कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमलको कमाल

समाज
सेनाका पूर्वजागिरे एक तन्नेरीले पूर्वी पहाडी जिल्लामा देखाएको ‘अग्र्यानिक तरक्की’ लोभलाग्दो छ, अरूहरूका लागि प्रेरणादायी पनि ।
विद्या राई

काठमाडौँ — युवा पिँढी भविष्य खोज्दै बिदेसिन्छन् । दैनिकजसो हजारौंले परिवार, समाज र देशलाई छोडेर पराईभूमि पुग्छन् । भोजपुरका ३५ वर्षीय तन्नेरी कमल भुजेल भने आफ्नै देश र माटोमा भविष्य खोज्दै छन् । कृषिमा सम्भावना र भविष्य खोज्दै छन्— उद्यमी बनेर ।

कमलको कमाल

पूर्वी पहाडको ‘कर्णाली’ भोजपुरमा उनले त्यस्तो के गर्दै छन् ? यो कसरी सम्भव छ ? ‘कर्णाली’ भनेपछि धेरैका लागि यस्ता प्रश्न उब्जनु स्वाभाविक छ । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं ‘कर्णाली’ ले उनलाई छेकेको छैन । जिल्लामा छोटो समयमा युवा पिँढीका ऊर्जाशील कृषकको परिचय उनले बनाएका छन् ।


कमल यसअघि नेपाली सेनामा जागिरे थिए । १२ वर्षसम्म निरन्तर खाइपाएको जागिरबाट सन्तुष्टि नपाएपछि उनले ५ वर्षअघि जागिर छाडे । सानै उमेरदेखि देशको सेवा गर्ने इच्छाले उनी सैनिक सेवामा लागेका थिए । भैरवनाथ गण, महाराजगन्जमा आबद्ध भएर आफ्नो सदिच्छा पूरा गरे पनि । तर, जागिरभन्दा पनि ‘आफैं केही गरौं, आत्मनिर्भर बनौं’ भन्ने चाहना उनमा थियो । नेपाल कृषिप्रधान देश भएकाले सम्भावनाको खोजी गर्ने र आत्मनिर्भर बन्ने चाहना निकै थियो । सानैदेखि कृषिकर्ममा रुझान राखेका कमलले यही माटोको गोडमेल रुचाए ।


उनी जागिर छोडेर गाउँ फर्किनासाथै च्याउ खेती गर्नमा लागिपरे । सदरमुकाम नजिकै १२ रोपनी जग्गा भाडामा लिए, वार्षिक ४२ हजार शुल्क बुझाएर । खेतीमा चार लाख रुपैयाँ लगानी गरे । रोप्यो भने फल्छ भनेझैं उनले यो खेतीबाट वार्षिक २० लाख बढी आम्दानी लिन थाले । उनले फार्ममा कन्य च्याउ, अग्र्यानिक तरकारी खेती, अलैंची र पाउलोनिया (छिटो बढ्ने काठ) को नर्सरीसमेत लगाएका थिए । जापानदेखि बीउ ल्याएर ५० हजार पाउलोनियाका बिरुवा उमारेका थिए ।


कृषिमा उनको लगाव देखेर जिल्ला कृषि विकास कार्यालयले ४० हजार रुपैयाँ अनुदानसमेत दिएको थियो । आफू मात्र सफल हुने नभएर १० वर्षभित्र जिल्लालाई कृषि क्षेत्रमा नमुना बनाउने उनले योजना बुनेका थिए । तर, च्याउ बिक्री गर्ने सहज वातावरण र नियमित बजार नपाएपछि केही वर्षपछि च्याउकर्म छाडे । त्यसपछि नयाँ व्यवसायमा हात हाले । स्थानीय उत्पादनले सहज बजार नपाएर बेहोर्ने कठिनाइका प्रतिनिधि पात्रसमेत हुन् कमल, यस अर्थमा । अहिले भने उनी उत्पादनसँगै बजार व्यवस्थापनमा लागेका छन् ।


प्राय:जसो कमलले सञ्चालन गरेका काममा नयाँपन हुन्छ । नवीन खोज, अनुसन्धान र सम्भावना ल्याउने दक्षता छ उनमा । उनले अन्यत्र जिल्ला तथा विदेशी कृषकको सिकोसमेत गरेका छन् । त्यसलाई जिल्लाभित्रका कृषकले ‘फलो’ गर्छन् । अहिले उनले सदरमुकामको टुँडिखेलमुनि ‘भोजपुर कोसेली घर’ फर्म सञ्चालन गरिरहेका छन् । १५ लाख लगानी गरेर यो घर सञ्चालन गरेको दुई वर्ष हुनै लाग्यो । फर्मको नामसँग अधिकांश काम मिल्दाजुल्दा छन् । उनले अग्र्यानिक कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएका छन् ।


