१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

‘म लेखकसहितको राजनीतिज्ञ हो’

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण धेरैका निम्ति नयाँ नाम होइन । दशक लामो माओवादी द्वन्द्वका योजनाकारसमेत रहेका वैद्य पछिल्लो समय सत्ताशक्तिबाट टाढा छन् । उनकै भाषामा भन्दा उनी क्रान्तिकारी राजनीतिकै बाटोमा छन् र बँचे–खुचेको समय निकालेर लेखन कार्यलाई पनि निरन्तरता दिइरहेका छन् ।

‘म लेखकसहितको राजनीतिज्ञ हो’

सौन्दर्य चिन्तक र दर्शनशास्त्रको अध्येतासमेत रहेका वैद्यको विभिन्न समयक्रममा खण्डकाव्यदेखि दर्शन र सिद्धान्तका झन्डै एक दर्जन पुस्तक प्रकाशित छन् । केही समयअघि बजारमा आएको उनको ‘हिमाली दर्शन’ नामक पुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको श्रेष्ठ आठ पुस्तकको सूचीमा समेत परेको छ । हल्ला र चर्चाभन्दा पर बस्न रुचाउने वैद्यको पछिल्लो पुस्तक र उनको पठन यात्राबारे जनकराज सापकोटाले गरेको कुराकानी :

पछिल्लो समय कस्ता किताबहरू पढ्दै हुनुहुन्छ ?
मैले पढ्ने किताब भनेको राजनीति र दर्शनबारे हो । आफूले भ्याउने (समयका कारण) किताब न पढ्ने हो । पढ्छु भनेर मात्रै पनि भएन ।

कुन–कुन भाषामा लेखिएका किताब पढनुहुन्छ । बढी त नेपाली भाषामा लेखिएका किताब नै पढिन्छ । अंग्रेजी, हिन्दी, संस्कृत भाषाको किताब पनि पढ्छु ।

तपाईंले लेख्नुभएको पुस्तक ‘हिमाली दर्शन’ मा पनि संस्कृतका कैयन श्लोकहरू राखिएका छन् । त्यसैबाट थाहा हुन्छ, तपाईं संस्कृत भाषाको जानकार हुनुहुन्छ । संस्कृत भाषासँग तपार्इंको सम्बन्ध कसरी गाँसियो ?
स्कुलमा पनि मैले संस्कृत नै पढें । मेरा पिताजी पण्डित भएका कारणले उहाँबाट पनि मैले संस्कृत सिकें । दाङको संस्कृत महाविद्यालय, बिजौरीबाट मैले शास्त्री उत्तीर्ण गरें । पछि काठमाडौं आएर नेपाली भाषामा स्नातकोत्तर गरें ।

तपाईं त सानैदेखि संस्कृत भाषासँग घुलमिल भएर हुर्किनुभएको रहेछ ।
हो । स्कुलको पढाइ सकेपछि पनि मैले दर्शन विषय पढें । त्यसक्रममा पनि संस्कृत पढें । पश्चिमा दर्शन, माक्र्सवादी दर्शन पनि पढें । मैले पढ्दै जाँदा थाहा पाएँ— संस्कृत त पश्चिमाहरूले पनि पढ्दा रहेछन् । जनयुद्धअघि नै मैले यस्तो कुरा थाहा पाएँ । म्याक्स मुलर भन्ने जर्मन विद्वान्ले यहाँको दर्शनको बारेमा किताब नै लेखेका रहेछन् । पूर्वीय र बुद्ध दर्शनको बारेमा थुप्रै किताब लेखिएको रहेछ । यहाँका मान्छेको आँखा भने खाली पश्चिमा दर्शनतिर गयो । तर, पश्चिमाहरूको आँखा भने यहाँ पर्दो रहेछ । पूर्वीय दर्शनको पनि महत्त्व रहेछ भन्ने मलाई त्यतिबेला थाहा भयो । संस्कृत भाषाले त्यसलाई मद्दत गर्‍यो ।

