एउटा ब्रान्ड–नेम

स्मृति
बागबजारभित्रको डेराकोठामा एक दिन गितारको अनौठो धुन सुनियो । यो कस्तो धुन हो, यसको कुनै नाम पनि छ कि ? धुन निकाल्ने मञ्जुलले ठटयौली पारामा तत्क्षण जवाफ फर्काए— यो धुनको नाम हो, राल्फा । एउटा अर्थहीन शब्द— राल्फा ।
समयक्रममा जीवनको सार्थक परिभाषा खोज्ने चेत राल्फामा हावी हुँदै गयो । निराशा र निस्सारताका स्वरहरू क्रमश: मलिन हुँदै गए ।
डा.हरि श्रेष्ठ (नोरेम)

काठमाडौँ — एउटा फरक धारको आन्दोलन जसले आफ्नो उत्कर्ष कालमा नेपाली साहित्य–संगीत क्षेत्रमा केही हलचल सृजना गरेको थियो । यो अझै पनि सम्झनाको फेरोमा बाँचिरहेकै छ । यो समूह राल्फाको विसर्जन भएको झन्डै दुई दशक व्यतीत भइसकेको छ । तथापि नयाँ पुस्तामा अद्यावधि राल्फाप्रतिको जिज्ञासा र कौतूहल मेटिएको छैन ।

राल्फाका सूत्रधार भनेर चिनिएका व्यक्तिहरू यदाकदा संयोगले कुनै स्थानमा एकै ठाउँ भेटिँदा त्यो उनीहरूका निम्ति आश्चर्य र कौतूहलको विषय बन्छ । उनीहरूका जिज्ञासु आँखाहरू राल्फाको बारेमा केही कुराहरू सुन्न लालयित भएझैं देखिन्छन् । मञ्जुल, निरन र मेरो यस्तै एउटा भेटघाटमा पछिल्लो पुस्ताका भाइ राजनका उत्सुकतापूर्ण आँखाहरू उसैगरी हामीतिर एकोहोरिएका थिए त्यस दिन । तपाईंहरूको यस्तो भेटघाट देखेर मलाई आज अत्यन्तै खुसी लागिरहेछ, यसलाई निरन्तरता दिइरहनुहोला— भनेका थिए राजनले।


मैले भनें— जिन्दगीका उल्लास र रोमाञ्चक अनुभव बाँडेर जिउने बेला हो, हाम्रो यतिखेर । तर, त्यति गर्न सकिएको छैन । फेसबुकले हाम्रा सामाजिक सम्बन्धको परिभाषा नै बदलिदिएको छ । स्मार्टफोनको स्क्रिनमा औंला थिचेर साथीभाइका स्टाटस लाइक गरिदिएपछि सशरीर भेटघाटको लन्ठो उठाइरहनु नपर्ने जमाना आएको छ । भावनात्मक संवेग मृतप्राय: छ ।

Citizen


राल्फाबारेमा आजसम्म नउघ्रिएका कतिपय पाटाहरू अवश्य अझै बाँकी होलान्, त्यो सुन्न लालायित छु म आज । यस्ता भेटघाटमा तपार्इंहरू बीचमा हुने एकदमै अन्तरंग कुराकानीहरू कस्ता होलान्— त्यो पनि सुन्ने रहर छ मेरो । कौतूहल भरिएको राजनको आवाज छरिन्छ कोठाभरि । हामी मन्द मुस्कानमा परस्पर मुखामुख गर्छौं । मञ्जुलको अनुहारमा धेरै समयपछि उही पुरानै लोभलाग्दो मुस्कुराहट फर्किएको देख्छु म । राल्फाका आजसम्म नउघ्रिएका परिच्छेदहरू के होलान् ?


