कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठुमरीकी रानी : नेपालले चिनेन

इतिहास
श्री ३ चन्द्रकी प्रेमिकासरह थिइन् गायिका मेलवादेवी । मेलवालाई प्रजातन्त्रवादी नेता शुक्रराज शाश्त्रीले काठमाडौंबाट कलकत्ता लगेका थिए ।
कलकत्ताको आफ्नो डेरामा खाना पकाइरहेको अवस्थामा मट्टीतेलले चल्ने थोत्रो स्टोभ पड्केर २०१२ साल मङ्सिरमा मेलवादेवीको निधन भएको थियो ।

काठमाडौँ — नेपाली गीत–सङ्गीत क्षेत्रमा सुनाम ख्याति कमाउने गायिका मेलवादेवी कतिपय अर्थमा यथार्थभन्दा बढी ‘मिथ’ झैं पनि लाग्ने गरेको छ । ओखलढुङ्गा, रुम्जाटारवासी लामिछाने गुरुङ समुदायका ज्ञानबहादुर र सप्तदेवी गुरुङकी जेठी छोरीका रूपमा गायिका मेलवादेवीको जन्म भएको थियो— संवत १९५९ सालमा ।

ठुमरीकी रानी : नेपालले चिनेन

बाबु ज्ञानबहादुरको असमयमैं निधन भएपछि आफन्तजनले मेलवादेवीलाई श्री ३ महाराज चन्द्रशमशेरको दरबारमा सेविकाका रूपमा ‘चढाएका’ थिए । मेलवादेवी आफ्नी आमा र नाता पर्ने दिदी बलमाया गुरुङका साथ ७ वर्षको उमेरमा डोकोमा बोकिएर काठमाडौं भित्रिएकी थिइन् । श्री ३ चन्द्रको दर्शन गर्ने चाकरीबाजहरू जम्मा हुने थलो संहदरबार पटाङ्गिनीमा डोकामा बोकिएकी मेलवादेवीलाई लगियो । श्री ३ चन्द्र हौदा कसिएको हात्तीमा सिंहदरबारको द्वारबाहिर आए । चाकरीबाजहरूले श्री ३ महाराजको जयजयकार गरे । मेलवादेवीकी आमाले पनि जयजयकार गरिन् । मेलवादेवी बोकिएको डोकोतिर श्री ३ को नजर तानियो । आठपहरियाले श्री ३ महाराजमा ती बालिकालाई उनकी आमाले सेविकाका रूपमा चढाउन ल्याएको कुरा बिन्ती गर्‍यो । श्री ३ बाट मेलवादेवीलाई दरबार भित्र्याउन आदेश भयो । यसरी मेलवादेवी श्री ३ चन्द्रको दरबारमा भित्रिइन्— १९६६ सालमा ।


मेलवादेवीले दरबारभित्र उस्ताद माधवप्रसादबाट शास्त्रीय सङ्गीतको तालिम लिइन् । स्वरसाधनाले गर्दा उनी दरबारका सबैले मन पराउने गायिका बनिन् । उनी श्री ३ चन्द्रको नजिक हुँदै गइन् । ‘मेलवालाई खोपीमा पठाउनू’ भन्ने श्री ३ चन्द्रको आदेशपछि श्री ३ दम्पती राज हुने खोपीमा उनको बास हुन थाल्यो । उनी श्री ३ चन्द्रकी प्रेमिकाका रूपमा परिवर्तित भइन् । मध्यरातसम्म पनि महाराजका साथमा मेलवादेवीको बास खोपीमै हुन्थ्यो । यो कुरा श्री ३ चन्द्रकी कान्छी महारानी बालकुमारीले बुझिसकेकी थिइन् । तर महाराजका अगाडि महारानी केही बोल्न सक्तिनथिन् ।


