाठकवृत्त थियो कता हो कता व्यापक । वाम लेखकले वाम अखबारबाट ज्यालाको आस गर्नु त्यागैत्याग गर्नुपर्ने निष्काम वाम धर्मविपरीत हुन्थ्यो । कुनै उदार वाम अखबारले चुनदाम दिइहाले पनि त्यो हात्तीको मुखमा जिरा हुन्थ्यो । तर कान्तिपुरले चल्तीको दररेट हेरी ज्याला राम्रै दिन्थ्यो । वृत्ति आर्जनको मेरो नियमित स्रोत थिएन । म गोराहरूलाई भाषा दान गर्ने काममा थाकेर पेट पाल्न पटयारलाग्दा विकासे स्रेस्ताहरू अनुवाद गर्थेँ । कान्तिपुरमा लेखेर यो पटयारबाट आंशिक रूपमै भए पनि चैनको सास फेर्ने मेरो रहर थियो । तर म ताक्छु मुढो, बिष्ट योगशबाबु ताक्छन् म दलितका ससाना आकांक्षाहरूको निम्छरो घुँडो भइदियो ।

जब युवराज घिमिरे बीबीसीको नामी र दामी जागिर छाडेर कान्तिपुरमा डेरा सरे, छोइछिटोबाट म मुक्त भएँ । मेरा चाबेलिया तरुण मित्र विमल फुयाँल त्यो बेला ब्रिटेनमा विद्या आर्जन गर्दै थिए । युवराजले मित्र विमललाई सोधेछन्— नेपालमा सार्थक लेख्ने र पढिने लेखक को–को हुन् ? मित्रको भलाइको मनसायले विमलले त्यस्ता लेखकहरूको सानो सूचीमा मेरो नाम घुसाइदिएछन् । र, मलाई चकित र हर्षित तुल्याउँदै युवराज मेरो घरपिँडीमा टुप्लुक्क आइपुगे । मलाई लाग्छ, लेखक खोज्न मजस्ता ससाना नाम भएका लेखकका घरदैलामा पाउकष्ट गर्ने प्रतिष्ठित अखबारका प्रथम विनयशील सम्पादक सायद युवराज नै हुन् ।

तीन राजनीतिक घर्षणकालमा तीन सम्पादकसँग सहकार्य गर्ने संयोग मलाई प्राप्त भयो । यी त्यस्ता तीन घटना थिए, जसमा इतिहासले यी तीन सम्पादकको सम्पाकीय सामथ्र्य र नैतिक निष्ठाको परीक्षा लियो । परीक्षामा कसको प्रवृत्ति र हैसियत कस्तो देखियो, त्यसको नतिजा इतिहास भएको छ ।

भन्दै थिएँ, आङ्लभूमिबाट युवराज आए र कान्तिपुरमा मेरा हातको पानी चलाइदिए । म लेख्न थालेँ । लेखनको विषय, लेखनशैली र लेखकीय दृष्टिमा मलाई पूूरापूरा छुट थियो । सुरुको मेरो ज्यालादर एउटा पुन्टे लेखको सात सय रुपैयाँ थियो । त्यो कान्तिपुरको उच्च दररेट थियो क्यार । युवराजसँग उनको डेरा र कान्तिपुर अड्डा दुवै ठाउँमा मेरो भेट हुन थाल्यो । उनी बडो प्रेमी थिए— हौसलाकारी, सहयोगी र उदार । सम्पादकीय कक्षमा एकाध पटक मैले युवराजलाई भेटेँ । उनी हर्दम क्रियाशील रहन्थे र हर्दम व्यस्त । कुरा गर्दागर्दै वाक्यको बीचैमा उनी कम्प्युटरमा एक वाक्य लेख्न भ्याइहाल्थे । मेरो व्यर्थको उपस्थितिले उनको एकाग्रता बिथोलिएला भन्ने भयले म आफ्नो बाटो लागिहाल्थेँ ।