संस्कृत भाषा, साहित्य र दर्शनको अझै हामीकहाँ गम्भीर अनुसन्धान भएको छैन भन्न खोज्नुभएको हो ?
दर्शनको कुरा त विकास हुँदै जान्छ । पश्चिमले बढी विकास गर्दै गयो । माक्र्सवादी दर्शन त पश्चिममै विकास भयो । त्यो आफ्नो ठाउँमा छ । पूर्वीय दर्शन खासगरी हिमाली क्षेत्र भन्नुस्— भारत, चीन र नेपालमा पनि संस्कृत दर्शनको विकास भएको छ । हाम्रो दर्शनको जग पनि संस्कृत भाषामा उभिएको छ । बुद्ध धर्म विश्व धर्म हो । बुद्ध धर्मको जननी नेपाल हो । राजा जनकको शासनकालमा देखा परेका दार्शनिक हुन्— याज्ञवल्क्य । उनले पनि दर्शनको विकास गरे । कपिलबस्तुमा बुद्धभन्दा अझ अघि सांख्य दर्शनको विकास भइसकेको रहेछ । महर्षी कपिलको नामबाट कपिलबस्तु नाम रहेको रहेछ । सांख्य र बुद्ध दर्शनको विकास, मैथिली क्षेत्रमा न्याय दर्शनको विकास भइसकेको रहेछ । कैयन दार्शनिकहरू नेपालकै रहेछन् । यसबारे अझै खोजबिन जरुरी छ ।


तपाईंले यो पुस्तक लेख्दा संस्कृतमा लेखिएका कैयन पुस्तकहरूको अध्ययन गर्नुभएको देखिन्छ । संस्कृत भाषाको जग नभएको भए तपाईंलाई यो किताब लेख्न कत्तिको सजिलो पथ्र्यो ?
मलाई गाह्रै हुन्थ्यो । भाषाको पनि जग भयो । विषयवस्तु पनि यही पढें । भाषामा पारंगत हुन त गाह्रो पर्छ । तर, संस्कृत जानेकाले धेरै सजिलो भयो ।

संस्कृत भाषाको यति धेरै महत्त्व तपाईं आफैंले भर्खरै बताउनुभयो । तपाईंसमेत सम्मिलित जनयुद्धकालमा माओवादीले संस्कृत विषयका किताब किन जलाएको होला ?
अब, संस्कृत भाषाका सबै किताब जलाएको कुरा त थाहा भएन । तर, साना विद्यार्थीहरूले पढ्दाखेरी संस्कृत भाषालाई अनिवार्य रूपमा राख्ने जुन सरकारी नीति रह्यो, त्यसको विरोध गरेको हो । भाषा त संस्कृत भाषा पनि हो, त्यसको सम्मान गर्नुपर्छ । तर, अरू मैथिली, भोजपुरी, अवधी, तामाङ, नेवार, लिम्बुजस्ता मातृ भाषालाई उपेक्षा गर्ने र संस्कृत भाषालाई अनिवार्य गर्ने तरिका त गलत भयो नि । संस्कृत ऐच्छिक विषय राखेको भए हुन्थ्यो । साना विद्यार्थीहरूलाई संस्कृत पढ्न बहुतै गाह्रो हुन्छ ।

त्यसो भए तपाईंहरूले संस्कृत विषयका किताब जलाएको विषयलाई फरक ढंगले प्रचार गरिएको हो ?
त्यही आन्दोलनको बीचमा जलाए । आन्दोलनका बेला केही राम्रा कुरा पनि हुन्छन्, केही कमी कमजोरी पनि हुन्छन् । तर, संस्कृत जलाइयो भनेर अलिक दुष्प्रचार पनि बढी भयो ।

कतिपयले भन्छन्, माओवादीले संस्कृत विषयको किताब जलाएकाले भाषाको जग कमजोर भयो । तर, त्यही माओवादी हाँक्ने नेता भने संस्कृत विषयका ठेली पढेर किताब लेख्दै छ । यस्तो भनाइमाथि तपार्इंको केही टिप्पणी रहन्छ ?
संस्कृत भाषा ‘ऐच्छिक’ राखे त भइहाल्यो नि भन्ने कुरा मात्रै हो । जबर्जस्ती गर्नु त हुन्न नि । दोस्रो कुरा संस्कृत पढ्नै हुन्न भनेको त होइन नि । संस्कृत पढाउने परम्परा हाम्रोमा गलत छ । संस्कृत पढाउँदाखेरि ‘ब्राह्मणवाद’ पढाउने, पण्डित्याइँका लागि पढाउने ? त्यो त होइन नि । कैयौं लेखले के भन्छ भने संस्कृत भनेको ब्राह्मणवाद हो । तर, संस्कृत भने ब्राह्मणवाद पनि हो, ब्राह्मणवाद मात्रै होइन । त्यहाँ भौतिकवाद पनि छ, द्वन्द्ववाद पनि छ । जीवनोपयोगी कुरा पनि छन् । ती कुरातर्फ आवश्यक ध्यान दिने कुरा भएन । संस्कृत भाषालाई पुरोहितसँग मात्रै जोडेर हेरियो । त्यसलाई त म दृढतापूर्वक विरोध गर्छु । भाषासँग हेला गर्ने कुरा होइन । भाषालाई कसरी प्रयोग गरियो भन्ने कुरा हो । ब्राह्मणवाद बराबर संस्कृत भाषा भन्ने कुरा गलत हो । संस्कृत राम्रो तरिकाले पढ्नुपर्छ । त्यहाँ राम्रा कुरा पनि छन्, खराब कुरा पनि छन् ।

