कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनैना छलाङ

कला
आफ्नै रुचि र हत्तेबाट चुलोचौको छाडेर बाहिर आएकी मिथिला छोरी सुनैना अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय नाम बनेकी छन् । उनका सन्देशपूर्ण मिथिला चित्रहरू न्युयोर्कदेखि पेरिससम्म पुगेका छन् ।
मधु शाही

काठमाडौँ — सिमसिमे पानी पर्दै थियो । जिन्सको पाइन्ट र फूलबुट्टे सर्टमा एक इन्च अग्लो हिल लगाएकी सुनैना ठाकुरलाई त्यो पानी, पानीजस्तो लागिरहेको थिएन । रुझिन्छ कि भन्ने चिन्ता उनमा फिटिक्कै थिएन । फुर्रर उडिरहेको कपाल सम्याउँदै उनी ग्यालरीतिर लम्किइन् । यदि यही परिस्थिति (झमझम पानी) र उस्तै हुलिया (जिन्स पाइन्ट) माझ सुनैना यदि उनकै कर्मथलो जनकपुरमा भएको भए, के हुन्थ्यो होला ?

सुनैना छलाङ

थोरै हाँसो र धेरै गम्भीर भावमा सुनैना जवाफी बनिन्, ‘उता पानी त परै जाओस्, घाममा पनि घुम्टो ओढेरै हिँड्नुपर्छ ।’


थाहा भयो, सुनैना जनकपुरमा शिरमा रुमाल नराखी हिँड्दिनन् । उता सकेसम्म कुर्था र सारी नै लगाउनुपर्ने उनको बाध्यता छ । यता काठमाडौंमा चित्रकला व्यापार र जनसम्पर्क जोडिराख्न आउँदा भने सुनैना फुरुङ्ग पर्छिन् । किनकि उनलाई यहाँसम्म आइपुग्दा करिअरसँगै ‘आत्मसन्तुष्टि’ मिल्छ । काठमाडौं आउँदा जिन्स पाइन्ट वा हिल लगाएरै हिँडे पनि हुन्छ । स्वतन्त्र हिँडडुल गर्दा कसले के भन्ने पो हो कि (?) भनेर डराउनु पर्दैन । आश्चर्य लाग्छ— सुनैना घरबाट जति टाढा निस्कन्छिन्, उति उनी आफूलाई ‘क्रिएटिभ’ भएको महसुस गर्छिन् । र, उति नै स्वतन्त्र पनि ।


यो स्वतन्त्रता भन्ने चीजै गजबको छ, हुन्छ । भित्रको स्वतन्त्रता कि बाहिरको ? सुनैनाले क्यानभासमा उतारेका चित्रका महिला पात्रहरू ‘बन्देज’ मै देखिन्छन् । कतै जालले बाँधिएका त कतै घरधन्दा, संस्कार र परम्पराले जेलिएका महिला पात्रहरू !


पेप्सिकोलास्थित आफ्नै ग्यालरीमा चित्र छरपस्ट पार्दै सुनैनाले मिथिला नगरीका नारी–पात्रको बेथा एकै सासमा सुनाइन् । ती पात्रहरूमाझ उनले पहिला आफूलाई उभ्याइन् । अरूको कुरा गर्नुभन्दा अघि आफ्नै समीक्षा गर्न जरुरी लाग्छ उनलाई । समीक्षा— काममा पनि र जीवनका हरेक मोडमा ।


सर्लाही माइत भएकी सुनैनाको जीवनकथा १६ वर्षे उमेरबाट सुरु हुन्छ । सुनैना आमा–हजुरआमाले भित्तामा माटोले पोत्दै आएका मिथिला चित्र देखेर हुर्किन् । भित्ताका चित्र जस्ताको त्यस्तै कापीका पानामा उतार्न थालिन् । बालुवा र माटो भेट्यो भने त्यहीं उनी अनेक आकृतिहरू कोर्न थाल्थिन् जसमध्ये धेरैजसोमा भने आमाले कोरेको भित्तेचित्रजस्तै मिथिला छनक आउँथ्यो । १६ वर्षे सपनामयी उमेरमै सुनैनाको बिहे भयो । अनि लगत्तै दुई छोराछोरी भइहाले । यो रीति र छिट्टै बेहोर्नुपरेको परिपक्वता सम्झँदा सुनैना आफ्नै आङ सिरिंग हुने गरेको सुनाउँछिन् । ‘मैले के गर्‍या होला ? भन्दै म अझै पनि आफैंलाई प्रश्न गरिरहन्छु,’ सुनैना बोलिन् ।


