हङकङ गन्थन

नियात्रा
 आफू त यताको काल्र्सबर्गमा स्वाद बसेको मनुवा, उताको नाथे बियर बियरजस्तै लागेन । त्यो त खालि मुतको पैरो ! तैपनि प्राप्त उपलब्धिको हल्का उपभोग गरियो नै ।
खगेन्द्र संग्रौला

काठमाडौँ — घरको सेरोफेरोको साँगुरो घेरोबाट बाहिर ननिस्केको महिनौँ भएको थियो । देशबाहिर दूर देशतिरका त कुरै नगरूँ । जीवन भूगोलको निसासलाग्दो लघु वृत्तको निरीह कैदी बनेको थियो, ट्वारट्वारे कुपमण्डुकजस्तो ।

देह सीमित भूगोलमा खुम्चिँदा मनको वृत्त पनि खुम्चिएको थियो । र, स्वभावत: किञ्चित् गिरेको थियो मेरो मनोबल पनि । कारण थियो— सृष्टिकर्ताको सुरुङमार्गको सानो व्यथा, ठूलो झमेला । यो व्यथालाई डाक्टरी भाषामा ‘प्रोस्टेट’ भनिदो रहेछ ।

एउटा ज्यानको नाथे एउटा प्रोस्ेटको अप्रेसन ती–तीनखेप गर्नुपर्‍यो । मानौँ— मेरो जिन्दगी नै प्रोस्टेटको निर्मम प्रयोगशाला हो ! अप्रेसन गर्‍यो, अलि दिनमा सुरुङमार्ग थुनियो । फेरि गर्‍यो, अनि फेरि अलि दिनमा थुनियो । हैट्, यो झुरपट्याँस अनि फेरि... । हेल्पिङ ह्यान्डस्, मेडिसिटी, मेडिकेयर । भोगवादी राजनीतिको औसरवादी खाओवादीले घरीघरी पार्टी फेरेझैँ आफू त सृष्टिकर्तालाई अघि लगाएर अस्पताल फेरेको फेर्‍यै । एनेस्थेसिया, रक्तश्राव र एन्टिबायटिकको असरा एकातिर, मनोवैज्ञानिक दबाब र बेचैनी अर्कातिर । कसोकसो देह र मन दुवै किञ्चित् थकित र गलित
भएका थिए । यस्तोमा हङकङले सङ्केतमा भन्यो— के बस्छौ एकबारको जुनीमा जीवनको सीमान्त कुनामा खुम्चिएर, एक्लिएर, विरक्तिएर ! एकाध दिन नै सही, हङकङको समुद्री हावा खान आऊ । के थाहा, ज्यान केही न केही तङ्ग्रिएला कि ! तै मन पनि पो चङ्गा होला कि † निम्ताको निहुँ थियो— पारिजात स्मृति दिवस, हावाजाजको टिकट र गाँस–बास–कपासको चाँजोपाँचो थियो हङकङ साहित्य परिषद्को । परिषद् बन्यो डाक्ने माध्यम, डाकिपठाउने कर्ता किसन राई, हाङयुग अज्ञात आदि ।

पण्डित लेखनाथ बाजेको हो कि कसको हो, सिलोकको एक पाउ याद आयो— मौका आउँछ पर्खँदैन, त्यसमा चुक्ने महालण्ठ हो । महालण्ठ नहुन यसो फेरफार गर्ने लँगौटी बोकेर ख्यालख्यालमै लागेँ म सुसेल्दै हङकङतिर । जहाजको टिकट सुस्त र लम्पट शाही चरित्र खासै नफेरिएको भूपू शाही नेपाल विमान सेवाको थियो । ट्रान्जिटमा सुले च्याप्यो र म ट्वाइलेट पसेँ । एक जना सुकर्मीले आफ्नो मित्रसँग भन्यो— ‘अरे, यो त पहिले हेरी कता हो कता सफा भएछ यार । गर्न खोजे किन हुँदैन ?’
मित्रले भन्यो— ‘हिजो श्रम विभागमा गा’थेँ । तीन घण्टामै काम बन्यो । पहिले झुलाएर, गलाएर, चाट्न खोजेर कम्तीमा तीन दिन लाउँथ्यो । हैन, थिति फेरिन लाग्या हो कि कसो ?’ यात्राको आरम्भमा यी दुई सुखद कुरा सुनिए । के यी सुखद कुरा गठेवामको सरकारका नवीन कृति हुन् ? ट्रान्जिट पनि पहिलेभन्दा व्यवस्थित र आरामदायी लाग्यो । जिज्ञासु दृष्टिले निरीक्षण गर्दै घुमेर हेरेँ— वाह, कुर्सीहरू पनि फेरिएछन् ! ती कति राम्रा ! कुन्नि, ट्वाइलेटको त्यो सफापन र बाहिरको यो सुधारको नेपथ्यमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आदेशात्मक यत्नको हात पो हुँदो हो कि !जहाज उड्ने समय नेरनेर आयो । र, हङकङ जाने यात्रुहरूलाई बाहिर निस्कने द्वारको समीपमा डाकियो । एकाध गोरागोरीबाहेक सबै यात्रु नेपाली थिए । मनको एक कुनामा कतार जाँदाको यही ठाउँको सम्झना जीवन्त भयो । ती नेपाली यात्रु र यी नेपाली यात्रुलाई मैले आँखैआँखाले दाँजेर हेरेँ । तिनका अनुहारमा अनिश्चय र भयको अत्यासलाग्दो भाव थियो । ती यात्रुहरू मानौँ एकदमै बिरानो, अँध्यारो सुरुङ भएर जीवनको एकदमै अकल्पित यात्रामा जाँदै थिए । तर, यी हङकङे यात्रुहरू फरक थिए । झलक्क हेर्दैमा लाए–खाएका, सुकिला–मुकिला, फेसनदार र टिपटप । कति त गम्म दमाहा मार्काका भुँडी हालेका । जीवनसँग धेरथोर प्रसन्न र सन्तुष्ट । लाग्यो— हङकङमा नेपालीहरूको जीवनको दशा सायद उति दयनीय छैन ।