तपार्इं दर्शनको अध्येता । साहित्यको पनि पारखी हुनुहुन्छ । अहिलेको नेपाली साहित्यलाई कसरी हेर्नुभएको छ ?
म साहित्यको पनि विद्यार्थी हो । नेपाली साहित्य पनि पढछु । समालोचना पनि पढ्छु । मैले सौन्दर्य चिन्तनको बारेमा पनि लेखेको छु । मैले नेपाली साहित्यमै स्नातकोत्तर गरेको हुँ । जनयुद्धको पछिल्लो कालमा आन्दोलनमा आरोह–अवरोह आयो । दसवर्षे जनयुद्धले चाहेको कुरा गर्न सकिएन । यो परिवेशमा प्रगतिवादी साहित्यको धारा थोरै कुण्ठित भएकोजस्तो देखिन्छ । अहिले पश्चिमा साहित्यको प्रभाव नेपाली साहित्यमा बढ्दै गएको छ ।

पछिल्लो समय तपाईंले पढेका नेपाली साहित्यका किताब कुन–कुन हुन् ?
म उपन्यास पनि पढछु । पछिल्लो समय ‘सेतो धर्ती’ आयो । समर गाथा, रातो आकाशजस्ता उपन्यास आए । केही कविताहरू पनि आए । अलिअलि पढछु । पछिल्लो समय मदनमणि दीक्षितको ‘माधवी’ पनि पढें ।

हालै मात्र तपाईंको किताब मदन पुरस्कार गुठीले सार्वजनिक गरेको श्रेष्ठ आठ पुस्तकको सूचीमा पनि परेको छ । कस्तो लागिरहेको छ ?
यो कस्तो भन्नुहुन्छ भने अब मसँग सम्बद्ध विषय अलिक भएन । यो विषयमा म सम्बन्धित पनि छैन । पुस्तक साझा प्रकाशनले छाप्यो । साझाले छापेपछि दियो होला भन्छु, मदन पुस्तकालयमा । अब हेरे होलान् । मेरो पुस्तक त्यहाँ राखिएको रहेछ, आठको सूचीमा । श्रेष्ठ आठमा परेछ भनेर सकारात्मक लाग्नु त स्वाभाविक नै भयो, लेखक भएकाले । यहाँ कुरा कस्तो भयो भने मदन पुरस्कार गुठीले दिएको पुरस्कार लिन थालियो भन्ने टिप्पणीहरू पनि आएका छन् । त्यो पनि मैले सुनेको छु । कुरा के हो भने, म पुरस्कारसँग सम्बन्धित विषयमा म संग्लन र सम्बद्ध छैन । न मैले यो किताब दिएको हो । न मलाई पुरस्कार चाहिन्छ भनेर निवेदन हालेकै हो । यो विषयमा म सम्बन्धित छैन । मेरो अनुरोध के भने मलाई पुरस्कारसँग नजोडियोस् ।

मदन पुरस्कार प्राप्त कृतिहरूको चर्चा पनि बढी नै हुने गर्छ । तपाईंले मदन पुरस्कार प्राप्त कुन–कुन किताब पढनुभएको छ ?
पढियो होला भन्नुस् । पारिजातको किताब पनि पढियो । विभिन्न पुरस्कारहरू छन् । आ–आफ्नो मूल्य र मान्यताहरू गर्छन् । त्यही–त्यही ढंगले गर्छन् । कुन संस्था उत्कृष्ट हो र कुन संस्था होइन भन्ने कुरामा पनि एउटा ऐतिहासिक सन्दर्भ छ हेर्नुस् । ऐतिहासिक परम्परा छ । मूल्याकंन गर्ने आ–आफ्ना आधारहरू छन् । मदन पुरस्कार पाएको हो, यो एकदमै उत्कृष्ट हो भनेर लाहाछाप लाग्ने कुरा पनि त भएन नि त कसैको पनि । थुपै्र छन् । तिनले आ–आफ्ना उद्देश्यहरू छन् । मदन पुरस्कार मात्रै होइन कि अरू पुरस्कारको विषयमा पनि यहाँ कुरा नगरौं ।

