कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तरंग तीन घण्टा

सत्पात्र
‘मैले न्युरो अस्पताल खोलेंं, सेवा पुर्‍याएँ, केहीलाई प्रशिक्षण दिन सकें । म मरेर जाँदा अस्पताल सँगै लिएर जाने होइन क्यारे । अब प्रशिक्षित विद्यार्थीहरूले मेरो कामलाई निरन्तरता दिनुपर्छ, नयाँ पिँढीले नयाँ काम सिक्दै जानुपर्छ र नयाँ तरिकाले चल्नुपर्छ ।’

काठमाडौँ — नेपालको संविधान जारी भएपछि भारतद्वारा लगाइएको अघोषित नाकाबन्दी (२०७२) छिचोल्दै आफ्नो जन्मस्थल पर्वत पुगेको थिएँ । दसैंको शुभअवसरमा ८० वर्ष नाघेका हजुरबुवा–आमाको हातबाट टीका लगाउन गाउँ पुगेको थिएँ । टीकाको साइतपछि काठमाडौं–दिल्ली उडानमा कर्मथलो फर्कने भएकाले राजधानी आएको थिएँ । भोलिपल्ट दिउँसो ३ बजेतिरको उडान भएको हुनाले बिहान अबेरसम्म बिस्तरामै थिएँ, एउटा परिचित नम्बरबाट आएको फोन कलले निद्रा खुल्यो । फोनको अर्कोतर्फ हुनुहुन्थ्यो— डा. मधु दीक्षित देवकोटा ।

अन्तरंग तीन घण्टा

‘बाबु तिमी नेपाल आएको थाहा पाएँ, त्यसैले फोन गरेको, कहाँ छौ अहिले ?’
मैले भनें, ‘म हिजो मात्र काठमाडौं आएको र आज नै दिल्ली जाँदै छु ।’
लगत्तै डा.मधुले भन्नुभयो, ‘मिल्छ भने एक पटक घरमा आऊ ।’


नाकाबन्दीको बेला यसै पनि सडकमा सवारी साधन कम चलेको अवस्था थियो । ‘आउन गाह्रो पर्छ कि ? फेरि विमानस्थल पनि समयमै पुग्नुपर्ने,’ मैले अनकनाउँदै भनें ।
यति भन्न नपाउँदै उहाँले भन्नुभयो, ‘आउनलाई गाह्रो हुन्छ भने म गाडी पठाइदिन्छु ।’ म त्यतिबेला लैनचौरस्थित मेरी दिदीको घरमा थिएँ । मैले आईएस्सी पढ्दा दिदी कविवर माधवप्रसाद घिमिरेको घरमा डेरा गरेर बस्नुहुन्थ्यो । त्यहीं दिदीकोमा बसेर आईएस्सी पढियो । पछि नजिकै घर किनेर उहाँहरू छिमेकी बन्नुभयो । म प्रायश: त्यहीं बस्न जान्थें ।
डा. मधु देवकोटा र मेरो नाता भनेको दिदी–भाइको थियो । दिदी यस अर्थमा कि उहाँ र म पढेको एमबीबीएस कलेज (मेडिकल कलेज, कलकत्ता) एउटै थियो । त्यसैले उहाँ मेरो अग्रज दिदी । अर्को पश्चिम बंगालको कलकत्ता मेडिकल कलेजमा बंगालीहरू आफूभन्दा सिनियर यदि पुरुष भए दादा र महिला भए दिदी भन्ने चलन अझै पनि छ । मैले दिदीलाई नाइँ भन्न सकिनँ । लाजिम्पाटसम्म गाडी आइपुगेको थियो, उहाँको घरसम्म जानुको एक उद्देश्यचाहिँ त्यो दिन उहाँको श्रीमान् डा. उपेन्द्र देवकोटासँगै बिहानको नास्ता गर्नु थियो । डा. उपेन्द्रसँग यो मेरो दोस्रो भेट थियो । पहिलोपल्ट म एमबीबीएस पढ्दाताकै न्युरो अस्पतालमा भेट भएको थियो तर, चिनाजानी मात्रै सीमित रह्यो । म त्यति बेला फुच्चे नै थिएँ सायद, धेरै बोल्ने हिम्मत पनि भएन । यसपालिको भेटमा राम्रै कुराकानी होला भन्दै गाडी धापासीको उकालो चढ्यो । उहाँको घरमा पुग्दा डा. उपेन्द्र बाहिर बगैंचामा घाम ताप्दै हुनुहुँदो रहेछ अनि डा. मधु भान्साघरमा । म पुगेको थाहा पाएपछि डा. मधु चिया लिएर निस्कनुभो अनि, घरअगाडि रहेको बगैंचाको दाहिनेपट्टि सानो कटेरोमा घाम ताप्दै कुरा सुरु भो— हामी दुईबीच ।