नभन्दै जहाजले शाही चरित्र देखाएरै छाड्यो । त्यो ठाँडो दुई घण्टा विलम्ब भयो । हङकङ टाइमको साँझ ६ बजेतिर मैले ट्याक्क रैथाने माटो टेकेँ । एयरपोर्टको कलेवरमा हङकङको अस्तित्वको लघुचित्र दृष्टिगोचर भयो । त्यो रहेछ— उत्तर र दक्षिण एवं पूर्व र पश्चिमको साझा ट्रान्जिट, चारै दिशाको एक संगम थलो । हङकङको समृद्धिकारी आर्थिक प्राणवायुको एक मुहान । त्यहाँ जता हेर्‍यो, आँखाको रमितै–रमिता । कति विशाल ! कति सफा ! कति व्यवस्थित † कति जटिल र परिष्कृत भौतिक संरचना !सेरोफेरो हेर्दैमा विस्मयले त्यसैत्यसै कहालीलाग्ने ।बाटो हेरिबसेका किसन राई आदि भेट भए । र, तिनाले मलाई तुफानी बसमा गन्तव्यतिर डोर्‍याए । भनेजस्तो होटल कतै नपाएर एउटा थर्ड क्लास चाइनिज होटलमा कोठा लिइएछ । कोठा भने झ्यालविहीन कैदखानाजस्तो, पैसो भने गतिलै होटलसरहको रे । सामान थन्क्याएर अल्प विश्रामपछि भोजनको सिकारमा हिँडियो । जहाँ पुगियो, त्यो त मलाई मिनी नेपालजस्तो लाग्यो । नेपाली रेस्टुरेन्ट, हेर्दैमा एकदमै साधारण । पाकपरिकारहरू पनि नेपाली सुगन्ध र स्वादका । ग्राहकहरू जम्मै नेपाली । तलामाथिको होटलका कोठा दुईवटा । दुवै कोठामा बियर र वाइनको खोलो
बगिरहेको । मलाई मधुमय मुस्कानसहितका नमस्ते थुप्रै आए । कति जनाले त भिँmझ्याट लाग्ने गरी मसँग सेल्फी ठोक्न पनि भ्याइहाले ।

कुरो बुझ्दा त्यो सानो भीड पोखरा र हङकङका उद्योग वाणिज्य संघका जनहरूको रहेछ । उद्योग वाणिज्य फाँटमा आदान–प्रदान र सहकार्य गर्ने क्षेत्र पहिल्याउन जुटेका रहेछन् ती । तिनको छोटे सभाका प्रमुख अतिथि रहेछन् हाम्रा महावाणिज्यदूत । एक त प्रमुख अतिथि, त्यसमाथि महावाणिज्यदूत । ठूलाबडाको ठूलै चाला । त्यतिका ससाना मानिसहरूलाई ती एक जना ठूलाले कुराउनुसम्म कुराए । आखिरमा देवदूतझैँ ती आए र सुरु भयो ती दुई पक्षको औपचारिक सभा । मनै नलागी डायसमा म पनि घिसारिएँ । सभामा एउटै कुरा मलाई बडो घत पर्‍यो । त्यो घतकारी कुरो पोखरा उद्योग वाणिज्यका अध्यक्षका मुखारविन्दबाट प्रकट भएको थियो । अध्यक्ष मिस्टर विश्व पालिखेले भने— भ्रष्टाचार नेपाली राजनीतिको भयंकर रोग हो । र, बडो मनोविनोदी काइदाले रोगको उपचारको सानो जुक्ति तिनले सुझाए । तिनले भने— पाँच सय र हजारका नोट खारेज गर्नुपर्छ । र, हुनेसम्म सानो मूल्यका नोट चलाउनुपर्छ । किन ? किनभने त्यसो गर्दा शासनको आसनमा बसेर घुस खाने भ्रष्टहरूले नोट कोठा भरिभरि थुपार्नुपर्छ । अनि गोप्यताको समस्याले गर्दा भ्रष्टाचारीका ओठ–तालु सुक्छन्, निद हराम हुन्छ । अनि पालिखे ब्रोले हाँस्दै भने— यसरी नेपालको भ्रष्टाचार आध्धै घट्छ ।