दरबार हत्याकाण्ड घटित भयो । कान्तिपुरको अभिमत पृष्ठको उपल्लो भागमा राजनीतिका ठूला मानिस बाबुरामको ठूलो लेख छापियो । र, उनको लेखमुनि साहित्यको म सानो मानिसको सानो लेख छापियो । उनको लेखको शीर्षक थियो ‘नयाँ कोतपर्व...’ । उनको र मेरो लेखको अभिप्राय लगभग मिल्थ्यो । उनका लेखले मुखर चर्चा पायो, मेरो लेख मौन चर्चामा विलीन भयो ।

प्रधानमन्त्री गिरिजाबाबु थिए । तिनले युवराजलाई पक्राउ गरे । जनयुद्धकारी बाबुराम भूमिगत थिए । ती लालयोद्धा पक्राउ पर्ने कुरै भएन । युवराजको छुट्कारा माग्दै म प्लेकार्ड बोकेर सडक अभियानमा सामेल भएँ । त्यो पक्राउ र त्यो प्रतिकार युवराज र मलाई भावनात्मक रूपले झनै निकट तुल्याउने चुम्बकीय आकर्षण बन्यो । युवराज छुटे । गिरिजाबाबु हिस्स परे ।

दिन बित्दै गए र कान्तिपुर गोरखापत्र हुँदै गयो । कान्तिपुरमा अध्योपान्त एकै भाका, एकै रङ्गमा एउटै कुरा छापिन थाल्यो । दरबार हत्याकाण्डको अपराधी युवराज दीपेन्द्र हो, मात्र दीपेन्द्र । सबै निजामती र जङ्गी ख्वामितले यही बोलीमा लोली मिलाए । अंग्रेजी र संस्कृतका पण्डितहरूले यही लोलीमा बोली मिसाए । विकासे नागरिक समाज यही बोलीको भेलमा लतारियो । मूलधारे सञ्चार आँखा चिम्लेर यही हावामा बग्यो । एकल दीपेन्द्रले होला र ? जिज्ञासा, प्रश्न र सन्देह कहीँ कतै मुखर भएन । असन्तुष्ट र किञ्चित आक्रोशित भावमा मैले ‘भतिज दीपेन्द्र, मलाई माफ गर’ लेखेँ । त्यो भावुक भाकामा एक अकिञ्चनको जिज्ञासा, प्रश्न र सन्देहको अभिव्यक्ति थियो । मानौँ छाप्न मन नलाग्दा नलाग्दै कान्तिपुरमा त्यो छापियो । त्यो जहाँ र जसरी छापियो, त्यसमा सम्पादकीय टेबुलको नग्न उपेक्षा ध्वनित भयो । त्यो विविधा पृष्ठको पुछारमा, सीमान्त कुनामा छापियो । सिरानमा लेखको अर्थको अनर्थ हुने गरी कम्ब्याट ड्रेस लगाएका क्रुद्ध दीपेन्द्रको फोटो छापियो । त्यो मेरो जिज्ञासा, प्रश्न र सन्देह लोकदृष्टिमा पर्नुअघि नै गरिएको अधीर, असहिष्णु र धृष्ट प्रतिवादको द्योतक थियो ।

अनौठो भयो !दरबार हत्याकाण्डको भ्रान्तिकारी प्रचारबाजीमाझ कान्तिपुरले आफ्नो स्वतन्त्र चेतनाको कान्ति गुमायो ।

केही समयपछि म कान्तिपुरको स्तम्भकार भएँ । कुन्साङ काकाको बेलाको बोलीले मेरो लेखकीय पहिचान र पाठक वृत्तलाई जादूगरी पाराले विस्तार गरिदियो । मैले उत्पीडक वृत्तको मुखर निन्दा र उत्पीडित वृत्तको मौन प्रशंसाको यथेष्ट धन आर्जन गरेँ । खोजीखोजी कान्तिपुरमा ठाउँ र भाउ दिएर मलाई यो धन आर्जन गर्ने अवसर प्रदान गर्ने मित्र युवराज धन्य हुन् ।

