कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुरली बाजेहरू

पात्र
रमेशचन्द्र अधिकारी

काठमाडौँ — तिरिरि..मुरली बज्यो वनैमा...
मुरलीको धुनले मन नलोभ्याउने सायदै होलान् । तर पछिल्लो समय आधुनिक वाद्ययन्त्रले मुरलीलाई विस्थापित गर्ने चिन्ता बढेको छ । तसर्थ मुरली बचाउन आफ्नो कला मार्फत सर्वसाधारणको ध्यान तान्दै आएका छन् दुई प्रतिभा ।

मुरली बाजेहरू

८३ वर्षीय पीताम्बर भट्टराईका मुखका सबैजसो दॉत फुक्लिएका छन्, तर ओठले च्याप्दै बजाएको मुरलीको धुनले सहजै ध्यान तान्ने गर्छ । उनी सात दशकदेखि लगातार मुरलीको धुनबाट गीतसंँगै छन्द कविता बजाएर हरेकको मन जित्दै आएका छन् । धनकुटा–७ हुलाकटोलमा बसोबास गर्दै आएका उनी ओखलढुंगाको रामपुरमा जन्मिएका हुन् । भट्टराईले १० वर्षको उमेरदेखि मुरलीमा स्वर दिंदै आएका छन् । मुरली बजाएर सबैको मन जितेका कारण नै उनको उपनाम ‘मुरली बा’ रहेको छ ।


‘बाल्यकालदेखि मुरलीको धुनले लठ्याउने गरेपछि यसैलाई मैलै रोजें’, उनले भने ‘मुरली र मेरो मित्रता कहिल्यै टुट्दैन ।’ गोठालो जॉदा बजाउन सिकेको मुरली राति सुत्दा सिरानीमा राख्ने र दिनभर कोटको गोजीमा सुरक्षित राख्दै आएका छन् । कुनै औपचारिक कार्यक्रम होस् वा कसैबाट फर्माइस आउनासाथ मुरलीको धुनका लागि जुटिहाल्छन् । कोट सिलाउँदा उनले मुरली राख्नकै लागि विशेष गोजी नै बनाउन लगाउँछन् । ‘सबैभन्दा बढी माया मुरलीको लाग्छ,’ उनी भन्छन्, ‘चराचुरुङ्गीको साथमा वनजंगलमा मुरली बजाउन आनन्द आउँछ ।’


‘मुरली हाम्रो मौलिकता हो,’ उनले थपे, ‘यसलाई अन्य वाद्ययन्त्रले विस्थापित गर्न दिनु हुन्न ।’ उनले शार्दूृलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणीलगायतका छन्द श्लोकको कविता मुरलीबाटै सुनाउने गर्छन् । छन्द कविता सुनाउन पाउँदा असाध्यै आनन्द आउने उनले बताए । तीनवटा पुस्तक प्रकासन गरिसकेका भट्टराई यो उमेरमा पनि सक्रिय जीवन बिताउँदै छन् ।

नाकबाटै मुरली...
ओठले मुरली बजाउनु सामान्य होला, तर नाकबाट मुरली बजाएर मत्रमुग्ध पार्ने कला आफैंमा फरकपन हो । नाकको प्वालबाट श्वासप्रश्वास सन्तुलन मिलाएर मुरली बजाउन निपुण छन् झापास्थित मेची नगरपालिका १२ धाइजन सहरेडाँगीका मातृकाप्रसाद संग्रौला ।


५० वर्षीय संग्रौला सुरुवाती दिनमा झन्डै चार दशकअघि गाउँघरमा भजन कीर्तनमा हिँड्दादेखि नै वाद्यवादन र गीत संगीतमा अभ्यस्त भएका थिए । सनाही बजाएर ख्याति कमाएका उनी पछिल्लो तीन वर्षदेखि नाकले मुरली बजाउँदै आकर्षण दिने गरेका छन् । त्यसो त उनी सबैजसो मौलिक बाजागाजा बजाउन पनि उत्तिकै निपुण छन् । हार्मोनियम, तबला, मादल, सनाही, बच्छे बाजा, बिनायो, मुर्चुङ्गा, सारंगी, ढोलक उनले आफ्नै पहलमा संग्रह गरेर राखेका छन् । पछिल्लो समयदेखि भने उनी मुरली संरक्षण अभियानमा विशेष जुट्दै आएका छन् ।


‘मुरलीभित्रको मुरली’ उनले आफ्नो अभियानको नामकरण गरेका छन् । किबोर्डलगायत आधुनिक वाद्यवादनले मुरलीलाई विस्थापित गरेको भन्दै आफू यस अभियानमा जुटेको उनले बताए । ‘कृत्रिमताले हाम्रो मौलिकता गुमाउने खतरा बढ्दै गएको छ,’ उनले भने, ‘संस्कृतिकर्मी मुरली बचाउ अभियानमा जुट्नुपर्ने बेला भएको छ ।’ पित्तलको काजाको माध्यमले उनले मुरलीको आकार लामो छोटो बनाएर आवश्यकताअनुसार बजाउने गर्छन् । पाँचथरको ओराङफुङ सुभाङ पुख्र्यौली घर भएका उनी पहाडी धरातलमा उकालीओराली गर्दा मुरली बजाउन सिकेका थिए । ५ वटा गीतको सीडीसहित भजन, गीत, कविता, निबन्धलगायत एक दर्जन साहित्य कृति निकालिसकेका उनी मुरली बचाउ अभियानमा अझ धेरै जुटेका छन् । कान थापेर सुनिदेऊ दाजै, तिरिरि मुरली बज्यो वनैमा, कुसुमे रुमाल, फरिया ल्याइदेछन्, आमा रुँदै गाउँबेंसी रेलैमा लगायत बोलका गीत उनले नाकबाटै मुरली बजाएर श्रोता तथा दर्शकको मन जित्ने गरेका छन् । मुखभन्दा नाकले बजाएर सुनाउँदा आकर्षण बढी हुने भएकोले यस कलामा जुटेको बताए ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?