कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वका पक्षी बा

क्यानभासमा रूख, पोखरी, सिमसार, काँसबारी लगायतको कला प्रयोग गरेर मोफसलमा नेचुरल–आर्ट बिधा हुर्काइरहेका छन् चित्रकर्मी जीवनाथ ।
वेदराज पौडेल

काठमाडौँ — इनरुवा –९, बलाहाका ७२ वर्षे जीवनाथ पोखरेलको अर्को चिनारी छ— पक्षी बा । क्यानभासमा चरा र तिनको वासस्थानलाई दुरुस्तै उतार्ने भएकाले उनको चिनारी थपिएको हो ।

पूर्वका पक्षी बा

यिनै चराचुरुङ्गीको क्यानभास चित्रको प्रदर्शनी गर्न हिँड्दैको दौडधुप पनि उत्तिकै छ । यो साता मात्रै उनको सातौं एकल चित्र प्रदर्शनी हँुदै छ इनरुवाकै गाउँठाउँमा ।चराप्रतिको लगावका कारणले उनले आफ्नो नाम–थरको पछाडी ‘पक्षी’ टाइटल राखेक छन् । अहिले विराटनगरबाट इनरुवा आउने बसहरूले उनको ग्यालरीअगाडिको चोकलाई ‘पक्षी चोक’ भनेर नामकरण गरेका छन् । जीवनाथले लगातार ३२ वर्षसम्म मास्टरी काम गरे । शिक्षण पेसा त्यागेपछि ०५८ सालबाट चरा चित्र क्यानभासमा उतार्न थालेका उनले अहिलेसम्म ५ सयवटा नेचुरल–आर्ट (एन–आर्ट) लाई मूर्तरूप दिइसकेका छन् ।

चरा र तिनको चरन वेटल्यान्डका चित्र (एन–आर्ट) हरू कोसीटप्पु बन्यजन्तु आरक्षले २०६०–६१ सालमा आयोजना गरेको विश्व सिमसार दिवसमा प्रदर्शन गरिसकिएको छ । त्यसपछि, २०६४ सालमा काठमाडौंको पर्यटन बोर्ड हलमा एकल चित्रकला प्रदर्शनी भैसकेको छ । कागजमा मसी दलेर चित्र बनाउनुलाई मात्रै उनी कलाकर्म ठान्दैनन् । ‘आखिर पिकासोदेखि अहिलेसम्म कागजमा रंगले चित्र बनाउने काम मात्रै भए,’ उनी भन्छन्, ‘क्यानभासमा केही फरक काम गर्नुपर्छ भन्ने सोचले मलाई एन–आर्टतिर डोर्‍यायो ।’ आर्टलाई नयाँ रूप दिनेबारेमा सोचमग्न भएरै जीवनाथ एक दिन अमलाको बोटमुनि शीतल तापिरहेका थिए । नजिकै सुपारीको बोटबाट खसेको सुपारी (सुकेको खोलसहित) को दानामा उनले चरा आकृति नियाल्न थाले । निकै बेरको प्रयासपछि उनले सुपारीको खोललाई चरा आकृति दिइछाडे । संयोगले त्यो रातभर हावाहुरीसँगै पानी पर्‍यो । बिहान उनले अघिल्लो दिनको आफ्नो सुपारीबाट बनाएको चरालाई हातमा राखेर ‘श्रीमतीलाई चराको बच्चाजस्तो के झरेछ ?’ भन्ने छड्के जिज्ञासा राखिहेरे । श्रीमतीले पनि रातभर परेको हावापानीमा परेर गुँडबाट बच्चा खसेछ भन्दै त्यसलाई मातृस्नेहले समाएपछि जीवनाथमा नयाँ तरंग पैदा भयो । ‘यही कलालाई अब क्यानभासमा उतार्छु’ भन्ने अठोट उनले लिइहाले । त्यसपछि उनले सुपारी दानाको बोक्राबाट चरा बनाउन थालेका हुन् ।

सुरुका केही दिनमा उनले क्यानभासमा कोरिएका रूखमा ती चरालाई टाँसे । त्यसपछि उनले चरा मात्र होइन, क्यानभासमा रूख, पोखरी, सिमसार, काँसबारी, ढुंगालगायतको प्रयोग गरेर चित्रसँगै विभिन्न वस्तु जडेर नौलो प्रयोग गर्न थाले । उनले क्यानभासमा वास्तविक रूख, त्यसमा चरा र चराका गँुडहरूलाई सजाए । चित्रसँगै वास्तविक वस्तुको प्रयोगले क्यानभासलाई नौलो रूप प्रदान गर्‍यो । हेर्न आएका छिमेकी र साथीभाइले यो मिश्रित कलालाई मन पराए । त्यसपछि त उनले घर संसारबाट अलग आफ्नो क्यानभासको संसारमै रमाउने विचार गरेर घरभन्दा उत्तरीपट्टिको छिमेकी घरमा आफ्नो ग्यालरी स्थापना गरे । उनले पहिले भन्साघरको रूपमा रहेको टिनघरका चारवटा कोठालाई ग्यालरी अर्थात् ‘चरा घर’ बनाए । क्यानभासमा फेब्रिक, पानी रंग र चारकोलको प्रयोग गर्दै दशक बिताएका उनले प्रयोग गरेको नौलो शैलीलाई के नाम दिने भनेर उनी आफैं दोधारमा परे । अनेक यत्नपछि त्यसको नाम जुर्‍यो । अंग्रेजी अक्षरको ‘एन’ बाट एन आर्ट । अक्षर एउटा एन भए पनि त्यसमा पाँचवटा एनको अर्थ लगाए उनले— नेचुरल, नर्मल, नाइस, नेपाल र न्यू आर्ट ।

चराको अध्ययन गर्नु, तीनको फोटो खिचेर रेकर्ड राख्नु, त्यसको चित्र क्यानभासमा उतार्नु उनको दैनिकी भए पनि अहिले उनी आफ्नो मोबाइलमा चराको आवाज पनि रेकर्ड गर्न थालेका छन् । नेचुरल आर्टसँगै उनी मूर्तिकलाको काम पनि गरिरहेका छन् । पेरिस, सिमेन्ट वा कुनै अन्य वस्तुको नभई झरेको सुपारीको बोक्राबाट उनले पत्याउनै नसकिने चराहरूको मूर्ति बनाएका छन् । उनले ठूला २० वटा चराका र साना २५० चराका मूर्ति बनाइसकेका छन्

प्रकाशित : वैशाख २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?