‘हिमाली दर्शन’ लेख्दाका दु:ख–सुख बताइदिनुस् न ?
मेरो दिमागमा त वर्षौंपहिले यो किताब लेख्ने कुरा आएको थियो । जनयुद्धअघि नै मलाई यस्तो किताब लेख्नुपर्छ भन्ने लागेको थियो । पश्चिमा दर्शन, माक्र्सवादी दर्शन पढेदेखि नै त्यस्तो सोच आएको थियो । संस्कृत दर्शनको किताब पनि पढियो । शान्ति प्रक्रिया सकिएपछि किताब लेख्ने विषयमा ठोस रूपमा लागिपरें । घनीभूत रूपले किताब नै लेख्न थालेको पछिल्लो ५/६ वर्षयता हो । निरन्तर लेख्न पाएको भए यतिका समय लाग्दैनथ्यो । पार्टीमा निरन्तर काम गर्ने मान्छे भएकाले समयको अभाव भयो । पुस्तकको पनि अभाव भयो ।

यो पुस्तकमा धेरै सन्दर्भ सामग्रीको प्रयोग भएको छ । प्राचीन पुस्तकहरूको खोजी कत्तिको सजिलो भयो ?
कैयन किताब पाउनै मुस्किल भयो । केही किताब माइतीघरको धार्मिक किताब पाइने रत्नपुस्तक भण्डारबाट ल्याएँ । केही किताब वाल्मीकि क्याम्पसबाट ल्याएँ । बौद्ध दर्शनको केही किताब पाउन मुस्किल पर्‍यो । पटक्कै पाइनँ । दार्शनिक दिङ्नागले लेखेको बुद्ध दर्शनसम्बन्धी पुस्तक प्रमाण समुच्चयको मूल प्रति पाउनै सकिनँ । यो किताब भारतमा खोज्दा पनि पाइएन । यो किताब तिब्बती भाषामा अनुवाद भएको रहेछ जसलाई राहुल सांकृत्यायनले खोजी गरेर अनुवाद गरेका रहेछन् । कैयन अरू पुस्तकको मूल प्रति खोज्दा पाइनँ । होलान्, कुनै पुस्तकालयमा । तर, मेरो पहँंच भएन । बुद्ध दर्शनसँग सम्बन्धित किताबहरू नेपालमा खोज्दा नपाइनु दु:खलाग्दो कुरा हो ।

पछिल्लो समय किताब लेखन र अनुसन्धानतिर बढी लाग्नुभएको छ । कतिपयले तपाईंलाई अब राजनीति छाडेर किताब नै लेख्न लाग्नुभयो कि भन्छन् ?
त्यो होइन । मैले पूरै राजनीति छाडेर किताब लेखेको होइन । राजनीति गर्दागर्दै समय निकालेर किताब निकालेको हो । राजनीति गरेरै किताब लेख्न ढिलो भएको हो । मैले अरू किताब पनि लेखेको छु । म लेखकसहितको राजनीतिज्ञ हो । बरु कुरा के हो भने राजनीति गर्ने साथीहरूले पढ्ने र लेख्ने पनि गर्नुपर्छ । बिनासुझबुझको राजनीति हँुदैन ।

नेपाली समाजका यतिका धेरै समस्या छन् । जनजीविकाका यति धेरै सवालहरू ज्यँुका त्युँ छन् । ती विषयमा पो किताब लेख्नुपर्ने, अध्ययन–अनुसन्धान गर्नुपर्ने । कहाँबाट तपाईं दर्शनको विषयमा किताब लेखिरहनुभएको छ ?
दर्शन नभई दृष्टिकोण बन्दैन । ‘भिजन’ बनेन भने त समाजलाई कसरी अगाडि लैजाने ? दर्शनले दृष्टिकोण बनाउँछ । दृष्टिकोणलाई फराकिलो बनाउन किताब पढ्नुपर्छ ।

अरू किताबको तयारीमा पनि लाग्नुभएको छ कि ?
लेखेकै रचनाहरूको संकलन गर्ने हो भने त एउटा समालोचनाको किताब तयार हुन्छ होला । फुटकर संकलन निकाल्दा त दुई–तीनवटै हुन सक्ला । तर, अहिले म एउटा समालोचनाको किताब निकाल्न पाए हुन्थ्यो कि भन्ने सोचमा छु ।

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?