युवराजले कान्तिपुर छाडे । कालक्रममा राजतन्त्र ढल्यो । शंकर लामिछानेद्वारा परिभाषित जीवनको प्याजको एउटा पत्र उक्कियो । मैले चिनेका युवराज गायब भए र युवराजभित्रबाट अर्कै युवराज प्रकट भयो । नरेशप्रेमी, हिन्दुत्वका पक्षधर, लोकदृष्टिमा पश्चगामी । युवराज भूपू नरेश ज्ञानेन्द्रको जन्म दिनमा, श्रीमान् कमल थापाको समीपमा, निर्मल निवासमा जब उदाए, म चकित, विस्मित र दु:खित भएँ । हेर्दाहेर्दै, मेरा आँखैअगाडि मानौँ पुलतीभित्रबाट झुसिल्किरो फुत्त बाहिर निस्कियो। पछि युवराज अन्नपूर्णको सम्पादक बने । र, अन्नपूर्ण राप्रपा (थापा) को मुखपत्रजस्तो भयो, जसको द्वार, कसैले भन्यो— मेरालागि बन्द छ । जब हिजोका युवराज रहेनन्, म उनको पूर्वऔतारको मित्रका लागि अन्नपूर्णको द्वार आखिर ंकिन पो खुला रहोस् र ?

अब म जिराफ औतारी बोस नारायण वाग्लेतिर फर्किन्छु । कान्तिपुरको सम्पादकबाट दुई दिनका पाहुना युवराज बिदा भए, र सट्टाभर्ना भए दुई दिनका पाहुना नारायण वाग्ले । स्वभाव र कार्यशैलीमा युवराज र नारायण ठयाक्कै उल्टा ध्रुवजस्ता । मसँगको उठबसमा युवराज सदैव गम्भीर, नारायण सदैव ठट्टयाइला, रमाइला । युवराज योजनाबद्ध, संरचनाबद्ध र स्थितप्रज्ञ, नारायण अरे चलेगावाला, मगनमस्त र चञ्चल । रूपवादी कफीगफ नारायणको चिन्तन, स्वभाव र शैलीको विछट्टको प्रतिविम्बन । यदाकदा म कान्तिपुर जाँदा युवराज सधैँ आफ्नो सम्पादकीय टेबुलसामु काममा घोटिँदै हुन्थे, नारायण सधैँ क्यान्टिनमा गफ दिँदै र गफ लिँदै हुन्थे । मैले नारायणले अड्डाको गाडी चढेर ठाँटबाँट प्रदर्शन गरेको कहिल्यै देखिनँ । मेरा आँखा छलेर अवश्य गर्दा हुन् । ती जिराफ औतारी मानव सडकको पेटीको भीडमा दुई–चार सय मिटर परैबाट देखिन्थे । बसउठ र हिमचिम बढ्दै जाँदा नारायण र मेरोबीचका औपचारिकताका सबै पर्दाहरू च्यातिए । म विनोदी भावमा तिनलाई ‘बोस’ भनेर सम्बोधन गर्न थालेँ, ती ठट्टैठट्टैमा मलाई ‘कुल्ली’ भन्न थाले । तीसँगका विविध र बहुरङ्गी भेटघाट कफीगफदेखि दारुदबासम्म विस्तारित भए । जिन र टनिक तिनलाई जति मन पर्ने, मलाई त्योभन्दा कतिकति बढी मन पर्ने । सार्वजनिक भेलास्थलमा मैले हाकाहाकी प्रेममय उपहास वा कटाक्ष गर्न सक्ने मेरा एक मात्र सार्वजनिक व्यक्तित्वयुक्त मित्र नारायण हुन् । कुन्नि, म पनि उनको त्यस्तो एकल मित्र पो हुँ कि ।
नारायण वाग्लेबारे निजात्मक निबन्ध लेख्न खोजेजस्तो भयो । मैले लेखिरहेको त कान्तिपुरका सम्पादक नारायणबारे पो हो । आफ्नो कमान्डको पत्रिका, त्यसको गुणवत्ता, भविष्य वा नियतिबारे नारायणले खासै चिन्ता गरेको मलाई सम्झना छैन । युवराजले कष्टसाध्य यत्नद्वारा कान्तिपुरको ढाँचा तयार पारेका थिए । त्यही ढाँचामा कान्तिपुर लुखुरलुखुर हिँडिरहयो । नारायण गजक्क परेर झुसे जुँगामा ताउ लगाउँदै सम्पादक भइरहे ।