सुरुमा चिनजानपछि डा. उपेन्द्र आफ्नो इतिहास सुनाउन लाग्नुभयो । मैले सुनेको थिएँ— देवकोटासँग कुरा गर्न अलि गाह्रो हुन्छ, दकस मानेर मात्र कुरा गर्नुपर्छ । जसरी पायो त्यसरी बोल्नु हुँदैन अरूसँगजस्तो । म अलि डराई डराई जवाफ फर्काइरहेको थिएँ तर, केही समयपछि नै उहाँको कुरा गराइबाट मलाई त्यस्तो लागेन । म पनि खुल्न थालें । म पनि गाउँमा हुर्केबढेको मान्छे, पहिले भेटेभन्दा त यसपालि शैक्षिक योग्यता पनि भन्नलायककै थियो, त्यसैले होला ममा पनि आँट पलाएको । केही बेरपछि त हामी साथीभाइजस्तो कुरा गर्न थाल्यौं । डा. मधु छेवैमा बसेर मुसुमुसु हाँसिरहनुभएको थियो । कुरा इतिहासकै चलिरहेको थियो । संघर्षका दिन सुनिरहँदा मजा पनि लाग्ने । आजका दिन पत्रकार युवराज घिमिरेको ‘देश सञ्चार’ मार्फत आइरहेको डा.देवकोटा शृंखलाका कुराहरू प्राय:जसो सबै मैले त्यहीं सुनिसकेको थिएँ । अहिले पढ्दा मलाई त्यही दिनको झल्को आउँछ । त्यही ठाउँ, त्यो दसैं बेलाको पारिलो घाम अनि हाम्रो चिया गफ ।


मान्छेले जेसुकै भनुन् ? डा. देवकोटाका आलोचकहरू पनि थिए होलान् तर नेपालको इतिहासमा निकै लामो कालसम्म डा.देवकोटाको नाम रह्यो, रहेकै छ । किनकि त्योबेला उनी जत्तिको नाम चलेको न्युरो सर्जन नेपालमै थिएनन् । नत्र दरबार हत्याकाण्डका बेला राजाको टाउकोमा गोली लाग्दा नर्भिक अस्पतालमा उनको च्याम्बर खोज्दै कोही आउँदैनथ्यो होला । अझ त अझ, कसैलाई नेपालका पाँच प्रसिद्ध डाक्टरको नाम भन् भन्यो भने मुखमा पहिलो नाम उहाँकै आउँथ्यो । कुरा गर्दै जाँदा उहाँले डाक्टरहरूको समस्याको बारेमा पनि बताउनुभयो । नेपालमा अहिले डाक्टरलाई हेर्ने दृष्टिकोणबारे पनि मन खोल्नुभयो । डाक्टर–डाक्टरबीचको सम्बन्धबारे पनि कुराकानी भयो । कुराकै प्रसंगमा एउटा घटना सुनाउनुभयो । आफ्नै नातेदारमध्येका एक जना पत्रकार मनाङतिरको भीरबाट लडेर हलचल गर्न नसक्ने भएका रहेछन् । उनलाई गाउँको एक जना व्यक्तिले बोकेर भीरबाट निकालेका रहेछन् । पछि डा. उपेन्द्रले नै उनको शल्यक्रिया गरेका रहेछन् ।


संयोगबस धेरैपछि तिनै पत्रकारले (डा. देवकोटा बिरामी भइसकेपछि) एउटा लेख लेखेको मैले पनि पाएँ, शल्यक्रिया गर्ने चिकित्सक डा.देवकोटाका बारेमा सराहना गरेको मैले पढ्न पाएको थिएँ । धेरै खुसी लाग्यो । राम्रो काम गर्ने व्यक्तिको कदर कहीं न कहीं हुन्छ, ढिलै भए पनि । यो कटुसत्य डा. देवकोटाको मामलामा मात्रै होइन, अरूहरूमा पनि मान्य हुने गरेको छ ।