राजनको यो जिज्ञासा सुनेर उमेरले भुत्ते हुँदै गएको मेरो दिमागमा पनि केही सल्बलाएजस्तो अनुभव हुन्छ । पाँच दशकअघि जन्मिएको राल्फा, त्यसको उतारचढाव, राजनीतिले ल्याइदिएको विभाजन, विसर्जन र रूपान्तरणका परिघटना केस्राकेस्रा गरी केलाउने हो भने ठेलीहरू तयार हुन्छन् । राल्फामाथि आलोचनात्मक आलेख फुटकर रूपमा प्रकाशित त छन् तर तिनले राल्फाको समग्र तस्बिर प्रस्तुत गर्दैनन् । ३०–४० को दशकमा सर्वाधिक चर्चा र चासोमा परेका राल्फाको विकास यात्राका अनेक घुम्तीहरू ठम्याउन पनि मुस्किल हुँदै छ अव । व्यक्तिका स्मृतिमा कतिन्जेल विगतका सबै कुरा सुरक्षित रहन्छन् र ? अन्योलग्रस्त म निरन र मञ्जुलतिर दृष्टि फिजाउँछु ।


राल्फाको उद्भव र विकासयात्राको एक जना साक्षी हुन्— निरन । आरम्भदेखि नै मञ्जुलनिकट रहेर राल्फालाई उनले नजिकबाट नियालिरहेका छन् । हक्की स्वभाव छ उनको, अर्थात् स्ट्रेट–फरवार्ड । आफ्नो स्मृतिमा संगृहीत केही नौला कुराको पोका खोल्न थाल्छन् उनी । भन्छन्— त्यो बेलाको कुरा, एक दिन मञ्जुल बागबजारको आफ्नो कोठामा गीतारमा औंला चलाइरहेका थिए । केही अनौठो धुन निक्लिरहेको थियो उनको गीतारबाट । हाम्रा साथी ओम सिटौला पनि त्यहाँ हामीसँगै थिए । गीतारको त्यो अनौठो धुन सुनेर ओमले मञ्जुललाई सोधे— यो कस्तो धून हो, यसको कुनै नाम पनि छ कि ? मञ्जुलले ठटयौली पारामा तत्क्षण जवाफ फर्काए, हो यसको नाम छ । यो धुनको नाम हो— ‘राल्फा’ । पहिलोचोटि सुनेको राल्फा शब्द साँच्चै नै अनौठो प्रतिध्वनित भइरहेथ्यो । ओम आश्चर्यमिश्रित भावमा मञ्जुललाई एकटक हेरिरहेका थिए, मजस्तै । उत्सुकता भरिंदै जान्छ, उनको आँखा र अनुहारमा पनि ।


हौसिँदै मञ्जुल भन्छन्— हो, राल्फा अचानक मेरो दिमागमा उब्जिएको शब्द थियो, जसको कुनै अर्थ थिएन । त्यसताका नौलो र अनौठो शब्द सृजना गर्ने र तिनलाई कविता लेखनमा प्रयोग गर्ने मेरो सोख नै थियो । रामेश, रायन र अरिमसँग मेरो सांगीतिक सामीप्य बढेपछि र तत्कालीन परिस्थितिले एउटा समूह नै बनाएर हिँड्नुपर्ने बाध्यता आइलागेपछि त्यो समूहको नाम नै राल्फा राख्ने हाम्रो बीचमा सहमति भयो । यसरी राल्फा जन्मिएको हो । पारिजात दिदीसँगको हाम्रो निकटता भने केही पहिलेदेखि नै थियो । हामीलाई एउटा समूहमा आबद्घ भएर काम गर्ने उत्प्रेरणा उहाँले नै दिनुभएको हो । समयक्रममा निरन, विमल, निनु, नोरेम पनि राल्फा समूहमा आबद्घ हुँदै गए । गणेश रसिक पनि केही समय राल्फामा थिए । पछि उनी राल्फा छाडेर लेकाली समूहमा गाँसिन पुगे । पारिजात दिदीचाहिँ अलिक पछि राल्फा हुनुभएको हो । उपन्यास ‘छेकुडोल्मा’ को भूमिका लेख्दा पहिलोचोटि उहाँले आफ्नो नामका पछि राल्फा शब्द जोड्नुभएको हो । यसरी राल्फा हामी सबैलाई जोड्ने एउटा भावनात्मक सूत्र भएर देखा पर्‍यो । पछि गएर एउटा ‘टिपिकल ब्रान्डनेम’ जस्तै भयो यो ।