यदाकदा फाँटवाला बन्धु मेरो स्तम्भमा कैँची चलाएर सम्पादनको नाममा अनर्थ गर्थे । क्रोधयुक्त स्वरमा म सोध्थेँ— नारान्, यो त बाँदरे ताल भो नि । आखिर बाँदरले त बिगार्न मात्र न जान्दछ । नारायण विस्मय प्रकट गर्थे— ए हो र खगेन्दाइ ? मानौँ उनी कान्तिपुरका सम्पादक होइन, दूरस्थ रमिते हुन् । नारायणको कृत्रिमतारहित विनयशीलता र सन्देहरहित निश्छलता मेरा कानमा जब ध्जनित हुन्थ्यो, मेरो आधा झोँक शून्यमा बिलाइहाल्थ्यो ।

जनविद्रोहको धक्काले राजतन्त्रको सिंहासनढल्यो । लोभ, क्रोध र अहंकारका कीर्तिमानीस्वामी अपुताली राजा ज्ञानेन्द्र कुम्लाकुटुरा बोकाएर वनबास हिँडे । बिदा हुनुअघि ‘आफ्ना पौरखी पुर्खाले छाडिगएको अमूल्य नासोरूपी श्रीपेच’ सुम्पिन ज्ञानेन्द्रले पत्रकार सम्मेलनको नाटक रचे । नाटकले विद्रूप प्रहसनको रूप लियो । सम्मेलनाा पत्रकारहरूको उन्मादी होहल्ला छायो । पत्रकारका मुक्काले टेबुल चर्किए, कुर्सी तोडिए । र, कोलाहलको बीचमा, उपहासमय वातावरणमा स्वर उकास्दै बोलीटोपलेर ज्ञानेन्द्रलेपत्रकार सम्मेलन तुरे ।

दम्भ र दर्प,ं दमन र शोषण एवं अन्धविश्वास र रूढिको किल्लारूपी दरबारमा आयोजित विरल र विफल पत्रकार सम्मेलनबारे मैले आफ्नो स्तम्भको नयाँ किस्ता लेखेँ । कान्तिपुरमा त्यो छापिएन । त्यो किन बदर भयो, कृपा गरी मलाई भनिएन । कान्तिपुरमा दरबारी पत्रकार सम्मेलनमा पत्रकारहरूद्वारा प्रदर्शित आचरणको घोर निन्दा गरियो । यसमा कान्तिपुरको र मेरो दृष्टिकोण बाझयो । पत्रकारहरूले आफ्ना पेसागत धर्मविपरीत आचरण गरे । र, तिनले भद्रतासाथ सिंहासनबाट बिदा हुन लागेका राजाको अपमान गरे । सम्भ्रान्त वृत्तको मत यस्तो थियो । त्यही मतमा कान्तिपुरले ल्याप्चे सही धस्कायो । मेरो तर्क फरक थियो । मेरो स्तम्भमा पत्रकारहरूको आचरणको न प्रशंसा थियो न निन्दा । मैले त केवल पीडादायी ऐतिहासिक अनुभवका सन्दर्भमा सानो टिप्पणी गरेको थिएँ । मेरो तर्क थियो— पत्रकारहरूको त्यो आचरण सामन्ती राजतन्त्रद्वारा दमित र अपमानित प्रजाहरूका आहत हृदयमा सञ्चित क्रोध, आक्रोश र पीडाको स्वाभाविक अभिव्यक्ति हो । त्यो त वास्तवमा अपमानबोधको असहय पीडाले पीडकसामु मौकामा चौका हानेको पो हो । र, त्यो पीडित आत्माहरूको पीडा विरेचन अर्थात् पीडा पोखेर मन चङ्गा पार्ने स्वत:स्फूर्त जुक्ति हो ।