चुलबुले स्वभावकी सुनैनाको हातमा बिहेपछि घर, भान्सा र आफन्तको अनेक जिम्मेवारी थपिँदै गयो । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने लोकोक्ति सुनैनाले सुनेकी थिइन् । त्यसैले उनले घुम्टोभित्रै रहेर पनि चित्र कोर्न भने छाडिनन् । ‘घरधन्दा सकाएपछि सिरानीको खोल, ओच्छ्यान, तन्ना, रुमाल र पर्दाहरूमा मिथिला चित्र बनाउँथें,’ विगत सम्झिँदै भन्छिन्, ‘परिवार पनि दंग पर्थे, यसरी सजावट गर्न पाउँदा ।’


सुनैनाले कहिल्यै पनि परिवारसँग नमीठो बोलेर विद्रोह गरिनन् । बिहेपछि पनि स्कुल पढ्ने र चित्र कोर्ने चाहना उनले देखाउँदै आइन् । ‘घरको सबै काम गरेर खुसी पारेपछि मात्रै’ पढाइ र चित्रमा समय दिनुपर्ने सर्त उनका अगाडि आए । सबै परिबन्द र परिस्थितिलाई उनले सहजै स्विकारिन् । ‘छोरी मान्छे स्वतन्त्र हुन पनि सर्त पूरा गर्नुपर्दोरहेछ, घरको काम सकाएर मात्रै अरू काम गर भन्नुको अर्थ अहिले बुझ्दै छु,’ थोरै मैथिल मिसिएको लवजमा उनी भन्छिन्, ‘यी सबै अवरोध र उल्झनहरू मेरा प्रगतिका बाटा बने ।’
***


‘देखिने’ घरधन्दा र ‘नदेखिने’ चित्रकर्ममा सुनैनाका दिनहरू बितिरहेकै थिए । सन् २००५ मा जनकपुरमा महिला चित्रकला प्रतियोगिता हुने भयो । त्यो मौकामा ६० जना महिला सहभागीलाई पछि पार्दै सुनैना प्रथम भइन्— आफन्तले नपत्याउने गरी ।


यसरी प्रथम हुनुभन्दा पनि आफूले लुकेर सिकेको सीप घरबाहिर देखिएको यो घडी आफैंमा अर्को एउटा बिशाल जित थियो । त्यही एउटा बुहुनी पुरस्कारले सुनैना घरैभित्रको चुलोचौको चित्रकारबाट अन्तर्राष्ट्रिय नाम बनिन् । कला सृजना र शिल्पीको औपचारिक शिक्षा कतै नलिएरै पनि एक दशकयता निरन्तर मिथिला कलाको सर्जक र पारखी बनेर सुनैना चिनिन थालेकी छन् । यो सिकाइ–बुझाइ र संघर्षमा इन्टरनेट–सर्च गर्दै उनले मिथिला चित्रका नयाँ–नयाँ आयामहरू पहिल्याएकी थिइन् ।


घरको दैलोबाट बाहिर निस्किएपछि थप आँट उनमा पलायो । त्यही आँटमाझ चित्रकर्ममा रुचि राख्ने स्थानीय महिला बटुलेर उनले चित्र कोर्ने विभिन्न शैली सिक्न र सिकाउन थालिन् । ‘सुरुका दिनमा सुनैनाले छोरीचेली बिगारी भनेर आरोप लगाउनेहरू थुप्रै थिए,’ उनी भन्छिन्, ‘म भने एक कानले सुन्थें, अर्को कानले उडाइदिन्थें ।’