हाम्रो कुरा हुँदै थियो, त्यत्तिकैमा भित्रबाट ब्रेड–टोस्ट र अमलेट पनि आयो । खाँदै कुरा गर्‍यौं अन्त्यसम्म । कुरा गर्दै जाँदा साथीभाइजस्तो भइसकेछौं हामी । गोरखादेखि काठमाडौं, काठमाडौंबाट आसाम अनि बेलायत, अनि फेरि काठमाडौं । बेलायतबाट काठमाडौं फर्केकै दिन वीर अस्पतालमा काम गर्न गएको सुन्दा अचम्म लाग्यो । त्यो समर्पण र प्रतिबद्धता सायद आज कमैमा होला । हामी कुरा गरिरहँदा भूकम्पकै कुरा पनि आयो । नेपालले ठूलो क्षति भोग्नुपर्‍यो । उहाँ न्युरो सर्जन । म अर्थोपेडिक्स अर्थात् हड्डी रोग विशेषज्ञ । त्यतिबेला उहाँले सञ्चालन गरेको बाँसबारीको न्युरो अस्पतालमा अर्थोपेडिक्सका लागि आपतकालीन सेवा रहेनछ । उहाँ र डा. मधु दुवैले ‘अब तिमीले आएर सेवा सुरु गर्नुपर्छ’ भन्नुभयो । म त्यतिबेला भारतको एम्समा फेलोसिप गर्दै थिएँ र, केही समय अगाडि मात्र जर्मनीमा सर्ट–टर्म फेलोसिप सकेर फर्केको थिएँ । मैले सोचौंला मात्रै भनें । किनकि भारत फर्केलगत्तै मलाई एक महिनाका लागि दक्षिण कोरिया जानु थियो । पछि खोइ के भएछ कुन्नि, अर्थोपेडिक्स सुरु गर्न भनेर त्यही भवनको माथि तला थप्ने भन्ने कुरा थियो तर भूकम्पपछिको मापदण्डले बनाउन नमिल्ने भन्ने सुनेको थिएँ । अहिले स्थिति के छ, थाहा भएन । तर त्योभन्दा नि अचम्मको गफ के भयो भने त्यो समयमा नेपाल, अझ भन्दा पनि काठमाडौंभित्रै चिकित्सकहरूबीचको सम्बन्ध, एकले अर्कालाई होच्याउने प्रवृत्ति, पछाडिपट्टि कुरा काट्ने प्रवृत्तिबारे सुनेर म अचम्म परेको थिएँ । त्यसपछि म आफैं द्विविधामा थिएँ ।


हुन त म आफैं सन् २०१३ मा आफ्नो विशेषज्ञता परीक्षा पास गरिसकेपछि नेपाल नफर्केको होइन । नेपाल फर्केर बुझ्दा त्यतिबेलाको स्थिति कहालीलाग्दो थियो । एउटा नाम चलेको नर्सिङहोममा डाइरेक्टरले भारत छँदै फोन गरेर मलाई बोलाए, आफ्नो अस्पतालमा काम गर्नका लागि । तर, पछि भेट्न जाँदा उनले मलाई भेट दिन सकेनन् । पछि थाहा भयो, त्यहाँ काम गर्दै आएका एक जना पुराना चिकित्सकले ‘हुँदैन’ भने रे । अहिले आएर जे भयो ठीकै भयो भन्ने लाग्छ ।


त्यति मात्र नभएर त्यतिबेला डाक्टरप्रति बिरामीको विश्वास घट्दो थियो । यसका कतिपय कारणमा बिरामीहरूको अबुझपना पनि होला भने अर्को कारण डाक्टर आफैं पनि हुन् । डाक्टर भनेपछि पैसा मात्र कमाउने साधन हो भनेर बुझिनु नै गलत हो । बुझाउन नसक्नु अझ ठूलो गल्ती हो । डा. देवकोटाले आफ्नो अतीतलाई सम्झाउँदै भने, ‘यदि तिमी नेपाल फर्कने हो भने मुटु दह्रो गरेर आउनू । तिमीले यहाँ आएर राम्रो काम गर्‍यौ भने खुट्टा तान्नेहरू धेरै भेटिनेछन् । कदर गर्ने कम हुन्छन् । तर, केही गल्ती गरिहाल्यो भने सान्त्वना दिने फेरि धेरै हुन्छन् । अहिले डाक्टरहरूबीचको कटुसत्य यही हो ।’ मैले पसिन आफ्नो विचार पोखें, मलाई लागेको कुरा भनें ।