श्री ३ चन्द्र र मेलवादेवीबीचको प्रेमलीला निकै वर्ष चल्यो । मेलवादेवीलाई श्री ३ चन्द्रले दोस्री महारानीका रूपमा ग्रहण गर्ने हल्ला पनि दरबारभरि फैलियो । यसबाट महारानी बेचैन बनिन् । उनले मेलवादेवीको रूप र स्वर अनि गीत–सङ्गीतप्रतिको महाराजको आसक्तिले गर्दा यस्तो अवस्था आएको ठानेर मेलवादेवीको स्वर बिगार्न खोजिन् । महारानी बालकुमारीकै निर्देशनमा पानको बिडामा सिन्दूर मिसाई मेलवादेवीलाई खुवाइयो । भोलिपल्टैदेखि उनको स्वर धोद्रे भयो र, गाउने शक्ति हरायो । श्री ३ चन्द्रले बेलायतबाट विशेषज्ञ डाक्टर र औषधि झिकाई उपचारसमेत गराए । उनको स्वर यथास्थितिमा फर्काउन अनेकौं प्रयास गरे । यसबाट मेलवादेवीसँग उनको प्रेमगाथा कति गठिलो र दरिलो थियो भन्ने झल्किन्छ । तर, महारानीचाहिँ मेलवादेवीलाई दरबारबाट बहिर्गमन गराउने प्रयत्नमा लागिन् । यस कामको सहयोगीका रूपमा उनले दरबारका भाइभारदारलाई हातमा लिइन् र उनलाई दरबारबाट बहिर्गमन गराउन सफल भइन् । त्यसरी मेलवादेवीप्रति श्री ३ चन्द्रको मायाप्रीति समाप्त भयो । दरबार छिरेको १९ वर्षपछि मेलवादेवीप्रति दरबारको ढोका सदाका लागि बन्द भयो ।


काठमाडौं सहरको क्षेत्रपाटीबाट नजिकै (मसानघाटनेरको सुनसान ठाउँ) विजयेश्वरीमा श्री ३ चन्द्रले किनिदिएको घरमा मेलवादेवी बस्न थालिन् । संयोगले एक संगीतसाधक भक्तकृष्ण लावटको घर थियो क्षेत्रपाटीमा । उनी गायक–सङ्गीतकार भएकाले दरबारभित्रको मेहफिलमा उपस्थित भइरहन्थे ।


उनले मेलवादेवीको चेहराको चमक र गायकीको गमकलाई नियालिरहेका थिए ।


भक्तकृष्ण–मेलवादेवीको घर नजिकै भएकाले आवतजावत बढ्न थालेको थियो । भक्तकृष्णले मेलवादेवीसँग विवाह गर्ने प्रस्ताव राखे । भक्तकृष्णको दिलकमलसँग विवाह भई बालबच्चासमेत भइसकेकाले मेलवादेवीले सौताका रूपमा उनीसँग विवाह गर्ने प्रस्ताव अस्वीकार गरिन् । तर, भक्तकृष्णले पिछा गर्न छाडेनन् । उनले मायाप्रेमको प्रलोभन देखाए । आखिर मेलवादेवीले भक्तकृष्णसँग विवाह गरिन् । त्यसपछि भक्तकृष्णको घर मेलवादेवीको पनि घर हुन पुग्यो । सँगसँगै रहँदा मेलवादेवीबाट चार सन्तानको जन्म भयो । दुई छोरा र दुई छोरी । तर, दुवै छोराका बाल्यकालमैं निधन भएपछि उनी शोकमा डुबिन् । यिनको दाम्पत्य जीवन सात–आठ वर्षसम्म चल्यो । त्यसपछि घरमा सौतेनी मामलोले उग्र रूप लियो । मेलवाले दरबारबाट कमाएका गरगहना, सुन, असर्फी, रुपैयाँ–पैसा भक्तकृष्णको घरैमा सकिएको थियो । त्यसपछि मेलवा छोरीहरू शान्ति र विमलाका साथमा विजयेश्वरीको पुरानो घरमा बस्न थालिन् ।


