कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

‘सिर्जनामा महिला–पुरुष विभेदको अर्थ छैन’

पुस्तक वार्ता

काठमाडौँ — नेपाली साहित्यमा हरदम सक्रिय रहिरहने एक ओजपूर्ण लेखकको नाम हो— शारदा शर्मा । शर्माका ‘सीमान्त अनुभूति’, ‘युद्धोपरान्त’ र ‘स्वर्णसूत्र’ कवितासंग्रह तथा ‘अग्निस्पर्श’, ‘आस्थाको भग्नावशेष’ कथासंग्रह प्रकाशित छन् ।

‘सिर्जनामा महिला–पुरुष विभेदको अर्थ छैन’

उनका ‘भुइँफूलको देश’ (निबन्ध संग्रह) र ‘ताप’, ‘कम्प’ (उपन्यास) पनि साहित्यिक बजारमा चर्चामा छन् । यसै साता सांग्रिला बुक्सबाट आउन लागेको नेपाली राजनीति, समाजको पछिल्लो एक दशकबारेको पुस्तक ‘त्यो समय’ का सन्दर्भमा शारदा शर्मासँग गरिएको कुराकानी :

‘त्यो समय’ संस्मरण पुस्तकको पृष्ठभूमि र लेखकीयबारे के भन्नुहुन्छ ?
म जागिरका सिलसिलामा सन् २००४ देखि २००६ सम्म दिल्ली बसें । त्यसपछिका दुई वर्ष नेपाल बसेर दिल्ली अफिसका लागि काम गरें । यस अवधिमा धेरै समय कार्यक्षेत्रतिर घुम्ने काम पथ्र्यो । बंगलादेश, भुटान र भारतकै विभिन्न ठाउँको घुमाइ र अनुभूतिबारेको चर्चा यो पुस्तकमा बढी छ । पुस्तकभित्र विषयवस्तुका हिसाबले भने त्यतिखेरै तत्कालीन राजा ज्ञानेन्द्रले गरेको ‘कू’ को पृष्ठभूमिमा आएका अनेक राजनीतिक उतारचढावहरू जोडिएका छन् । १२ बँुदे दिल्ली सम्झौताको पृष्ठभूमिदेखि संविधानसभाको पहिलो चुनावसम्मका अनौपचारिक इतिवृत्तिहरू पुस्तकमा समेटिएका छन् ।

तपाईं कथा, निबन्ध, उपन्यास, कविता, समीक्षा सबै विधामा सक्रिय देखिनुहुन्छ । लेखन र सम्प्रेषणका आधारमा सबैभन्दा सहज लाग्ने विधा कुन हो ?
सबै विधाका आ–आफ्नै विशेषता छन् । यद्यपि कविता, आख्यान र संस्मरणमा म आफूलाई बढी सहजताका साथ सम्प्रेषण गर्न सक्छु भन्ने लाग्छ ।

सिर्जनामा पनि ‘महिला र पुरुष’ भनेर विभेदसहितको समीक्षा/आलोचना हुने गरेको छ । तपाईंले यो लैंगिक चेतना र अन्तरबारे सिर्जनामा कत्तिको ख्याल गर्नुभएको छ ?
महिलाका समस्याबारे महिला लेखकले बढी सहजता र आधिकारिकताका साथ (भावना/सिर्जना) व्यक्त गर्न सक्छन् भन्ने मलाई लाग्छ, पुरुषका पनि त्यस्ता विशेष विषय–क्षेत्र हुन सक्छन् । यद्यपि सिर्जनामा महिला–पुरुष विभेदको अर्थ छैन, समग्र सिर्जनामा सधैं महिला र पुरुष लेखक भनेर छुटयाइरहनुपर्ने आवश्यकता छैन । कम्तीमा म भने यस्तो आवश्यकता देख्तिनँ ।

पछिल्लो एक दशकमा लेखन र प्रकाशन सक्रियता आधारमा तपाईं निकै अगाडि देखिनुभएको छ । चर्को विज्ञापन, प्रचार र बजारले पनि सिर्जनशीलतालाई प्रभावित गर्न थालेको छ भनिन्छ नि ।
पुस्तकको बजार बढाउन यी कुराहरू पनि आवश्यक छन् । यद्यपि लेखनको स्तर प्रचार–प्रसारले मात्रै बढ्दैन, त्यसनिम्ति लेखकको प्रयत्न र परिश्रमको भूमिका नै बढी हुन्छ ।

अहिले के पढ्दै हुनुहुन्छ ? वर्ष २०७४ मा आफूलाई मन परेका नेपाली पुस्तक ?
भर्खरै केही नेपाली पुस्तकहरू पढेर सिध्याएकी छु । अर्चना थापाको लामा कथाहरूको संग्रह ‘कठपुतला’ निकै राम्रो र नयाँ शैलीको रहेछ । विषयवस्तु र प्रस्तुतिका हिसाबले आधुनिक नेपाली कथा लेखनको परम्परामै यसले जबर्जस्त हस्तक्षेप गरेजस्तो मलाई लाग्यो । योगमायाको जीवनीमा आधारित नीलम कार्की निहारिकाको ‘योगमाया’ उपन्यास उच्च कोटिको छ । सरस्वती प्रतीक्षाको ‘नथिया’ र विवेक ओझाको ’ऐलानी’ उपन्यासले पश्चिम नेपालको बादी समुदायका कथा–व्यथालाई मार्मिक किसिमले आ–आफ्ना शैलीमा व्यक्त गरेका छन् । सरस्वती ज्ञवालीको संस्मरण ‘लालटिनको उज्यालो’ मा अप्ठेरो समयमा जनताबीच बसेर राजनीतिक भूमिका निर्वाह गरिरहेकी एउटी मध्यमवर्गीय परिवारकी नारीले पारिवारिक, सामाजिक, सांस्कृतिक रूपमा सामना गरेका अनन्त संघर्षको मार्मिक चित्रण छ । यतिखेर निकै राम्रा पुस्तकहरू लिएर महिलाहरू लेखनमा आएको अवस्था देखिएको छ ।

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?