उद्योगवालेहरूको कार्यक्रम तुरियो, र अलिबेर खानपिनको सेसन चल्यो । कसैले वाइन ठाडो घाँटी लगाए, कसैले बियर लडाए । ज्यान पनि बियरको मोर्चामा सामेल भयो । आफू त यताको काल्र्सबर्गमा स्वाद बसेको मनुवा, उताको नाथे बियर बियरजस्तै लागेन । त्यो त खालि मुतको पैरो † तैपनि प्राप्त उपलब्धिको हल्का उपभोग गरियो नै । रातको १ बज्यो र किसन भाइहरू मलाई होटलमा छाडेर आ–आफ्ना गुँडतिर लागे । खल्ल नुहाएर घुप्लुक्क सुतेको के थिएँ, कसैले ढोका ढकढक्यायो । अर्को कोठाको ढोका होला भन्ठानेँ । ढकढक चर्को भयो र खोलेर हेरेँ । होटल मालिक्नी रहिछन् । आधारातमा के चाल हो यो ? म झस्केँ । कतै नगरवधू त होइनन् ? समाजवादको नक्कली लेप लगाइएको चिनियाँ निर्मम पुँजीवादमा नगरवधूको उत्पादन हलक्कै बढेको छ भनी कतै पढेको थिएँ । ती महिलाले हप्काएझैँ अभद्र लाग्ने स्वरमा केही भनिन् । सोचेँ— म्याम चिनियाँ भाषा बोल्दैछिन् । के भनूँ न के भनूँ, म त त्यसैत्यसै रनभुल्ल परेँ । ढोकाको चाबी बाहिरै छुटेछ, तिनले निकालिन् । र, फेरि कठोर ध्वनित हुने स्वरमा, चिनियाँ टोनमा अंग्रेजीमा भनिन्— ‘कि आउटसाइड नो गुड । कि इनसाइड गुड–गुड ।’ बल्ल कुरा बुझेर म लज्जित भएँ ।‘थ्याङ्क यु म्याम ।’
बिहान सात बजे उठेँ । किसनले मित्रमण्डलीमाझ बिहान मलाई चियापान गराउने र घुमाउने पालो बाँधेका थिए । पालोमा परेका ब्रो आठ बजे आउने कुरा थियो ।

आठ बज्यो, ती आएनन् । नौ बज्यो, ती आएनन् । किसनले मलाई लोकल जेबी फोनको चाँजो मिलाइदिएका थिए । दस बजेतिर बल्ल फोन आयो । पालोवाला गाइड रहेछन् । भने— ‘दाइ, आज विक एन्ड । हेर्नुस् न, यहाँको नियमले काम छाड्नै मिलेन । सरी, म आउन सकिनँ ।×’ आफ्नो त बिहान निद्राले छाड्यो कि कफी खाने बानी । कफी नखाई ज्यानका आँखै राम्ररी नखुल्ने । आफ्ना ओठ–तालु सुकिसके, गाइड गयल पर्‍यो । किसनलाई फोन गर्न मुख लागेन । काममा होलान्, व्यर्थै किन बिथोलूँ ? होटलवाली म्यामको काउन्टरसामु हाजिर भएर बिन्ती बिसाएँ— म्याम, यहाँ चिया–कफी हुँदैन ?‘सरी, हियर नो टी, नो कफी ।’बाहिर जाऊँ, बिरानो ठाउँमा हराउने डर । चिया–कफी खाने थलोको मेलोमेसो केही छैन । चिनियाँ जिब्राहरूको अंग्रेजी बुझे त मार्दिनु । होटल हरिपै हो, नाथे पानी उमाल्ने भाँडो र टीब्यागधरी
छैन । ल, आजलाई वाध्यात्मक निराहारी भइयो । पेटलाई किञ्चित् विश्राम प्राप्त भयो । किसन राईको फोन कुर्दै शिवानीसिंह थारूको ‘काठमान्डूमा एक दिन’ पढेर बसेँ । छाँटले यो गम्भीर पुस्तक हो । कोही पददलित, वञ्चित र अपहेलित किन आतंकको बाटोमा लाग्छ ? पुस्तकको थालनीतिरै यो प्रश्नको उत्तर खोज्ने यत्न गरेको छनक पाइन्छ । लेखनमा मिहिनेत गरेको पनि देखिन्छ । तर, पढाइले ठ्याम्मै गति लिँदैन । गोडमेल नपुगेको भाषा झारपातले भरिभराउ छ । घरीघरी झारपातमा आँखा ठेस लाग्छ । गम्भीर गैरआख्यान अडीअडी, घोत्लिई–घोत्लिई, बिस्तारै–बिस्तारै पढिन्छ । तर, आख्यान भने तुफानी वेगमा पढिन्छ । पठनको वेगमा जब ब्रेक लाग्छ, सम्प्रेषणको लय भंग हुन्छ । र, पठनको आनन्द ध्वस्त हुन्छ । अनि पाठकले कनीकनी किन पढ्छ ? कोही कसैको जड र नीरस खोस्टो कनीकनी पढिदिनकै लागि जन्मेको हो र ? तर के लाग्छ, साथमा अर्को पुस्तक थिएन । त्यसैले कनीकनी पढ्न म विवश भएँ । पछि पठन–प्रक्रियामा मेरो कनाइ नै थकित भयो र बीचैमा पढ्न छाडेर पुस्तक किसन भाइलाई सप्रेम उपहार टक्र्याएँ । पढ्न खोज्दै ब्रोले तर्क गरे हुनन्— बूढाले झारपातको जंगल छिचोल्न नसकेर पो उपहार टक््रयाएछन् कि !
दुई दिन रसिक र प्रेमिल गाइड ब्रोहरूका पछि लागेर हल्लिँदै, हङकङका नानाओली दृश्यावली हेर्दै बिते । चौहत्तर साल इतिहास भयो, पचहत्तर सालको ढोका उघ्रियो र कार्यक्रमको दिन आयो ।

