कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबल मैदानको छेउमा

विश्वकप
रुसका दर्शक अन्य खेलमा पनि मैदान पुगेर आफूलाई मन पर्ने टोलीको समर्थन गरिरहेका देखिन्थे । विश्वकपलाई रुसले एक महोत्सवकै रूपमा लिएको थियो 
सुबास हुमागाईं

काठमाडौँ — स्तब्ध छु ! मैले सोचेको पनि थिइनँ यस्तो हुन्छ भनेर...’

जर्मनीका व्यवस्थापक ओलिभिएर बिएरहफले दक्षिण कोरियाविरुद्ध खेलपछि दिएको अभिव्यक्ति हो यो । रुसको कजानस्थित कजान एरिनामा दक्षिण कोरियाले जर्मनीलाई २–० ले पराजित गरेपछि डिफेन्डिङ च्याम्पियनको तक्मा बोकेको जर्मनीको यात्रा समूह चरणमै समाप्त भयो । खेल दौरान जर्मनीले पाएको मौकाको सदुपयोग गर्न सकेन ।

फुटबल मैदानको छेउमा

बिएरहफ सन् २००२ को विश्वकप फाइनलमा ब्राजिलले जर्मनीलाई २–० ले पराजित गर्दा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए । तर, १९९८ र २००२ को विश्वकपमा कुल ४ गोलको संख्यालाई थप बढाउन नसक्दा जर्मनी फाइनलमा पराजित भएको थियो । त्यसलगत्तै उनले अन्तर्राष्ट्रि्रय फुटबलबाट संन्यास पनि लिए । हालसम्म पनि जर्मनीका लागि सबैभन्दा छिटो ह्याट्रिक गर्ने रेकर्ड उनकै नाममा छ । उनले सन् १९९७ मा उत्तरी आयरल्यान्ड विरुद्ध १–० ले पछाडि परेको स्थितिमा मैदान प्रवेश गर्दै यो उपलब्धि हासिल गरेका थिए । तर, रुसमा जर्मनीका लागि गोल चाहिएको अवस्थामा यस्तो फरवार्डको कमी देखियो ।


जर्मनी र दक्षिण कोरियाको खेल मस्कोबाट ८ सय किलोमिटरको दूरीमा रहेको काजान सहरमा थियो । फिफाले स्थानीय आयोजकसँग समन्वय गर्दै विश्वकप हेर्ने समर्थकका लागि प्रत्यक खेलअगाडि विभिन्न सहरबाट नि:शुल्क रेल सेवा प्रदान गरेको थियो । यसै खेलका लागि १२ घण्टा लामो रेलको यात्रा तय गर्दा मेरो कम्पार्टमेन्टमा दक्षिण कोरियाका तीन समर्थकसँगै परे । यात्रा सुरु नहुँदै फुटबलको कुरा सुरु हुन थाल्यो । एसियाली टोली भएको कारण म दक्षिण कोरियाको समर्थन गर्ने कुरा बताएपछि उनीहरू केही खुले ।


म कम्पार्टमेन्टको तल्लो सिटमा रहेकाले माथिल्लो सिटमा रहेकासँग खासै बोलचाल भएन । तल्लो सिटमा बसेकाले म कुन देशको भनेर सोधे । आफू नेपालको भन्नेबित्तिकै उनले ‘हिमालय’ भनेर पहिलो शब्द निकाले । उनले आफ्नो बुबा हिमाल चढ्न एकदम इच्छुक रहेको र एक पटक अन्नपूर्ण बेसक्याम्पसम्म पुगिसकेको पनि बताए । यात्रा अवधिभर फुटबलबारे केही कुरा गर्दै यात्रा पूरा भयो । उनले कोरियाबाट हजारौंको संख्यामा दर्शक रुस आएको पनि जानकारी दिए । प्रतियोगितामा कोरियाका तीनै खेलको टिकट खरिद गरेका उनले अर्को चरणमा पुग्ने झिनो आशा अझै बाँकी रहेकाले फर्कने सोच बनाइनसकेको पनि बताए ।