राल्फाको जन्मकथाका प्रसंगहरू ‘रिवाइन्ड’ भइरहँदा म पनि आफ्नो अतीतका ती रमाइला क्षणमा एक छिन हराउन पुग्छु । राजन ध्यानमग्न भएर हाम्रा कुराकानीमा लठ्ठिरहेझैं देखिन्छन् । राजनले कुनै बेला मलाई सुनाएको उनको रहर अनायास सम्झन पुग्छु म त्यहाँ त्यसबेला । उनले भनेका थिए, राल्फाको समय समकालीन नेपाली साहित्य र संगीतको एउटा महत्त्वपूर्ण कालखण्ड हो । समग्रतामा राल्फाको अध्ययन, विश्लेषण र प्रस्तुति आवश्यक छ । यो भएको छैन । मलाई व्यक्तिकेन्द्रित भएर हैन, समूहकेन्द्रित भएर राल्फाको बहुआयामिक व्यक्तित्व उजागर गर्न मन लागेको छ । डिजिटल आर्काइभमा त्यसलाई सुरक्षित राख्ने मेरो रहर छ । उनको त्यो रहर सम्भँmदा मलाई लागिरह्यो, राल्फासँगको यो आकस्मिक साक्षात्कार राजनका निम्ति अझ बढी रोमाञ्चक भइरहेको हुँदो हो ।


के साँच्चै कसैको लहडमै जन्मिएको हो त राल्फा शब्द ? अनि यससँग गाँसिएका व्यक्तिका अनौठा नामहरू ? दिमागमा नसुल्झिएका यी प्रश्नहरूमा राजन घोत्लिरहेझैं देखिन थाले । कुरो वास्तवमा लहडको मात्रै थिएन । यथास्थितिवाद र परम्परागत रुढीप्रति वितृष्णा र विरोध जनाउने दमित आकांक्षाको अभिव्यक्ति पनि थियो— राल्फाको त्यो शब्द सृजना । परम्परावादी आफ्नै नाम निषेध गर्ने चाहनाको प्रतिविम्बन थियो त्यो काम त्यसबेला । जातीय गन्धरहित ती नामहरू जातपातविरोधी राल्फाली चेतको अभिव्यक्ति पनि थियो । पछि मानिसले आफैं अनेक कोणबाट राल्फाको अर्थ केलाउन थाले ।


निरन सम्झन्छन्— ऊ राल्फा भएको थाहा पाएर उनलाई चिन्ने केही मानिसहरू उनको नजिक पर्दा तर्सिएको मृगझैं हुन थालेका थिए । राल्फासँग बोलचाल गर्दा बिटुलो नै भइन्छजस्तो गर्थे रे कोहीकोही । समूह चिनाउने अनौठो शब्द र राल्फालीका बेग्लै ध्वनिका विचित्र नामहरू सुनेर त्यसबेला मानिसहरू अचम्म मान्थे । नेपाली शब्द भण्डारले नपुगेर नौला शब्द सृजनामा लागेको मञ्जुललाई ‘देवकोटाभन्दा पनि ठूला कवि’ भन्दै उनको कुरा काट्ने मानिसको पनि कमी थिएन ।