सुनैनाले कस्ता चित्र कोर्छिन् ? अथवा रेखा, रंग संयोजन र शैली राम्रो छ या छैन (?) भनेर खोजीनीति गर्नुभन्दा पनि उनको आँट र प्रयासलाई प्रशंसा गर्नेहरू धेरै निस्कँदै गए । त्यसैको प्रतिफल मान्नुपर्छ— सन् २०१६ मा अमेरिकामा उनले चित्रकर्ममा अन्तर्राष्ट्रिय उपाधि ‘कमन ग्राउन्ड अवार्ड’ हात पारिन् । सर्च फर कमन ग्राउन्ड इन्टरनेसनल संस्थाले दिएको यो अवार्ड थाप्न जाँदा सुनैनाले ७ वटा चित्र साथैमा लिएर गएकी थिइन् । सबैजसो चित्रमा मिथिला संस्कृति र नारी पात्रको अवस्था मूलकेन्द्रमा थियो । ‘खुट्टामा जुत्ता लाएर पाइला चाल्दै गरेकी तर हात साङ्लोले बाँधिएकी’ एउटी महिलाको चित्र अमेरिकामा धेरैले मन पराएका थिए । त्यो चित्र अमेरिकामा ११ सय डलरमा बिक्री भएको उनले सुनाइन् । साथमा लगिएका अरू चित्रहरू पनि ११ सय डलरकै हिसाबमा बिक्री भएका रहेछन् । यसरी सुनैनालाई बाहिरी संसारको अझ फराकिलो ढोका खुलेजस्तै भयो ।


आफूले सिर्जना गरेका कलाले सम्मान पाउनुमा सुनैना जति खुसी हुन्छिन्, उति मिथिला क्षेत्रको महिलाको अवस्था देखाउनुमा उनी चिन्तित हुन्छिन् । कहिलेसम्म महिलाका पीडा र रोनाधोना मात्रै चित्रमा उतारिरहने ? उनलाई यस्तै प्रश्नले चिमोटिरहन्छ । हो, अरू धेरैका लागि कला रमाइलो अनुभूति साट्ने माध्यम हुुन सक्छ । तर, सुनैनाको अर्थमा चित्रकला आफ्नो समाजमा दबिएका आवाज बाहिर निकाल्ने चीत्कारझैं बनेको छ ।


अमेरिकामा अवार्ड पाउनुभन्दा पहिला सुनैनाले सन् २०१२ मा सफल महिला उद्यमीका रूपमा महिला केअर नेपालको अवार्ड पाएकी थिइन् । त्यस्तै, २०१८ मा एन–पिस अवार्ड र उही वर्ष चण्डीगढमा इन्टरनेसनल पेन्टिङ सेम्पोजियम अवार्ड, आरजेएफ इन्टरनेसनल अवार्ड पनि पाइन् । २०१८ मै ललितकला प्रज्ञा प्रतिष्ठानले दिने राष्ट्रिय ललितकला पुरस्कारले सम्मानित भइन् ।
***

(सुनैनाको यो मिथिला चित्र पेरिसबाट ३० किलोमिटर टाढा हालै खुलेको नेपाली रेस्टुराँ द हिमालयन हाउसमा सजाइएको छ । तस्बिर : ददि सापकोटा)


सुनैना अहिले गाउँभरकी उदाहरण बनेकी छन् । एक दशकअघिसम्म ‘छोरी–चेली बिगार्ने’ भनेर आरोप लगाउनेहरू अहिले नातिनी लिएर चित्र सिकाइमाग्न आउन थालेका छन् । यस्तो बेला सुनैना आफूले साँच्चै गतिलो काम गरेको महसुस गर्छिन् । जनकपुरमै उनले ७० भन्दा बढी महिलालाई चित्रकला सिकाउँदै आएकी छन् । मिथिला चित्रको परम्परागत शैलीमा रूपान्तरण ल्याई आधुनिक धारमा पुर्‍याउनुपर्ने अवस्था उनले देखेकी छन् । यसो गर्दा धेरैले मिथिलाको मौलिकता मर्छ कि (?) भनेर शंका गर्छन् । तर, सुनैना यसमा प्रस्ट छिन् । ‘विषयवस्तुको उठानमा सचेत हुनुपर्छ र प्रस्तुतिमा मौलिकता राख्न सक्नुपर्छ,’ उनी भन्छिन् ।


तराईमा मात्रै नभई हरेक भेगका महिलाहरूको अवस्था बुझेरै सुनैना कला कोर्ने गर्छिन् । ‘तराईका महिला मात्रै हिंसा र विभेदमा परेका छन् भन्ने धेरैलाई भ्रम छ,’ उनी भन्छिन्, ‘तर यो स्थिति सर्वत्र छ ।

तराई, पहाड, हिमाल सबैतिर विभेदमा महिला नै छन् ।’)