रुसमा समूहको पहिलो खेलमै मेक्सिकोसँग १–० ले हारेको जर्मनीले दोस्रो खेलमा इन्ज्युरी समयको गोलको मद्दतले स्विडेनलाई पाखा लगायो । तर, दोस्रो चरणमा पुग्न कोरियाविरुद्ध जितको विकल्प नरहेपछि जर्मनीले लगातार आक्रमण बुनिरह्यो । खेलको अन्त्यतिर जर्मनीले मैदानमा पाँच फरवार्डलाई उतारेको थियो । खेलको सुरुआतमा टिमो वेर्नर र मारको रिउसमा भर परेको जर्मनीले अन्तिम ३० मिनेटमा मारियो गोमेज, थोमस मुलर र जुलियन ब्रान्टलाई मैदानभित्र पठाएको थियो । यसबाहेक टोनी क्रुस र मेसुट ओजिलजस्ता आक्रामक मिडफिल्डर पनि भित्रै थिए । तर, कोरियासामु उनीहरूको केही चलेन । जर्मनी इतिहासमै पहिलोपल्ट विश्वकपको समूह चरणबाट बिदा लिन बाध्य भयो । पछिल्ला ४ संस्करणमा कम्तीमा पनि तेस्रो स्थान हासिल गरेको जर्मनीलाई प्रतियोगिताको सुरुआतमा उपाधिको दाबेदार टोलीको रूपमा हेरिएको थियो ।


त्यसो त विगत केही संस्करणयता डिफेन्डिङ च्याम्पियनलाई विश्वकप नफापेको इतिहास पनि छ । सन् २००६ यता सबै डिफेन्डिङ च्याम्पियनले समूह चरण पार गर्न सकेका छैनन् । आफ्नो समूहमा मेक्सिको, स्विडेन र दक्षिण कोरिया रहँदा जर्मनी अर्को चरण नपुग्ने आकलन कमैले गरेका थिए । तर, मैदानमा उपस्थित हजारौं र विश्वभरका करोडौं समर्थकलाई जर्मनीले निराश बनायो । जर्मनी समूहको पुछारमा रहँदै विश्वकपबाट बिदा हुन बाध्य भयो । खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक जोकिम लोले सम्पूर्ण हारको जिम्मेवारी आफैंले लिए ।


खेलपछि खेल पत्रकारहरू खेलाडीसँग कुरा गर्न ‘मिक्स्ड जोन’ मा झुम्मिएका थिए । मिक्स्ड जोन भन्नाले खेल सकिएपश्चात् खेलाडीहरू मैदान छाडेर फर्कंदा सञ्चारमाध्यमसँग कुरा गर्ने ठाउँ हो । प्रत्यक खेलाडीले अनिवार्य रूपमा मिक्स्ड जोन पार गर्नुपर्ने हुन्छ र सञ्चारकर्मीको प्रश्नको जवाफ पनि दिनुपर्छ । अधिकांश खेलाडी जर्मनीमै खेल्ने भएकाले कमैले अंग्रेजी पत्रकारसँग बोले । यसैक्रममा बिएरहफ मैदान छाड्ने जर्मन टोलीका पहिलो सदस्य थिए । उनकै पछाडि थिए डिफेन्डर म्याट्स हमल्स ।


निकै निराश मुद्रामा देखिएका हमल्सले खेलाडीले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न नसकेकै कारण बाहिरिनुपरेको बताए । उनले मेक्सिकोविरुद्ध पहिलो खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोलीमा दबाब परेको बताए । दोस्रो खेलमा कठिन जित हात पारे पनि अन्तिम खेलमा कोरियालाई हराउन नसक्नु समग्र टोलीकै कमजोरी रहेको उनको अभिव्यक्ति थियो ।
यता दक्षिण कोरियाका स्टार ह्युङ मिन सनले भने जर्मनीलाई हराउनु अविश्वसनीय नतिजा रहेको बताए । विश्व विजेता टोलीलाई हराउनुका बाबजुद अर्को चरणमा पुग्न नसक्दा भने निकै नरमाइलो लागेको उनको दुखेसो थियो । त्यसअघि मस्कोमा फ्रान्स र डेनमार्कबीच भएको समूह ‘सी’ को अन्तिम खेल हेरेको थिएँ । सम्भवत: प्रतियोगिताको सबैभन्दा कमजोर खेल त्यही नै थियो र पहिलो गोलरहित बराबरी पनि । फ्रान्सलाई समूह विजेता बन्न र डेनमार्कलाई दोस्रो चरणमा पुग्न बराबरी आवश्यक थियो । दुवै टोलीले बिरलै आक्रामक फुटबल खेले र सुरुआतदेखि खेल बराबर उन्मुख देखिएको थियो ।


खेलपछि दुवै टोलीका खेलाडीले नतिजा महत्त्वपूर्ण भएकाले रिस्क नलिई मैदान उत्रिएका बताए । टोटेनहम हट्सपरका लागि व्यावसायिक फुटबल खेल्दै आएका डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनले समर्थकहरूसँग माफी नै मागे । विश्वकप फुटबलमा यस्तो स्तरको खेलले समर्थकलाई निराश तुल्याउनु स्वाभाविक रहेको उनको भनाइ थियो । डेनमार्ककै पिओने सिस्टो, फ्रान्सका ओलिभिएर जिरुड र डिफेन्डर बेन्जामिन मेन्डीले पनि खेल स्तरीय हुन नसकेको स्विकारे ।