मलाई लाग्यो— मेरो स्तम्भको किस्ताको खारेजी सायद कान्तिपुरबाट मेरो स्तम्भको बिदाइको परोक्ष आदेश हो । आदेशको पालना गर्दै स्तम्भबाट म हटेँ । तँ किन हटिस् भनेर बोसले कुल्लीलाई सोधेनन्, यतियति कारणले म हटेँ भनेर कुल्लीले बोसलाई बोध गराएन । नारायण सम्पादक रहिरहे, लेखनीको अस्थायी डेरा त्यागेर म चुपचाप घरतिर हिँडेँ ।नारायण मेरा बोस रहेनन्, म नारायणको कुल्ली रहिनँ । तर हाम्रो विरल आत्मीयता भने रहिरहयो ।

अब आए प्रसंगमा सुधीर शर्मा— समयक्रम र उमेर दुवै दृष्टिले कान्तिपुरका कनिष्ट सम्पादक । भूपू सम्पादकको प्रशंसा गर्नुमा कुनै खतरा हुँदैन, कारण ऊ कृपा प्रदान गरी लेखकलाई भुत्ते वा पङ्गु बनाउने हैसियतमा हुँदैन । वागी लेखक जब कृपा ग्रहण गरेर भुत्ते र पंगु बन्छ, उसको कर्तव्य बन्छ भनेको मान्नु र उसको ध्याउन्ना हुन्छ दिएको खानु । नीति वचन ठीकै भन्छ— मृदङ्गो मुख लेपेन करोति मधुर ध्वनिम् । माने के भने मुखमा चट्ट लेप लगाइँदा मादलको अन्तर्यबाट मधुर ध्वनि गुन्जिन्छ । मादलका लागि यो लेप अत्यावश्यक हुन्छ र शोभनीय पनि । तर लेखकका ओठमा जब मधुमय लेप लगाइन्छ, लेखकका रूपमा लेखक सकिन्छ । त्यसैले बहालवाला सम्पादक सुधीर शर्माको प्रशंसा नगर्न म सचेत छु । तर सम्पादक सुधीरबारे पनि आखिर केही त भन्नैपर्‍यो ।

सुन्दर मुखाकृति, मुस्कानमय ओठ, अनारदाने फटिक दाँत, शोभादायी परिधान— सुधीर प्राय: चिटिक्क परेर हिँड्छन् । जब सुधीर सम्पादक बनाइए, मेरो मनमा हत्तेरी, अल्लारे केटो पो सम्पादक बन्यो लौ भन्ने भाव पैदा भएको थियो । त्यो भाव वास्तवमा वृद्धको तरुणलाई अज्ञानी र अपरिपक्व देख्ने अहंकारी मनोविज्ञानको उपज थियो । सुधीर सम्पादक भए, र कान्तिपुर पूर्ववत् सुचारु रहयो । न पुरानो केही घटयो न नयाँ केही थपियो ।

हप्ते तारेखतुल्य स्तम्भबाट निवृत्त भएपछि अलि दिन म चुपचाप बसेँ । त्यो प्रयास र थकानपछिको विश्राम थियो । मलाई विचार सञ्चार गर्न माध्यम चाहियो, गोजेरो भर्न चारो चाहियो । र, म पुन: कान्तिपुर फर्केँ । पहिले स्तम्भधारी डेरावालको औतारमा थिएँ, अब म फाटफुट लेख्ने शरणार्थी भएँ । मेरो पुनरागमबाट सुधीर प्रसन्न भए । यसबीच मैले सुधीरका दुईवटा औतार देखेँ । ‘प्रयोगशाला’ अघिको सरल औतार, ‘प्रयोगशाला’ पछिको षड्यन्त्रको सिद्धान्तधारी जटिल औतार । अघिल्लो निकट र अन्तरङ्ग, पछिल्लो दूरस्थ र औपचारिक । अघिल्लो सहज र सुखकर, पछिल्लो कसोकसो असहज रकिञ्चित पीडादायी ।