राल्फाको अर्थ तिमीहरूले नबताए पनि मलाई थाहा छ । एक पटक बिजु नाम गरेका अफिसको साथीले एउटा अनौठो कुरो सुनाए निरनलाई । बिजुले निरनको कानमा सुटुक्क भने— राल्फा शब्दको अर्थ ‘रोयलफाएर’ हो अर्थात् राजतन्त्र नास गर्ने समूह । राल्फा शब्दको त्यो अनौठो परिभाषा सुनेर निरन त्यसबेला अचम्मित भएका थिए । यसरी राल्फालाई सुरुदेखि नै तत्कालीन सत्ताविरोधीका रूपमा चित्रित गर्ने जमात पनि देखा पदै थियो काठमाडौंमा । राल्फाको विद्रोही चेतका गीतहरू र साहित्य रचनाको बेग्लै बान्की देखेर राल्फामाथि त्यस प्रकारको आरोप लगाउन मानिसलाई पर्याप्त आधार तयार भइरहेको समय थियो । पञ्चायती शासकको आँखा र कान चनाखो हुँदै थियो— राल्फाली हरेक गतिविधिप्रति । तर, त्यसबेलासम्म राल्फा भने राजनीतिक चेतनाबाट निकै टाढै थिए । कुनै वैचारिक धरातलबिनाको स्वत:स्फूर्त विरोधमा मग्न थिए राल्फा ।


अहिले आएर हेर्दा लाग्छ, राल्फाको आरम्भिक कालखण्ड विश्व साहित्यको तत्कालीन ट्रेन्ड–फ्रेडरिक नित्सेले हुर्काएको शून्यवादी र निस्सारतावादी दर्शनबाट प्रभावित थियो । नित्सेको ‘ईश्वर मरिसक्यो’ भन्ने उद्घोषप्रति एक प्रकारको आकर्षण थियो राल्फामा पनि । अलबर्ट कामु र ज्याँ पाल सात्रको साहित्यबाट प्रभावित हुँदै थिए राल्फा । सारा परम्परावादी मूल्य मान्यता नकार्ने प्रवृत्ति र जिन्दगीलाई अर्थहीन ठान्ने सोच शून्यवादी दर्शनको सार थियो । पारिजातको उपन्यास ‘शिरीषको फूल’ र मञ्जुलको उपन्यास ‘छेकुडोल्मा’ को केन्द्रीय कथानकमा त्यही निस्सारतावादी दर्शनको परोक्ष–प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । नितान्त नौलो बान्कीमा लेखेका थिए मञ्जुलले छेकुडोल्मा । हाडे ओखरजस्तो । दिमागै चकराउने खालको । त्यस खालको उपन्यास सायद त्यो नै पहिलो थियो । हाम्रा कविता लेखनमा पनि जीवनप्रति निस्सारताका स्वरहरू नै बढी मुखरित हुँदै थिए ।


मञ्जुलको अमूर्त र अनौठो शब्दावलीमा रामेशले संगीत र स्वर दिएका केही गीतहरू यस्ता पनि थिए जसलाई सुनेर श्रोताहरूको प्रतिक्रिया हुन्थ्यो, शब्द बुझिएन तर स्वर र धुन मीठो छ । तर, अधिकांश राल्फाली गीतहरूको मूल स्वर भने सुरुदेखि नै अर्थपूर्ण र जीवनवादी नै थिए । गीतको शब्द चयनमा राल्फा निकै संवेदनशील बन्दै गएको समय थियो त्यो । सामाजिक रूपान्तरणमा गीतले केही सन्देश दिनुपर्छ भन्ने धारणा प्रबल हुँदै गएको थियो राल्फामा । राल्फाको कतिपय गीत सृजनाका स्वरहरू अहिलेसम्म पनि जनमानसको हृदयमा गुन्जिरहनुको एउटा कारण त्यो पनि हो ।