दक्षिण अमेरिकी समर्थन
रुस अनि विश्वकप फुटबल आयोजना । राजनीतिक खिचातानी र क्लब फुटबलमा हुने समर्थकको हूलदंगाका कारण रुसमा युरोपेली समर्थकको संख्या कमै देखियो । संख्यात्मक रूपमा युरोपेली समर्थक कम त थिए नै, दक्षिण अमेरिकी समर्थकले रंगशालाको माहोल पनि उत्साहजनक बनाएको प्रस्ट देखिन्थ्यो । खेल सुरु हुनुभन्दा ३ घण्टाअघि रंगशाला खुल्ने भए पनि दक्षिण अमेरिकी समर्थक त्यसअघि रंगशाला परिसरमा एक झुन्ड भएर बसेका देखिन्थे । अझ रंगशालासम्म आइपुग्न प्रयोग हुने सार्वजनिक सवारीसाधनमा पनि समर्थकहरूले हुटिङ गरेर रमाइलो वातवरण सिर्जना गरिरहेको देखिन्थ्यो । युरोपेली मुलुकका दर्शकको तुलनामा दक्षिण अमेरिकी समर्थकका पहिरन, प्रयोग गरिने बाजागाजा र प्रस्तुतिले फुटबलको महोत्सवमा मैदानभित्रको खेल मात्र नभएर मैदान बाहिर पनि उत्तिकै रमाइलो देखिन्थ्यो ।


फ्रान्स र अर्जेन्टिनाबीच क्वाटरफाइनल खेलमा माहोल यस्तै थियो । आयोजक रुसका समर्थक पनि अर्जेन्टिनाकै समर्थनमा थिए । यसै त दक्षिण अमेरिकी दर्शक, त्यसमाथि घरेलु समर्थकको साथ । काजान एरिनामा भएको उक्त खेल रुसमा नभएर अर्जेन्टिनाको कुनै मैदानमा भएजस्तो वातावरण थियो । अझ डिएगो म्याराडोना, हाभिएर जानेटीजस्ता अर्जेन्टिनाका दिग्गज खेलाडीको उपस्थितिले माहोल अर्जेन्टिनाकै पक्षमा देखिन्थ्यो ।


समूह चरण बल्लतल्ल पार गरेको अर्जेन्टिना र अपराजित फ्रान्सको क्वाटरफाइनल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । खेल भयो पनि त्यस्तै । तर, जस्तो प्रदर्शन लियोनेल मेसीबाट अपेक्षा गरिएको थियो, त्यो प्रदर्शन विपक्षी फ्रान्सका किलियन एम्बाप्पेले देखाए । ४–३ को जितमा अन्तिम दुई गोल गरेका उनले सुरुआती अग्रता दिलाउन फ्रान्सका लागि पेनाल्टी जितेका थिए । एम्बाप्पेको तीव्र गतिले अर्जेन्टिनाको डिफेन्सलाई यति समस्या दियो कि उसका तीन डिफेन्डर र रक्षात्मक मिडफिल्डरले पहेंलो कार्ड खाए । एम्बाप्पेलाई भेट्न नसकेका डिफेन्डर मार्कस रोजो त दोस्रो हाफमा परिवर्तन नै गरिए ।


अर्जेन्टिनाका समर्थक खेल सकिएपश्चात् निराश मुद्रामा देखिए । सामान्यतया आक्रामक देखिने म्याराडोना यस पटक भने संयमित थिए । उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनो र जानेटीसँग अंकमाल गर्दै भीआईपी स्ट्यान्डबाट बाहिरिए । खेल सकिएपश्चात् केही समय अर्जेन्टिनी खेलाडी भने मैदानभित्रै उभिए । सम्पूर्ण खेलाडी एकत्रित हुँदा मेसी र मासेरानो भने एक छेउमा एक्लै–एक्लै उभिएका थिए । सम्भवत: दुवै खेलाडीका लागि विश्वकप खेल्ने अन्तिम अवसर यही नै थियो । मासेरानोले त खेल सकिएलगत्तै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा नै गरे ।