अलि ठूलो हल खोजेको, पाइएनछ । र, जो पाएको कामचलाउ सानो हल लिइएछ । आयोजकहरू हुनुसम्म चिन्तित थिए । तिनले घरीघरी गाइँगुइँ कुरा गरेको मैले सुनिरहेँ । फलानाका कुरा सन्न मान्छे थुप्रो आउलान् । प्रशंसक पन्,ि निन्दक पनि । तिनले आसन नपाएर खडेखडे हल्ला गर्लान्, र कार्यक्रम फ्याँ पो होला कि †
हङकङमा गर्नलाई काम छ, र जीवन एकदम व्यस्त छ । अतिकता फुर्सद हुने समय केवल सूर्यास्तपछि रहेछ । त्यही भएर रैथाने चलनअनुसार कार्यक्रम साँझ सात बजे तोकिए छ । आधा घण्टा विलम्ब गरी कार्यक्रम थलोमा पुग्दा अरे, चिताएझैँ मान्छे त छैनन् ! छन् त जम्मा त्यही लिन्ठिङ्ग बाह्र–पन्ध्र जना । आधा घण्टा कुरियो र चालीस–पैँतालीस जना अटाउने फुच्चे हल ठिक्क भरियो । ‘खै त मान्छे ?’ एक जानिफकारलाई खुसुक्क सोधेँ ।‘दाइ, एमाले र माकेजन आएनन् ।’‘कारण ?’

साउती गर्दै ती मान्यजनले कुरो खुलाए । बुझेर ल्याउँदा कुरो त गाँठ्ठे, गहिरो न गहिरो पो रहेछ † यता नेपालमा जीवनको उजाड बगरमा कुरै कुराले ढकमक्क फूल फुलाउने स्वप्नजीवी गठेवाम सत्तामा छ । उता हङकङवासी एमाले एवं माकेमार्गी कँणहरू त मेरीबास्सै, शासक कमरेडहरूका पवनपुत्रजस्ता पो भएछन् † सत्ता, शक्ति, पैसा र सानका सामु विचार र कलालाई बाल नगन्ने । भिन्न मत राख्ने जीवको मुखै नहेर्ने, ऊसँग बातै नमार्ने । अनि किन आउँथे ती प्रियजनहरू बित्थामा कुन्साङ काकाको फुस्रो मुख हेर्न र उसका खस्रा र रुखा कुरा सुन्न ? सभाकक्षको आकार र क्षमता हेर्दै कृतज्ञभावले मैले मनमनै भनेँ— धन्य हुन् एमाले एवं माकेका अन्तर्यामी कँणहरू † अन्तर्दृष्टिले आसनको अभाव देखेर कार्यक्रममा ती अनुपस्थित भइदिए । र, पारिजात दिदीको स्मृति–कार्यक्रम शान्त र सौम्य वातावरणमा ट्याक्क सम्पन्न भयो ।

हङकङमा नेपाली समुदायको आभूषणतुल्य दुई लेखक छन्— हाङयुग अज्ञात र देश सुब्बा । नेपाली साहित्यमा राम्ररी चिनिएका । हङकङे नेपाली साहित्यको सगर थाम्ने दुई खम्बा । हाङयुग परे स्वयम् एक आयोजक, उनी त कार्यक्रममा हाजिर हुने नै भए । देश सुब्बाको भने नाक–मुख देखिएन । कार्यक्रममा कताकता के–के रिक्तताजस्तो, खल्लोखल्लो लाग्यो मलाई । छेउका उनै जानिफकारलाई सोधेँ— ‘खै देश सुब्बा ?’‘माथि’, चोर औँलाले माथि संकेत गर्दै मिस्टर ब्रोले भने ।माथि ? अरे, देश सुब्बा त गएछन् कि कसो ? म झस्केँ ।‘कहाँ माथि ?’