सुनैनाको पछिल्लो काम समसामयिक मुद्दामा केन्द्रित छ । जनकपुरका अस्पताल, सामाजिक संघसंस्था र उद्योग व्यवसायले समेत चेतनामूलक चित्र कोर्न उनलाई अह्राउन थालेका छन् । खासगरी तराईमा मिथिलाकै चित्र बनाएर जनस्वास्थ्य, प्रजनन स्वास्थ्यमा शिक्षा दिने खालका चित्र उनले बनाउँदै आएकी छन् । ‘पहिले सुत्केरी कसरी गराउँथे, अहिले कसरी हुन्छ ? बच्चाको आधुनिक शैलीमा स्हायार कसरी गर्ने ? आफूमाथि भएको भएको हिंसा कसरी चिन्ने ? महिला अधिकार के–के हुन् ? लगायतका गम्भीर जनचेतनाका विषयवस्तुमा अहिले म चित्र कोरिरहेकी छु,’ उनले थपिन्, ‘यसरी मुद्दामा केन्द्रित भएर काम गर्दा कलासँगै आफंैले नयाँ कुरा सिकेजस्तो लाग्छ । आम्दानी पनि राम्रै हुन्छ ।’


आम्दानीको कुरा कोट्याउँदा सुनैना त्यति सन्तुष्ट हुन सकिरहेकी थिइनन् । समग्र मिथिला कलाको बजार ‘साँघुरो’ रहेको सुनैनाको अनुभव छ । ‘बजार छैन भनौं भने मिथिला कलाहरू विदेशमा पुगेका छन् । बजार छ भनौं भने गाउँघरका दिदीबहिनीले बनाएका सृजनाहरू गाउँमै अलपत्र छन्,’ उनले भनिन्, ‘म आफैंले सिकाएका अधिकांश महिलाले चित्रकारितामा रोजगारी पाएका छैनन् । अथवा चित्र सृजनाकै कारण गरिखान नसकिरहेको स्थिति यहाँ छ ।’


ढिलै भए पनि सुनैनाले आफ्नो पढाइलाई पनि रोकेकी छैनन् । यतिखेर उनी मैथिली भाषामा स्नातकोत्तर गर्ने धुनमा मग्न छिन् । मिथिला कलाकार भएकाले भाषाको ज्ञान हुन जरुरी लाग्छ उनलाई । भाषा नबुझ्दा कलाको मर्म र कथा महसुस गर्न नसकिने उनको धारणा छ ।


मिथिला संस्कृति तराईका मात्रै नभई पूरै नेपालको हो भन्ने चिनाउन उनले हरेक भाषाको ज्ञान आवश्यक रहेको बताइन् । यो भाव प्रस्ट्याउन सुनैनाले कोरेका केही चित्रमा ‘मिथिला वेशभूषामा सजिएकी नारीले नेपालको नक्सा काखमा समाएको’ दृश्य देख्न सकिन्छ ।


अर्को एउटा चित्रमा खुला आकाशमुनिको परिदृश्य छ । सुनैनाले चित्र औंल्याउँदै भन्छिन्, ‘यो चित्रका महिला–पुरुष दाजु र बहिनी पनि हुन सक्छन् तर हामी त्योभन्दा बेग्लै सोचिहाल्छौं ।’ सुनैना समाजका हरेक विकृतिमाथि मिथिला ढाँचा र शैलीमा पस्किने जमर्को गरिरहेकी छन् । चित्रसँगै महिला नेतृत्व विकासको तालिम दिने काममा समेत सुनैना जोडिएकी छन् । ‘भोगेको र देखेको नारी स्वतन्त्रता सोचेजस्तो सजिलो नभएको’ सुनैनाको बुझाइ छ ।


चुलोचौको नाघेर बाहिर नहिँड्दासम्म बाहिरी स्वतन्त्रता र अधिकारको कुरो थाहा–पत्तो नहुने सुनैनाको आफ्नै भोगाइ छ । त्यसैले नेतृत्व विकासको तालिम दिने बेलाको सुरुआतमै हरेक पटक सुनैना भन्ने गर्छिन्, ‘सुरुआत आफैंबाट गर, जति डराउँछौ उति पछि पर्छौ ।’
[email protected]

प्रकाशित : श्रावण ५, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?