कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ह्दयनजिकै ‘टिम्बक्टु’

फिल्म

काठमाडौँ — ह्दयलाई हल्लाउने गरी एउटा फिल्म छ— टिम्बक्टुु । ओस्कार, पाल्मेडियोर, बाफ्टालगायतका विश्वचर्चित प्रतियोगितामा उत्कृष्ट नोमिनेसनमा परेको मौरिटानियन–फ्रान्सेली फिल्म ‘टिम्बक्टु’ को निर्देशन अब्डेरामाने सिसाकोले गरेका हुन् । ‘टिम्बक्टु’ फिल्म हाम्रो जिन्दगी, विडम्बना, दमन र असह्य तिक्ततासँगको संघर्ष कथा हो ।

ह्दयनजिकै ‘टिम्बक्टु’

सन् २०१२ तिरको समय । पश्चिम अफ्रिकी राष्ट्र मालीको टिम्बक्टु सहरका बासिन्दा इस्लामी कट्टरपन्थी समूह जिहादीको कडा शासनमा बाँच्न विवश हुन्छन् । सहर नजिकै एउटा स्यान्ड ड्युनमा किडेन आफ्नी श्रीमती सतिमा, छोरी टोया र १२ वर्षीय गोठालो इसानसँग बसिरहेको हुन्छ । एक दिन उसको एउटा गाईले खोलाको पानी खाने क्रममा माछा मार्न बिच्छ्याइएको जाली बिगार्दिन्छ । माझी आक्रोशमा आउँछ र गाईलाई मार्न पुग्छ । किडेन बन्दुकसहित माझीसँग कुरा गर्न जान्छ । दुर्घटनावश उसको बन्दुक पड्किन पुग्छ र माझीको तत्कालै मृत्यु हुन्छ । किडेनको अबको गोरेटो कस्तो होला त भन्ने कथा ‘टिम्बक्टु’ को हो ।
मोसे डायनले भनेका छन्— स्वतन्त्रता भनेको हाम्रो आत्माको अक्सिजन हो । एकपल्ट सोच्नुस् त, तपाईंलाई मन खोलेर हाँस्न निषेध गरिएको छ । अथवा सबै महिलालाई अनिवार्य रूपमा सम्पूर्ण शरीर छोप्न लाइएको छ । र, लुकीछिपी प्रेम गरेकै आधारमा कैयौं जोडीलाई तपाईंकै सामु ढुंगा हानेरै मारिएको छ । यस्ता तमाम स्थितिको भोगाइ कति दर्दनाक हुन सक्छ होला ? ‘टिम्बक्टु’ फिल्मको कथा यही हो ।


निकै लामो समयदेखि नै इस्लामी शिक्षा, कला, साहित्य, र संगीतको केन्द्रको रूपमा रहँदै आएको सहर हो, टिम्बक्टु । सहारा मरुभूमिको दक्षिणी गेटको रूपमा अवस्थित टिम्बक्टु सहर कलात्मक, धनी एवं रहस्यमयी मानिन्छ । तर, इस्लामी कट्टरपन्थीको कब्जामा परेदेखि टिम्बक्टु र समग्र माली राष्ट्र आफ्नो संस्कृति बचाउने संघर्षमा छन् । फिल्ममा यही विषय छ । पहिलो पटक सन् २०१४ मा प्रदर्शन भए पनि ‘टिम्बक्टु’ अझै समसामयिक छ । इस्लामी जिहादीलाई लिएर विश्वभर धेरै फिल्म बनेका छन् । सबै फिल्म कि त गुनगान गाउन अथवा खेदो खन्न । तर, ‘टिम्बक्टु’ भने केही फरक छ ।


‘टिम्बक्टु’ चलनचल्तीका अन्य फिल्मजस्तो लगातार बोझिला र अति भावुक दृश्य देखाएर दर्शक रुवाउने अथवा पैसा कमाउने ध्याउन्नमा बनेको छैन । कथा, पात्र र कलात्मकताको स्वाभाविक संयोजनले फिल्म निकै कसिलो लाग्छ । पाल्मेडियोर विजेता फिल्म ‘ब्लू इज द वार्मेष्ट कलर’ का सिनेमाटोग्राफर सोफियन फानीले खिचेका मरुभूमि सेरोफेरोका प्राकृतिक दृश्यहरू निकै लोभलाग्दा छन् । मानवीय कला–संवेदना, दमन र विरोधको एकमुष्ट कोलाज हो— ‘टिम्बक्टु’ ।
—राजन केसी ‘प्रमोद’

प्रकाशित : श्रावण ५, २०७५ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?