ब्रोले छोटोमा छिटो कुरो बुझाए । कुरो त यो पनि एक छाँटको रहेछ ! देश सुब्बालाई आख्यानमा आँखा लाग्न छाडेछ । आखिर के हो यो नाथे तरंगी कल्पना लोकको पानीको फोको, जो हुत्त उठ्छन्, प्याट्ट फुट्छन् र फुस्स सकिन्छ ? यस्तो सोच्दै देश सुब्बा माथि उठेछन् । माथि अर्थात् गहन दर्शनको गरिमामय उचाइमा । उनी आफैँ आफूलाई दार्शनिक मान्दा रहेछन्, र पल–प्रतिपल भयवादको तोत्र जप्दा रहेछन् । उता एमाले एवं माकेका कँणहरू त्यस्ता छन्, यता देश सुब्बा यस्ता छन् । मखलेल हुँदै म मनमनै हाँसे— हैट्, हङकङको नेपाली समुदाय त खतरा पो रहेछ बा !कार्यक्रम भयो । पुष्पगुच्छा, खादा र प्रशंसाका वचनहरूले पारिजात दिदीको सम्मान र सम्झना गरियो । दिदीको विचार र सिर्जनाका मोडहरू र क्रमभंगहरूको चर्चा भयो । पददलित भुइँमान्छेहरूसँगको सहजीवन, विचार, कला र अभियानद्वारा तिनको जागृतिको चेष्टा, तिनको मुक्तिकारी क्रान्तिको परिवेश निर्माण, महिलागणको स्वत्व र अस्मिताको दाबी, निरन्तरको वैचारिक हस्तक्षेप— हो, पारिजात दिदीले छोटो जीवनमा के मात्र गरिनन् ? र त उनी आफ्ना कृति र कर्महरूमा सतत जीवन्त, प्रेरणादायी र अमर छिन् । बस्, दिदीको सम्झनामा कुरा यस्तैयस्तै भए ।

आयोजक संस्था रहेछ बडो युवा–अनुरागी । सालिन्दा एक युवा प्रतिभालाई पुरस्कार दिँदो रहेछ त्यो । यो सालको पुरस्कार सुनिता गिरीलाई दियो । पुरष्कृत कवितासंग्रहको नाम ‘माइत जाने बाटो’ । बस्, अबलाई कार्यक्रम तुरियो र नजिकैको नेपाली रेस्टुरेन्टमा उमंगसाथ खानपिन सुरु भयो । रात छिप्पिसकेको थियो । हत्तपत्त गाँस टिपेर घुप्लुक्क सुत्न मन थियो मलाई । तर ब्रोहरूले छिट्टै सुत्न दिने छाँट देखिएन । आफू परियो निम्तालु अतिथि, निद्रालु थकानलाई दबाएर सबैका कुरा सुनिदिनुपर्ने । घरदेखि धेरै परको हङकङमा थकित ज्यानलाई जेमा रुचि थिएन, वार्ताले त्यतैतिर फन्को मार्‍यो । एक जना मित्रको अद्भुत संस्मरणमा मान्यवर खड्गप्रसाद शर्मा ओली झुलुक्क उदाए । परराष्ट्रमन्त्री छँदा ओली सर चीन घुमेर खुत्रुक्क हङकङ झरेछन् । मौकाको कुरा हो, फाँटवाले मन्त्रीसमक्ष एउटा निवेदन प्रस्तुत गरिएछ । निवेदनमा व्यंग्यको पुट राखेर भनिएछ— श्रीमान्, नेपाल यसै पनि जातीय विविधतायुक्त देश । तर, हङकङको महावाणिज्यदूतमा एउटै जातको
सदावहार एकाधिकार छ । नपत्याए जनी गरेर नजर होस् मान्यवर— जैनेन्द्र जीवनपछि हेमलाल भट्टराई, माधवप्रसाद घिमिरेपछि विनोदकुमार उपाध्याय, महेशप्रसाद दाहालपछि केशव भट्टराई । सबै पवित्र ब्राह्मण ! यति पवित्र पद बुद्धिबिनाको अपवित्र जनजातिलाई दिन त नमिल्ला नै । कमसेकम क्षत्रीलाई त दिइयोस्, महामहिम ! यो दुश्चक्र तोडिएपछि अरूको पनि पालो आउला कि ? ओली ब्रोका करकमलमा निवेदन टक््रयाउन पाएकोमा निवेदकहरू मक्ख गरे । तर पछि उल्का भयो । ओली सर बाटो लागेपछि निवेदन जहाँको तहीँ डस्टबिन उर्फ रद्दीको टोकरीमा फेला पर्‍यो । र, बरा दुखिया निवेदकहरू हुनुसम्म मर्माहत भए । यो विद्रूप विषयलाई थान्को लगाउन मैले नयाँ प्रसंग झिकेँ । भनेँ— हिजो जे भो, त्यसलाई बिर्सिदिऊँ मित्रहरू । आजका कुरा गरौँ । आज श्रीमान् ओलीको सर्वत्र एकाधिकार छ । खबरमा
एकाधिकार, चर्चामा एकाधिकार । प्रशंसामा एकाधिकार, निन्दामा एकाधिकार । स्तुतिमा एकाधिकार, कटाक्षमा एकाधिकार । यत्रतत्र, सर्वत्र एकाधिकारै एकाधिकार । यो ओलीमय एकाधिरबारे हङकङ के भन्दो हो जी ?टेबुलको पल्लोछेउको एक शान्त श्रोता हठात् क्रुद्ध भयो । उसको उद्वेलित मुड्की टेबुलमा ड्याम्म बज्य्रो । र, उसको मूक गर्जन वायुमण्डलमा विस्फोट भयो, ‘हैट् सोल्टी, डस्टबिनका चैँ कुरै नगरूँ ल !’