समयक्रममा जीवनको सार्थक परिभाषा खोज्ने चेत राल्फामा हावी हुँदै गयो । निराशा र निस्सारताका स्वरहरू क्रमश: मलिन हुँदै गए । पारिजात दिदी र हाम्रो साहित्य लेखनमा सूक्ष्म रूपान्तरणको प्रक्रिया सुरु हुन थालेको समय थियो त्यो । पठन संस्कृतिमा हुर्किएका राल्फाहरू अन्तर्राष्ट्रिय प्रकाशनका चर्चित पुस्तकहरूको अध्ययनमा निरन्तर डुबिरहन्थे । यसैका कारण संसारमा भइरहेको परिवर्तनको लहरबाट चाँडै प्रभावित पनि हुन्थे । लाग्छ, राल्फालाई गतिशील तुल्याइरहन पुस्तक अध्ययनमा राल्फाको गहिरो लगावले पनि राम्रै मद्दत पुर्‍याएको थियो ।


म सम्झन्छु— त्यसैताक चेगेवारा, फिडेल क्यास्ट्रो, रेजिस देव्रे आदिका पुस्तकहरूको अध्ययनमा हामी मग्न हुन थालेका थियौं । एडगर स्नोको ‘रेड स्टार ओभर चाइना’ पनि हाम्रो पाठयसामग्रीमा समावेश थियो । राल्फामा तात्त्विक रूपान्तरणको सुरुआत तिनै पुस्तकसँगको सम्पर्क र अध्ययनपश्चात् देखा पर्न थालेको थियो । दक्षिण अमेरिकामा फैलिएको क्रान्तिको लहर र चेगेवारा, फिडेल क्यास्ट्रोले नेतृत्व गरेको गुरिल्ला युद्घको चमत्कारी र रोमाञ्चक कथाहरूले हामीलाई निकै गहिरो प्रभाव पार्न थालेको समय थियो त्यो । मेरो सम्पादनमा निस्कने राल्फाली साहित्यिक पत्रिका ‘यन्त्रणा’ मा चेगेवारा र गुरिल्ला युद्घको सामान्य चर्चा गर्न हामीले भ्याएका थियौं । पञ्चायती प्रशासनले त्यसलाई आपत्तिजनक ठान्यो । तर, त्यो उमेर र समय नै यस्तो थियो, हामी त्यस्ता कुराबाट भयभीत हुने कुरै थिएन ।


चे र फिडेलकै रोमाञ्चक जीवनगाथाको प्रभाव पनि एउटा कारण हुँदो हो, त्यसैताक मञ्जुलले राष्ट्र बैंकको आकर्षक जागिर अचानक परित्याग गरे र रामेशसँग पूर्वी नेपालका गाउँघरमा आफ्नो एक बहुचर्चित सांगीतिक यात्राको सुरुआत गर्ने निर्णय लिए । ग्रामीण जनजीवनसँग साक्षात्कार गर्ने त्यो उनीहरूको एक जोखिमपूर्ण तर साहसिक निर्णय थियो । त्यो घटना उनीहरूको जीवनमा अर्को एक महत्त्वपूर्ण फड्को सावित भयो । त्यसै बेलादेखि राल्फा राजनीतिको अर्कै कलेवरमा देखा पर्न थालेको हो । एउटै समूहको रूपमा राल्फा नरहेर समूह विघटनको सुरुआत पनि त्यसै बेलादेखि भएको हो ।


चेगेवारा र फिडेल क्यास्ट्रोको जीवन दर्शनबाट प्रभावित राल्फालाई त्यसबेला नेपालको कुनै राजनीतिले प्रभाव पार्न सक्थ्यो भने त्यो निश्चय पनि देब्रे धारको राजनीति नै हुन्थ्यो । नभन्दै त्यस्तै भयो, आफ्नो मूल प्रवृत्तिअनुसार राल्फाहरू क्रमश: वाम विचारधारामा समाहित हुँदै गए । विभिन्न चिरामा विभाजित नेपालका वामपन्थी समूहहरूमा आआफ्नो रुचि र विश्लेषणअनुसार उनीहरू गाँसिन पुगे । केही साथीहरू भने राजनीतिबाट निरपेक्ष रहेर स्वतन्त्र ढंगले जीवन व्यतीत गर्न थाले ।


