कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्झनामा राईबाबा

पुस्तक
गणेश राई

काठमाडौँ — जोगी हुनु त काले राईजस्तो । राईको छोरो उमेरले ३० वर्ष पुगेपछि मात्रै अक्षरको महत्त्व बुझे । त्यसपछि जोगीका साथ लागेर इन्डिया भासिए । अक्षरयात्रा आरम्भ गरे । त्यो पनि संस्कृत भाषा र शिक्षा । गन्तव्य सही ठाउँमा परेछ । जति हिस्सा निरक्षर बाँचे, उत्ति नै हिस्सा संस्कृतज्ञानको महासागरमा चुर्लुम्मै डुबे । वेदान्ताचार्य बने । अनि नेपाली समाजमा फुत्तै निस्किए, डा. स्वामी प्रपन्नाचार्य भएर । उनले जीवनदर्शनको प्रतिपादन गरे । भन्न थाले— ‘जीवन परिश्रमपूर्ण, धैर्यवान र साहसपूर्ण सर्वजनहिताय, सर्वजनसुखायका लागि होस् । सफल होइन असल हुनुपर्छ ।’

सम्झनामा राईबाबा

स्वामीको निधनपछि हालै ‘डा. स्वामी प्रपन्नाचार्य स्मृतिग्रन्थ’ पुस्तक प्रकाशनमा आएको छ । ग्रन्थको प्रधानसम्पादक तथा प्रकाशक हरिप्रसाद सोडारी र सम्पादक वासुदेव प्रपन्न छन् । ग्रन्थ साँच्चै गहन ढंगको छ, जति पृष्ठको आधारमा १०२० पाना छ । विषयसूची आधारमा यसमा समेटिएका सामग्री परिचयसहित १५ खण्डमा विभाजन गरिएको छ । स्मृतिपरक, जीवनी आधारित, संस्कृत भाषा सन्दर्भ र हिन्दी भाषाको संस्मरण लेखसहित नेपाली भाषाका कविताहरू, संस्कृत भाषाका कविता छन् । त्यसैगरी स्वामीद्वारा लिखित एवं सम्पादित कृतिहरू, स्वामीकृत पुस्तकको संस्कृत भाषामा कृतिसमीक्षा, केही अन्तर्वार्ताहरू आदि समेटिएका छन् । स्मृतिपरक लेख २ सय १९ जनाले लेखेका छन् ।


काले राईको जन्म विसं १९८० असोज ३ गते पिता धम्बे राई (धर्मदास) र माता दिलमाया राईको साहिंलो पुत्रका रूपमा नेपालको पाँचथर रविको लालीखर्क गाउँमा भएको थियो । उनको नक्षत्रको नाम गीतानन्द थियो । केही कालो वर्णको भएकाले आमाले काले भनेर बोलाउँथिन् । महागुरु फल्गुनन्दले सीतारामदिल राखिदिए । स्वामी दामोदर प्रपन्नाचार्यले दीक्षा दिंदा रामकृष्ण प्रपन्नाचार्य राखिदिए । वेदान्तदर्शनमा विद्यावारिधिको उपाधि हासिल गरे पनि डा. स्वामी प्रपन्नाचार्यको नामबाट प्रख्यात भए । उनको नागरिकतामा जन्म मिति भने १९९४ असोज उल्लेख भएको पाइन्छ । बलिष्ठ शरीर, हठी र रिसाहा स्वभावका काले राई, सीतारामदिल छँदै बिजुवा पनि थिए ।


२००९ सालतिर उनी दामोदर खतिवडाको भरिया भएर भारतको बनारसतिर लागेका थिए । किरातीपुत्र कालेले धेरै संघर्ष, हन्डर, ठक्करका बाबजुद बनारसमा अक्षराम्भ गरे । रुद्रप्रयागस्थित स्वामी सच्चिदानन्द आदर्श संंस्कृति महाविद्यालयमा आधारशिला पाए । शिक्षाआर्जनका क्रममा शास्त्रीय संगीत, चित्रकला, मूर्तिकलाको अभ्यास गरे । प्रथमा, पूर्वमध्यमा, उत्तरमध्यमा, शास्त्री, आचार्य उत्तीर्ण त गरे नै त्यसपछि सन् १९८० (२०३७ साल) मा विद्यावारिधि उपाधि हासिल गरेका थिए । त्यही वर्ष वीरगन्जमा भएको हिन्दु सम्मेलनपछि स्वदेश फर्किएका थिए ।


आजीवन अविवाहित सन्न्यासी जोगी स्वामी प्रपन्नाचार्यका बौद्धिक कृतिहरू नै उनका सन्तान हुन् । उनले संस्कृत भाषामा लेखेका १८ वटा तथा सम्पादन गरेका १० कृति छन् । त्यसैगरी नेपाली भाषामा १९ कृति छन् । जसमा, ‘वेदमा के छ ?’, प्राचीन हिन्दु विज्ञान, प्राचीन किरात इतिहास, किरातहरू मंगोलियाबाट आएका शरणार्थी होइनन्, काले राईका क्वाँटी कविता, मिल्केका झिल्का आदि चर्चित छन् । हिन्दी भाषामा ३ वटा कृति प्रकाशित छन् भने अंग्रेजीमा पनि तीनवटै कृति रहेका छन् । उनै स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा २०७२ भदौ ३ गते राति निधन भयो । ‘आफ्नी आमालाई ढोग, अर्काकी आमालाई नमस्कार गर । आफ्नो धर्म, संस्कृति, भाषाको श्रीवृद्धि आफैंले गर्नुपर्छ अरूले गर्दैन । गाईलाई जसरी भैंसी बनाउन सकिंदैन, त्यसरी नै धर्म परिवर्तन कुनै हालतमा सम्भव छैन । स्वार्थका लागि परिवर्तन भएँ भन्नु आफ्नै विनाश गर्नु हो,’ स्वामी मननीय वाणी हो ।


धेरै मिहिनेतपूर्व मिहिन ढंगले ‘डा. स्वामी प्रपन्नाचार्य: स्मृतिग्रन्थ’ प्रकाशनमा आएको छ । राज्यले चिनेको व्यक्तित्व हो भने स्वामी प्रपन्नाचार्यको सम्पूर्ण बौद्धिक सम्पत्तिलाई स्वामित्वमा लिएर संरक्षण दिन सक्नुपथ्र्यो । प्रपन्नाचार्यकै नाममा स्मृति प्रतिष्ठान बन्न सक्छ । तर, यत्रो बृहत् ग्रन्थ प्रकाशन कार्य निश्चित शिष्यले मात्र आर्थिक भार ग्रहण गरेर व्यक्तिगत रूपमा प्रकाशन गरिनु मननीय पक्ष हो । हिन्दु धर्मका वेदान्ताचार्यले सिर्जना ज्ञान, दर्शनका कृतिहरूको पुन: प्रकाशन, व्यवस्थापन गर्ने निकायको अभाव खड्किएको महसुस हुन्छ ।

प्रकाशित : असार २३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?