रुस र स्पेनबीचको खेलका लागि फिफाले प्रत्यक सहरमा बनाएको फ्यान फेस्टमध्ये कजान शाखामा जाने निर्णय गरें । खेल सुरु हुनुभन्दा २ घण्टा अगाडि पुग्दा पनि मुख्य स्क्रिनभन्दा झन्डै ३ सय मिटर पछाडिसम्म दर्शकहरू जम्मा भइसकेका थिए । खेल सुरु हुँदासम्म मुख्य स्क्रिन मात्र नभएर केही पर राखिएको दोस्रो स्क्रिनअगाडि पनि ठूलै भिड जमिसकेको थियो । फिफाले खेल आयोजना हुने ११ सहरको मुख्य क्षेत्रलाई लक्षित गरेर प्रत्यक दिनका खेल प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गरेको थियो । नि:शुल्क प्रवेश पाइने ती फ्यान फेस्टमा रंगशालाजत्तिकै क्रियाकलाप देख्न सकिन्थ्यो । घरेलु टोली र स्पेनविरुद्धको खेल जति रोमाञ्चक थियो, त्यहाँको माहोलले झनै त्यसलाई बढावा दियो । दुई घण्टाको नियमित खेल र टाइब्रेकरपछि रुस विजयी हुँदा वातावरण उल्लासमय थियो । खेल सकिएको एक घण्टासम्म पनि समर्थक नाचगानमै व्यस्त थिए ।


अर्को खेल दक्षिण अमेरिकी हेभिवेट ब्राजिल र उत्तर अमेरिकाको सरप्राइज प्याकेज मेक्सिकोबीच थियो । दुवै टोली मैदानभित्रको खेल मात्र नभएर मैदानबाहिर समर्थकहरूको विविध क्रियाकलापका लागि प्रख्यात छन् । समारा एरिनामा भएको उक्त खेल हुने रंगशाला पुग्न समर्थकहरू झन्डै १ किलोमिटर हिँड्नुपर्ने थियो । यसबीचमा विभिन्न स्टलहरूमा फिफाले मनोरन्जनात्मक क्रियाकलाप सञ्चालन गरेको थियो । टिकट नहुने दर्शकहरूका लागि मैदानबाहिर ठूलो स्क्रिनको पनि व्यवस्था थियो ।


खेल हुने स्थान सामरा जाने क्रममा यात्रा दौरान मेरो कम्पार्टमेन्टमा ब्राजिलियन पत्रकार परे । झन्डै ५० वर्ष पुगिसकेका उनी विगत ३० वर्षयता ब्राजिलको फुटबल पछ्याइरहेका थिए । उनले ब्राजिल यस पटक पहिलाजस्तो बलियो नभए पनि ठूला टोली आउट भइसकेका कारण सम्भावना रहेको बताए । विशेषत: नेयमरप्रति उनको बेग्लै आक्रोश थियो । नेयमरभन्दा पनि उनको पिताप्रति उनि असन्तुष्ट देखिन्थे । बार्सिलोनाबाट पीएसजी जानु नेयमरको करियरको ठूलो गल्ती भएको र यसका लागि नेयमर सिनियरले खराब भूमिका खेलेको उनको जिकिर थियो ।


मेक्सिको र ब्राजिलको खेलअघि दर्शकहरूले वातावरण रंगीन बनाएका थिए । विभिन्न झाँकी नै बोकेर आएका दुई टोलीका समर्थक एकत्रीत भएर खेलअघि विभिन्न मिडियाहरूलाई अन्तर्वार्ता दिइरहेको दृश्य विशेष थियो । मैदानबाहिर त दर्शकका विविध प्रस्तुति थिए नै, उक्त खेलका लागि मेक्सिकोका केही खेलाडीले कपाल सेताम्मे पारेर आएका थिए । ठीक उल्टो विश्वकपका अघिल्ला खेलमा सेतो कपाल राखेका नेयमर भने यस खेलमा सामान्य रूपमा प्रस्तुत भएका थिए । लाग्थ्यो उनले अब खेलमा मात्र बढी ध्यान दिने संकेत गरिरहेका छन् । र, नतिजा भयो पनि त्यही, नेयमरकै गोल र अर्को गोलमा असिस्टको मद्दतले ब्राजिल २–० को जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।