निष्क्रिय भएर बस्ने स्वभाव थिएन राल्फाको । दुई अलग धारका वामपन्थी समूहमा आबद्घ त्यसबेलाका निकै चर्चित सांस्कृतिक मोर्चा सम्हाल्न थाले राल्फाहरूले । संकल्प र इन्द्रेणी नामका प्रगतिशील सांस्कृतिक मोर्चा हाँकेर वामपन्थी राजनीतिको जनाधार सृजनामा राल्फाहरूले खेलेको भूमिका उल्लेखनीय रह्यो । तर, एउटा अनौठो कुरा, राल्फाले नै हाँकेका यी दुई मोर्चा बीचमा पानी बाराबारको सम्बन्ध थियो । राल्फाको विगतको एउटा सुन्दर कालखण्ड इतिहासको गर्तमा कतै बिलाइसकेको थियो । तत्कालीन वाम राजनीतिक धारहरूमा देखा परेको परस्पर शत्रुतापूर्ण सम्बन्धकै प्रतिच्छाया थियो त्यो ।


यसरी जुट्दै, टुट्दै, फुट्दै र फेरि जुट्दै इतिहासको एउटा अप्ठेरो कालखण्डमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै अघि बढेका राल्फाहरू अहिलेसम्म पनि राल्फाकै ‘ब्रान्ड–नेम’ मा चर्चाको सेरोफेरोमा आइरहेकै छन् । अप्ठेरा दिनहरूमा हामीले बिताएको त्यो समयले एउटा बेग्लै सुखको अनुभूति दिइरहन्छ अझै पनि । लाग्छ, अरू साथीहरूलाई पनि यस्तै अनुभूति हुँदो हो । तर, एउटा यथार्थ के हो भने, राल्फाले आफ्नो ऊर्जाशील उमेर र समय जुन ढंगको सामाजिक रूपान्तरणको सपना बोकेर समर्पित गरेका थिए त्यसको तिर्खा भने अझै मेटिएको छैन राल्फामा ।


त्यस दिन मञ्जुल र निरनसँगको अनायास भेटघाट र भाइ राजनको जिज्ञासाका कारण राल्फाको विगतमा डुबुल्की मार्दा समय बितेको पत्तै भएन हामीलाई । हिँड्न लाग्दा राजनले फेरि अर्को प्रश्न तेस्र्याएर हाम्रो बाटो छेके, दाइ फेरि यस्तै अर्को भेटघाट कहिले ? अँ भेटौला नि । एउटा अमूर्त र अस्पष्ट जवाफ दिँदै हामीले बिदा माग्यौं । हिँड्दै गर्दा मनमा लागिरह्यो, सायद राल्फालाई सम्पूर्णतामा बुझ्ने राजनको चाहना पूरा हुन अझै बाँकी नै छ । थाहा छैन, ढल्किँदो उमेरका राल्फालीहरूको यस्तो भेटघाट उनीहरूकै मानसिक स्वास्थ्यका निम्ति पनि लाभदायक हुन्छ भनेर राजनले यस्तो आग्रह पालेका हुन् कि । जे होस्, पुस्तान्तरण संवादमा सहभागी भइरहँदा दिमागमा एउटा बेग्लै ताजगी भरेर फर्किएको थिएँ म त्यस दिन ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

डराउँछु म मृत्युसित

कविता
श्रवण मुकारूङ

काठमाडौँ — जन्मेपछिमर्नु छ एक दिनतर,

जन्मेपछि
मर्नु छ एक दिन
तर,
मृत्युसित डराउाछु म ।

भीडमा कतै हराएा कि भनेर
हिाड्दाहिाड्दै
यात्रामा कतै छुटो कि भनेर
वा एकान्तको चिसो ढुंगोमुनि एक्लै
आफ्नै र्‍यालमा अल्मलिरहेको चिप्लेकीरोझौ
आफौले थाहा नपाउने गरी
अचानक
मर्छु कि भन्ने डर लाग्छ ।