घरमा फूल, जडीबुटी, काठजन्य बिरुवाको व्यावसायिक नर्सरी छ । जिल्लामा सिजनअनुसारका स्थानीय उत्पादनलाई उनले प्राथमिकता दिएका छन् । यही पाइने जडीबुटीअन्तर्गत रुद्राक्ष, सतुवा, सतीमुखा यसैगरी मकैको सामल, धानको चामल, किनिमा (भटमासबाट बनाइएको), गुन्द्रुक, सिन्की, भुजुरी, कालोदल, गहत, लेकाली सिमी, ब्लाक राइस, चौरीको घिउ, छुर्पी, राँगाको सुकुटी, भीरमौरीको मह, चिउरीको मह, अकबरे अचार, खुर्सानीको सुकुटी, ग्रिन टी, ब्लाक टी, अर्थोडक्स टी, हातेचियाको व्यापार गर्छन् । सुन्तलाको सिजनमा मुख्य बिक्री केन्द्र कोसेली घर नै हुने गर्छ । केही आफंै उत्पादन गर्छन् भने गाउँका कृषकलाई पनि परिचालन गरेका छन् । अरूलाई उत्पादन गर्न लगाएर फार्मबाट बजारीकरण गर्छन् ।


यही उत्पादन भएको उखुको जुस, ग्राउन्ड–एप्पल, बदाम पनि कोसेली घरमा छ । तराईबाट आयात गरेर अनार, खरबुजा, स्याउ, अंगुर, जुसको पसल चलाएका छन् । जिल्लाभित्रै फलफूलले आत्मनिर्भर हुन नसकेको कारण बाहिरबाट ल्याएर माग धान्नुपरेको बताउँछन् । बिस्तारै जिल्लाभित्रै उत्पादन गर्ने वातारण तयार पार्दै छन् । चार सय ५० जनालाई अग्र्यानिक कृषिसम्बन्धी छोटो तथा लामो अवधिको तालिम दिइसकेका छन् । कम्पोस्ट मल उत्पादन, अग्र्यानिक कृषिसम्बन्धी तालिम बजार व्यवस्थापन गर्ने उद्देश्यले कोसेली घर सुरु गरेको ।


उखु र सूर्यमुखी फूलको उत्पादन अत्यधिक गर्न सके चिनी र खानेतेलमा तीन वर्षभित्र आत्मनिर्भर हुन सकिने उनको अनुमान छ । उनी भन्छन्, ‘जिल्लामा किसान व्यावसायिक छैनन्, सम्भावना भए पनि लगानी गर्ने वातावरण छैन ।’ जिल्लाभित्रै सम्भावना र भविष्य धेरै छन् है भन्ने सन्देश दिन आफूले कोसेली घर थालेको तर्क दिन्छन् । हप्तामा कोसेली घरमा पाँच लाखको कारोबार चल्छ । परिवारका तीन जना निरन्तर खट्छन् । एक जनालाई रोजगारी दिएका छन् । विद्युत् अवरुद्ध हुने र वर्षातमा सडक हिलो भएर यातायात अवरुद्ध हुँदा बेलाबेला समस्यामा पर्छन् ।


कोसेली घरका उत्पादन जिल्लाभित्र, छिमेकी जिल्लाहरू, व्यापारिक तथा सहरी केन्द्रहरू धरान, इटहरी, विरानगर, काठमाडौंसम्म निर्यात हुन्छन् । भोजपुर आएका पाहुनाले कोसेलीस्वरूप लैजान्छन् । स्थानीय उत्पादन कोसेलीका रूपमा बजारीकरण गर्ने कोसेली घरको मुख्य लक्ष्य हो । भृकुटीमण्डपमा उनले प्रदर्शनीसमेत गरेका छन् । प्रदर्शनीमा आउने विशेषगरेर भोजपुर घर भई काठमाडांै बस्दै आएकाहरूका लागि आकर्षणको केन्द्र बनेको थियो । यसले थप हौसला बढाएको उनले सुनाए । २०५९ सालमा भोजपुरको हस्तकलाअन्तर्गत खुकुरी, करुवा प्रदर्शन गरेर उत्कृष्ट पुरस्कार पनि पाएका थिए ।


विदेशमा निर्यात गर्नेगरी उत्पादनलाई बढाउने लक्ष्य राखेका छन् । बाहिरबाट आयात गर्ने चलनलाई कम गर्दै निर्यात गर्ने चलन बढाउने वातावरण बनाइरहेका छन् । गाउँ–गाउँका कृषकलाई परिचालन गरिरहेका छन् । ‘जिल्लाभित्र सामान लिएर आएका ट्रक, ट्रयाक्टरहरू खाली नफर्किऊन्, हाम्रा उत्पादनलाई अन्तर्राष्ट्रिकरण गर्न सकौं,’ भुजेलले बताउँछन् । उनले केही महिनाअघि बहराइन सेनाका लागि जागिर पाएका थिए । तर, जागिरका लागि बिदेसिनु उचित ठानेनन् ।

प्रकाशित : जेष्ठ २६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?