डाक्टरहरू आफैंमा एकअर्काबीच विश्वासको वातावरण बनाउन सक्दैनन् भने अरूलाई कसरी विश्वासमा लिन सक्छन् ? ज्ञान र सीपको कमी हुन सक्ला तर कुनै पनि डाक्टरले ‘म बिरामीलाई मार्छु’ भनेर काम सुरु गरेको हुँदैन । बिरामीलाई पनि डाक्टरको सीप र योग्यतामा सन्देह हुन्छ भने, डाक्टरले नै खुसीखुसी ‘सेकेन्ड थट’ का लागि अन्यलाई ‘रिफर’ गर्नुपर्छ । बिरामीलाई नै ‘तपाईं उहाँसँग गएर बुझ्नुस्’ भन्न सक्नुपर्छ । संवादको क्रममा डा. देवकोटाले पनि खुलेरै कुरा गर्नुभयो । छोटै समय भए पनि डा. देवकोटासँग भएका महत्त्वपूर्ण कुराहरू र उहाँबाट भएका उदाहरणीय कामहरूलाई निम्न सूचीमा राख्न चाहें :


न्याम्सको स्थापना
नेसनल एकेडमी अफ मेडिकल साइन्सेजको स्थापना डा. देवकोटा स्वास्थ्यमन्त्री हुँदा गरिएको थियो । त्यतिबेला विशेषज्ञ डाक्टरको निकै नै कमी थियो । डाक्टरहरू एमबीबीएस पास गरिसकेपछि या त काठमाडौंमै बस्न चाहन्थे या त विदेश पलायन हुन्थे । देशको स्थिति पनि त्यस्तै थियो । न्याम्समा विशेषज्ञतासम्बन्धी पाठ्यक्रम थपिन थालेपछि विद्यार्थीहरू नेपालभित्रै पनि पढ्न पाउने भए । अझ त्यहाँ पढ्नका लागि दुई वर्ष सरकारी तहमा दुर्गममा सेवा गरेको हुनुपर्ने नियम भएपछि डाक्टरहरू दुर्गम जान तँछाडमछाड नै गर्छन् आजकल । यसले दोहोरो फाइदा भएको छ । एक त पहिले दुर्गम भनेपछि नरुचाउने डाक्टर आफैं जान चाहन्छन् अनि त्यहाँका जनताले सेवा लिन पाउँछन् भने अर्कोतर्फ डाक्टरले नै दुई वर्षपछि विशेषज्ञता पढ्न सजिलो वातावरण बन्छ, अरूको तुलनामा । नेपालको न्याम्स र वीर अस्पताल भनेको दक्षिण एसियालाई चिनाउन सक्ने क्षमता भएको अस्पतालमध्येको एक हो । यही संस्थालाई मात्र अझ बृहत् र राम्रोसँग सुविधासम्पन्न बनाउन सक्ने हो भने विशिष्ट विधामा आम पब्लिकको पहुँच सजिलै पुग्नेछ ।


न्युरो अस्पतालको स्थापना
बाँसबारीको न्युरो अस्पताल स्नायुसम्बन्धी समस्याका लागि समर्पित अस्पतालमध्येको पहिलो हो । यसमा कसैले स्वास्थ्य व्यवसायीकरण भयो भनेर पनि भने । तर, अचम्मको कुरा के भने सोसम्बन्धी सरकारी तहमा ठूलो अस्पताल नै छैन भने देवकोटाले अस्पताल खोलेर के बिगारे ?


त्यसो त उहाँले कुराकानी क्रममा सरकारी तहमै न्युरोसम्बन्धी ठूलो अस्पताल खोल्ने उहाँको इच्छा रहेको व्यक्त गर्नुभएको थियो रे । तर देशको राजनीतिक अस्थिरता र अन्य समस्याका कारणले पूरा हुन सकेन । जो पनि विशेषज्ञले एउटा ‘डेडिकेटेड’ अस्पतालमा काम गर्न चाहन्छ । आफूले हासिल गरेको ज्ञानलाई छुट्टै तरिकाले सेवामा परिणत गर्न चाहन्छ । हो, उहाँले अस्पताल खोल्नुभयो । सेवा लिनेले सेवा लिए र लिई पनि रहेका छन् । कम सेकम नेपालले स्नायुसम्बन्धी एउटा ‘डेडिकेटेड’ अस्पताल त पायो ।