जसरी–
पुच्छ्रेतारा खस्छ अचानक
खस्छ–
झरीले चुटिरहेको चुवाको फूल
कुनै अपरिचित तर सुन्दर युवक देखेर तिमी
केही क्षण बिर्सन्छौ मलाई....
मेरो यस्तो मृत्युदेखि मलाई डर लाग्छ ।

जन्मेपछि
मर्नु छ एक दिन
तर,
मृत्युसित डराउाछु म ।

जसरी–
बिजुली सट हुनुअघि सहरमा
कााप्दै तारहरु बेस्सरी हल्लिन्छन् हुरीबतासले
जसरी–
निभ्नुअघि
तिम्रो शयनकक्षमा चट्चट् चट्किन्छ मैनबत्ती
अथवा
सूर्योदयसागै क्रमश: निभ्न थाल्छन् सुदूर गाउामा बत्तीहरु
हत्केलाको हम्काइले
ओठको फुकाइले
बुढी औाला र चोर औालाको चेपाइले
मेरो यस्तो मृत्युदेखि मलाई डर लाग्छ ।

आखिर
मान्छे बााच्ने त प्रेमले हो प्रिय !
बूढी बाादर्नीको काखमा बच्चो बाादरझौ
अथवा
हनुमानको छातीभित्र रामझौ
अथवा
महादेवको छातीभित्र मृगस्वरुपा पार्वतीझौ
अथवा
बुद्धभित्र सिद्धार्थझौ
अथवा
कुनै गंगामायाको हृदयमा उसको हराएको छोरोझौ
मभित्र छ्यौ तिमी
त्यसैले,
आत्महत्या गर्न सक्दिना
मृत्युसित डराउाछु म ।

आफ्नै बच्चाहरुले खाइमारेको
माकुरोको मृत्युदेखि डराउाछु म
चर्को घामले डढाइमारेको
जूनकीरीको मृत्युदेखि डराउाछु म
प्रतिरक्षामा मृत्युवरण गर्ने माहुरीको मृत्यु
वा कुनै युद्धमा मरेको कान्छो मिलिसियाको मृत्युदेखि डराउाछु म ।
सत्य हो जान्दाजान्दै
बग्दाबग्दै नदीमा पुगेपछिको खोलाको मृत्युदेखि डराउाछु म ।

जन्मेपछि
मर्नु छ एक दिन
तर,
मृत्युसित डराउाछु म ।

थाहा छ मलाई
तिमी यतिखेर
घृणाको तिखो चक्कु लिएर
उभिएकी छ्यौ मभित्र
मेरो प्रेम प्रस्ताव र सारा प्रयत्नहरू
भुइाकुहिरोभित्र शीतले लपेटिएको छिचिमिरोको प्वााख भएको छ अहिले
यो पनि थाहा छ मलाई
कि कुनै पनि बेला कदापि छोड्ने छैनौ तिमीले
भर्खरै डिम्बबाट निस्किएको
मुख नउघ्रिसकेको हाासको टिउरोले झौ
ठुङ्नेछौ मेरो सपनाको ढाडमा

तैपनि म,
तिम्रो यौवनको छालले किनारामा हुत्याइएको पेङ्गुइन
आफ्नै रगत लागेको चुच्चोले
कोखा सुम्सुम्याउादै
पुलुक्क हेर्नेछु तिम्रो नक्कली प्रेमको अन्तिम रूप
किनकि,
म एक असल प्रेमी हुा
बााचेर पनि बिस्तारैबिस्तारै
मरिरहेको हाम्रो प्रेमको मृत्युसित
डराउाछु म ।
डराउाछु म आफ्नै मसिना डरहरूसित
डराउाछु म मेरो यो मूल्यहीन मृत्युसित ।

जन्मेपछि
मर्नु छ एक दिन
तर,
मृत्युसित डराउाछु म ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT