कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली कार्टुनमा क्यारिकेचर

कला
कार्टुनमा कला पक्ष सशक्त भएन भने विचार पक्ष जति बलियो भए पनि त्यसले प्रभाव पार्न सक्दैन । दु:खका साथ भन्नुपर्छ, कार्टुनको विचार पक्षमा हामीले जति विकास गर्‍यौँ, त्यति कला पक्षमा गर्न सकेका छैनौं ।
अविन श्रेष्ठ

काठमाडौँ — विश्व कार्टुन कलाले पाँच शताब्दी लामो इतिहास बोके पनि नेपाली कार्टुन कलाले मुस्किलले आठ दशकको मात्र इतिहास बोकेको छ । राणाकाल र पञ्चायतकालमा विभिन्न प्रतिकूलताका बाबजुद पनि नेपाली कार्टुन कला बामे सरिरह्यो । ४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुन:स्थापना र प्रविधिमा आएको आमूल परिवर्तनले गर्दा यो क्षेत्रको उल्लेखनीय गतिमा विकास र विस्तार भयो ।

नेपाली कार्टुनमा क्यारिकेचर

त्यसपछिका विभिन्न राजनीतिक परिवर्तन र घटनाक्रमहरूले गर्दा आम नागरिकको राजनीतिक चेतना पनि विस्तार हुँदै गयो । अभिव्यक्ति स्वतन्त्रताको कारणले कार्टुनिस्टहरूले पनि आफ्नो विचारलाई कार्टुनका माध्यमबाट निर्धक्क प्रस्तुत गर्न सक्ने भए । उनीहरूले आफ्नो विचार प्रस्तुत गर्ने शैलीमा पनि आफूहरूलाई परिस्कृत गर्दै लगे ।

विचारलाई प्रस्तुत गर्ने शैलीका आधारमा हाल नेपाली कार्टुन पनि अन्तर्राष्ट्रिय स्तरकै पाउँछौं । तर, कार्टुन भनेको ‘विचार’ मात्र नभई त्यहाँ ‘कला’ ले पनि प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । कार्टुन भनेकै विचारलाई कलाको माध्यमबाट गरिएको प्रस्तुति हो । कार्टुनमा कला पक्ष सशक्त भएन भने विचार पक्ष जति बलियो भए पनि त्यसले प्रभाव पार्न सक्दैन । दु:खका साथ भन्नुपर्छ, कार्टुनको विचार पक्षमा हामीले जति विकास गर्‍यौं, त्यति कला पक्षमा गर्न सकेका छैनौं । कला पक्षको आधारमा मूल्यांकन गर्नुपर्दा अन्तर्राष्ट्रिय कार्टुन क्षेत्रमा नेपाली कार्टुन धेरै पछाडि रहेको हामी पाउँछौं ।

प्रारम्भिक कालमा काठको ब्लकको माध्यमबाट कार्टुन छाप्ने प्रविधिदेखि जिंक ब्लक हुँदै अहिले कम्प्युटर प्रविधिसम्म आइपुग्दा पनि हाम्रो कार्टुनको कला पक्ष समयानुसार परिमार्जन हुन सकेको छैन । नेपाली कार्टुनलाई पनि अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने हो भने हामीले यो कटुसत्यलाई स्विकार्नैपर्छ र यो विषयमा आवश्यक कदम चाल्नैपर्छ ।

कार्टुनमा कलाका अनेक पक्षमध्ये नेपाली कार्टुनमा कमजोर पक्ष क्यारिकेचर पनि हो । क्यारिकेचर भन्नाले सामान्य अर्थमा कुनै पनि वस्तु वा व्यक्तिको भावभंगिमालाई अतिरञ्जना गर्दै चित्रांकन गर्नु हो । यसरी चित्रांकन गर्दा कार्टुनिस्टले जसको क्यारिकेचर बनाउने हो त्यसको चारित्रिक गुणलाई बढीभन्दा बढी प्रभावकारी ढंगमा प्रस्तुत गर्नुपर्छ । मुहार क्यारिकेचर बनाउँदा अझ बढी दक्षता जरुरी हुन्छ । क्यारिकेचरमा मुहारको भावभंगिमाको अतिरञ्जना हुनु अति आवश्यक हुन्छ । यसरी अतिरञ्जना गर्ने क्रममा कार्टुनिस्टले रेखाहरूलाई आफ्नो नियन्त्रणमा राख्न सकेन भने क्यारिकेचर बीभत्स देखिने डर हुन्छ । कुनै व्यक्तिको मुहार चित्र बनाउँदा कुनै पनि रेखा तलमाथि भएमा त्यस व्यक्तिको मुहारको चरित्र त्यसमा आउँदैन र नचिनिने हुन जान्छ । मुहार क्यारिकेचर बनाउँदा भावभंगिमाको अतिरञ्जना गर्ने क्रममा सम्पूर्ण रेखाहरूलाई तलमाथि दायाँबायाँ फैलाई बनाउनुपर्छ र चिनिने पनि हुनुपर्छ । यो नै सबैभन्दा चुनौतीपूर्ण कार्य हो । आम पाठक/दर्शकले क्यारिकेचरमा रहेको पात्रलाई सजिलै चिन्न सकेन भने त्यसलाई सफल मान्न सकिँदैन । तर, जसरी पनि चिनिनुपर्छ भन्ने आधारमा अनुहारका भावभंगिमालाई फोटोजस्तै दुरुस्त उतारी टाउको ठूलो र शरीर सानो बनाउँदैमा पनि त्यसलाई क्यारिकेचर भन्न सकिँदैन । क्यारिकेचर हुनलाई त्यसमा हुनुपर्ने आधारभूत गुणहरूलाई अंगीकार गरिएको हुनु अति जरुरी छ ।

क्यारिकेचर बनाउँदा यस्तै बनाउनुपर्छ भन्ने कुनै गणितीय सूत्र पनि हुँदैन । त्यसकारण एकै व्यक्तिको क्यारिकेचर पनि फरक–फरक कार्टुनिस्टले आ–आफ्नो सीप र दक्षताअनुसार फरकफरक देखिने गरी बनाउँछन् । हामीकहाँ त्यस्ता केही पात्र कार्टुनमा देखिन्छन्, जो केही कार्टुनिस्टहरूले एकैनासको बनाउने गरेको पाइन्छ । यस्तो देखिनुको प्रमुख कारण भनेको एकले अर्काको नक्कल गर्नु नै हो । यसरी एकले अर्काको कलाको नक्कल गर्ने प्रवृत्तिले कार्टुनिस्ट स्वयंलाई घाटा त पुर्‍याउँछ नै, साथसाथै समग्र कार्टुन क्षेत्रको विकासलाई नै अवरोध पुर्‍याइरहेको हुन्छ ।

बीस र तीसको दशकका कार्टुनहरूलाई आधार मान्ने हो भने नेपालमा यो क्षेत्रको धेरै विकास भइसक्नुपर्ने थियो । प्रविधिको प्रतिकूलताका बाबजुद पनि त्यो बेला हाम्रा केही अग्रज कार्टुनिस्टको सिर्जनामा कलाका उत्कृष्ट नमुना हामी पाउँछौँ । ती कार्टुनहरू हेर्दा तत्कालीन समयमा हाम्रा अग्रजहरूले गरेको मिहिनेत हामी सजिलै महसुस गर्न सक्छौँ । त्यो बेलामा अहिले जस्तो टीभी र इन्टरनेटको सुविधा त थिएन ।

पत्रपत्रिकाहरूमा समेत फोटो छापिँदैन थियो । यस्तो अवस्थाले गर्दा कार्टुनिस्टहरूलाई कुनै–कुनै बेला त कार्टुनमा आउने पात्रको अनुहार कस्तो छ भन्ने विषयमा बिल्कुलै ज्ञान हुँदैन थियो । अनि उक्त पात्रलाई देखे/भेटेका व्यक्तिहरूसित खोजीखोजी जानकारी लिनुपथ्र्यो ।

अहिले सहज र सुलभ प्रविधिका कारण हामी प्रख्यात व्यक्तिका विभिन्न भाव र मुद्रासहितकै तस्बिर सजिलै प्राप्त गर्न सक्छौँ । यसका बाबजुद पनि कार्टुनहरूमा कमजोर क्यारिकेचर देख्दा कतै प्रविधिले कार्टुनिस्टहरूलाई अल्छी बनाउँदै त लगिरहेको छैन ? भन्ने विषयमा सोच्न बाध्य बनाइदिन्छ । यस्तो प्रवृत्तिले समग्र कार्टुन क्षेत्रलाई नै नकारात्मक असर पुर्‍याउने हुँदा कार्टुनिस्टहरू सजग हुनुपर्ने देखिन्छ ।



हामीकहाँ अर्को खट्केको पक्ष भनेको राजनीतिक व्यक्तित्वबाहेकका क्यारिकेचर नगण्य मात्रामा मात्र हुनु हो । नेपाली सञ्चार माध्यममा राजनीतिक कार्टुन मात्र धेरै मात्रामा प्रकाशित हुने कारणले राजनीतिज्ञको मात्र क्यारिकेचर धेरै बन्ने गरेको पाइन्छ । कार्टुनिस्ट क्लब नेपाल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा गत वर्षको ‘नेपाली क्यारिकेचर २०७४ : कार्यशाला–प्रदर्शनी–प्रतियोगिता’ ले गर्दा यो अवस्थामा केही सुधार आएको देखिन्छ । सो कार्यशाला र प्रदर्शनीपश्चात् सामाजिक सञ्जालहरूमा पनि नेपाली क्यारिकेचरहरूको एक प्रकारको लहरै आएको थियो । साथै, सो कार्यशाला र प्रदर्शनीपश्चात् कति व्यावसायिक कार्टुनिस्टहरूको कार्टुनमा पनि क्यारिकेचर पक्षमा उल्लेख्य प्रभाव देखापरेको महसुस गर्न सकिन्छ ।

गत वर्षकै निरन्तरतास्वरूप यस वर्ष पनि ‘नेपाली क्यारिकेचर २०७५ : कार्यशाला–प्रदर्शनी–प्रतियोगिता’ आयोजना हुँदै छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा यही जेठ २० देखि २३ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालका ख्यातिप्राप्त कार्टुनिस्टदेखि नवप्रतिभासम्मले सिर्जना गरेका क्यारिकेचर प्रदर्शित हुनेछन् । राजनीतिक बाहेकका प्रसिद्ध व्यक्तित्वहरूको मात्र क्यारिकेचर उक्त प्रदर्शनीमा रहनेछन् । सधैँ राजनीतिक व्यक्तित्वहरूको मात्र कार्टुन हेर्दै आएका कार्टुन पारखीहरूलाई उक्त प्रदर्शनीले अवश्य पनि फरक अनुभूति दिलाउने छ ।

(कान्तिपुर पब्लिकेसनका वरिष्ठ कार्टुनिस्ट श्रेष्ठ कार्टुनिस्ट क्लब नेपालका अध्यक्ष पनि हुन् ।)

प्रकाशित : जेष्ठ १९, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?