कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षका तीन चेहरा

फिल्म
गोकर्ण गौतम

काठमाडौँ — वर्ष २०७४ को पहिलो दिन घामपानी, राधे र लभ लभ लभ प्रदर्शन भए । अन्तिम दिनचाहिँ लिलीबिली र नेप्टे । यसबीचमा करिब ८० फिल्म आए । झन्डै ८० प्रतिशत फिल्महरू ‘गोलखाँडी’ गए, सदाझैं । बक्स अफिस प्रणाली छैन ।

वर्षका तीन चेहरा

निर्माता, वितरकको ‘ओठे’ हिसाब पत्याउनुपर्ने बाध्यताले निरन्तरता पाइरह्यो । छक्कापञ्जा २, शत्रुगते, दुई रुपियाँ, म यस्तो गीत गाउँछु, ए मेरो हजुर २ लगायतका सीमित फिल्मले मुनाफा कमाए । लभस्टोरी, मसला र कमेडी फिल्मको दबदबा रह्यो । त्यसो त देश खोज्दै जाँदा, नाका, लालपुर्जालगायतका फिल्ममा केही नयाँ प्रयोग नभएको होइन ।

बजार–बिक्री आधारमा सहरमा वर्षैभर ‘शत्रुगते’ र ‘छक्कापञ्जा’ को चर्चा भैरहेका बेला थोरै भए पनि कलाधर्म, स्तरीयता र गुणवत्तामा वर्ष २०७४ मा अडिन सकेका कलाकार को होलान् ? अफसोस ! फितलो कलाधर्ममा अडिने एकाध नायकहरू त भेटिए, तर नायिका भने भेट्नै मुस्किल भो ।

चकलेटी अनुहारहरू अनमोल केसी, प्रदीप खड्का, सलिनमान बनिया र पल शाहले बिग बजेटका फिल्म खेले तर खास कमाल देखाउन सकेनन् । दीपकराज गिरीले ‘बक्स अफिस हेजिमोनी’ कायम राखे, छक्कापञ्जा २ र शत्रुगतेबाट । तर अनमोल ग्याङ र गिरीका फिल्म अनि उनीहरूको चरित्र/अभिनयले सिनेमालाई कलात्मक उत्पादन मान्ने समूहलाई रिझाउन सकेन । सिनेमा व्यापार मात्र हो वा यसको समाजप्रति दायित्व पनि हुन्छ भन्ने बहस अझ घनीभूत भयो । यही पछिल्लो गोरेटोमा केही अभिनेताहरूले प्रत्यक्ष/अप्रत्यक्ष मलजल गरे ।
यस्तै नेपाली फिल्मको गुणात्मक विस्तारका लागि लागिपरेका तीन अभिनेताहरूको चर्चा गरिएको छ । जो बितेको वर्ष कथावस्तु, चरित्र छनोट र अभिनय कौशलका आधारमा अगाडि रहे ।

दयाहाङ राई
गत वर्ष दयाहाङ अभिनीत पाँच फिल्म प्रदर्शन भए, तान्द्रो, घामपानी, मिस्टर झोले, कान्छी र नेप्टे । तान्द्रोबाहेक तीन फिल्म व्यावसायिक रूपमा औसतभन्दा माथि रहे । नेप्टेको ‘रिजल्ट’ आउन बाँकी छ । तान्द्रोमा प्रचुर अभिनय क्षमता पस्कन पाए । त्यसैले नि:सन्देह दयाहाङ अभिनेताको सूचीमा अग्रपंक्तिमा छन् । निर्देशक तथा पटकथाकार कुमार भट्टराईको बुझाइमा दयाहाङले आर्ट र कमर्सियल फिल्मको सन्तुलन मिलाइरहेका छन् । भट्टराई भन्छन्, ‘सिनेमालाई बौद्धिक खुराक मान्ने दर्शकका लागि दयाहाङले तान्द्रो दिए । घामपानी र मिस्टर झोलेमा रमाइलोसँगै केही सवाल मुखरित गरिएको छ । अनि मूलधारका दर्शकका लागि कान्छी छँदै थियो ।’ निर्देशक/अभिनेता अनुप बरालचाहिं तान्द्रोको अलग चरित्रकरणको प्रशंसा गर्छन् । दयाहाङका गुरुसमेत रहेका बराल भन्छन्, ‘उनी उस्तै लाग्ने भूमिकामा खुम्चिँदै गएका थिए तर तान्द्रोमा गम्भीर चरित्रको मनोविज्ञानमा खेल्ने प्रयास गरेका छन् ।’

तान्द्रोमा घाइते माओवादी छापामार बने । घामपानीमा बाहुनी केटीलाई मन पराउने तामाङ मास्टर । मिस्टर झोलेमा सेक्युरिटी गार्ड अनि कान्छीमा ग्रामीण भेगको नाटकघरमा  । जब समाजमा समावेशीको मुद्दा पेचिलो भयो, सिनेमामा दयाहाङको उदय भयो । त्यसैले उनका फिल्म र चरित्रमा सामाजिक न्याय, समानता र समावेशिता सवाल कहीं न कहीं आएकै हुन्छन् । मूलधारको कथ्य संरचनामा यसलाई दयाहाङको दरिलो योगदान मान्नुपर्छ । उनका सिनेमामा हामीले जानेको, देखे/भोकेकै कुरा आउँछन् । समाजबाट पर भागेका हुँदैनन् । झर्रो लाग्छ । ताजापन आभास हुन्छ । त्यसैले कति फिल्मले मनग्य व्यापार नगर्दा पनि दयाहाङको ‘क्रेज’ ओरालो लागिहाल्दैन । एकै वर्ष पूरापूर मसलेदार कान्छी र गम्भीर प्रकृतिको तान्द्रो खेल्नु नै दयाहाङको अब्बलताको मानक हो । लाग्छ, हरेक वर्ग/समूहका दर्शकलाई रिझाउन पोख्त हुँदै छन् ।

दयाहाङकै शब्दमा एउटा अभिनेताले वर्षमा एउटा उत्कृष्ट फिल्म दिन सक्छ, त्यो कोटा तान्द्रोले पूरा गरिदियो । घामपानी पनि उनलाई राम्रो लागेको रहेछ । यस वर्षको ‘ब्याकअप’ हो, नीरफूल । उनी आफैंले आफूलाई ‘नम्बरिङ’ गर्न चाहेनन् । त्यसो भए उनलाई अर्को कुन अभिनेता उत्कृष्ट लाग्यो त ? भन्छन्, ‘मलाईचाहिं विपिन कार्की मन पर्‍यो ।’

अनुपम शर्मा
अनुपमको वास्तविक जीवनको हुलिया हेर्दा लाग्छ, सहरको भागदौडमा निसासिरहेको र आफ्नो अपेक्षा पूरा गर्न नसकेको निराश युवा हो । जो समाजबाट भाग्न चाहेको वा समयभन्दा अलि परको जस्तो लाग्छ । अनुपमले यही निराशा रूपान्तरित गरेका छन्, बितेको वर्ष रिलिज भएका उनका दुई फिल्म ग्याङस्टार ब्लुज र गाँजाबाजामा ।

ग्याङस्टार ब्लुज नेपालगन्जको कथा हो । त्यही सहरको एउटा सन्की र महत्त्वाकांक्षी केटा हुन्छन्, अनुपम । राजनीति र सामाजिक कारणले आफ्नो अपेक्षा नभएपछि कालान्तरमा ऊ अपराधतिर मोडिन्छ । सतहमा यस्तो देखिए पनि, खासमा त्यस्ता पात्रले भडास पोखिरहेका हुन्छन् । कान नसुन्नेलाई सुनाउन बम पड्काएजस्तै । अनुपमले यही कोणबाट चरित्र निर्माण गरेका छन्, सोही कारण भिलेन भईकन पनि उनको उपस्थिति विशिष्ट छ । गाँजाबाजामा पश्चिमेली हावाले छोएको तर आफ्नो यथार्थलाई स्विकार्न नसकेको नयाँ पुस्ताको प्रतिनिधित्व पात्र हुन्, अनुपम । जसले वास्तविक समयबाट बाहिर आउन गाँजाको सहारा लिन्छ । दुवै फिल्म हेरेका निर्देशक भट्टराई भन्छन्, ‘अनुपमले अभिनय गरिरहेको छ कि त्यही पात्र नै अनुपम हो, छुट्यान मुस्किल पर्छ । ऊ र उसको चरित्र पानीमा चिनी घोलिएजस्तै घोलिन्छ ।’ उस्तै प्रकृतिको चरित्रलाई पनि भिन्न ‘सेड्स’ दिन सक्ने क्षमता राख्छन् अनुपम ।

नेपाली फिल्म लामो समय राजेश हमालको ‘ह्याङ्ओभर’ बाट गुज्रियो । दयाहाङ र सौगात मल्लको प्रवेशसँगै हमाल बासी भए । पाँच वर्षकै अन्तरालमा दयाहाङ र सौगात नै बासी हुने आवाज उठ्न थालेको छ । यस्तो बेला अनुपमलाई पृथक् र ताजा अनुहार मान्न सकिन्छ । विडम्बना † हामीकहाँ अझ पनि अनुहार हेरेर फिल्म लेखिन्छ, जसमा अनुपम पर्दैनन् । अरूलाई लेखिएको वा सहायक भूमिका पाउँछन् । तैपनि ‘म्याजिक’ गरिदिन्छन् । उनकै लागि लेख्ने हो भने त्यो पात्र कति बुलन्द बनाउलान् ? त्यसो त, अनुपम अभिनय मात्र गर्दैनन् । गीत गाउँछन्, बाजा बजाउँछन्, कविता लेख्छन्, । थिएटर गर्छन् । लामो समयको साधना छ । मनमौजी जीवनशैली छ । यिनै कुराको सम्मिश्रणले पनि हुनुपर्छ, उनको अभिनय स्वाभाविक लाग्छ ।

तर उनी यतिबेला फिल्म खेल्ने मुडमा छैनन् रे । भन्छन्, ‘आजकल तबला बजाउन मस्त छु । भोलि जोस चल्यो भने फिल्म खेल्छु पनि ।’ आफ्नो अभिनय उनलाई चित्त बुझ्दैन । वर्षभरिमा अरू कुनै नेपाली अभिनेताको फिल्म हेरेका रहेनछन् । हाँस्दै भन्छन्, ‘त्यसैले अरूले कस्तो काम गर्छन्, त्यो पनि थाहा छैन ।’

विपिन कार्की
विपिन छड्केबाट चिनिए । पशुपतिप्रसादको भस्मे डनले अब्बल अभिनेताको सर्टिफिकेट दियो । जात्राले उनी एक्लै फिल्मलाई ‘होल्ड’ गर्न सक्छन्, सहायक पात्रमा सीमित हुनु पर्दैन भन्ने देखायो । यहाँसम्म आइपुग्दा एउटा यस्तो जमात तयार भयो, जो विपिनकै फिल्म कुरेर बसे । गत वर्ष उनी अभिनीत लालपुर्जा र नाका प्रदर्शन भए । यी फिल्मले त्यो तिर्सना पूर्णत: नमेटे पनि छिपछिपेचाहिँ बनायो । कम्तीमा दुवै फिल्ममा अलग देखिने प्रयास गरे ।

लालपुर्जा फिल्म र विपिनको चरित्र एउटा प्रयोग थियो । मन्द बुद्धि र सम्पत्तिका लागि लफडा गर्ने पात्रका रूपमा विपिनले नयाँ अवतार धारण गरे । यही फिल्ममा सौगात मल्ल पनि थिए तर तुलनात्मक रूपमा विपिनको चरित्रलाई आत्मसात् गरियो । फिल्म व्यावसायिक रूपमा सफल भएन । र, पनि अभिनेताको रूपमा विपिनले आफूलाई ‘एक्स्प्लोर’ गर्न पाए । उनी नाकामा अघोर सन्काहा र धोकेबाज भूमिकामा देखिए, जो नेपाल–तिब्बत नाकामा आफ्नो आतंक विस्तार गर्दै छ । हुलिया, बोल्ने शैली, हाउभाउबाट भूमिकालाई जीवन्त बनाइदिए । पात्रको अनुसन्धान र व्याख्या गर्ने अनि फरक ढंगले प्रस्तुत गर्ने कौशल छ उनीसँग । पैसाकै लागि ह्वारह्वार्ती फिल्म खेलेका छैनन् । फिल्म छान्ने मामलामा बडो सतर्क हुन्छन् ।

खासगरी डार्क/सोसल ह्युमरमा विपिन पोख्त मानिन्छन् । हरेक फिल्ममा स्क्रिन टाइम लम्बिएको छ । चरित्रको भार बढेको छ । उनको अपेक्षा चुलिँदै गएको छ, फिल्ममेकरबाट मात्र होइन, दर्शककै तहबाट । जसका लागि उनले चखें प्रवृत्तिका पात्रबाट बच्नुपर्छ । अनुप बराल भन्छन्, ‘लालपुर्जा मलाई मन परेन । नाकामा चरित्रकरणको नाममा ‘मिमिक्रि’ लाई प्रश्रय दिएझैं लाग्यो । त्यति हुँदाहँुदै चरित्रको विविधता खोज्नु प्रशंसनीय हो । उनले आवाजमा पनि काम गर्ने प्रयास गरेका छन् ।’

विपिनलाई कर्मसियल वा सकारात्मक प्रतिक्रिया पाउने कस्तो फिल्म गर्ने, द्विविधा रहेछ । भन्छन्, ‘त्यसैले धेरै फिल्म गरेर चित्त नबुझाउनुभन्दा थोरै गरेर मज्जा लिइरहेको छु ।’ उनको नजरमा गत वर्ष रिलिज भएका फिल्मका अभिनेतामध्ये अनुपम शर्मा उत्कृष्ट हुन् । गाँजाबाजा हेरेपछि उनलाई लागेछ, अनुपमले अभिनयलाई साँच्चै गम्भीर रूपमा लिएका छन् ।

प्रकाशित : वैशाख १, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?