Yamaha

Esewa Pasal

प्रकाशित : वैशाख २९, २०७५ ०९:३०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गद्दार

कथा
सद्दे गयो, र चिया पसलमा अलिबरेमा गद्दार आयो । उसका पनि हातमा पत्रिका र तरकारीको प्लास्टिक थियो । ऊ आउनु के थियो, वातावरण स्तब्ध भयो । र, ओठहरू मौन । आपसमा मुखामुख, र ओठमा नजानिदो मुसुमुसु । मानौँ ‘गद्दार’ एउटा मनोरञ्जनकारी किस्सा हो ।
खगेन्द्र संग्रौला

काठमाडौँ — बिहान साबिकको समय । थलो पनि उही साबिकको जहाँ कुचुक्क परेको छिँडीमा खुब चलेको चिया पसल छ । चिया पसलमा ऊ मानौँ उत्ताल आवेगको वेगले हुर्रिँदै पस्यो । साबिकझैँ उसको एक हातमा तरकारीको प्लास्टिक थियो, अर्को हातमा पत्रिका । ऊ बेन्चीछेउको थोरै खाली ठाउँमा हाडे नितम्ब आधा टेकाएर घ्याच्च बस्यो ।

उसको धक्काले उताकाहरू झन् उता धकेलिए । चिया पसलका स्थायी ग्राहक उर्फ परम् ज्ञानीहरूको अविराम वार्तामा हठात् ब्रेक लाग्यो । पसलमा ग्राहक सात जना थिए । तिनका चौध थान विस्मित नजर तुफानी नवागन्तुकमाथि एकाग्र भए । ऊ जो त्यसरी आयो, ऊ प्राय: शान्त हुन्थ्यो, र ऊ प्राय: सुस्त लाग्थ्यो । आज यो के भयो ? उसको सास बढेको थियो, उसको निधारमा मुजा परेका थिए, र फस्फस् फुलिरहेका थिए उसका नाकका पोरा ।


‘हैन, के भो हेमकान्तजी ?’ उम्लिँदो चिया मगले बडा प्रेमले चलाउँदै पसलले सोध्यो ।
हेमकान्तको तरकारीको प्लास्टिक क्रोधको झोँक्का भएर दागमय टेबुलमा बज्य्रो । र, छेवैमा बसेको बाचाल मास्टरको चियाको भरी कप घोप्टियो ।
‘धत् !’ फुकिढल मास्टर कड्क्यो ।


अधीर हेमकान्तले ओठ टोक्यो, नाक मुसार्‍यो, दुई हत्केलाले आँखा मल्यो । र भन्यो, ‘साला ! आज मेरो दिनै बिग्रिने भो ।’
‘किन ? के भो र त्यस्तो ?’ अध्बैँसे वकिलकले वृद्ध स्वरमा सोध्यो ।
‘एकाबिहानै गद्दारको मुख देख्नुपरो ।’
‘को गद्दार ?’ प्रश्न चिया पसलेको थियो ।
‘याँ अरू को छ गद्दार ?’ चोरऔँलो दोबारेर टेबुल ठोक्दै हेमकान्तले घृणा ओकल्यो । ‘त्यै छ नि त्यो तिमेर्को कथित जान्ने सुन्ने । तिमेर्कोे त्यो इष्टदेव । कहीँ नभ’को तिमेर्कोे त्यो लेखनदास । त्यो गद्दार !’
‘ए गोविन्द सरलाई भन्या ?’ मुसुमुसु मस्किँदै र मानौँ गोविन्दको निन्दाबाट आनन्दित हुँदै मास्टरका ओठ चले ।
हेमकान्तका ओठमा हल्का कम्प छुट्यो, बोली फुटेन ।
चियापसलमा आज जे भयो, नील गगनबाट हठात् वृष्टि भयो । हेमकान्त साठीको खुट्किलो टेकेको छोटे व्यापारी थियो । उसलाई कन्नापछाडि प्राय: सबै लाटो भन्थे । मौन मूर्ति भन्थे । ग्वाँच भन्थे । शान्त मनोदशा र संयमित स्वरमा बोल्न ऊ जान्दैनथ्यो । जब बोल्थ्यो, ऊ झडङ्ग विस्फोटित भइहाल्थ्यो । ऊ सुमुसुमु आउँथ्यो । पत्रिकामा आँखा टेकाएर चुपचाप चिया घुट्क्याउँथ्यो । र, ऊ चुपचाप बाटो लाग्थ्यो ।


‘हँ ! गोविन्द सर गद्दार ?’ चिया पसलेले रमरम रोषमिश्रित स्वरमा प्रतिवाद गर्‍यो ।
‘धत्, कुरा पनि !’ रकमी वकिलले कारण माग्यो, ‘गोविन्द दाइ किन गद्दार ?’
हेमकान्तले रुद्रघण्टी मुसार्दै लामो सास फेर्‍यो । र, आफ्नो क्रोधको मुहानको कथा हाल्यो । कुरो यसो रहेछ । अघिल्लो साँझ उसले गोविन्दको एउटा अन्तर्वार्ता पढेछ । मित्रहरूका किसिमको अन्तर्वार्ता । उसको फराकिलो मित्रमहलमा नकुल पनि परेछ । र, कुरैकुरामा उसको भारी तारिफ भएछ । नकुलको तारिफ ! हेमकान्तलाई रातैभरि, सपनामा धरी रिस उठेछ । र, रिसको पर्वत बोकेर ऊ बिहान उठेछ । ‘नकुल ! को हो नकुल ?’ अहिले हेमकान्त जङ्गियो । ‘त्यो दख्खिनपन्थी हो, त्यो प्रतिक्रियावादी ! म त भन्छु— कालो काग हो त्यो ! त्यो पाजी वामपन्थीको मित्र ? मित्र पनि जस्तोतस्तो होइन, नङ–मासु सरहको ? वाहियात ! गद्दार !’
‘गोविन्द सर त्यत्ति कुराले गद्दार, हगि ?’ कलहकारी मास्टरले हेमकान्तलाई कुतकुत्यायो ।


‘त्यत्ति कुरा रे ?’ हेमकान्त मुर्मुरियो, ‘सिद्धान्तको कुरा हो यो, सिद्धान्तको ! सिद्धान्तमा चिप्लिने के हुन्छ, थाहा छ ? त्यो चिप्लेकीरो हुन्छ ! गद्दार हुन्छ त्यो !’ सन्नीपातको मधौरुझैँ ऊ बरबराइरह्यो, ‘अरूलाई खुट्टा टेक्न अर्ती दिने, आफूचाइने मुन्टो टेक्ने ! गद्दार ! जो अगुवा, उही बाटो... !’
जग्गाविद् ट्वाँ परेर सुनिरहेको थियो । बल्ल उसको बक् फुट्यो, ‘हेम दाइ, गद्दारको पनि त आफ्नै तर्क होला नि ।’
‘भुत्रोको तर्क ?’ हेमकान्तको मुक्का टेबुलमा पड्क्यो ।


‘हँ ? क्यै त अवश्यै होला तर्क,’ वकिलले जिरह गर्‍यो, ‘मान्छेहरू भन्छन्— नकुल न्याययोद्धा हो, निरङ्कुश हैकमको ज्यानी दुश्मन । लाठी, अश्रुग्यास र गोलीसामु ऊ लत्रिएन । ज्यान हत्केलामा राखेर लड्यो ऊ । गोविन्द सरले यस्तो क्यै नबुझी त्यस्सै मित्र भन्या हुनन् र हेमजी ?’
‘धइत् गद्दार !’ टेबुलमा फेरि मुक्का बज्रियो । र, चियाको पैसै नतिरी हेमकान्त बाहिर हुत्तियो ।


सद्दे गयो, र चिया पसलमा अलिबरेमा गद्दार आयो । उसका पनि हातमा पत्रिका र तरकारीको प्लास्टिक थियो । ऊ आउनु के थियो, वातावरण स्तब्ध भयो । र, ओठहरू मौन । आपसमा मुखामुख, र ओठमा नजानिदो मुसुमुसु । मानौँ ‘गद्दार’ एउटा मनोरञ्जनकारी किस्सा हो । वातावरणको गन्ध सुँघ्दै गोविन्दले लख काट्यो— यहाँ पक्कै
केही अनौठो भएछ ! तर भयो के ?
चिया पसलेले ‘के’को उत्तर दियो, ‘सर, हेमकान्त गद्दार भनेर गयो ।’
‘कसलाई ?’
उसले आँखआँखाले भन्यो— ज्यानलाई ।
‘यो त अचाक्ली भो सर !’ मास्टरले धुप हाल्यो । ‘सरजस्तो मान्छेलाई नाथे हेमकान्तले...’
‘हो, यो ज्यादती नै हो,’ वकिलले पैरवी गर्‍यो ।
‘मलाई त दाइ, मु..लाई मुक्याइदिऊँजस्तो लाग्या थ्यो,’ जग्गाविद्ले एक राउण्ड चाकरी बजायो ।
‘सर,’ चिया पसलेले खुल्दुली प्रकट गर्‍यो, ‘नकुल वामपन्थीको मित्रै हो त ? बुमबुम छ त हेमकान्त ।’
‘हेमकान्त मेरो पुरानो साथी हो, विसनबाबु ।’ चियाको चुस्की लिँदै गोविन्दले भन्यो । ‘ऊ मलाई जे भनोस्, ऊसँग मेरो कुनै द्वेष छैन ।’
‘हैट्, दुनियाँका अगाडि त्यस्तो दुर्वाच्य !’
‘विसनबाबु ! बरा, हेमकान्त साँगुरो कूपको कैदी हो । कूपबाट सेरोफरो जति देखिन्छ, ऊ ठान्छ— संसार त्यत्ति हो ।’
‘नकुल प्रतिक्रियावादी होइन्त, सर ?’
शान्त मनोभावमा गोविन्दले तर्क गर्‍यो, ‘नकुल जीवनको बहुरङ्गी बगैँचाको एक प्रकारको फूल हो, विसनबाबु । सबै बगैँचामा राम्रा फूल हुन्छन् । कहीँ धेरै होलान्, कहीँ थोरै । बस्, मेरो कुरो यो हो ।’
पलभर सन्नाटा छायो । चिया पसलका नन–स्टप वक्ता र विश्रान्त श्रोताहरूको अपेक्षा हुँदो हो— गद्दार विजयले वचनमा आगो वर्षाओस् र अलिकता दिल बहलाउ होस् । तर, त्यस्तो केही भएन, र ती
खिस्रिक्क परे ।