जुनियरमा सीप हस्तान्तरण
संवादको पूरै निचोडमा मलाई सबैभन्दा घत लागेको कुरा यही थियो । किनकि कतै न कतै मै पनि यसको सिकार भएको महसुस गर्थें । उहाँको एक वाक्य अझै पनि सम्झिरहेको छु, ‘मैले न्युरो अस्पताल खोलेंं, सेवा पुर्‍याएँ, केहीलाई प्रशिक्षण दिन सकें । म मरेर जाँदा अस्पताल सँगै लिएर जाने होइन क्यारे । अब ती प्रशिक्षित विद्यार्थीहरूले मेरो कामलाई निरन्तरता दिनुपर्छ, नयाँ पिँढीले नयाँ काम सिक्दै जानुपर्छ र नयाँ तरिकाले चल्नुपर्छ । मैले जति गर्नु थियो गरिसकें, अब त म बूढो भएँ ।’


मलाई पनि उहाले भनेका कुरा सोह्रै आना ठीक लागे । हो, नेपालमा अहिले अग्रज भनिने डाक्टररूमा यही भावनाको कमी छ । नयाँ सीप पनि नसिक्ने, नयाँ सीप भएकालाई पनि छिर्न नदिने । भारतको नाम चलेको अस्पतालबाट विशेषज्ञता हासिल गरेर नेपाल गएका दुई जना नेपाली मुटु शल्यचिकित्सकलाई हालै भारत नै फर्काइएछ । नेपालमै ‘रिटेन’ गर्न नसक्नु दुर्भाग्यको कुरा हो । अझ एक जनाले त ६ महिनासम्म स्वयमसेवीजस्तै भएर काम गरिसकेपछि कहीं छिर्न सकेनछन् । भारत नै फर्केछन् । मेडिसिन विधामा भागवत गीता मानिने ‘ह्यारिसन टेक्स्ट बुक अफ मेडिसिन’मा लेखिएको छ— ‘मेडिसिन इज अ इभर चेन्जिङ सब्जेक्ट (चिकित्सा विधा परिवर्तन भइरहने विधा हो) । त्यसैले हरेक २–३ वर्षमा पुस्तकहरू पनि परिवर्तन भइरहन्छन् । नयाँ पुस्तकमा नयाँ अनुसन्धानबाट पत्ता लगाएका कुराहरू आउँछन् । आजभन्दा दुई दशकअगाडि गरिएका चिकित्सा पद्धतिहरू अहिले आएर परिवर्तन भइसकेका हुन्छन् । केही त अहिले आएर बर्जित पनि हुन्छन् । त्यसैले नयाँ पिँढीलाई नयाँ सीपसँग आबद्ध गराएर चिकित्सा शिक्षालाई परिवर्तन गराउँदै लानुपर्छ । पुरानो पिँढीले यसमा प्रोत्साहन गर्न सक्नुपर्छ । नयाँबाट सिक्दा पनि हुन्छ । डा. देवकोटाले भन्नुभयो— ‘हाम्रा रेजिडेन्टहरू बाहिर कतैबाट देखेर पढेर नयाँ कुरा गरे भने म पनि तिनीहरूबाट सिक्छु । उहाँको जस्तो मनस्थितिको विकास अरूमा पनि हुन जरुरी छ ।


हामीहरू कुरा गर्दागर्दै झन्डै ३ घण्टा बितेको थाहै भएनछ । तर, ती ३ घण्टामा धेरै कुराहरू भए जसलाई लेख्न ३ दिन लाग्ला, यदि सबै कुरा लेखिए भने । त्यतिमै डा. उपेन्द्रलाई अस्पतालबाट फोन आयो, मलाई पनि एयरपोर्ट जानुपर्ने । म त्यहाँबाट सिधै विमानस्थलतिर लागें ।


हो, मरेर जाँदा लिएर जाने केही होइन रहेछ तर धेरै कुरा छाडेर गइन्छ । डा. उपेन्द्र देवकोटाको जस्तो सोच मात्र भएका केही डाक्टरहरू भए भने पनि अबको पिँढीमा डाक्टरहरू बाहिरिरहनुपर्ने स्थिति आउँदैन ।
[email protected]

प्रकाशित : असार २, २०७५ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?