क्वाटरफाइनलको अन्तिम खेल हेर्न समाराबाट १७ घण्टे रेलयात्रा गरेर इंग्ल्यान्ड र कोलोम्बियाको खेल हेर्न मस्को फिर्ता आइपुगे । कोलोम्बियाका रेडियोकर्मी मित्र आलेहान्द्रो मुनेभारलाई भेटेर टोलीको बारेमा सोध्दा उनले हामेसबिना जितको आशा निकै कम रहेको बताए । रक्षात्मक रूपमा टोली बलियो भए पनि अग्रपंक्तिमा फाल्काओलाई साथ दिने आक्रामक मिडफिल्डको कमी रहेको उनको बुझाइ थियो । खेलदौरान कोलोम्बियाको मिडफिल्डसम्म बलियो भए पनि इंग्ल्यान्डको क्षेत्रमा गएपछि भने कमजोर देखियो ।
इंग्ल्यान्डले पेनाल्टी मार्फत अग्रता लिएर खेलमा पकड जमाएको अवस्था थियो । चोटका कारण टोलीमा नपरेका हामेस पत्रकारदीर्घामै आएर बसेका थिए । उनी खेलको मध्यान्तर, अतिरिक्त समय र टाइब्रेकरको बेलामा बेन्चमा पुगिसकेका हुन्थे । खेलदौरान पनि उनी आफ्ना सहकर्मीलाई बाहिरबाटै निर्देशन दिइरहेका देखिन्थे । नियमित समयको अन्तिम मिनेटमा येरी मिनाले गोल गर्दा गोलरक्षक डेबिड ओस्पिना पनि आक्रमणका लागि विपक्षी पेनाल्टी क्षेत्रमा पुगिसकेका थिए ।


मैदानमा अधिकांश दर्शक कोलोम्बियाकै समर्थनमा थिए । मैदानको एक भागमा झन्डै २ हजारको संख्यामा देखिएका इंग्लिस समर्थकबाहेक अन्य समर्थक पहेंलो जर्सीमै देखिन्थे । यसै रुस र युरोपको मनमुटाव त्यसमाथि इंग्लिस र रुसबीच चिसिएको सम्बन्ध, संख्यात्मक रूपमा दर्शक कम हुने आकलन प्रतियोगिता अगाडि नै थियो । नजिकै भए पनि यस पटक त खेलाडीका परिवार पनि ढिलै मात्र रुस आइपुगेका थिए ।

रुसको आतिथ्य
विश्वकपका लागि रुस सुनेको–पढेको भन्दा फरक पाएँ । फुटबल मैदानमा जे भए पनि बाहिर हूलदंगा र तोडफोडका घटनाबारे सुनिएको रुसमा त्यस्तो केही थिएन । विश्वकपकै लागि भनेर सवारीसाधनदेखि सार्वजनिकस्थलमा विशेष स्टल र स्वयंसेवकहरू खटाइएको थियो । ठूला सपिङ मल वरपर पनि स्थानीय संस्थासँगको सहकार्यमा विविध स्टल रखिएको थियो । केही पसलमा त विश्वकप हेर्न आउनेहरूका लागि विशेष छुटको पनि व्यवस्था थियो ।


सामान्यतया रुसमा अंग्रेजी बोल्ने कम भएकाले मोबाइल एपको साहाराले बोलचालमा सहयोग पुगेको थियो । मस्को सहरमा मेट्रो र त्यसबाहेकका सहरमा ट्राम र सार्वजनिक बस नै ओहोरदोहोरको माध्यम बने । आयोजक रुसले विश्वकपको खेल हुने दिन सहरका कुनै पनि सार्वजनिक सवारीसाधनमा भाडा तिर्नु नपर्ने नियम बनाएको थियो । रुसका दर्शक अन्य खेलमा पनि मैदान पुगेर आफूलाई मन पर्ने टोलीको समर्थन गरिरहेका देखिन्थे । विश्वकपलाई रुसले एक महोत्सवकै रूपमा लिएको थियो ।


जसरी केही युरोपेली राष्ट्रले रुस जानुअघि विशेष ध्यान पुर्‍याउन सुझाएका थिए, त्यस्तो स्थिति भने रुसमा देखिएन । मुख्य स्थानहरूमा पर्याप्त रूपमा प्रहरी परिचालित गरिएको थियो भने ठाउँठाउँमा पर्यटकहरूका लागि नि:शुल्क हटलाइन नम्बर र सम्पर्क केन्द्रबारे सूचना टाँस थियो । रुस विश्वलाई निम्तो दिन पूरै तयार देखियो । विश्वकप आयोजनाको जिम्मेवारी पाउँदा रुसले जस्तो लक्ष्य राखेको थियो, त्यसमा खरो उत्रिएको छ । त्यसबेला इंग्ल्यान्ड, बेल्जियमलगायतका राष्ट्रलाई पछाडि पार्दै आयोजनाको जिम्मा पाएको रुसले मैदानभित्र गरेको प्रदर्शनले पनि विश्वकप विशेष बन्न पुग्यो ।
@SubasTheOne

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?