विजय उठेर बाटो लाग्यो । ऊ घरको बाटोमा पर्ने नजिकैको चारुमति चैत्यको प्राङ्गणमा भित्रियो । केही वृद्ध–वृद्धा, अध्बैँसे र एकाध पठ्ठा–पठ्ठी मियो वरिपरि घुम्ने वृद्ध बयलझैँ चैत्यको परिक्रमा गरिरहेका थिए । अगाडिको आत्महीन दृश्यले चकित विजयको ध्यान खिच्यो । असरल्ल कपाल तीलचामले, ढाड किञ्चित् कुप्रो, चाल सुस्त, दिशा मानौँ मृत्युतिर— अगाडि एउटा शुष्क जीव पत्थरपूजामा लिप्त छ । विशाल माउ चैत्यका वरिपरि अनेक पाठा चैत्यहरू छन् । एकएक पाठा चैत्यमा बुद्धको रूपाकृतिसहितको वा रूपाकृतिविहीन प्रतिमा छ । विजय हेर्दैछ, त्यो जीव एकपछि अर्को प्रतिमालाई ढोग्दैछ । दिगमिग मान्दै विजय गन्दै जान्छ— एक, दुई, तीन, चार, पाँच... ।


अहो ! अन्धभक्तिको पथमा यो कति ठूलो अम्मल ! कति गाढा नशा यो ! अनि यो कति निकृष्ट लम्पटपन ! ल हेर ! हेर्ने एकटकले हेर्दो छ, ढोग्ने एकसुरले ढोग्दो छ ।


पछाडिबाट नियाल्दा विजयलाई त्यो जीव चिनेचिनेजस्तो लाग्यो । फुत्त अगाडि गएर यसो घुरेर हेर्छ त मेरी बास्सै ! त्यो अजिब जीव उही हेमकान्त रहेछ— उसको उही पुरानो साथी, उही लाटो, उही बाहुबली, उही घृणावर्षी ! विजयको स्मृतिपटमा एउटा विश्रान्त सम्झना एकाएक जीवन्त भएर उठ्यो । कुरा धेरै अघिको हो । टोलछिमेकमा एउटा ज्ञानी तरुण थियो— भौतिकवादी, वागी र नित्य घर्षणकारी । ऊ पशुपतिका लट्टे फुस्राहरूसँग विज्ञानको ध्वजा बोकेर, घुँडा धसेर शास्त्रार्थ गथ्र्यो— परलोक मिथ्या हो, भगवान् झूट हो, कर्मकाण्डी धर्म धोतीगाँठेको ठग वृत्ति हो । यसो र उसोको बहसमा जब उत्तेजना र रोषका झिल्का निस्कन्थे, मुख थाकेर बहसकर्मीका हात चल्न थाल्थे । हेमकान्त, अहिलेको यो पत्थरभक्त हेमकान्त, ऊबेला बहसकर्मी ज्ञानीको अर्दलीजस्तो थियो । उसको जिब्रो प्राय: चल्दैनथ्यो, हातको चाल खतरा थियो । ज्ञानीले यसोक्क इसारा गर्‍यो कि हेमकान्त लट्टेलाई कुटिहाल्थ्यो । हेमकान्तका हातबाट अनेक लट्टे कुटिए, पुलिसका हातबाट हेमकान्त अनेक पटक कुटियो । त्यही हेमकान्त अहिले चारुमतिमा पत्थरपूजामा लिप्त छ । चकित र विस्मित भावले गद्दार हेर्दो छ, सद्दे अन्धभक्तिको नशामा लठ्ठ भई पत्थरपूजा गर्दो छ ।


‘ए, यो उही तिमी हौ !’
विजयको अन्तरबाट अनायासै विस्मययुक्त ध्वनि प्रस्फुटित भयो ।
‘अँ, म !’ के भनूँ न के भनूँ भएर हेमकान्त अकमकायो ।
‘ऊ पनि तिमी, यो पनि तिमी, कि कसो हेम ?’
‘अँ, म, म के भनूँ ? अँ, अब बूढो भइयो । पाटपुर्जा खिया लागेको जिउ रोगको संग्रहालयजस्तो भो । मन लुलो भो । तिमीलाई म के भनूँ, गोविन्द ? अचेल त लाग्न थाल्यो— यो असार संसार हो !’
‘कठै !’

प्रकाशित : वैशाख ८, २०७५ १०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT