कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उड्स, प्रतिमा अनि नेपाली गल्फ

खेल
सुबास हुमागाईं

काठमाडौँ — नेपाल नम्बर १ महिला गल्फर प्रतिमा शेर्पा आफ्नो वृत्तचित्रको प्रिमियरमा यसै साता अमेरिका भ्रमणमा पुग्दा पूर्व विश्व नम्बर १ टाइगर उड्ससँग प्रशिक्षण गर्ने अवसर पाइन् । सन् २००० को दशकमा गल्फमा एकछत्र राज जमाएका उड्स गल्फका सर्वकालीन महान्को सूचीमा पर्छन् । करियरमा १४ पटक मेजर उपाधि जितेका ४२ वर्षीय उड्सले प्रोफेसनल टर्न भएको दोस्रो वर्षमै पहिलो मेजर उपाधि हात पारेका थिए । २० वर्षको उमेरमा प्रोफेसनल बनेका उड्सलाई सानो उमेरदेखि नै गल्फका भविष्यको रूपमा हेरिएको थियो ।

उड्स, प्रतिमा अनि नेपाली गल्फ

जुनियर श्रेणीदेखि उल्लेख्य प्रदर्शन गर्दै आएका उड्सले विश्व गल्फमा आधिपत्य नै जमाए । पहिलो सिजनमा रुकी अफ ड इयरको उपाधि जितेका उड्सले अर्को वर्ष मास्टर्स प्रतियोगिता जिते । सन् २००० मा तीन मेजर उपाधि जितेका उड्सले अगस्ट १९९९ देखि सेप्टेम्बर २००४ सम्म विश्व नम्बर १ को वरीयतामा स्थान बनाए । त्यसपछि जुन २००५ देखि अक्टोबर २०१० सम्म उनले शीर्ष वरीयतामा पुन: कब्जा जमाए । उनको मैदानभित्रको सफलताले उनलाई विश्वकै सर्वाधिक कमाउने खेलाडीको सुचिमा लामो समयसम्म अग्रस्थानमा राख्न मद्दत पुर्‍यायो ।


सन् २०१० को दशकयता भने उनी पारिवारिक समस्या र चोटमा रुमल्लिए । यसैकारण त्यसयता उनको कोर्सभित्रको प्रदर्शनमा ठूलो असर परेको छ । यसका बाबजुद उनी अझै पनि गल्फमा नियमित संलग्न छन् । उनले आफ्नो करियरमा गल्फका अनेकौं रेकर्ड आफ्नो नाम गरेका छन् । सर्वाधिक लामो समय विश्व नम्बर एक बनेका उड्सले कीर्तिमानी ११ पटक वर्ष उत्कृष्ट खेलाडीको उपाधि पाएका छन् । हाल गल्फ खेलिरहेका खेलाडीमा उड्स सर्वाधिक व्यावसायिक उपाधि जित्ने खेलाडीमा पर्छन् ।


नेपाली गल्फको इतिहासमा प्रतिमा प्रोफेसनल गल्फरको मान्यता पाउने छनोट प्रतियोगिता खेल्ने पहिलो महिला खेलाडी हुन् । गत वर्ष शतवार्षिकी मनाएको रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को तेस्रो ग्रिनमा बसोबास गर्दै आएकी प्रतिमा सानो उमेरदेखि गल्फ खेल्दै आएकी हुन् । आमाबुबा गल्फ कोर्समा काम गर्ने र पूरै समय कोर्समै बिताउने हुनाले उनलाई खेलमा लाग्न पर्याप्त समय हुने थियो ।
सानो उमेरमा बुबाले बनाएको काठले गल्फ खेल्ने प्रतिमाले १५ वर्षको उमेरदेखि गल्फ क्लबले प्रशिक्षण गर्न थालिन् । उनले प्रशिक्षण गरेको केही महिनामै एमेच्योर प्रतियोगिता जितिन् । उनको जितको सिलसिला लगातार कायम रहन थाल्यो । सानो उमेरमै लगातार उपाधि जित्न थालेपछि स्वदेशी मात्र नभएर विदेशी मिडियामा पनि उनको चर्चा हुन थाल्यो । गल्फ डाइजेस्ट नामक प्रतिष्ठित गल्फ पत्रिकाले उनीबारे लेख छापेपछि उड्स आफैंले प्रतिमालाई व्यक्तिगत सन्देश पठाएका थिए ।


उनको यो चर्चाकै कारण उनलाई अमेरिकाको एक परिवारले दुईमहिने प्रशिक्षणका लागि अमेरिका बोलायो । उनले प्रोफेसनल छनोट प्रतियोगिता जानुअघि अमेरिकाको सुविधासम्पन्न कोर्समा प्रशिक्षणको मौका पाइन् । उनको यात्रामा सहयात्री बनेका आरएनजीसी र नेपाल गल्फ संघले पनि उनलाई प्रोत्साहन जारी राखे । प्रोफेसनल बन्ने छनोट प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा प्रतिमाको प्रयास सफल हुन सकेन ।


उनको दुईमहिने अमेरिका भ्रमण दौरान ईएसपीएनले उनीमाथि एक वृत्तचित्र निर्माण गरेको थियो । उनको पारिवारिक अवस्था, खेलप्रतिको लगाव र छनोट प्रतियोगिताको यात्रालाई समेटेर बनाएको उक्त वृत्तचित्र गत शनिबार अमेरिकामा प्रिमियर गरिएको थियो । प्रतिमाको यात्रालाई लामो समयदेखि नजिकबाट नियालेको बताउँदै उड्सले उनको भविष्य उज्ज्वल रहेको बताएका छन् । प्रतिमा आफैंले पनि आदर्श मान्दै आएको खेलाडीसँग प्रत्यक्ष भेट्न पाउनुले निकै हौसिएको बताइन् । उनले अर्को सिजन हुने प्रोफेसनल छनोटमा अझै बढी मिहिनेत गर्ने बताइन् ।

नेपालमा गल्फको अवस्था
व्यावसायिक रूपमा नेपालमा अहिले चार गल्फ कोर्स प्रयोगमा छन् । काठमाडौंको आरएनजीसी र गोकर्ण गल्फ क्लबसँगै धरानको निर्वाणा कन्ट्री क्लब र पोखराको हिमालयन गल्फ कोर्स अहिले क्लबका सदस्य र सर्वसाधारणका लागि उपलब्ध छ । यसबाहेक काठमाडौंमा आर्मीको गल्फ कोर्स, नवलपरासीमा सिजीको गल्फ कोर्स र पोखरामा फूलबारी गल्फ रिसोर्ट भने व्यक्तिगत प्रयोजनका लागि मात्र प्रयोग भएको छ । सय वर्ष पुरानो गर्विलो इतिहास बोकेको आरएनजीसीसँगै सुरु भएको नेपालको गल्फ इतिहासले अहिले ठूलो फड्को मारिसकेको छ । शाही परिवारमा अड्किएको नेपाली गल्फ अहिले सर्वसाधारणमाझ पुगेको छ ।


नेपालको व्यावसायिक गल्फमा शिवराम श्रेष्ठ व्यक्तिगत ४१ उपाधिसहित सर्वाधिक उपाधि जित्ने सूचीमा शीर्षस्थानमा छन् । अन्तर्राष्ट्रिय स्तरमा पनि केही राम्रो प्रदर्शन गरेका शिवराम नेपाल नम्बर १ व्यावसायिक खेलाडी हुन् । नेपालमा अहिले ७२ व्यावसायिक गल्फर छन् । प्रत्येक वर्ष सूर्य नेपालको प्रमुख प्रायोजनमा नेपाल व्यावसायिक गल्फर संघ (एनपीजीए) ले १० व्यावसायिक इभेन्ट आयोजना गर्दै आएको छ । यी सबै प्रतियोगिताको कुल पुरस्कार राशि झन्डै ५० लाख रुपैयाँ छुन्छ ।


एनपीजीएका महासचिव दीपक आचार्यका अनुसार नेपालको आन्तरिक गल्फको स्तर उकासिंदै गए पनि अन्तर्राष्ट्रिय स्तरमा धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ ।’ विगतमा शिवरामको एकल वर्चस्व रहँदै आएकोमा अहिले उपाधि होडमा १०(१२ जना खेलाडी देखिएका छन् । एमेच्योर खेलाडीको विकासमा पनि नेपाल गल्फ संघले निकै मिहिनेत गरेको छ । शुक्रबहादुर राई र टंकबहादुर कार्कीलाई प्रशिक्षण र अन्तर्राष्ट्रिय अनुभवको अवसर दिनु स्वागतयोग्य कदम हो,’ आफैं व्यावसायिक खेलाडीसमेत रहेका आचार्यले थपे,’ यो सबका बाबजुद हामी अन्तर्राष्ट्रियमा निकै कमजोर छौं । हामीले कम्तीमा एसियाली स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ । यसका लागि आउने पिँढीलाई सानैदेखि बलियो बनाउनु जरुरी छ । सुभास घिसिङ र विनोद तामाङजस्ता उदाउँदा प्रतिभालाई हामीले राम्रोसँग तयार गर्नुपर्छ ।’
आन्तरिक रूपमा नेपालको गल्फको स्तर मापन शिवरामको प्रदर्शनलाई आधार मानेर हेरिन्छ । तर, शिवरामले गत वर्ष भारतको पीजीटीआई (प्रोफेसनल गल्फर टुर अफ इन्डिया ) को छनोटमा बिर्सनलायक प्रदर्शन गरे । यसले नेपाली गल्फले अन्तर्राष्ट्रिय फड्को मार्न अब अर्को पिँढी कुर्नुपर्ने हो कि भन्ने प्रश्न पनि उठाएको छ । नेपालकै स्तरमा प्रश्न उठिरहेको अवस्थामा प्रतिमा नेपालमै छनोट हुन नसक्दा उनले अझै मिहिनेत गर्नुपर्ने हो कि भन्ने प्रश्न जायज छ ?

प्रकाशित : वैशाख १५, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?