त्यसबेला शुक्रराज शास्त्री बाबुसँग कलकत्तामा बस्थे । उनको शिक्षादीक्षा उतै भएको थियो । उनी बेलाबेला नेपाल र कलकत्ता आवतजावत गरिरहन्थे । उनी त्यस बेलाको राणाको एकतन्त्रीय शासन हटाउने अभियानमा लागिरहेका थिए । उनीसँग मेलवादेवीको चिनजान क्षेत्रपाटीमा भक्तकृष्णकै घरमा भएको थियो । शुक्रराजले एक पटक क्षेत्रपाटीको घरमा पुगेर उनले रचेको ‘न घरलाई घर कहिन्छ नारी नै दरबार हो, एक मात्रै धर्मसाधन नारी घरको द्वार हो’ भन्ने बोलको गीत मेलवादेवीको स्वरमा गाउन अनुरोध गरेका थिए । बाजागाजामा साथ दिने भक्तकृष्णको सहयोगमा मेलवादेवीले त्यो गीत गाएकी थिइन् ।
आपसी परिचयका कारण शुक्रराज कलकत्ताबाट नेपाल आउँदा मेलवादेवीलाई भेट्न पुगिरहन्थे । भेटघाट क्रममा शुक्रराजले मेलवादेवीको घरगृहस्थीको अवस्था बुझे । उनी ‘बेसहारा’ झैं भएको देखे । उनले भने— ‘तपाईं कलकत्ता जान इच्छुक हुनुहुन्छ भने गीत–सङ्गीत क्षेत्रको तपाईंको प्रतिभाअनुसारको काम र बस्ने बासको व्यवस्था म गरूँला ।’


मेलवादेवी हर्षले गदगद भइन् । नेपालमा बस्ने वातावरण नभएपछि उनी कलकत्ता जाने निर्णयमा पुगिन् । अनि विजयेश्वरीको घर बेचेर दुवै छोरीलाई साथै लिएर
कलकत्ता लागिन् ।


***

कलकत्ताको रोबर्ट स्ट्रिट । तीनकोठे घर । साना कोठा । सीमित झ्यालढोका । गर्मीले बाफिनुपर्ने, तर बाध्यतावश बस्नैपर्ने । त्यहाँको रहनसहनमा बाँच्न सीमित आयबाट नपुग्ने । दुई छोरीहरू हुर्काउनु, बढाउनु र पढाउनुपर्ने । उनले शुक्रराज शास्त्रीकै पहलमा कलकत्ताको बङ्गाल रेडियो स्टेसनमा सम्पर्क राखिन् । त्यहाँका डाइरेक्टर पङ्कज मल्लिक बङ्गाली र हिन्दी सङ्गीत क्षेत्रका प्रसिद्ध सङ्गीतभास्कर । बङ्गाली र हिन्दी सिनेमा क्षेत्रका प्रणेता र प्रख्यात पाश्र्वगायक । उनी मेलवादेवीले गाएका गीतहरू सुनेर प्रफुल्ल र सन्तुष्ट भए । त्यसपछि उनलाई कलकत्ता बडाबजारस्थित मारवाडी बालिका विद्यालयमा सङ्गीत शिक्षिकाका रूपमा काम गर्ने अवसर मिल्यो । उनले सङ्गीत विषयमा ट्युसन पढाउन थालिन् ।


आफ्नो साङ्गीतिक प्रतिभालाई तिखार्न पङ्कज मल्लिकको मातहतमा रही काम गर्न पाएपछि सङ्गीत क्षेत्रमा मेलवादेवीको नाम चम्कियो । सङ्गीत सम्मेलनमा उनको उपस्थिति अनिवार्य हुन थाल्यो । आफ्नो प्रतिभाको प्रदर्शनबाट उनी ख्यातिप्राप्त सङ्गीत शिरोमणिका बीचमा हाईहाई बटुल्न थालिन् । साङ्गीतिक सम्मेलनमा दर्जनौं तक्मा र पुरस्कार पाइन् । भारतका धुरन्धर सङ्गीतज्ञबीच इलाहाबादमा भएको शास्त्रीय सङ्गीत सम्मेलनमा छायाँनटमा ठुमरी लगातार तीन घण्टासम्म गाएर सहभागीलाई छक्कै पारिन् । त्यसै सम्मेलनमा उनलाई स्वर्णपदकबाट विभूषित गर्दै ‘ठुमरीकी रानी’ पदवी दिइयो । भारत, रायगढ सङ्गीत–सम्मेलनमा पनि उनले स्वर्णपदक पाइन् ।


मेलवादेवीले छोरीहरूलाई शिक्षित बनाई वैवाहिक बन्धनमा गाँसिदिएर आमाको दायित्व पूरा गरिन् । छोरीमध्ये शान्तिरानी आर्यको बम्बईमा र विमला दीक्षितको कानपुरमा घरजम भयो । सांसारिक हैरानी र सास्ती बेहोरिरहेकी मेलवादेवीको निधन पनि निकै दु:खद थियो । कलकत्ताको आफ्नो डेरामा खाना पकाइरहेको अवस्थामा मट्टीतेलले चल्ने थोत्रो स्टोभ पड्केर २०१२ साल मङ्सिरमा उनको निधन भएको थियो ।


मेलवादेवी नेपाली गीत–सङ्गीत क्षेत्रमा सदैव उज्यालो छरेर बाँचिरहने सशक्त र सक्रिय गायिका हुन् । नियतिले कताकताबाट परदेश कलकत्ता पुर्‍यायो । त्यहाँ नपुगेकी भए गीत–सङ्गीत क्षेत्रमा उनको नाम यति बिघ्न चम्किने थिएन ।


मेलवादेवी संवत् १९९२/९३ ताका कलकत्ता गएकी हुनुपर्छ । उनी कलकत्तामा दुई दशकजति बसिन् र गीत–सङ्गीतमा लागिरहिन् । कलकत्तामा उनले ‘हिज मास्टर्स भ्वाइस’ (एचएमभी) कम्पनीबाट कति गीत रेकर्ड गराइन्, तथ्याङ्क छैन । उनको गायनमा रेकर्ड भएका गीतहरू ‘सवारी मेरो रेलैमा’, ‘जिन्दगीको के भरोसा’, ‘न घरलाई घर कहिन्छ’, ‘माया मारी–मारी निष्ठुरीले’, ‘क्रय फूलबारी’, ‘आऊ न बसौं पियारी’, ‘छानी–छानी रस लिएर’, ‘हाय मेरो परदेशी प्रीतम’, ‘भूकम्प त्रास’, ‘श्री ३ महाराज सुन प्रभु’, ‘बाटो नछेक मोहन’ आदि हुन् । यीमध्ये ‘सवारी मेरो रेलैमा’ बहुचर्चित भयो । त्यसमा रचना र सङ्गीत मेलवाकै थियो । नेपाली मूलका बासिन्दाहरू भएको ठाउँमा त्यो गीत निकै प्रसिद्ध थियो । त्यस बेला त्यस गीतको रेकर्ड ५ हजार प्रति बिकेको थियो । उनले कलकत्ता छँदा सुलभादेवी नामबाट बङ्गाली र हिन्दी गीत पनि गाएकी थिइन् ।


सही अर्थमा मेलवादेवीका बारेमा अनुसन्धान भएकै छैन र, आधिकारिक सामग्री पनि प्राप्त छैन । उनले पाएका प्रमाणपत्र, तक्मा र पुरस्कारहरूको स्थिति पनि अज्ञात छ । शब्दयात्रा प्रकाशनले नेपाली गीत रेकर्ड गर्ने प्रथम गायिकाका रूपमा मेलवादेवीको सालिक बनाएर बनेपामा राखेको छ र, मेलवादेवी बारेमा थोरतिनो अनुसन्धान गराउन थालेको छ ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?