जब ‘प्रयोगशाला’ पढेँ, मेरो मथिङ्गल हल्लियो । म क्रुद्ध, खिन्न र उद्विग्न भएँ । लाग्यो, विद्रोहको आँधी उठाउने कर्ताहरू साँच्चि नै पूर्णरूपले परचक्रीद्वारा नियन्त्रित, निर्देशित र सञ्चालित हुन् भने सारा नेपालीले सामूहिक आत्महत्या गरे हुन्छ । जो केवल अर्काको इसारामा चल्ने आत्महीन, निजत्वहीन र स्वाभिमानविहीन गोटी हो, यो नरलोकमा उसको अस्तित्व रहनुकोऔचित्य के ?
यदाकदाका भेटमा मेरा सम्पादक, ‘प्रयोगशाला’ का स्रष्टा, सुधीरसँग जब कुराकानी सुरु हुन्छ, म अकमकिन्छु । के भन्ने के नभन्ने ? सुधीर मेरा वचनको निहितार्थमा कतै षड्यन्त्रको सिद्धान्त पो खोजिबस्लान् कि ? कसोकसो सुधीर र मेरो कुराकानीको बीचमा एक अदृश्य, अभेद्य पर्खाल खडा भएझैँ लाग्छ । र लाग्छ, पर्खालवारिको कुरा पारि सुनिँदैन, पर्खालपारिको कुरा वारि सम्प्रेषण हुँदैन । मेरा यी वचन पढेर हास्य मुद्रामा सुधीर भन्लान्— यो बूढो जटिल छ † वास्तवमा जटिल म होइन, सुधीरको षड्यन्त्रको सिद्धान्त हो ।

ऐतिहासिक दमन र अपमानको अथाह पीडाले चीत्कार गर्दै जब मधेसी र थारू समुदाय समान हक र प्रतिष्ठाको आन्दोलनमा डटे, कान्तिपुर एक रेखीय, एक रङ्गी र एक आयामिक औतारमा प्रकट भयो । मधेसी र थारूको आन्दोलनमा जे भयो, त्यो देखिएन र लेखिएन । जे देखियो र लेखियो, त्यसमा षड्यन्त्रको कल्पित सिद्धान्तको कुरूप रूप प्रकट भयो । आन्दोलनमा एक जना पहाडी मारिँदा, कान्तिपुरका पन्नामा आँसुका धारा बगे, पाँच जना मधेसी वा थारू मरिँदा बगाउनलाई एक थोपो आँसु बाँकी रहेन । जीवनको सबै मूल्य पहाडीलाई प्रदान गरियो, मधेसी र थारूलाई प्रदान गर्न एक पित्को मूल्य बाँकी रहेन । कान्तिपुरका पन्नामा आन्दोलनकारी मधेसी र थारू नेपालका नेपाली देखिएनन् । ती त परचक्रीको इसारामा चल्ने परचक्री पो देखिए । तीआफ्नो मौलिकता र निजत्वसहित अस्तित्ववान् देखिएनन्, ती फगत कतैका प्रभुका प्यादा देखिए । पहाडीको मृत्यु अथाह शोकको विषय बन्यो । विडम्बनावश, मधेसी र थारूको मृत्युमा खुसी मनाइयो ।

आमसञ्चारको कर्म र धर्म वाणीविहीनको वाणी बन्नु हो । र, सीमान्त, वञ्चित र परित्यक्त जनहरूका सपनाका संवाहक बन्नु हो । तर मधेसी र थारू आन्दोलनमा आमसञ्चार सनातनी शासक र सम्भ्रान्तगणको संकीर्ण स्वार्थको खेलौना बन्यो । दुर्भाग्यवश, यसमा कान्तिपुर अपवाद रहेन  ।अनौठो भयो † मधेसी र थारू आन्दोलनमा नश्लीय प्रतिशोधको हुंकारसामु कान्तिपुरले आफ्नो स्वतन्त्र चेतनाको कान्ति गुमायो ।

बस्, यति नै । जब सुधीर भेट हुन्छन्, तिनले मलाई लेख्न आग्रह गर्न बिर्सँदैनन् । अहिले नयाँ औतारका युवराज घिमिरे कान्तिपुरमा छैनन् । धन्न सुधीर छन् र नै मित्र अखण्ड भण्डारीले यो रङ्ग र रसहीन खेस्रा लेख्न मलाई घरीघरी घचघच्याए ।
संग्रौला स्वतन्त्र लेखक हुन्।

प्रकाशित : फाल्गुन ७, २०७४ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT